Friday, April 26, 2024

-->

रविलाई सफाइ दिने निर्णयको प्रतिलिपि माग्दै महान्यायाधिवक्ताको कार्यालयमा निवेदन

लामिछानेलाई शक्ति केन्द्रको दबाबमा परेर राहदानी विवादमा उन्मुक्ति दिन लागेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत परेको छ।

रविलाई सफाइ दिने निर्णयको प्रतिलिपि माग्दै महान्यायाधिवक्ताको कार्यालयमा निवेदन 

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राहदानी दुरुपयोग सम्बन्धी मुद्दामा सफाइ दिने भनी गरिएका निर्णयको प्रतिलिपि माग्दै युवराज सफल ९पौडेल०ले महान्यायाधिवक्ताको कार्यालयमा निवेदन दिएका छन्।

जिल्ला प्रहरी परिसर टेकु, जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँ, उच्च सरकारी वकिलको कार्यालय पाटन र महान्यायाधिवक्ताको कार्यालयले लामिछानेलाई सफाइ दिने भनी गरेका निर्णयको प्रतिलिपि माग गर्दै निवेदन दिएका हुन्।

संविधानको धारा २७ तथा सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा (३) र (७) बमोजिम सूचना मागेका हुन्। यसअघि उनले लामिछानेलाई शक्ति केन्द्रको दबाबमा परेर राहदानी विवादमा उन्मुक्ति दिन लागेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिइसकेका छन्।

यथेष्ट प्रमाण हुँदाहुँदै लामिछानेलाई पक्राउ नगरी आर्थिक लेनदेन, पदीय स्वार्थ र शक्ति केन्द्रको चलखेलमा उम्काउन खोजिएको उजुरीमा उल्लेख छ।

सफलले माघ २४ गते मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा (५) बमोजिम रवि लामिछानेविरुद्ध जिल्ला प्रहरी परिसर टेकुमा किटानी जाहेरी दिएका थिए। 


 


सम्बन्धित सामग्री