Friday, March 29, 2024

-->

एसीसी प्रिमियर कप : उद्घाटन खेलमा नेपालले मलेसियासँग खेल्ने

एसीसी पुरुष प्रिमियर कपको उद्घाटन खेलमा नेपालले मलेसियासँग खेल्ने भएको छ। नेपाल रहेको समूहमा मलेसियासहित साउदी अरब, कतार र ओमान रहेका छन्।

एसीसी प्रिमियर कप  उद्घाटन खेलमा नेपालले मलेसियासँग खेल्ने

काठमाडौँ– आयोजक नेपालले एसीसी पुरुष प्रिमियर कपको उद्घाटन खेलमा मलेसियासँग खेल्ने भएको छ। एशियन क्रिकेट काउन्सिल (एसीसी)ले बिहीबार घोषणा गरेको खेल तालिकाअनुसार नेपालले मलेसियासँग खेल्ने पक्का भएको हो।

खेल वैशाख ५ गते कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने छ। वैशाख ५ गतेबाट १८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आयोजक नेपालसहित १० राष्ट्रको सहभागीता रहने छ। सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ।

नेपाल समूह 'ए' मा रहेको छ। नेपाल रहेको समूहमा मलेसिया, साउदी अरब, कतार र ओमान रहेका छन्। समूह 'बी' मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र यूएई रहेका छन्। खेलहरू त्रिवि र मूलपानीमा क्रिकेट मैदानमा हुनेछ। नेपालले दोस्रो खेल वैशाख ८ गते ओमानसँग कीर्तिपुरमै खेल्ने छ।

११ गते साउदीसँग नेपालले तेस्रो खेल खेल्ने छ। उक्त खेल मूलपानीमा हुने छ। नेपालले समूह चरणको अन्तिम खेल कतारसँग खेल्ने छ। उक्त खेल १४ गते कीर्तिपुरमा हुने छ।

कूल २४ खेल हुने प्रतियोगिताको फाइनल खेल वैशाख १८ गते कीर्तिपुरमा हुनेछ। हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनल खेल्ने छन्। सेमिफाइनलका विजेताले फाइनल खेल्ने छ।

फाइनलको विजेता टोली एशिया कपमा छनोट हुनेछ। एशिया कप आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुनेछ।

यस्तै, शीर्ष तीनमा रहने टोली एशिया इमर्जिङ कपका लागि छनोट हुनेछ। उक्त प्रतियोगिता जुलाईमा हुने छ।


सम्बन्धित सामग्री