Wednesday, April 24, 2024

-->

सरकारी अस्पताललाई विश्वसनीय बनाउनुपर्नेमा सांसदहरूको जोड

राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सांसदहरूले सरकारी अस्पताललाई विश्वसनीय बनाउनुपर्नेमा जोड दिएका छन्।

सरकारी अस्पताललाई विश्वसनीय बनाउनुपर्नेमा सांसदहरूको जोड

काठमाडौँ– सांसदहरूले सरकारी अस्पताललाई विश्वसनीय बनाउनुपर्नेमा जोड दिएका छन्। राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सांसदहरूले सरकारी अस्पताललाई विश्वसनीय बनाउनुपर्नेमा जोड दिएका हुन्।

राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै नेकपा एमालेका सांसद रामचन्द्र राईले गर्मी मौसम शुरू भएको र सरकारले रोगको रोकथामका लागि कस्तो कार्यविधि बनाइरहेको छ? भन्दै प्रश्न गरे। उनले ल्याबको सुविधा सरकारी अस्पतालमा सबै किसिमका हुन नसकेकोप्रति आपत्ति जनाए।

“ल्याबको फ्यालिसिटी वीरमा टिचिङमा वा सिभिल वा यस्ता अस्पतालमा सबै खाले ल्याबको सुविधा छैन। निजीले चार वटा कोठा लिएर गरिरहेको छ, हामीले किन गर्न नसक्ने?” उनले प्रश्न गरे।

उनले प्राकृतिक उपचार प्रणालीलाई व्यवस्थित ढंगले विकास गर्न आवश्यक रहेको बताए। “रोग लाग्न नदिनका लागि प्राकृतिक उपचार प्रणाली एउटा माध्यम बन्छ, यसलाई व्यवस्थित ढंगले विकास गर्न, व्यवस्थित गर्न के गरिरहेको छ? यसलाई व्यवस्थापन गरेर अघि बढ्नुपर्छ,” उनले भने।

त्यस्तै, नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्रलक्ष्मी गैरेले विषादीजन्य खानेकुराबारे सरकारले अनुसन्धान गर्न आवश्यक रहेको बताइन्। उनले नमुनाका रूपमा भए पनि खाद्यवस्तुमा विषादीको प्रयोगबारे अनुसन्धान गर्नुपर्ने उल्लेख गरिन्। सरकारी अस्पताललाई विश्वसनीय बनाउनुपर्नेमा उनको जोड छ। “सरकारी अस्पताललाई विश्वसनीय बनाउन, राज्यस्तरबाट गर्नुपर्ने कुरा, जनस्तरमा पुग्ने कुरा हुनुपर्छ,” उनले भनिन्।

बैठकमा लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद शेखरकुमार सिंहले सरकारले अध्ययन गर्दै गर्दा विद्यार्थीलाई जिल्ला र अस्पताल तोकिदिनुपर्ने बताए। विकट क्षेत्रमा पनि चिकित्सक पठाउन सरकारले नीति नै बनाएर अघि बढ्नुपर्ने उनको भनाइ छ। उनले स्वास्थ्य बिमा एकद्वार प्रणालीबाट हुनुपर्ने धारणा राखे।

त्यस्तै, नेकपा माओवादी केन्द्रका सांसद गोपीबहादुर सार्की अछामीले बिमा निजी क्षेत्रलाई दिन नहुने बताए। उनले बिमा बोर्ड स्वास्थ्य मन्त्रालयको मातहतमा नरहेकाले पनि समस्या देखिएको बताए। बिमाको बिल अस्पतालले सही किसिमबाट बनाएका छन्/छैनन् सरकारले निरीक्षण गर्न जरुरी रहेको उल्लेख गरे। उनले निजी अस्पताललाई राज्यले निगरानी गर्न आवश्यक रहेको बताए। अस्पतालमा मानवीय संवेदना छैन कि भन्ने स्थिति देखिएको गुनासो गरे।


सम्बन्धित सामग्री