Friday, March 29, 2024

-->

१ लाखसम्मको कारोबार गर्ने मर्चेन्टलाई केवाईसी व्यवस्था लागू गर्न राष्ट्र बैंकको निर्देशन

वार्षिक एक लाख रुपैयाँसम्म कारोबार गर्ने भुक्तानी सेवा प्रदायकलाई केवाईसी व्यवस्था लागू गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ।

१ लाखसम्मको कारोबार गर्ने मर्चेन्टलाई केवाईसी व्यवस्था लागू गर्न राष्ट्र बैंकको निर्देशन

का‍ठमाडौँ– नेपाल राष्ट्र बैंकले वार्षिक एक लाख रुपैयाँसम्म कारोबार गर्ने भुक्तानी सेवा प्रदायकलाई सरलीकृत ग्राहक पहिचान (केवाईसी) लागू गर्न निर्देशन दिएको छ। राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी व्यवस्था परिमार्जन गर्दै बैंक तथा वित्तीय संस्थाबाहेकका भुक्तानीसम्बन्धी संस्थालाई उक्त व्यवस्था लागू गर्न भनेको हो।  

“अनुमति प्राप्त संस्थाले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ७ च तथा सम्पत्ति शुद्धीकरण नियमावली, २०७३ को नियम ९ बमोजिम वार्षिक एक लाख रुपैयाँसम्मको कारोबार गर्ने मर्चेन्टलाई आबद्ध गर्दा सरलीकृत ग्राहक पहिचानको प्रक्रिया अवलम्बन गर्न सक्नेछन्,” राष्ट्र बैंकको परिपत्रमा भनिएको छ। 

सरलीकृत ग्राहक पहिचान र सोको सम्पुष्टि गर्दा राष्ट्र बैंकले तोकेको मापदण्ड भने पूरा गर्नुपर्ने छ। राष्ट्र बैंकका अनुसार सरलीकृत केवाईसी प्रक्रियाबाट ग्राहक आबद्ध गर्न छुट्टै फारम भर्नुपर्ने छ। जसमा व्यवसाय वा मर्चेन्टको नाम, ठेगाना, व्यवसायको प्रकृति, कारोबारको भौगोलिक क्षेत्र, अनुमानित मासिक कारोबारको संख्या र रकम लगायतका विषय अनिवार्य रूपमा खुलाउनुपर्ने छ।


सम्बन्धित सामग्री