Wednesday, April 24, 2024

-->

लिग–२ मा नेपालको यात्रा : अन्तिम १२ खेलले बदल्यो क्रिकेटको बाटो

लिग–२ मा प्रशिक्षकहरूले ब्याटिङमा ३२ र बलिङमा १९ खेलाडीलाई मौका दिए पनि प्रदर्शन खस्किएको थियो। २४ खेल सकिँदा पाँचौँ स्थानमा भएको नेपालले अन्तिम १२ मध्ये ११ ओडीआई जितेपछि भविष्यको बाटो नै बदलिएको छ।

लिग–२ मा नेपालको यात्रा  अन्तिम १२ खेलले बदल्यो क्रिकेटको बाटो

काठमाडौँ– “एक महिनाअघि हामी यो अवस्थामा आइपुग्छौँ भन्ने कल्पनै गरेका थिएनौँ। ड्रेसिङ रूम अहिलेको जस्तो थिएन। राम्रो प्रदर्शन गरे पनि जित आइरहेको थिएन। तर मोन्टी (देसाई) सर आएनुभएपछि धेरै परिवर्तन भयो। हामीले ओडीआई मान्यता जोगायौँ।”

नेपालले गएको आइतबार यूएईलाई पराजित गर्दै अर्को चार वर्षका लागि एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता सुरक्षित गरेपछि कप्तान रोहित पौडेलले भनेका थिए। नेपाली क्रिकेटको वास्तविकता पनि त्यही थियो, स्कटल्यान्ड र नामिबिया सम्मिलित घरेलु मैदानमा भएको श्रृंखलाअघि क्रिकेट विश्वकप लिग–२ बाटै ओडीआई मान्यता जोगाउन मुस्किल देखिएको थियो।

त्यति बेला छेटौँ स्थानमा भएको नेपालले पाँचौँ स्थानमा पुग्न लिग–२ का बाँकी १२ मध्ये नौ खेल जित्नुपर्ने अवस्था थियो। शीर्ष तीनमा पुग्न सबै खेल जित्नुपर्ने थियो। तर युएईमा भएको श्रृंखलामा नामिबिया घरेलु टोलीसँग पराजित भयो। जसकारण नेपालले १२ मध्ये ११ खेल जित्दा शीर्ष तीनमा पुग्ने सम्भावना भयो।

सन् २०१८ मा पाएको ओडीआई मान्यता जोगाउन नै धौधौ परेको बेला शीर्ष तीनमा पर्ने कल्पना टाढाकै विषय थियो। किनभने स्कटल्यान्ड र नामिबियासँग कीर्तिपुरमा खेल्नुअघिका १२ खेलममध्ये नेपालले दुई वटामा मात्र जित हासिल गरेको थियो। आठ वटामा पराजित भएको थियो भने एउटा खेल वर्षाले रद्द हुँदा एउटा टाई भएको थियो।

त्यसपछि मोन्टी देसाईले नेपाली टोली सम्हालेका थिए। उनले प्रशिक्षण शुरू गरेसँगै नेपालले ‘चमत्कारिक’ प्रदर्शन गर्यो। पछिल्ला ११ खेलमध्ये १० खेलमा जित हासिल गरेर ओडीआई मान्यता मात्र जोगाएन, यूएईसँगको अन्तिम खेल सोझै विश्वकप छनौटमा पुग्ने ‘फाइनल’ सरह भएको थियो।

तर यूएईले अन्तिम खेलमा ३११ रनको लक्ष्य दिएपछि नेपालको जित कठिन देखिएको थियो। नेपालले शुरूआती विकेट चाँडो गुमाउँदा मध्यपंक्ति दबाबमा परेको थियो। चार ब्याटरले अर्धशतक पूरा गरेपछि नेपालले डर्कवर्थ लुइस नियमका आधारमा नेपाल ९ रनले विजयी भएको थियो। 

