Thursday, April 25, 2024

-->

गाउँघर डुलेर ओलीले दिइरहेको सन्देश

दुई महिनामै सत्ताबाट प्रतिपक्षमा पुगेको एमाले सदन मात्र होइन, सडकमा समेत शक्ति बढाउन खोज्दै छ। यसनिम्ति शिथिल संगठन र एकता खलबलिएको पार्टी पंक्तिको मनोदशा बुझेर अध्यक्ष ओलीसमेत गाउँकेन्द्रित भएका छन्।

गाउँघर डुलेर ओलीले दिइरहेको सन्देश

काठमाडौँ– प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पछिल्ला चार दिनयता लुम्बिनी प्रदेशका पहाडी जिल्लामा छन्। अर्घाखाँची र गुल्मीका विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी भएर मंगलबार पाल्पा आइपुगेका ओली बुधबार पाल्पाका विभिन्न ठाउँ पुगेर बुटवल झरे। २०४४ सालमा झन्डै १४ वर्ष लामो जेल जीवनबाट मुक्त भएपछि तत्कालीन लुम्बिनी अञ्चलको पार्टी इन्चार्ज बनेर यी जिल्लामा संगठन बिस्तार गर्न पुगेका थिए, ओली। त्यसयता पहिलोपटक उनले लुम्बिनीका पहाडी जिल्लामा यति धेरै समय बिताएका हुन्।

श्रीमती राधिका शाक्यसहित लुम्बिनीका गाउँ डुलिरहेका ओली चैत ११ गते गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा निर्मित अन्तर्राष्ट्रिय सभाहल निरीक्षण गर्न पुगेका थिए। त्यहाँबाट कपिलवस्तु हानिएका उनी त्यसको भोलिपल्ट अर्घाखाँची पुगेका थिए। ओलीको भ्रमण यसअघिका भ्रमणभन्दा भिन्न छ। पहिले जिल्ला पुग्दा उनी सभा र भेलाहरूमा सम्बोधन गर्नेमा केन्द्रित रहन्थे। यसपालि उनी औपचारिक भेला र सभा होइन, गाउँ र टोलसम्म केन्द्रित भइरहेका छन्। गाउँका वृद्ध, युवा, महिला लगायतसँग छलफल गरिरहेका छन्। अनि मन्दिरमा पुगेर दर्शन पनि गरिरहेका छन्।

जस्तो, अर्घाखाँची पुगेलगत्तै उनले ठाडा दहमा भेला भएकाहरूसँग भलाकुसारी गरे। उनीहरूसँग सेल्फी लिए। अनि त्यहाँभन्दा १० किलोमिटर टाढा, सन्धिखर्कतर्फ रहेको सुपादेउराली मन्दिर पुगेर दर्शन गरे। मन्दिरमा भेला भएका भक्तजनहरूसँग भलाकुसारी गरे र तस्वीर लिए। त्यही शैलीमा उनले अर्घा भगवतीको मन्दिर पनि दर्शन गरे।

ओली जहाँ पुगे, त्यहाँ उनलाई भेट्न आउने र सेल्फी लिनेको भीड देखियो। अर्घाखाँचीको अर्घामा गन्धर्व समुदायले दिएको उपहार, सारङ्गी बजाएर उनले गीत गुनगुनाए। महिलाहरूले उपहार दिएको डालो र सुपो (नाङ्लो) लिएर उनले आफूलाई नाङ्ला केलाउन आउने भन्दै केलाएको अभिनय पनि गरे। गुल्मीका रेसुङ्गा, रिडी र तम्घासमा पनि उनले यस्तै गरे।

बदलिएको ओली शैली : सशक्त प्रतिपक्षको तयारी कि निर्वाचनको?
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेससहितको गठबन्धन रोजेर एमालेसँगको सहकार्य तोडेपछि काठमाडौँमा राजनीतिक परिदृश्य फेरिएको छ। एमाले प्रतिपक्ष बनेपछि वर्तमान सत्तारुढ गठबन्धनका दलहरू मन्त्रीको भागबन्डा मिलाउन नसकेर म्याराथन बैठक गरिरहेका छन्। ओली भने त्यसबाट बेखबर जस्तै देखिएर ‘रिल्याक्स’ मुडमा पश्चिम पहाडका गाउँ–बस्ती डुलिरहेका छन्। किन डुलिरहेछन् ओली पहाडी गाउँमा?

