काठमाडौँ- कुनै समय सामाखुशी खोला निर्बाध बग्थ्यो। यहाँ आसपास खेत थिए। कुलो बनाएर लगिएको खोलाको पानीले नै सिँचाइ गर्ने गरिएको स्थानीय विष्णुकुमारी श्रेष्ठ बताउँछिन्।
सामाखुशी खोलाको मुहान टोखा नगरपालिकामा पर्छ। यो खोला शिवपुरी जंगलबाट उत्पत्ति भएको छ। त्यहाँबाट बग्दै आएर वसुन्धरामा काठमाडौँ महानगरपालिका प्रवेश गर्छ। त्यसपछि साँघुरिँदै गएको सामाखुशी खोला त्रिवि शिक्षण अस्पतालको पछाडि पुगेपछि हराउँछ।
त्यहाँ खोलालाई कतै सडकले छोपिएको छ भने कतै पार्किङ बनाइएको छ। सामाखुशी क्षेत्रमा करिब ५०० मिटरसम्म खोला गायब छ। त्यसपछि पनि कतै खुला छ भने धेरैजसो ठाउँमा गायब छ।
रानीबारी क्षेत्रमा सामाखुशी खोला छोपेर पार्किङ बनाइएका छन्। सडक र अन्य भौतिक संरचना निर्माणका लागि पनि खोला नै छोपिएको छ। यो खोला म्हैपी मन्दिर नजिक पुगेपछि विष्णुमतीमा मिसिन्छ।

सामाखुशीस्थित प्रहरी बिट पनि सामाखुशी खोला क्षेत्रमै बनाइएको छ। त्यहाँसमेत खोला छोपिएको छ। सामाखुशी क्षेत्र पर्ने वडा नं. ३ का अध्यक्ष प्रेम थापा प्रहरी बिट खोलामाथि नबनाइएको बताउँछन्। तर खोलाको मापदण्ड नछाडी बिट स्थापना गरिएको छ।
काठमाडौँ उपत्यका नगर विकास समितिको मापदण्डअनुसार सामाखुशी खोलाबाट चार मिटर छाडेर मात्र संरचना बनाउन पाइन्छ। त्यसबाहेक राजकुलो कायम भएको स्थानबाट दुवैतिर १५/१५ फिट जमिन छोडेर मात्रै घर तथा संरचना बनाउन पाइन्छ।
निर्माण सम्बन्धी मापदण्ड (संशोधन २०६४) अनुसार उपत्यकामा बग्ने कुनै पनि खोला, खोल्सी र राजकुलो छोप्न पाइँदैन। २०६५ साल मंसिर १ गतेको मन्त्रिपरिषद् बैठकले पनि यस्ता क्षेत्र छोप्न नपाइने र अतिक्रमण गरेर संरचना पनि बनाउन नपाइने निर्णय गरेको थियो।
उता, वडा नं. १५ वनस्थलिस्थित भच्चाखुशी र डोराखुशी खोलालाई ढल बनाइएको छ। डोराखुशीको अधिकांश भाग खुलै भए पनि भच्चाखुशी खोला छोपेर कतै भवन तथा कतै सडक बनाइएको छ। यी खोला पनि विष्णुमतीमा मिसिन्छन्।
कसरी पस्यो खोलामा सडक?