४१औँ ओभरसम्म नेपाल लर्डवर्थ लुइसका आधारमा पछाडि थियो। तर ४२औँ ओभरमा गुल्सन झाले तीन चौका र एक छक्कासहित २० रन बनाएपछि नेपालको जित सम्भव भएको हो। ४४ ओभरपछि खराब प्रकाशका कारण खेल रोकेर नेपाललाई विजयी घोषित गरिएको थियो। 

योसँगै नेपालले अन्तिम १२ मध्ये ११ ओडीआई जित्दै भविष्यको क्रिकेट यात्राको बाटो नै बदलेको छ। नेपाल अन्तिम ६ खेलमा लगातार विजयी बनेको छ।

अब नेपालले जिम्बाब्वेमा हुने विश्वकप छनोट प्रतियोगिता खेल्न पाउने छ। उक्त प्रतियोगितामा सुपर लिगबाट झरेका चार टेस्ट राष्ट्र र नेदरल्यान्डसहित १० टिमले भाग लिनेछन्। सपर लिगबाट नेदरल्यान्ड र जिम्बाब्वे छनोट खेल्नुपर्ने निश्चित भइसकेको छ। अब आयरल्यान्ड दक्षिण अफ्रिका, वेष्ट इन्डिज र श्रीलंकामध्ये तीन टिम छनोटतर्फ धकेलिने छन्। छनोट खेल्ने १० टिममध्ये शीर्ष दुईले विश्वकप खेल्न पाउनेछन्।

नेपालको लिग–२ यात्रा उतारचढावपूर्ण रह्यो। देसाईले सम्हाल्नुअघि नेपाली क्रिकेट कठिन समयबाट गुज्रियो। ‘पारस खड्का युग’को अन्त्यसँगै नेपाली टोली विभिन्न गुटमा बाँडिएको थियो। कप्तान र प्रशिक्षक लगातार परिवर्तन हुँदा टिम एकताबद्ध हुन सकेन। नेपाल क्रिकेट संघ (क्यान) अनेक विवादमा फसिरहँदा त्यसको असर मैदानमा देखिएको थियो।

ब्याटिङमा अत्यधिक प्रयोग
नेपाली टोलीले बलिङकै बलमा खेल जित्ने गरेको थियो। त्यसमा पनि स्पिन बलिङलाई नेपालको ‘हतियार’ मानिन्थ्यो। कुनै समय राजकुमार प्रधान, शक्ति गौचन, वसन्त रेग्मी, सन्जम रेग्मी जस्ता स्पिनरले नेपाललाई भर दिएका थिए।

नेपालका लागि ओपनिङ ब्याटरकै समस्या थियो। ओपनिङ ब्याटिङमा धेरै नै प्रयोग हुँदा प्रदर्शन अस्थिर हुने गरेको थियो। पछिल्लो समय कुशल भुर्तेल र आसिफ सेखले ओपनर ब्याटरका रूपमा राम्रो प्रदर्शन गरिरहेका छन्। तर तेस्रो स्थानमा भने अझै पनि नेपाली टिममा प्रयोग गरिँदा उक्त ‘पोजिसन’बाट रन बन्न सकेको छैन। 

लिग–२ को अन्त्यतिर ब्याटिङ केही सुधारिए पनि त्यसअघि अत्यधिक प्रयोग गरिँदा नै कमजोर प्रदर्शन भएको राष्ट्रिय टोलीका पूर्वकप्तान एलबी क्षेत्री बताउँछन्। एकदुई खेलमा प्रदर्शन गर्न नसक्दा टोलीमा रहेकालाई निकालेर नयाँ खेलाडी भित्र्याउने परिपाटी ठीक नभएको उनको भनाइ छ।

“नयाँको तुलनामा अनुभवी खेलाडी टोलीका लागि निक्कै महत्त्वपूर्ण हुन्छन्। तर एक दुई खेलमा लय खस्किए उनीहरू बाहिर राख्ने प्रचलन भयो,” उनी भन्छन्, “सबै खेलमा एकै खेलाडी चम्किन पर्छ भन्ने छैन। खेलाडीको अवस्थालाई नबुझी एक दुई खेलको जजमेन्ट गरेर बाहिर राख्नु गलत रह्यो।”

