Thursday, April 18, 2024

-->

शहर पसेपछि दूषित बन्छ बागमती, बागद्वारदेखि टेकुसम्मको यात्रा (भिडियो)

काठमाडौँको जनसंख्या बढ्दै जाँदा २०२३ सालमा सुन्दरीजलबाट बागमतीको पानी ल्याएर वितरण थालिएपछि नदीको बहाव घट्यो। वस्ती बढ्दै जाँदा बागमतीमा पानी नभएर फोहोर मात्र बग्न थालेको धेरै वर्ष भइसकेको छ।

शहर पसेपछि दूषित बन्छ बागमती बागद्वारदेखि टेकुसम्मको यात्रा भिडियो

काठमाडौँ- कागेश्वरी मनहरा-१ डाँडागाउँका रामकृष्ण ढकाल (७०) कुनै समय बागमतीको पानी पिएको सम्झन्छन्। "बागमतीको पानी कञ्चन थियो, हामी त्यहीँको पानी पिएर हुर्किएका हौँ। अहिले नजिक जान पनि मन लाग्दैन," उनी भन्छन्। 

बागमती किनारैकिनार उनी साथीहरूसँग सुन्दरीजल पुग्थे। त्यहाँको पानी निकै कञ्चन थियो। अहिले भने सुन्दरीजलबाट नै बागमती प्रदूषित हुन शुरू गर्छ।

शिवपुरीस्थित उद्‍गम थलो बागद्वारबाट सुन्दरीजलसम्म आइपुग्दा बागमतीले ३ किलोमिटर पार गरिसको हुन्छ। सुन्दरीजल आइपुग्दा स्यालमती र नागमती मिसिएर बागमतीले आफ्नो स्वरूप पनि बढाउँछ। स्वच्छ र सफा बागमती सुन्दरीजलबाट मानववस्ती छिर्छ। त्यसपछि मानव सिर्जित फोहोरले नदी प्रदूषित हुन थाल्छ।

“त्यति बेलाको बागमती अहिलेजस्तो कहाँ थियो र! कञ्चन पानी बग्थ्यो। हामीले देख्दादेख्दै बागमतीमा फोहोर मात्र बग्न थाल्यो," ढकाल भन्छन्।

उनका अनुसार नदी किनारमा बसोबास बढ्दै गएपछि बागमती फोहोर हुन थालेको हो । घरको ढल मात्र होइन, घरेलु उद्योग, कलकारखानाका फोहोर, कृषिजन्य फोहोर बागमतीमै  मिसाइएको ढकाल बताउँछन्। 

काठमाडौँमा जनघनत्व बढ्दै जाँदा बागमती प्रदूषित हुन थालेको काठमाडौँका रैथानेहरू बताउँछन्। काठमाडौँको जनसंख्या बढ्दै जाँदा खानेपानीको संकट पनि बढेपछि २०२३ सालमा सुन्दरीजलबाट बागमतीको पानी ल्याएर वितरण थालिएको थियो। खानेपानी काठमाडौँ ल्याएपछि बागमतीको बहावमा परिवर्तन आएको ढकाल बताउँछन्।

२०२३ साल अघिसम्म बागमती १२ मास नै ठूलो बग्थ्यो। बागमती तर्न फड्के हालिएको थियो। "उहिले र अहिलेको बागमतीमा धेरै फरक छ। अहिले हिउँदमा लट्ठी टेकेरै खोला तर्न सक्छु। बागमतीमा पानी कम भएपछि फोहोर बगाउन पनि नसक्ने भएको छ," ढकाल भन्छन्।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का अनुसार बागमतीबाट सुक्खायाममा दैनिक ३ करोड लिटर पानी प्रशोधन गरेर वितरण गरिन्छ। अन्य समयमा दैनिक ६ करोड लिटरसम्म पानी वितरण हुने केयूकेएलका प्रवक्ता प्रकाशकुमार राईले जानकारी दिए।

खानेपानी वितरण हुन थालेपछि बागमती सुक्न थालेको गोकर्णेश्वर नगरपालिकाको तालिन्चोककी स्थानीय कल्पना श्रेष्ठ बताउँछिन्। दुई दशक अघिसम्म पनि बागमतीको पानी सोझै पिउने गरेको उनी सम्झन्छिन्। “उत्तरवाहिनी आउने तीर्थालुले समेत स्वच्छ नदीको प्रशंसा गर्थे। अहिले पानी सम्झँदा पनि घिन मान्नुपर्ने  अवस्था छ,” कल्पनाले भनिन्।  

उत्तरवाहिनीमा श्रेष्ठको खेती छ। उत्तरवाहिनीभन्दा तल माकलबारीतिर सडक फराकिलो हुँदै जाँदा बस्ती बढेको र नदी पनि प्रदूषित हुँदै गएको उनी बताउँछिन्। बस्ती बढेर अहिले खेती गर्ने जग्गा नै नरहेको उनको भनाइ छ।