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले ‘जनताका समस्याबारे नजिकबाट अन्तरक्रिया गर्न’ ओली लुम्बिनीका गाउँहरूमा पुगेको बताए।

गएको मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पहिलो दल बन्ने लक्ष्यसहित चुनावी अभियानमा होमिएको एमाले, कांग्रेसभन्दा १० सिट कम जित्दै दोस्रो दलमा खुम्चिएको थियो। निर्वाचनबारे समीक्षा गर्न बसेको एमाले केन्द्रीय कमिटी बैठकले दुई महिने ‘मिसन ग्रासरुट’ सञ्चालन गर्ने निर्णय गर्दै नेताहरूलाई पालिका तहमा खटाएको थियो। ‘ग्रासरुट’ अभियान चलिरहेकै बेला ओली लुम्बिनीका गाउँमा पुगेका हुन्।

एमाले उपमहासचिव ज्ञवाली अध्यक्ष ओलीको यस्तो भ्रमण देशव्यापी हुने बताउँछन्। “पहिला मेची–महाकाली भनेर तराईकेन्द्रित अभियान चलाइएको थियो,” उनी भन्छन् “अहिले फरक खालको अभियान हो। यसको तालिका हामी केही पछि सार्वजनिक गर्छौं।”

२०७० साल अघिसम्म एमाले चलायमान संगठन भएको पार्टीका रूपमा चिनिन्थ्यो। उसको मुख्य आधार तल्लो तहसम्मको संगठन संरचना थियो। तर, पछिल्लो दशकमा भने एमालेको संगठनमा खिया लाग्दै गयो। किनभने एमालेका कमिटीहरू भद्दा बन्दै गए। त्यसपछि विचारको बहससमेत हुन छाडेको केन्द्रीय सदस्य टंक कार्की बताउँछन्।

२०७५ मा एमाले–माओवादी एकीकरण भएर नेकपा बनेपछि एमालेको शक्ति मानिने संगठन नै शिथिल बन्यो। एमाले–माओवादी एकता लामो समय टिकेन, सर्वोच्चको फैसलापछि पुरानै पार्टी ब्युँतिए। त्यसले एमालेको संगठनमा लागेको खियाको असर यसपालि स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा देखियो।

“सांगठनिक सुस्तताकै कारण एमालेमा गुटबन्दी पनि बढ्यो,” कार्की भन्छन् “विधि र पद्धतिले काम गरेनन्। अब त्यसलाई सही ठाउँमा ल्याउने उपयुक्त विकल्प भनेकै संगठनको पुनर्संरचना र तल्लो तहदेखि नै हुने समीक्षा हो।”

के एमाले र ओली त्यही गर्दै छन् त? एमाले नेताहरू पछिल्लो दशकमा शिथिल बनेको संगठनलाई पुनर्ताजगी दिन र जनतासँग पातलिएको सम्बन्ध जोड्न केन्द्रीय सदस्यहरूलाई फरक भूगोलमा जिल्ला र पालिका तहको जिम्मेवारी दिएर पठाइएको बताउँछन्। उनीहरूका अनुसार आन्तरिक समस्या अर्थात् अन्तर्विरोध हल गरेर संगठन चलायमान गराउन सम्बन्धित क्षेत्रका नेतालाई आफ्नै क्षेत्रमा पठाउँदा ‘न्यायपूर्ण व्यवहार’ हुन नसक्ने आकलनसहित फरक भूगोलमा खटाइएको छ।