चार वर्षअघि ओडीआई मान्यता पाउँदा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को लगानीमा भित्रिएका प्रशिक्षक उमेश पटवाल नेतृत्वमा नेपालले लिग–२ यात्रा थालेको थियो। त्यतिबेला नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्ल थिए। उनको कप्तानीमा पारस खड्का, शरद भेषवाकर, विनोद भण्डारी, रोहितकुमार पौडेल, आरिफ शेख, सुवास खकुरेल, करण केसी, सोमपाल कामी, सुशान्त भारी, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरीलगायतले खेलेका थिए। 

पटवालले त्यसबेला ब्याटिङमा करण, सोमपाल र सुशान्तबाहेक सबैलाई प्रयोग गरेका थिए। उनको प्रशिक्षणमा नेपालले सफलता प्राप्त गर्न सकेन। कीर्तिपुरमै खेलिएको लिग–२ को पहिलो श्रृंखलामा ओमानसँगका दुई खेलमा १८ रन र ८ विकेट पराजित भयो। अमेरिकालाई भने ३५ रन र ८ विकेटले पराजित गर्यो। घरेलु मैदानमा नेपाल चारमध्ये दुई खेल जितेर दुईमा पराजित भएको थियो। 

लिग–२ खेल्न थालेयता पटवालसहित पाँच विदेशी प्रशिक्षक डेभ वाट्मोर, पुबुदु दासानायके, मनोज प्रभाकर र मोन्टी देसाईले राष्ट्रिय टोली सम्हालेका छन्। सबै प्रशिक्षकले नेपालको ब्याटिङमा समस्या भएको भन्दै सुधार गर्ने आफ्नो लक्ष्य रहेको सुनाएका थिए। त्यसमा वाट्मोर केही सफल देखिए भने देसाईले नतिजा नै दिलाउन सफल भएका छन्। देसाई प्रशिक्षक भएपछिका १२ खेलमध्ये नेपाल ११ मा विजयी भएको छ।

तर दासानायके र प्रभाकरले ब्याटिङमा खास सुधार गर्न सकेनन्। उनीहरूले लगातार प्रयोग मात्र गरेका थिए। वाट्मोर, दासानायके र प्रभाकर सम्झौता अवधि नसकिँदै बिदा भएका थिए। यी तीन प्रशिक्षकले ब्याटिङमा सुधार गर्ने भन्दै ३७ खेलाडीलाई ओडीआईमा डेब्यू गराएका थिए। तीमध्ये ३२ खेलाडीले लिग–२ खेल्ने अवसर पाए। तर डेब्यू गराएका अधिकांश खेलाडीको प्रदर्शन राम्रो रहन सकेन र थप मौका दिइएन।

नेपाली क्रिकेटलाई ओडीआईसम्म पुर्याएका तत्कालीन कप्तान पारस खड्काले सन्यास लिइसकेका छन्। लामो समय टोलीमा रहेका शरद, सुवास र विनोदले पछिल्लो समय मौका पाउन छाडेका छन्। लिग–२ मा उनीहरूको प्रदर्शन नेपाली टोलीका लागि सम्झनलायक रहेन। 

वाट्मोर, दासानायके र प्रभाकरले लिग–२ मा डेब्यू गराएका र विष्फोटक ब्याटरको छवि बनाएका आदिल अन्सारीसहित अर्जुन साउद, सन्दीप जोरा, सुनील धमला, पवन सर्राफले लामो समय मौका पाउन सकेनन्। आदिलले जम्मा पाँच तथा जोरा तथा अर्जुनले चार इनिङ्समा मौका पाए। अरूले त्यति पनि पाउन सकेनन्। जोरालाई पछिल्लो पटकको यूएई भ्रमणमा देसाईले पनि मौका दिइएको थियो। अहिले उनलाई टिमबाहिर राखेर देसाईले भीम सार्कीलाई खेलाइरहेका छन्।