तत्कालीन पशुपति क्षेत्र वातावरण सुधार कार्यान्वयन तथा अनुगमन समितिले गुरुयोजना बनाउँदा गोकर्णभन्दा माथिको क्षेत्रमा बस्ती नै नरहेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका प्रवक्ता कमल अर्याल बताउँछन्। पशुपति क्षेत्र वातावरण सुधारको कार्यक्षेत्र विस्तार गरी अहिले बागमती सभ्यता एकीकृत विकास समिति बनाइएको छ।

उति बेला गोकर्णेश्वर नगरपालिकाले सेफ्टी ट्यांक अनिवार्य बनाउनुपर्ने व्यवस्था लागू गरेको थियो। तर अहिले यो व्यवस्था लागू नभएको अर्याल बताउँछन्।

बागमती सभ्यताले गोकर्णेश्वरदेखि सुन्दरीजलसम्म समेत सौन्दर्यीकरणको गर्ने तयारी गरिरहेको छ। मन्त्रिपरिषद्को निर्णयले सुन्दरीजलदेखि उत्तरवाहिनीसम्म नदी किनाराको मापदण्ड २० मिटर कायम गरेको छ। सुन्दरीजलदेखि उत्तरवाहिनिसम्म करिब ८ किलोमिटर करिडोर निर्माणका लागि करिब २६ सय रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने हुन्छ। 

समितिका प्रवक्ता अर्यालका अनुसार गोकर्णेश्वरदेखि गुहेश्वरीसम्म ६.१ किलोमिटर नदी किनारमा सौन्दर्यीकरणको काम अन्तिम चरणमा पुगेको छ। पशुपतिदेखि तिलगंगासम्मको करिब ९०० मिटर पनि सौन्दर्यीकरण भइरहेको छ। 

तिलगंगादेखि बानेश्वर क्याम्पससम्म नदी आसपासमा अव्यवस्थित बस्ती छ। करिब दुई दशकमा यो बस्ती अझै बढेको छ। बस्ती अव्यवस्थित हुँदा  सौन्दर्यीकरणको काम हुन सकेको छैन। सिनामंगल, थापाथली, बल्खु, मनोहरालगायत स्थानमा करिब तीन हजार ४५९ अव्यवस्थित घरधुरी रहेको बागमती सभ्यता कार्यालयले जनाएको छ।

बागमती सौन्दर्यीकरणको काम शंखमूल क्षेत्रमा भने भइरहेको छ। तर नदी जति शहर पस्छ उति प्रदूषित भएको छ।

बागमती किनारस्थित शंखमूलकी मिठ्ठु थापा (७३) कुनै समय यही नदीमा मुख धुने, नुहाउने, लुगा धुने गर्थिन्। पिउने पानी पनि यहीँबाट लगिन्थ्यो। मिठ्ठुका अनुसार, बागमती अहिलेभन्दा केही दक्षिण (ललितपुर) तर्फ बाट बग्थ्यो। 

२०३८ सालमा बागमतीमा घरै बगाउने खालको बाढी आएको थियो। तर अब बागमतीमा पानी नभएर फोहोर मात्र बग्ने उनी बताउँछिन्। उनी भन्छिन्, “अहिले मान्छेले बागमती नुहाउन सक्ने अवस्था छैन। अहिले त इनारको पानी ट्यांकीमा भरेर नुहाइन्छ।” 

बागमती सभ्यताका अनुसार ललितपुरतर्फ यूएन पार्कदेखि बल्खु पुलसम्म सौन्दर्यीकरणको काम भइरहेको छ। काठमाडौँतर्फ थापाथली पुलदेखि टेकु दोभानसम्म २८ वटा सम्पदा पुनर्निर्माणसँगै सौन्दर्यीकरण भइरहेको छ। 

बागमती नदीलाई सफा बनाउन एशियाली विकास बैंकको सहयोगमा सुन्दरीजलभन्दा माथि धापमा २४ मिटर अग्लो ड्याम बनाइएको छ। पहिलेदेखि नै सिमसार क्षेत्र रहेको धापमा अग्लो पर्खाल लगाइएको छ। 

यहाँ करिब ११ करोड २० लाख घनमिटर क्षमताको ड्याम निर्माणपश्चात् शिवरात्रि, छठजस्ता पर्वमा नदीको बहाव बढाउन पानी छाडिने छ। यस ड्यामबाट दैनिक प्रतिसेकेन्ड ४०० लिटरसम्म पानी बागमतीमा पठाउन सकिने एशियाली विकास बैंकले जनाएको छ।


सम्बन्धित सामग्री