Friday, March 29, 2024

-->

स्ववियु चुनाव : भक्तपुर र सानोठिमी क्याम्पसमा ९ सय प्रहरी खटाइँदै, ३ तहको सुरक्षा व्यवस्था

स्ववियु चुनावमा मतदान केन्द्रको सुरक्षार्थ ९०० प्रहरी खटाइएको छ भने 'स्ट्राइकिङ फोर्स', डीआईजीको निर्देशनमा रहेको ब्याक–अप प्रहरी तयार अवस्थामा राखिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

स्ववियु चुनाव  भक्तपुर र सानोठिमी क्याम्पसमा ९ सय प्रहरी खटाइँदै ३ तहको सुरक्षा व्यवस्था

काठमाडौँ– आइतबार भक्तपुरसहित देशभर स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)को निर्वाचन हुँदै छ। भक्तपुरमा दुधपाटीस्थित भक्तपुर बहुमुखी क्याम्पस र सानोठिमीस्थित सानो ठिमी क्याम्पस गरी दुई मतदान केन्द्रमा निर्वाचन हुँदै छ।

विगतका स्ववियु निर्वाचनमा यी क्याम्पसमा आगजनी तथा झडपका घटना भएका थिए। यसपटक भने भक्तपुरका दुवै मतदान केन्द्र शान्त रहेको भक्तपुर बहुमुखी क्याम्पस नेपाल क्रान्तिकारी विद्यार्थी (नेक्रावि)का अध्यक्ष प्रकाश गुरुङ बताउँछन्। सानोठिमी क्याम्पस नेक्रावि संघका अध्यक्ष शम्भु जाउला पनि स्ववियु निर्वाचनलक्षित तडकभडक तथा मनमुटाबको स्थिति नरहेको दाबी गर्छन्।

विद्यार्थीहरूको हकहितमा आवाज उठाउने विद्यार्थी संगठन अराजक राजनीतिक गतिविधिमा अभ्यस्त हुन थालेका उदाहरण प्रशस्त छन्। यसो हुँदा अध्ययन र अनुशासन सिकाउने विद्यालय तथा क्याम्पसका मतदान केन्द्रमा पनि राष्ट्रिय निर्वाचनमा जस्तै सुरक्षा खतरा देखिन थालेको छ। “भक्तपुर बहुमुखी क्याम्पस नेक्राविका कार्यकर्ता बाहुल्य रहेको क्याम्पस हो। त्यहाँ नेक्राविमा केही भयो भने स्थानीय उर्लिएर आउन बेर छैन,” एक प्रहरी जवान खतरा औँल्याउँछन्।

०७३ सालमा स्ववियु चुनावको अघिल्लो दिन सानोठिमी क्याम्पसका क्याम्पस प्रमुखको कार्यकक्षमा आगजनी भएको थियो। त्यस्तै, ०७४ सालमा सानोठिमी क्याम्पसमै नेक्राविले गरेको कोणसभाका क्रममा अखिल क्रान्तिकारीबीच भएको झडप भएको थियो। नेक्रावि नेपाल मजदुर किसान पार्टीनिकट विद्यार्थी संगठन हो।

यस पटकको स्ववियु चुनावमा कुनै अप्रिय घटना हुन नदिन प्रहरी प्रशासन प्रतिबद्ध रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकबहादुर जीसी बताउँछन्। “हामीले चुनाव हुने क्याम्पसमा त्यहाँको मतदान अधिकृत र क्याम्पस प्रमुखलाई भनेर पुराना रेकर्डका विषयमा छलफल गरेर सुरक्षा रणनीति बनाएका छौँ,” उनले भने, “यसपटक कुनै अप्रिय घटना हुन नदिनेमा प्रतिबद्ध छौँ।”

संवेदनशीलता हेरेर भक्तपुरका लागि यी दुई मतदान केन्द्रमा नौ सय प्रहरी तैनाथ गरिने उनको भनाइ छ। स्ववियु निर्वाचनका क्रममा विगतमा भएका घटनालाई मध्यनजर गरेर सुरक्षा व्यवस्थामा कडाइ गरिएको उनले बताए।