नेपाली टोली पटुवाल र वाट्मोरको समय र त्यसपछि पनि ज्ञानेद्र, कुशल मल्ल, आशिफ, आरिफ, रोहित र कुशल भुर्तेलमा निर्भर रह्यो। आशिफले लिग–२ का ३० इनिङ्समा ९३४ रन बनाए। त्यसैगरी ३२ इनिङ्स ब्याटिङ गरेका रोहितले ९०९ रन बनाए। उनीहरू लिग–२ मा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा १२ र १३औँ स्थानमा छन्।

लिग–२ सहित ओडीआई खेलमा रोहितले एक शतक र आठ अर्धशतकसहित १२८६ र आशिफले समान शतक र अर्धशतकसहित १०७३ रन बनाएका छन्। ओडीआईमा नेपालका तर्फबाट १ हजार रनको कोशेढुंगा पार गर्ने ब्याटर दुई जना मात्र हुन्।

लिग–२ मा सर्वाधिक रन बनाउनेको सूचीको १९औँ स्थानमा रहेका भुर्तेलले एक शतक र चार अर्धशतक बनाएका छन्। उनले कुल ६७७ रन बनाए। ज्ञानेन्द्र र आरिफले पनि लिग–२ मा ५०० रनभन्दा बढी बनाएका छन्। आरिफ शेखले २५ इनिङ्समा पाँच अर्धशतकसहित ५९५ रन र ज्ञानेन्द्रले २४ इनिङ्समा उति नै अर्धशतकसहित ५२२ रन बनाएका छन्। देसाईले पुनरागमन गराएका कुशल मल्लले पछिल्ला १२ मध्ये ३ खेलमा अर्धशतक प्रहार गर्दै कुल ४०४ रन बनाएका छन्।

राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक जगत टमाटा यसअघिका प्रशिक्षकले ब्याटिङमा स्थिरता र परिपक्वता ल्याउन नसकेको बताउँछन्। “नेपाली टोली बलिङमा पहिलादेखि नै राम्रो थियो। तर ब्याटिङमा निक्कै संघर्ष गरिरहेको थियो। पछिल्लो समय ब्याटिङ बलियो हुँदाहुँदै पनि स्थिरता थिएन। अहिले ब्याटिङमा स्थिरता र परिपक्वता आएको देख्न सकिन्छ।”

बलिङमा सन्दीपलाई करण र सोमपालको साथ
चार वर्षको अवधिमा नेपाली टोलीले ब्याटिङमा ३२ खेलाडी प्रयोग गर्दा बलिङमा १९ जनाले मौका पाए। त्यसमध्ये अधिकांश खेलमा सन्दीप लामिछाने, करण केसी र सोमपाल कामीले बलिङ डिपार्ट सम्हाले। दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले पछिल्ला खेलमा लगातार मौका पाए भने ललितनारायण राजवंशीले पनि पाएको कम मौका सदुपयोग गरेका छन्।

पछिल्ला खेल जित्न लेग स्पिनर सन्दीप लामिछानेको भूमिका महत्त्वपूर्ण भयो। सन्दीप ४१ ओडीआईमा ९९ विकेट लिँदै कम ओडीआई खेलेर १०० विकेट लिने कीर्तिमानको नजिक पुगेका छन्। अफगानिस्तानका राशिद खानले ४४ ओडीआई खेलेर १०० विकेट लिएको कीर्तिमान छ।

लिग–२ मा सन्दीपले ३० इनिङ्स बलिङ गरेर ७२ विकेट लिँदै बढी विकेट लिनेको सूचीमा दोस्रो स्थानमा रहे। पहिलो स्थानमा रहेका ओमानका बिलाल खानले ३५ इनिङ्समा ७६ विकेट लिएका छन्।