२०६० सालको नक्सामा सामाखुशी खोलो स्पष्ट देख्न सकिन्छ। स्थानीय विष्णुकुमारी श्रेष्ठका अनुसार सामाखुशी खोला छोपेर संरचना बनाउन थालेको करिब दुई दशक भयो।
पहिला सामाखुशीबाट खेतमा कुलो लग्ने गरे पनि अहिले ढल मात्र बग्ने गरेको उनको भनाइ छ। “ढल मिसाउँदै गएपछि खोलो ढलमै परिणत भयो,” उनी भन्छिन्, “अब फेरि कुलो वा खोलामा परिणत गर्न असम्भवजस्तै छ। यहाँका मान्छेहरूको पनि कि त सफा/कञ्चन पानी बगोस् कि ढलै रहोस् भन्ने चाहना छ।"
सामाखुशीमा खोला छोपेर बनाइएको सडक।
वनस्थलीका सिद्धिनारायण महर्जनका अनुसार भच्चाखुशी र डोराखुशी खोला पनि अहिले ढलमा परिणत भएका छन्। “पहिला खोलै थिए र खुला बग्थे। मान्छेहरूले आफ्नो घरअगाडि बाटो र गाडी राख्न खोला छोप्दै गए,” उनी भन्छन्, “यहाँका मान्छेहरू खोला छोप्दा केही बोलेनन्। बाटो सबैलाई चाहिएको हुनाले त्यसको विरोध गर्न चाहेनन्।”
भच्चाखुशी छेवैमा पसल थापेर बसेका प्रवेश पोखरेल पनि खोला छोपेर संरचना बनाइएको बताउँछन्। “खोला त हामी आफैँले देखेका हौँ। खोलामा मान्छेहरू पानी लिन आउँथे। कति नुहाउँथे पनि,” पोखरेल भन्छन्, “अहिले यो खोलाको चौडाइ घटेको छ। पानी पनि फोहोर र दुर्गन्धित बनेको छ। मान्छेले घरको ढल मिसाउँदै गएपछि खोला फोहोर हुँदै गयो र पछि गन्हाउन थालेपछि छोप्दै गए।”
कतिपय ठाउँमा अहिले पनि खोला छोप्न काम भइरहेको छ। अधिकांश ठाउँको खोला आफूहरूले छोपेका स्थानीयहरू नै स्वीकार गर्छन्। वनस्थलीकी विष्णु थपलियाका अनुसार उनले घर बनाउने बेला खोला छोपिसकिइएको थियो। “हामीले घर बनाउँदा खोला छोपिएको थियो। पछि पानी जम्न थालेपछि मात्रै सडकमुनि खोला छ भनेर थाहा पायौँ,” उनी भन्छिन्, “स्थानीयहरूले नै हो खोला छोपेका हुन्। सडक र ढलको पानी बगाउन खोला छोपिएका हो।”
स्थानीय भन्छन्- खोला नछोप्ने हो भने बस्नै सकिँदैन
काठमाडौँ महानगरले गएको असारमा ल्याएको नीति तथा कार्यक्रममा खोला अतिक्रमण गरी बनाइएको संरचना हटाउने उल्लेख छ। खोला छोप्न नदिने र त्यसरी बनाइएका संरचना पनि हटाउने महानगरले जनाएको छ।
छोपिएको खोला उदांगो पार्ने महानगरको नीति ठीक नभएको स्थानीय बताउँछन्। “खोला उघारिँदा त केही भएन, तर उघारिएको खोलाबाट आउने दुर्गन्धले हामी कसरी बाँच्नु? खोलाको दुर्गन्धले महामारी फैलिन्छ। अझै हैजा फैलिन सक्ने खतरा छ,” सामाखुशीकी विष्णुकुमारी भन्छिन्, “हामी खोला छोप्न पाउनुपर्छ भनेर भन्दैनौँ, तर महानगरले छोपिएको खोला खोल्ने हो भने सफा र कञ्चन पानी बग्नुपर्छ। व्यक्तिको जीवन कानूनभन्दा माथि हुन्छ।”
स्वास्थ्यको हिसाबले अब खोला छोप्नै पर्ने अवस्था आएको अर्का स्थानीय दीपक थापा बताउँछन्। “खोला त टालेकै ठीक छ नि। यसलाई खोल्ने हो भने यहाँ महामारी फैलिन्छ। मान्छे बाँच्नै गाह्रो हुन्छ,” उनी भन्छन्, “खोला उघार्नुअघि व्यवस्थित ढल बनाउनुपर्छ। खोलाले अहिले ढलकै काम गरिरहेको छ। नामको मात्रै खोला हो।”

वनस्थलीकी विष्णु भने खोला छोपेकोमा गुनासो गर्छिन्। “खोला छोपेर बर्खामा हाम्रो घर वरिपरि पानी जम्छ। पानीको निकास नभएर सास्ती खेप्नु परेको छ,” उनी भन्छिन्, “सक्दो चाँडो खोला बाहिर निकालेर पानीलाई निकास दिनुपर्छ, नभए भविष्यमा गाह्रो हुने हामीलाई नै हो। तर यहाँका मान्छेले खोला छोपेर सडक बनाएका छन्।”