प्रहरीले स्ववियु निर्वाचनमा सत्ता गठबन्धनको प्रभाव हाबी हुन सक्ने चुनौती औँल्याएको छ। “सत्ता गठबन्धनका कारण यसपटक विद्यार्थी संघमा पनि गठबन्धन भएको छ। यसकारण गठबन्धनकै विद्यार्थी संगठन हाबी हुने हो कि भनेर हामी अझ सतर्क छौँ,” प्रहरी निरीक्षक जीसी भन्छन्, “चुनावमा कोही पनि हार्न चाहँदैन। हार्ने शंका लागेपछि विभिन्न खालका लफडा निकाल्न सक्छन्। गठबन्धन टुटाउने तथा कुनै अप्रिय घटना हुन सक्ने देखेर हामीले कडाइ गरेको छौँ।”

त्यसो त, भक्तपुर नेमकिपाको बलियो पकड भएको जिल्ला हो। अझ भक्तपुर बहुमुखी क्याम्पसमा गडबड भए स्थानीय नै उर्लिएर आउने सम्भावना रहेकाले तीन तहको सुरक्षा रणनीति तयार गरेको प्रहरी निरीक्षक जीसीले बताए।

“चुनावअघि क्याम्पस क्षेत्र वरपर रहेका भट्टी, चिया पसल वा अन्य सार्वजनिक स्थानमा हुने सक्ने सम्भावित घटना निगरानी तथा नियन्त्रणका लागि सिभिल तथा सादा पोसाकमा प्रहरी तैनाथ गरिरहेका छौँ,” उनले भने, “दोस्रो तहमा चुनावको दिन अघिल्लो दुई निर्वाचनमा जसरी नै हातहतियारसहित हामी खटिने छौँ। चुनावपछि मत गणनादेखि विजय र्‍यालीसम्म सुरक्षा निकायले आफ्नो उपस्थिति जनाउनेछ।”

चुनावका लागि नौ सय प्रहरीदेखि 'स्ट्राइकिङ फोर्स', डीआईजीको निर्देशनमा रहेको ब्याक–अप प्रहरी पनि तयार रहेको उनले बताए। सम्भावित झगडा तथा दंगा नियन्त्रणका लागि प्रहरी युनिटलाई पनि सतर्क गराइएको उनको भनाइ छ।

भक्तपुर क्याम्पसमा नेक्रावि, गठबन्धनबाट नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी सघं (नेविसंघ), एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी चुनावी मैदानमा छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीको राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन र मोहन वैद्य नेतृत्वको माओवादीनिकट अखिल क्रान्तिकारी संयुक्तले पनि निर्वाचनमा भाग लिँदै छ। सानोठिमी क्याम्पसमा अखिल क्रान्तिकारी र नेविसंको एउटै प्यानल छ भने नेपाल क्रान्तिकारी र अनेरास्ववियुको अर्को प्यानल बनेको छ।

भक्तपुरका यी दुई मतदान केन्द्रमा ५ हजार ३०५ विद्यार्थी मतदाता रहेका छन्। जसमा भक्तपुर बहुमुखी क्याम्पसमा ४ हजार १ र सानोठिमी क्याम्पसमा १३ सय ४ जना रहेका छन्।

राजनीतिको प्रभावका कारण विद्यार्थी आन्दोलन विचलित हुँदै गएको नेक्राविका पूर्वअध्यक्ष नीरज लवजु बताउँछन्। “निर्वाचनमा अत्यधिक पैसा खर्च गर्ने, अराजक गतिविधि लगायतको मूल जड सत्तामा आसीन तथा राष्ट्रिय पार्टीका गतिविधि हुन्,”, उनले भने, “विद्यार्थी राजनीति विकृतिसँग जोडिन थालेको छ।”

भक्तपुर बहुमुखी क्याम्पसमा नेक्राविको पकड रहेको र नेक्राविमाथि केही भए स्थानीय नै उर्लिएर आउनेका विषयमा पूर्वअध्यक्ष लवजु केही भिन्न मत राख्छन्। यस प्रकारका कथन नकारात्मकभन्दा पनि सकारात्मक कोणबाट हेर्नुपर्ने उनको भनाइ छ। “स्थानीयको आफ्नो स्थानप्रतिको मायाले पनि होला , तर हामीले सदैव निर्वाचन लड्दा हाम्रा सिद्धान्त र विचारमा अडिग भएर लडेका थियौँ।”


सम्बन्धित सामग्री