Saturday, April 20, 2024

-->

एनिसको लक्ष्य आक्रामक फुटबल, तर रित्तिएको राष्ट्रिय टोली पुनर्गठनमै चुनौती

राष्ट्रिय टोलीका नवनियुक्त मुख्य प्रशिक्षक एनिस नेपालमा पनि आफ्नो आक्रामक फुटबल शैलीलाई निरन्तरता दिने बताउँछन्। तर झन्डै ४० फुटबलर विदेश पलायन हुँदा नयाँ खेलाडीको खोजी उनका लागि चुनौतीपूर्ण हुनेछ।

एनिसको लक्ष्य आक्रामक फुटबल तर रित्तिएको राष्ट्रिय टोली पुनर्गठनमै चुनौती

काठमाडौँ– छिमेकी राष्ट्र भारतमा दुई वर्ष बिताएपछि फुटबल प्रशिक्षक भिन्सेन्जो अल्बर्टाे एनिस नेपालको राष्ट्रिय टिम सम्हाल्न आइपुगेका छन्। भारतीय घरेलु फुटबलको शीर्ष श्रेणीको लिग इन्डियन सुपर लिग (आईएसएल)मा नर्थ इस्ट युनाइटेडको जिम्मेवारी त्याग्दै ३८ वर्षीय एनिस नेपाल आएका हुन्।

एनिसले खेलाडीका रूपमा करिब पाँच वर्ष मात्र मैदानमा बिताएका थिए। त्यसपछिका १३ वर्ष उनी प्रशिक्षकका रूपमा ‘टचलाइन’मा देखिइरहेका छन्। 

एनिसले नेपाली राष्ट्रिय टोलीका लागि ‘प्रधानमन्त्री थ्री नेसन्स कप’ प्रतियोगितामार्फत् प्रशिक्षकमा ‘डेब्यू’ गर्नेछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा चैत ८ देखि १६ गतेसम्म आयोजना हुने प्रतियोगितामा नेपालसहित भुटान र लाओसले भाग लिँदैछन्।

मंगलबार पहिलोपटक सञ्चारकर्मीमाझ उभिएका एनिसले नेपाली टोलीको जिम्मेवारी सम्हाल्न लामो प्रतीक्षा गर्नुपरेको सुनाए। पछिल्लो तीन वर्षयता नेपाली फुटबललाई नियालिरहेको बताउँदै अहिले आफ्नो सपना साकार भएको उनी बताउँछन्।

“लामो समयदेखि यो अवसरको प्रतीक्षामा थिएँ। मैले नेपाली फुटबललाई दुई–तीन वर्षदेखि फलो गर्दै आएको छु,” उनी भन्छन्, “त्यसैले नेपाल आउनु ठूलो सपना थियो। अहिले त्यो पूरा भएको छ।”

अखिल नेपाल फुटबल संघ (एन्फा)ले युरोपियन फुटबल महासंघ (यूईएफए)बाट प्रो–लाइसेन्स लिएका इटालियन नागरिक एनिसलाई एक वर्षको जिम्मेवारी दिएको हो। यसअघि कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले गत असोजमा राजीनामा दिएका थिए। राष्ट्रिय टोलीका १० सिनियर खेलाडीसँगको विवाद र एन्फा अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित भएपछि उनले नेपाल छाडेका थिए।

शहीद स्मारक 'ए' डिभिजन लिगको खेल हेर्न पुगेका एनिस (बायाँ)।

अल्मुताइरी बाहिरिएसँगै घरेलु मैदानमा भएका बंगलादेश र पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा एन्फाले क्रमशः प्रदीप हुमागाईं र प्रवेश कटुवाललाई कार्यवाहक प्रशिक्षक बनाएको थियो। कटुवाललाई अहिले सहायक प्रशिक्षकको जिम्मेवारी दिइएको छ। त्यसअघि एन्फा राष्ट्रिय टोलीको स्थायी जिम्मेवारी दिने प्रशिक्षकको खोजीमा थियो।

