Thursday, March 28, 2024

-->

उपनिर्वाचन : तनहुँ–१ मा को–कोले दिँदै छन् उम्मेदवारी?

तनहुँ–१ मा रास्वपा, कांग्रेस र एकीकृत समाजवादीले उम्मेदवार टुंग्याएका छन् भने एमालेबाट सर्वेन्द्र खनाल दाबेदार देखिएका छन्। माओवादी केन्द्रले उम्मेदवार उठाउने/नउठाउनेबारे निर्णय लिएको छैन।

उपनिर्वाचन  तनहुँ–१ मा को–कोले दिँदै छन् उम्मेदवारी

पोखरा— केन्द्रमा बदलिएको राजनीतिक परिदृश्यले आगामी वैशाख १० गते हुन लागेको उपनिर्वाचन रोचक हुने देखिएको छ। बारा–२, चितवन–२, तनहुँ–१ मा रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदका लागि उपनिर्वाचन हुँदै छ।

अर्थविद् डा. स्वर्णिम वाग्लेले चुनाव लड्न कांग्रेस परित्याग गरेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेपछि तनहुँ–१ को उपनिर्वाचनलाई महत्त्वका साथ हेर्न थालिएको छ।

नेपाली कांग्रेसबाट निर्वाचित बनेका रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त रहेको तनहुँ–१ मा हुने उपनिर्वाचनमा रास्वपाबाट डा. वाग्ले उम्मेदवार बनेका हुन्। यता, नेपाली कांग्रेस पार्टीभित्र महत्त्वपूर्ण जिम्मेवारीमा रहेर काम गरिसकेका डा. वाग्लेले कांग्रेस छोड्ने निर्णयले सामाजिक सञ्जाल तातिरहेको छ।

गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा गठबन्धनबाट साझा उम्मेदवार बनेका राष्ट्रपति पौडेलले २५ हजार ३१८ मत पाएर निर्वाचित भएका थिए। उनका निकटतम प्रतिस्पर्धी एमालेका एकबहादुर रानाले १९ हजार ९४३ मत ल्याएका थिए।

तनहुँ–१ मा हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसले केन्द्रीय सदस्य गोविन्द भट्टराई उम्मेदवार बनाउने निर्णय गरेपछि आकांक्षी रहेका डा. वाग्लेले पार्टी परित्याग गर्दै रास्वपा प्रवेश गरेका हुन्। रास्वपाले उनलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ।

नेकपा एकीकृत समाजवादीबाट प्रतापलाल श्रेष्ठ उम्मेदवार बन्ने टुंगो लागेको छ।

नेकपा एमालेबाट भने पूर्वआईजीपी सर्वेन्द्र खनालसहित ६ जनाको नाम सिफारिस भएको छ। एमालेबाट पूर्वआईजीपी खनालसहित रामबहादुर गुरुङ, मोहन विक, परितोस पौडेल, शोभा गुरुङ, किरण धितालको नाम सिफारिस भएको हो। 

एमाले नेता एकबहादुर रानाले भने, “आंकाक्षीहरूको नाम केन्द्रमा गइसकेको छ। अब उतैबाट टुंगो लागेर आउला।”

राना मंसिरको चुनावमा पौडेलसँग पराजित भएका थिए। एमालेले हालसम्म उम्मेदवारको टंगो नलगाए पनि पूर्वआईजीपी खनाल बलिया दाबेदारका रूपमा देखिएका छन्।

यसअघि स्थायी कमिटी सदस्य किरण गुरुङले निर्वाचन क्षेत्र फेरेर चुनावमा उठ्ने चर्चा चले पनि उनको नाम नै सिफारिस भएन। गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा तनहुँ–२ बाट निर्वाचन लडेर गुरुङ पराजित भएका थिए।

माओवादीले के गर्ला?
तनहुँ–१ मा २०७४ सालको निर्वाचनमा नेकपाको गठबन्धनबाट किसान श्रेष्ठ उम्मेदवार थिए। श्रेष्ठले पौडेललाई हराएर प्रतिनिधिसभा सदस्य चुनिएका थिए। गत मंसिरको चुनावमा माओवादी–कांग्रेस तालमेल हुँदा पौडेल निर्वाचित भए। पौडेल राष्ट्रपति बनेपछि रिक्त रहेको तनहुँ–१ मा कांग्रेसले उम्मेदवार टुंगो लगाइसक्दा माओवादीमा अलमल देखिएको छ।

माओवादी केन्द्रबाट गठबन्धनलाई सघाएर जाने या आफ्नै उम्मेदवार उठाउने भन्ने अन्योल देखिएको हो। माओवादी केन्द्रले केन्द्रबाट कुनै निर्णय नगरे पनि १० जनाभन्दा बढी नेता आंकाक्षी देखिएका छन्।

माओवादी केन्द्रका तनहुँ इन्चार्ज हरिबहादुर चुमानले केन्द्रले निर्णय नदिए पनि तनहुँ–१ मा उम्मेदवार बन्न माओवादी नेताहरू तयार देखिएको बताए। “केन्द्रको निर्णय आइसकेको छैन। तर, दर्जन जति आंकाक्षीको नाम सिफारिस भइसकेको छ,” उनले भने।

पछिल्लो परिस्थितिअनुसार केन्द्रबाट कांग्रेसलाई नै चुनाव सघाएर जाने निर्णय आउन सक्ने माओवादी तनहुँ–१ का नेता–कार्यकर्ताको बुझाइ छ।

यद्यपि, तनहुँ–१ मा रास्वपाका डा. वाग्ले, कांग्रेसका भट्टराई र एमालेका पूर्वआईजीपी खनालबीचको प्रतिस्पर्धा रोचक हुने आकलन गरिएको छ। व्यास नगरपालिकाका १४ मध्ये १२ वडा, बन्दीपुर, आबुखैरेनी, देवघाट गाउँपालिका र भानु नगरपालिका तनहुँका १ क्षेत्रमा पर्छन्।


सम्बन्धित सामग्री