Thursday, April 25, 2024

-->

प्रधानमन्त्री दाहालले‍ सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिने

सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार १ बजेका लागि समय तोकेका छन्।

प्रधानमन्त्री दाहालले‍ सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिने

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिने भएका छन्। सभामुख देवराज घिमिरे प्रधानमन्त्री दाहालले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार १ बजेका लागि समय तोकेका हुन्।

“प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानको धारा १०० को उपधारा २ बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत लिनेका लागि प्रतिनिधिसभा नियमावली २०७५ को नियम १५१ को उपनियम १ बमोजिम प्रस्तावको सूचना दिएकाले सो प्रयोजनका लागि सो नियमको उपनियम ३ बमोजिम मिति २०७९ चैत्र ६ गते दिनको १ बजे बस्ने बैठकको समय तोकेको बेहोरा मान्य सदस्यलाई जानकारी गराउन चाहन्छु,” सभामुख घिमिरे भने।

पुस १० गते प्रधानमन्त्री नियुक्त भएका दाहालले प्रतिनिधिसभाबाट दोस्रो पटक विश्वासको मत लिन लागेका हुन्। १६९ सांसदको समर्थनमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन्। उनले यसअघि पुस २६ गते विश्वासको मत लिएका थिए। २७० जना प्रतिनिधिसभा सदस्य उपस्थित रहेकोमा उनको विश्वासको मतका पक्षमा २६८ मत परेको थियो भने विपक्षमा २ मत।

तर, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिनुपर्ने भएको हो। संविधानको धारा १०० मा सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा विश्वासको मत लिनुपर्ने व्यवस्था छ। राप्रपाले फागुन १३ गते र एमालेले १५ गते समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने निर्णय गरेको थियो। प्रतिनिधिसभामा एमालेका ७८ र राप्रपाका १४ सांसद छन्।

शनिबार बसेको १० दलीय सत्ता गठबन्धनको बैठकले प्रधानमन्त्री दाहालले विश्वासको मत लिँदा एकै ठाउँमा उभिने निर्णय गरेको छ। त्यस्तै, आइतबार बिहान बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिनका लागि प्रतिनिधिसभा सदस्यहरूलाई ‘ह्विप’ लगाउने निर्णय गरेको छ।


सम्बन्धित सामग्री