Saturday, April 20, 2024

-->

मर्स्याङ्दी करिडोरमा २२० केभीका २ सबस्टेसन निर्माण अन्तिम चरणमा

मर्स्याङ्दी करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत चितवनमा नयाँ भरतपुर र लमजुङमा उदीपुर २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ।

मर्स्याङ्दी करिडोरमा २२० केभीका २ सबस्टेसन निर्माण अन्तिम चरणमा

काठमाडौँ– मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताका दुइटा सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ।

आयोजनाअन्तर्गत चितवनमा नयाँ भरतपुर र लमजुङमा उदीपुर २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ। भरतपुर सबस्टेसन आगामी वैशाखभित्र र उदीपुर सबस्टेसन असारभित्र निर्माण सम्पन्न गर्ने गरी अन्तिम चरणको काम भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

आयोजनाअन्तर्गत लमजुङको खुदी र मनाङको धरापानीमा २२० केभीका सबस्टेसन निर्माणाधीन छन्। प्राधिकरणका अनुसार खुदी सबस्टेसन आगामी ६ महिनाभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ भने धारापानी सबस्टेसन निर्माणमा केही समय लाग्ने देखिएको छ। भौगोलिक रूपमा विकट र सबस्टेसन निर्माणस्थलमा उपकरण लैजान पहुँच मार्गको समस्या रहेकाले धारापानी सबस्टेसन निर्माणमा केही समय लाग्ने भएको हो। पहुँच मार्ग निर्माणका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण प्रक्रिया शुरू प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार नयाँ भरतपुर सबस्टेसनमा सञ्चालनपूर्व गर्नुपर्ने परीक्षणका काम भइरहेका छन्। उदीपुर सबस्टेसनका अधिकांश सिभिल संरचनाको निर्माण सम्पन्न भएको छ। सबस्टेसनमा रहने उपकरण निर्माणस्थलमा ढुवानी भइसकेका छन्। उपकरण जडान जारी छ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थलगत अनुगमन भ्रमणमार्फत निर्माण प्रगति, बेहोरिएका समस्या, काम सम्पन्न हुने तालिकालगायतका विषयमा आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीसँग विस्तृत छलफल गरी  सबस्टेसन तोकिएकै समयमा सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन्। नयाँ भरतपुर र उदीपुर सबस्टेसनमा क्रमशः २२०/१३२ केभी, ३२० एमभीए र २२०/१३२ केभी, १६० एमभीए तथा १३२/३३ केभी,५० एमभीए क्षमताका पावर टान्सफर्मरहरू रहने छन्।

मर्स्याङ्दी र त्यसका सहायक नदीबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना शुरू गरिएको हो। प्रसारण लाइनबाट करिब एक हजार ६ सय मेगावाट विद्युत् प्रवाह गर्न सकिने छ। आयोजनाअन्तर्गत चितवनको भरतपुरदेखि  मनाङको धारापानीसम्मको ११३ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माणाधीन छ।

आयोजनालाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ। पहिलो प्याकेजअन्तर्गत उदीपुरबाट नयाँ भरतपुर सबस्टेसनसम्मको करिब ६७ किलोमिटर प्रसारण लाइन निर्माण भइरहेको छ। दोस्रो प्याकेजअन्तर्गत नयाँ भरतपुर र उदीपुर सबस्टेसन निर्माणको अन्तिम चरणमा छन्। तेस्रो प्याकेजअन्तर्गत खुदीबाट धारापानीसम्मको ४६ किलोमिटर प्रसारण लाइन र दुई वटा सबस्टेसन निर्माण भइरहेको छ। नेपाल सरकारको लगानी र युरोपेली लगानी बैंक (ईआईबी)को सहुलितपूर्ण ऋणमा निर्माणाधीन आयोजनाको अनुमानित लागत करिब १६ अर्ब रुपैयाँ छ।


सम्बन्धित सामग्री