Thursday, March 28, 2024

-->

युक्रेनबाट कब्जामा लिएको शहर मारियोपोलमा रुसी राष्ट्रपति पुटिनको आकस्मिक भ्रमण

भ्रमणका क्रममा पुटिनले मारियोपोलको पूर्वी क्षेत्रस्थित रुसी शहर रोस्तोभ अन डनका रुसी उच्च सैन्य कमान्डरसँग भेट गरेको बताइएको छ।

युक्रेनबाट कब्जामा लिएको शहर मारियोपोलमा रुसी राष्ट्रपति पुटिनको आकस्मिक भ्रमण

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले कब्जामा लिएको युक्रेनको तटीय शहर मारियोपोलको आकस्मिक भ्रमण गरेका छन्। रुसी सञ्चारमाध्यम तासका अनुसार पुटिन आइतबार हेलिकोप्टरमार्फत निरीक्षणका लागि मारियोपोल पुगेका थिए। पुटिन सडक सवारीमार्फत मारियोपोलका विभिन्न स्थानमा पुगेर स्थानीयसँग भेटघाट गरेका थिए।

रुसको एक आधिकारिक भिडियोमा पुटिन रातको समयमा कार सवार रहेर यात्रा गरिरहेको र एक कन्सर्ट हलको भ्रमण गरेका देख्न सकिन्छ। भिडियोमा रुसी अधिकारीहरूले पुटिनलाई शहर कसरी पुनर्निर्माण हुँदैछ भनेर व्याख्या गरिरहेका छन्। यद्यपि, उक्त भिडियो कुन स्थानमा खिचिएको हो भन्ने पुष्टि गर्न नसकिएको बीबीसीले जनाएको छ।

भ्रमणका क्रममा रुसी उपप्रधानमन्त्री मरत खुस्नुलिनले शहर तथा आसपासका क्षेत्रको पुनर्निर्माणका सम्बन्धमा विस्तृत प्रतिवेदन तयार पारेको तासले उल्लेख गरेको छ। क्रेमलिनको सूचना सेवाका अनुसार “विशेष गरी नयाँ आवासीय क्षेत्रहरू, सामाजिक र शैक्षिक सुविधा, उपयोगी पूर्वाधार र मेडिकल केन्द्र निर्माणको विषयलाई प्राथमिकतालाई राखेर” प्रतिवेदन तयार गरिएको छ।

पुटिनले रुसको नेभ्स्की जिल्लाका स्थानीयसँग कुराकानी गरेको र स्थानीय परिवारको निम्तोमा एक आवासीय क्षेत्रको भ्रमण गरेको बताइएको छ। डनबास क्षेत्रमा रुसी राष्ट्रपतिको यो पहिलो भ्रमण भएको तासले उल्लेख गरेको छ।

रुसी आक्रमणका कारण ध्वस्त भएको मारियोपोल शहर अहिले रुसको नियन्त्रणमा छ। रुसले युक्रेनमा आक्रमण गरेको दश महिनापछि मारियोपोल शहरलाई नियन्त्रणमा लिएको थियो।

गत वर्ष मार्च १६ मा मस्कोले मारियोपोल थिएटरमा ठूलो हवाई आक्रमण गरी सयौँ नागरिकको हत्या र हजारौँ मानिस विस्थापित गरेको एक वर्ष पुगेका बेला पुटिन सो क्षेत्रको भ्रमणमा निस्किएको बीबीसीले उल्लेख गरेको छ।

थिएटरलक्षित आक्रमणमा कम्तिमा ३०० जना मारिएको विश्वास गरिएको छ। युक्रेन र मानवअधिकारवादी समूहहरूले त्यस आक्रमणले युद्ध अपराध बढाएको बताएका थिए। त्यति बेलाको आक्रमणका लागि पुटिन र उनको सत्ता आधिकारिक रूपमै जिम्मेवार हुनुपर्ने संयुक्त राष्ट्रसंघको भनाइ छ।

यसअघि शुक्रबार मात्रै अन्तर्राष्ट्रिय फौजदारी अदालतले युद्ध अपराधमा पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। युक्रेनी बालबालिकालाई अवैध रूपमा रुस पुर्‍याएको सहितका युद्ध अपराधमा पुटिन संलग्न रहेको आरोप छ।

यसैबीच, पुटिनले शनिबार रुस नियन्त्रित क्षेत्र क्रिमियाको अघोषित भ्रमणसमेत गरेका थिए। स्वशासित क्षेत्र क्रिमियालाई रुसले आफ्नो नियन्त्रणमा लिएको नौ वर्ष पुगेको अवसरमा पुटिन क्रिमिया भ्रमण गरेका थिए। त्यहाँ नयाँ रुसी विद्यालय, विद्यार्थीको समर क्याम्प र भविष्यका सांस्कृतिक परियोजना (नयाँ रुसी संग्रहालय र म्युजियम अफ क्रिश्चियानिटी) को  भ्रमण गरेको रुसी सरकारी मिडियालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

भ्रमणका क्रममा पुटिनले मारियोपोलको पूर्वी क्षेत्रस्थित रुसी शहर रोस्तोभ अन डनका रुसी उच्च सैन्य कमान्डरसँग पनि भेट गरेको बीबीसीले जनाएको छ।

यता, किभ (युक्रेनको राजधानी) का अधिकारीले भने क्रिमिया (सन् २०१४ मा रुसमा गाभिएको)सहित रुसी नियन्त्रणमा रहेका युक्रेनी भूमि फिर्ता लिएरै छाड्ने प्रतिबद्धता लिएको छ।


सम्बन्धित सामग्री