यसपालिको निर्वाचन परिणामले एमालेलाई प्रतिपक्षको भूमिका दिए पनि तत्कालीन सत्ता गठबन्धनमा भएको खटपटपछि प्रधानमन्त्रीमा माओवादी अध्यक्ष दाहाललाई सघाएर एमाले अचानक सत्तामा पुग्यो। तर, दुई महिनामै एमाले फेरि सत्ताबाट प्रतिपक्षमा पुगेको छ।

एमाले उपमहासचिव प्रदीप ज्ञवाली नेतादेखि कार्यकर्तासम्म एमालेले सशक्त प्रतिपक्षको भूमिका खेल्नुपर्छ भन्ने भावना रहेको बताउँछन्। “पार्टी धेरै नै सत्तामुखी भयो, अब प्रतिपक्षको भूमिका बलियो बनाउनुपर्छ भन्ने भावना अधिकांश नेता कार्यकर्तामा छ,” ज्ञवालीले भने, “मिसन ग्रासरुटले हामीलाई पार्टी पंक्तिको भावनासँगै जनभावना बुझ्नसमेत सघाएको छ।”

मुलुकको अर्थतन्त्र अहिले संकटमा छ र त्यसले बन्द–व्यापारदेखि रोजगारीमा समेत संकट निम्त्याउँदै छ। बैंकदेखि सहकारीबाट ठगिएका स–साना बचतकर्ता, मिटरब्याजी सुदखोरबाट सताइएका गरिब, मलसम्म नपाएर पिरोलिएका किसान र गरिखाने काम नपाएर बिदेसिइरहेका युवाका सरोकार असरल्ल छन्। त्यसमाथि द्वन्द्वपीडितको न्याय पाउने हक कुण्ठित गर्न सत्ता नै अग्रसर हुँदा प्रतिपक्ष बेपरवाह बसेको टिप्पणी भइरहेको छ। सम्भवतः यी र यस्ता विषयलाई अघि बढाउँदा सशक्त प्रतिपक्षको भूमिका बहन गर्न सक्ने बुझेरै ओली स्वयं पनि संगठन चलायमान पार्न गाउँ पुगिरहेका छन्।

यसबीचमा आफ्नो गुटइतरलाई पेल्ने ओलीको आफ्नै नीतिले निम्त्याएको समस्या, माधवकुमार नेपालको नेतृत्वमा भएको पार्टी विभाजनलगायतले संगठन–कार्यकर्ता पंक्तिमा पारेको असरलाई नजरअन्दाज गर्दै आएका ओली पछिल्लो समय भने त्यसका असर–प्रभावलाई सम्बोधन गर्न आफै अग्रसर बनेका देखिन्छन्। केन्द्रीय सदस्य कार्की सशक्त प्रतिपक्षका लागि संसद्मा भूमिकासँगै सडकमा कार्यकर्ता परिचालन पनि अहं भएकाले त्यसकै लागि संगठन चलायमान बनाउन खोजिएको बताउँछन्।

तर, कतिपयको भनाई भने एमाले आउँदो निर्वाचनका लागि तयारीमा जुटेको भन्ने छ। उनीहरूका भनाइमा वर्तमान संसद्को गणितका कारण अस्थिरता अवश्यम्भावी रहेको बुझाइ एमालेमा छ र जुनसुकै बेला मध्यावधि निर्वाचनका लागि तयार हुनुपर्ने उसको निचोड छ। यसअघि एमाले अध्यक्ष ओली प्रधानमन्त्री हुँदा दुई पटक प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेका थिए। तर, सर्वोच्च अदालतले त्यसलाई उल्ट्याइदिएको थियो। “मध्यावधि निर्वाचन होला या नहोला भन्ने अर्को कुरा हो, हामी अर्को निर्वाचनका लागि अहिल्यैदेखि तयार त हुनुपर्‍यो नि,” एमालेका एक नेताले भने। 


सम्बन्धित सामग्री