वडा नं १५ का अध्यक्ष ईश्वरमान डंगोल ३०-४० वर्ष अघिदेखि नै खोला छोपिएको बताउँछन्। “मेरो वडामा खोला धेरै नछोपिए पनि राजकुलोहरू छोपिएको छ। दुर्गन्धित भयो भनेर सोही स्थानका मान्छेहरूले छोपेका हुन्,” डंगोल भन्छन्, “छोपिएको खोला र कुलोलाई खुलाउने कि नखुलाउने निर्णय अझै भइसकेको छैन। हामी छलफल र अध्ययनमै छौँ।”
उपत्यका विकास प्राधिकरण र महानगरपालिकाको प्राविधिक टोलीले छोपिएको खोला खुला गर्न सर्वेक्षण थालेको छ। वडा नं ३ का अध्यक्ष थापाका अनुसार सर्वेक्षण सकिनासाथ खोला खुलाउने योजना छ। “स्थानीयहरूको माग पनि नाजायज होइन, तर खोला खुलाएर व्यवस्थित गर्ने हाम्रो योजना छ,” थापा भन्छन्, “विकल्प के हुनसक्छ भनेर हामी थप अध्ययन गरिरहेका छौँ।”
छोपिएको खोला नखोले त्यसको प्रत्यक्ष असर त्यहाँका स्थानीयलाई पर्ने वातावरणविद् भुषण तुलाधर बताउँछन्। खोलालाई छोप्नु वा पुर्नु भनेको खोलाको अस्तित्व समाप्त पार्ने काम भएको उनको भनाइ छ। “खोलालाई पुर्ने वा छोप्ने हो भने खोलाको पानी कहाँ जान्छ? पानी र फोहोर जमेर झन् दुर्गन्ध फैलिनसक्छ। त्यसले त झन् रोग निम्त्याउँछ,” उनी भन्छन्, “खोला छोपेर स्थानीयले बाढीलाई निम्तो पठाउँदैछन्। यसको असर जलवायु परिवर्तनमा पनि देखिँदैछ।"

खोला छोप्दा वा 'सिल' गर्दा पानी जमिनमुनि जान नपाउने र सुक्खामा लामो समय सुक्खा हुने तुलाधर बताउँछन्। वर्षामा बाढी घरभित्रै पस्ने समस्या देखिन थालिसकेको पनि उनले बताए।
वातावरणविद् तुलाधर खोला छोप्नु स्थानीयको व्यक्तिगत स्वार्थ भएको बताउँछन्। “घरअगाडि सडक बनाउन र पर्किङस्थल बनाउन मान्छेले खोला र कुलो छोपेर माथिबाट ढलान गर्ने गरेका छन्,” तुलाधर भन्छन्, “भावी परिणामलाई नजरअन्दाज गरेर व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिँदा खोला र कुलो छोपिँदैछ।”
हाँडीगाउँमा खहरेमाथि पक्की सडक बन्दै
हाँडिगाउँस्थित खहरे खोला छोपेर अहिले धमाधम सडक बनाइँदैछ। यो खहरे पहेँलो पुलभन्दा करिब १०० मिटर उत्तरमा धोबीखोलामा मिसिन्छ। खहरे खोला काठमाडौँ महानगर-५ मा पर्छ। खोला छोपेर सडक बनाउन खानेपानी तथा ढल व्यावस्थापन विभाग बागमती प्रदेशले गोल्डेन गुड शेर्पा कन्सट्रक्सनलाई ठेक्का दिएको छ।
वडाबासीले ढल मिसाएर गन्हाउन थालेपछि वडाको सिफारिसमै खोला छोप्न शुरू भएको वडाध्यक्ष वीरेन्द्र प्रजापति बताउँछन्। “खोला छोप्ने कामको शुरूआत मेरो पालामा नभएर अघिल्लो पालामै भएको हो। खोला बाँसबारीबाट आएको हो। तर खोलाको मुहान नभएपछि वडाबासीकै अनुरोधमा काम शुरू भएको हो,” प्रजापति भन्छन्, “मुहान नभएकै कारण खोला पुर्ने स्वीकृति वडाले दिएको थियो।”

शेर्पा कन्सट्रक्सनले वडासँग २०७९ माघको २४ गतेसम्म काम सकाउने गरी डेढ वर्षअघि सम्झौता गरेको थियो। तर महानगरले नीतिविपरीत भन्दै काम रोक्न निर्देशन दिएको थियो। अहिले पुन: काम तीव्र गतिमा चलिरहेको छ।
वडाध्यक्ष प्रजापति भने खोला छोप्ने काम बन्द नै भएको दाबी गर्छन्। “महानगरबाट निर्देशन आएपछि हामीले पुर्ने काम रोकेका छौँ। मेरो वडामा धेरै भाग नपरेर वडा नं ४ मा पर्छ। तर अब म फेरि बुझेर काम बन्द गर्न लगाउँछु।”