सन्दीपले पछिल्ला २७ खेल सबैमा विकेट लिएका छन्। उनको उत्कृष्ट बलिङ फिगर ६–११ हो। लिग–२ अन्तर्गत नै ओमानको अल अमिरातमा २०२१ सेप्टेम्बर १० मा भएको पीएनजीविरुद्धको खेलमा उनले उक्त उपलब्धि हासिल गरेका थिए। घरेलु मैदानमा उनको उत्कृष्ट बलिङ ६–१६ हो। अमेरिकाविरुद्ध २०२० फेब्रुअरी १२ मा भएको खेलमा उनले सो उपलब्धि हासिल गरेका थिए।

सन्दीपविरुद्ध बलत्कार अभियोगको मुद्दा जिल्ला अदालत काठमाडौँमा चलिरहेको छ। थुनामा परेका उनलाई उच्च अदालत पाटनले २० लाख धरौटीमा छाड्ने आदेश दिएपछि उनी क्रिकेट मैदान फर्किन पाएका हुन्। थुनामुक्त भएपछिका ११ खेलमा उनले ३० विकेट लिएका छन्।

तीव्र गतिका बलर सोमपाल र करणले सन्दीपलाई अर्को एन्डबाट बलियो साथ दिए। करणले लिग–२ मा ५० र सोमपालले ३६ विकेट लिए। यस प्रतियोगितामा बढी विकेट लिने खेलाडीको सूचीमा करण छैटौँ र सोमपाल १६औँ स्थानमा छन्। ओडीआईमा भने सोमपालले कुल ६० र करणले ५६ विकेट लिएका छन्। 

लिग–२ मा बढी विकेट लिने सूचीको ३३औँ स्थानमा रहेका अलराउन्डर दीपेन्द्रले २८ इनिङ्समा २१ विकेट लिए। त्यस्तै, लेफ्ट आर्म अर्थडक्सद्वय कुशल मल्ल र ललितले १८ र ७ विकेट लिए। कुशलले १६ र राजवंशीले ११ इनिङ्स मात्रै मौका पाए। 

यता, ओडीआई (लिग–२ समेत)मा ११ विकेट लिएका सुशान्त भारीले तीन वर्षमा ११ इनिङ्समा मौका पाए। पूर्वक्रिकेटर सञ्जम रेग्मी नेपाली टोलीमा तीव्रगतिका बलरको विकल्प धेरै हुँदा स्पिनरले कम मौका पाएको बताउँछन्।

“भारतमै हेर्ने हो भने टिममा पियोर स्पिनरको बाहुल्यता हुन्छ। तर नेपालमा स्पिनर एकदमै थोरै खेलाउँछन्,” उनी भन्छन्, “सन्दीपबाहेक जेनुइन लेग स्पिनरको खोजी हुन सकेन, भएका स्पिनरहरूले पनि यो अवधिमा कम मौका पाए।”

सन्दीप, करण, सोमपाल, दीपेन्द्र, कुशल, ललित र सुशान्तबाहेक टोलीमा अवसर पाएका अन्य बलरले ६ खेलभन्दा बढी खेल्न पाएका छैनन्। पटकपटक चोटसँग संघर्ष गरेका कमलसिंह ऐरीले दुई खेलभन्दा बढी मौका पाउन सकेनन्। यस्तै, अभिनाश बोहोरा, किशोर महतो, विक्रम सोब, प्रतिश जिसी, पवन सर्राफ र बसिर अहमदले पनि टोलीमा निरन्तरता पाउन सकेनन्।

कप्तान रोहित सबैले आआफ्नो ठाउँबाट राम्रो गरिरहेको कारण टोलीमा प्रतिस्पर्धा चलेको बताउँछन्। “अहिले टोलीमा एक जना ब्याटर नचले अर्को चलिरहेको छ। बलिङमा पनि उस्तै छ। टोलीमा रहेकाले राम्रो खेल प्रदर्शन गरिरहेका कारण कसलाई खेलाउने या नखेलाउने भनेर निर्णय गर्न गाह्रो भइरहेको छ,” उनले भने।


सम्बन्धित सामग्री