एन्फाले आवेदन दिएर ‘सर्टलिस्ट’मा परेका प्रशिक्षकलाई अन्तर्वार्ताका लागि भौतिकरूपमै उपस्थिति हुनुपर्ने शर्त राखेको थियो। सर्टलिस्टमा परेका २० जनामध्ये एनिसमात्र अन्तर्वार्ताका लागि उपस्थित भएका थिए। 

एनिसले मंगलबार पत्रकारहरूसँग आफू ठूलो लक्ष्यसहित नेपाल आएको बताए। “म एकदमै शान्त मान्छे हुँ। तर म भित्र एक बलियो व्यक्तित्व छ। मेरोसामू ठूलो चुनौती छ। शतप्रतिशत दिने लक्ष्यसहित नेपाली टोली सम्हालेको छु,” उनले भने।

अब्बल बन्ने चाहना
एलिसले खेलाडीका रूपमा इटालीको घरेलु लिग सिरी ‘ए’ खेल्ने लक्ष्य बोकेका थिए। तर उनको खेल जीवनले त्यति उचाइ लिन भ्याएन। किशोर अवस्थामा मार्टिना फ्रान्का, नोइकाटारो र लियोनेसा अल्टामुजस्ता केही स्थानीय क्लबमा खेलेका थिए। मिडफिल्डबाट खेल्ने उनले २३ खेलमा एक गोल मात्रै गरेका थिए।

सन् २००४ मा उनले खेलाडी जीवनलाई बिट मारे। त्यसको करिब ६ वर्षपछि प्रशिक्षक बनेर मैदान फर्किए। बेलिजको राष्ट्रिय टोलीसँगै इटाली, लाटभिया, अर्मेनिया, कोसोभो, घाना, इन्डोनेसिया र भारतका विभिन्न १२ क्लब सम्हालेको उनीसँग अनुभव छ।

यो पनि: विदेशी फुटबल प्रशिक्षक: नेपाल आउँछन्, ‘राजनीति’ले टिक्नै सक्दैनन्

भारतको दोस्रो श्रेणीको लिग (आई लिग क्बल) गोकुलम केरला एफसीबाहेक उनले कतै पनि सफलता पाएनन्। सन् २०२० देखि २२ सम्म गोकुलममा बिताएका उनले लागातार दुईपटक लिग उपाधि दिलाए। त्यसपछि आईएसएल क्लब नर्थ इस्ट युनाइटेड पुगेका थिए। तर केही महिना प्रशिक्षण गरेपछि नेपाल आइपुगेका छन्।

यसपटक नेपाली राष्ट्रिय टोलीसँगै आफ्नो ‘करिअर’ सुधार्ने प्रयासमा रहेको उनी बताउँछन्। “मेरो सपना ठूलो प्रशिक्षक बन्ने हो। मलाई यतिमै सीमित हुन मन छैन,” उनी भन्छन, “अहिले मैले नेपाली राष्ट्रिय टोलीको जिम्मेवारी पाएको छु। यो ठूलो जिम्मेवारी हो। यहाँ राम्रो गरेँ भने मेरो करिअर सुधार्न सक्छ।”

आक्रामक फुटबल शैलीमा विश्वास
गोकुलममा रहँदा एनिसले आक्रामक फुटबल शैली अपनाएका थिए। २०२०–२१ को सिजनमा गोकुलमले लिगका १५ मध्ये ९ जित, २ हार र ४ मा बराबरी खेल्दै ३१ गोल गरेको थियो।

अर्काे सिजन गोकुलमले १८ मध्ये १३ मा जित, ४ मा बराबरी र १ मा हारको सामना गरेर ‘च्याम्पियन’ बनेको थियो। ४३ अंक जोडेको गोकुलमले लिगमा मोहमेडन स्पोर्टिङ क्लबलाई ६ अंकले पछि पार्दै दोस्रोपटक उपाधि जितेको थियो। त्यसक्रममा गोकुलमले ४४ गोल गरेको थियो। 

तर नर्थ इस्ट युनाइटेडमा उनको आक्रमक फुटबल शैलीले काम गरेन। उनको प्रशिक्षणमा नर्थ इस्टले १२ मध्ये ९ खेलमा हार, एकमा जित र दुई बराबरी खेल्दै पुछारमा रहेर लिग अन्त्य गरेको थियो।

