Saturday, April 20, 2024

-->

आधाभन्दा बढी क्षयरोग बिरामी उपचारको पहुँचबाहिर

नेपालमा आधाभन्दा बढी क्षयरोगका बिरामी उपचारको पहुँचबाहिर रहने गरेको राष्ट्रिय क्षयरोग केन्द्रले जनाएको छ।

आधाभन्दा बढी क्षयरोग बिरामी उपचारको पहुँचबाहिर

काठमाडौँ– क्षयरोगका आधाभन्दा बढी बिरामीलाई उपचारको दायरामा ल्याउन नसकिएको राष्ट्रिय क्षयरोग केन्द्रले स्वीकार गरेको छ। केन्द्रले बुधबार भक्तपुर थिमिमा गरेको अन्तरक्रियामा केन्द्रका निर्देशक डा. नवीनप्रकाश शाहले क्षयरोग पुष्टि भएकामध्ये आधाभन्दा बढी बिरामीलाई उपचारको दायरामा ल्याउन नसक्दा चुनौती थपिएको बताएका हुन्।

“क्षयरोगका बिरामीको अनुमानित संख्या र उपचारमा आएका बिरामीको संख्याको अनुपात हेर्दा हरेक वर्षमा झन्डै ३२ हजार क्षयरोगका बिरामीको परीक्षण हुन सकेको छैन। साथै, उनीहरूलाई उपचारको दायरामा ल्याउन सकिएको छैन,” निर्देशक शाह भन्छन्, “राष्ट्रिय क्षयरोग कार्यक्रमका लागि यो एक चुनौतीको रूपमा रहेको छ।”

उनका अनुसार नेपालमा हरेक वर्ष क्षयरोगका झन्डै ६९ हजार नयाँ बिरामी थपिन्छ। करिब १७ हजार जनाको क्षयरोगका कारण मृत्यु हुने गरेको छ। आर्थिक वर्ष २०७८/०७९ मा नेपालमा ३७ हजार ८६१ जना क्षयरोगका बिरामी उपचारका लागि दर्ता भएका थिए। जसमध्ये ६१.६ प्रतिशत पुरुष, ३८.४ प्रतिशत महिला र ८.७ प्रतिशत १५ वर्षमुनिका बालबालिका छन्।

केन्द्रले गत आर्थिक २०७८/७९ मा २५ वटा स्थानीय तहमा क्षयरोग मुक्त अभियान सञ्चालन भएको थियो भने चालु आर्थिक वर्षमा थप १०० स्थानीय तहमा बिस्तार गरिएको जनाएको छ। त्यस्तै, चार वर्षभित्र ७५३ वटै स्थानीय तहमा कार्यक्रम सञ्चालन गर्ने योजना रहेको निर्देशक शाहको भनाइ छ।

राष्ट्रिय क्षयरोग कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा ८९६ माइस्क्रोस्कोप केन्द्रहरू ९३ जिन एक्सपर्ट केन्द्र, दुई कल्चर तथा डीएसटी र दुई एलपीए केन्द्रमार्फत क्षयरोग निदान सेवा प्रवाह गरिएको थियो। पाँच हजार ९७२ डट्स केन्द्र, २२ डीआर उपचार केन्द्र, ८१ डीआर उपचार उपकेन्द्र र सात डीआर होस्टमार्फत क्षयरोगको उपचार सेवा प्रदान गरिएको केन्द्रले जनाएको छ।

सन् १८८२ मार्च २४ का दिन डा. रोबर्ट कोचले क्षयरोगको कीटाणुको पत्ता लगाएका थिए। क्षयरोगको कीटाणु पत्ता लागेको सय वर्ष पुगेको सन्दर्भ पारी सन् १९८२ मा इन्टरनेसनल युनियन अगेन्स्ट ट्युबरक्युलोसिस एन्ड लङ डिजिजको सिफारिसमा २४ मार्चको दिनलाई विश्व क्षयरोग दिवसका रूपमा मनाउँदै आएको छ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को वार्षिक प्रतिवेदन २०२२ अनुसार सन् २०२१ मा विश्वभर ६० लाख पुरुष, ३४ लाख महिला र १२ लाख बालबालिका गरी करिब एक करोड ६ लाख मानिसहरू क्षयरोगबाट पीडित भएका थिए। क्षयरोग नियमित उपचारले निको हुने भए तापनि सन् २०२१ मा विश्वभर करिब १६ लाख मानिसले ज्यान गुमाएको डब्लूएचओको तथ्यांक छ।


सम्बन्धित सामग्री