Saturday, April 20, 2024

-->

गण्डकीमा सत्ता फेरबदलको संकेत

गण्डकी प्रदेशमा कांग्रेस र माओवादी केन्द्रले नयाँ सरकार बनाउन आन्तरिक कसरत थालेका छन्। केन्द्रीय समीकरणमा आएको फेरबदलसँगै गण्डकीमा पनि सरकार फेरिने स्थिति बनेको हो।

गण्डकीमा सत्ता फेरबदलको संकेत

गण्डकी– राष्ट्रपति चुनावमा पुरानै गठबन्धन ब्युँतिएपछि गण्डकी प्रदेशमा पनि सत्ता समीकरण फेरिने संकेत देखिएको छ।

गठबन्धनमा सामेल कांग्रेस र माओवादी केन्द्रले नयाँ सरकार बनाउन आन्तरिक कसरत थालेका छन्। केन्द्रीय समीकरणमा आएको फेरबदलसँगै प्रदेश सरकार पनि फेरिने स्थिति बनेको हो।

अहिले गण्डकी प्रदेश सरकार एमालेको नेतृत्वमा छ। माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा पुस २५ गते एमालेका खगराज अधिकारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्र पाण्डेले माओवादी केन्द्रले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिनासाथ नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने बताए।

“प्रदेश सरकारको नेतृत्व बाँडफाँटबारे गठबन्धन दलको शीर्ष तहमा छलफल भइरहेको छ, एक/दुई दिनभित्रमा टुंगो लाग्ला,” उनले भने, “गण्डकीमा पनि माओवादीले सरकार छाडेर समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार अर्को सरकार बनाउने प्रक्रिया सुरु हुन्छ।”

आठजना सांसद रहेको माओवादी केन्द्रले समर्थन फिर्ता लिनासाथ अहिलेको सरकार अल्पमतमा पर्छ। सरकारलाई माओवादीसहित एमालेका २२ र राप्रपाका दुई सांसदको समर्थन छ।

६० सदस्यीय प्रदेशसभामा राप्रपाले मात्र समर्थन फिर्ता लिँदा पनि सरकारले बहुमत गुमाउँछ। गण्डकी सरकारमा मुख्यमन्त्रीसहित एमालेका चार, माओवादी केन्द्रका दुई र राप्रपाका एक मन्त्री छन्।

कांग्रेस संसदीय दलका नेता पाण्डेले आफूहरू माओवादीको निर्णयको पर्खाईमा रहेको बताए। प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री एवं माओवादी केन्द्रको संसदीय दलका नेता हरिबहादुर चुमानले केन्द्रमा सत्ता समीकरण फेरिएपछि त्यसको प्रभाव प्रदेशमा पनि स्वाभाविक रूपमा पर्ने बताए।

“संघ सरकारबाट हटे पनि प्रदेशबाट एमाले हटेको छैन, तर यो अवस्था अब धेरै दिन रहँदैन,” उनले भने, “हामी पनि केन्द्रको निर्देशन कुरेर बसिरहेका छौँ।” नेता चुमानले दुई पटक एमाले र एक पटक कांग्रेसको नेतृत्वमा सरकार बनाउन माओवादीले भूमिका खेलेको भन्दै अबको मुख्यमन्त्रीमा आफूहरूको दाबी रहने बताए।

“माओवादीले मुख्यमन्त्री पाउनुपर्छ। यो स्वाभाविक दाबी हो। यसपालि कांग्रेसले हामीलाई सघाउनुपर्छ,” उनले भने, “आलोपालो नेतृत्वमा जाँदा पछि कांग्रेसले पाउँछ। अहिले माओवादीलाई दिनुपर्छ।”

सरकारको नेतृत्व लिने विषयमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेर कुरा राखेको नेता चुमानले बताए। उता कांग्रेस पनि पहिले आफ्नै नेतृत्वमा सरकार बनाउने गृहकार्यमा छ।

२७ सदस्यसहित कांग्रेस प्रदेशसभाको सबैभन्दा ठूलो दल हो। कांग्रेस संसदीय दलका नेता पाण्डेले गण्डकी प्रदेश सरकारको नेतृत्व कांग्रेसले नै गर्ने बताए।

“सरकारको नेतृत्व कांग्रेस र माओवादीले आलोपालो गर्ने गरी ठोस सहमति त भएको छैन, तर आलोपालो हुन सक्छ,” नेता पाण्डेले भने। 


सम्बन्धित सामग्री