यसपटक एनिस नेपाली फुटबलमा पुनः आक्रमक शैली प्रयोग गर्ने लक्ष्यमा छन्। लिगमा कम गोल हुनुको पछाडि परम्परागत शैली नै रहेको दाबी गर्ने उनले राष्ट्रिय टोलीबाट गोलको आशा गर्न सकिने बताउँछन्। 

“मलाई आक्रमक फुटबल मन पर्छ। तर, नेपालको घरेलु फुटबलमा गोल भएको देखेको छैन। एक खेलमा थ्रीस्टार र फ्रेन्ड्स क्लबबीच ३–३ को बराबरी भयो,” उनी भन्छन, “म यसलाई सुधार गर्न चाहन्छु। राष्ट्रिय टोलीमा आक्रामक स्वभावका खेलाडी हुनुपर्छ।”

राष्ट्रिय टोली पुनर्गठनको चुनौती
नेपाली फुटबल अहिले पुस्ता हस्तान्तरको क्रममा छ। लामो समय नेपाली फुटबलमा बिताएका विक्रम लामा यसै सिजनको शहीद स्मारक ‘ए’ डिभिजन लिगपछि सन्यास लिने योजनामा छन्। राष्ट्रिय टोलीबाट खेलिसकेका सुनिल बल, तेज तामाङ, सुमन लामा, आशिष लामा, दर्शन गुरूङ, विमल राना, रूमेश बर्तौला र हेमन्त थापामगरसहित झन्डै ४० खेलाडी विदेश पलायन भइसकेका छन्।

'ए' डिभिजन लिगअन्तर्गत मनाङ र मछिन्द्रबीचको खेलका 'म्यान अफ द म्याच'लाई पुरस्कार दिँदै एनिस।

यस्तो अवस्थामा नेपाली टोली पुनर्गठन गर्नु एनिसका लागि चुनौतीपूर्ण हुने फुटबल जानकारहरू बताउँछन्। करिब दुई हप्ताअघि नेपाल उत्रिएका एनिस त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, च्यासल मैदान र एन्फा कम्प्लेक्स सातदोबाटो धाइरहेका छन्। जारी ‘ए’ डिभिजन लिगमा खेलाडीको प्रदर्शनलाई नजिकैबाट नियालिरहेको उनी बताउँछन्।

यो पनि- फुटबलर पलायनको सकस : ‘ए’ डिभिजन लिगबाट हुँदैछ राष्ट्रिय टोलीमा पुग्ने स्टार खेलाडीको खोजी

आफूले धेरै क्षमतावान खेलाडी देखेको भन्दै उनले आफू चिन्तित नभएको बताए। “धेरै खेलाडी विदेशिएको बारे जानकार छु। मैले नयाँ खेलाडी र नयाँ रणनीतिमा काम गर्नुपर्छ, यो जोखिमपूर्ण छ। तर नेपालको फुटबलस्तर सुधार गर्न यो जोखिम उठाउनुपर्छ,” उनी भन्छन्।

राष्ट्रिय टोलीमा बाँकी रहेका पुराना खेलाडीलाई समेट्ने उनको योजना छ। विदेशिएका खेलाडीलाई भने फिर्ता बोलाउने योजना नरहेको उनी बताउँछन्। यसबाहेक व्यावसायिक फुटबल नखेलेका खेलाडीलाई पनि टिममा स्थान दिन चाहेका छैनन्। प्रधानमन्त्री कपबाटै युवा खेलाडीलाई राष्ट्रिय टोलीमा समेट्ने योजना रहेको उनी सुनाउँछन्। 

“यो प्रतियोगिता नेपाली टोलीमा युवा खेलाडीलाई बढुवा गर्ने अवसर पनि हो। मैले केही दिनदेखि उनीहरूलाई नियालिरहेको छु,” उनी भन्छन्, “विदेशिएका खेलाडी कस्ता थिए, त्योबारे म जानकार छैन। विगतमा खेलाडीसँग काम गर्दा नजिकैबाट नियालेर मात्रै निर्णय गर्ने गरेको थिएँ। म आफैँ निर्णय गर्ने गर्छु र सबैभन्दा राम्रा खेलाडी छनोट गर्छु।”


सम्बन्धित सामग्री