Friday, April 19, 2024

-->

‘सिकलसेल एनिमिया’ बाट १५ जिल्ला प्रभावित

सिकलसेल सरुवा रोग भने होइन। रोगवाहक आमाबाबुको जिनका कारण यो रोग सन्तानमा देखा पर्छ।

‘सिकलसेल एनिमिया’ बाट १५ जिल्ला प्रभावित

सुदूरपश्चिम– पश्चिम तराईका कपिलवस्तुदेखि कञ्चनपुरसम्मका जिल्लामा ‘सिकलसेल एनिमिया’ रोगका बिरामी धेरै रहेको पाइएको छ।

आदिवासी जनजाति समुदायका मानिसमा बढी देखिने सो रोगबाट १५ जिल्ला प्रभावित रहेको चिकित्सकले बताएका छन्। धनगढीमा भएको सुदूरपश्चिम प्रदेशस्तरीय सम्मेलनमा ‘सिकलसेल एनिमिया’को रोकथाम तथा उपचारबारे छलफल भएको छ।

फिजीसियन चिकित्सकहरूको संस्था सोसाइटी अफ इन्टरनल मेडिसिन अफ नेपाल (साइमन)ले गरेको सम्मेलनमा यसको रोकथाम तथा उपचार व्यवस्थापनबारे विभिन्न कार्यपत्र प्रस्तुत गरिएको थियो। संस्थाका पाठ्यक्रम निर्देशक प्रा.डा. शुभेषराज कायस्थले केही वर्षअघि गरिएको सर्वेक्षणले बर्दियाका झन्डै २० प्रतिशत थारू समुदायका मानिस सिकलसेललगायत रोगले आक्रान्त रहेको देखाएको बताए।

सिकलसेल सरुवा रोग भने होइन। रोगवाहक आमाबुबाको जिनका कारण यो रोग सन्तानमा देखा पर्छ। चिकित्सकका अनुसार सिकलसेल बहुअंगमा समस्या गर्ने रोग हो। पीडितमा पटकपटक समस्या बल्झिरहन्छ। रातो रक्त कोषिका प्रभावित गर्ने यो रोगले आमाशय, पित्तथैली, फोक्सो, हड्डीलगायतका भागलाई असर गर्छ। 

“सिकलसेल भएका रोगी धेरै वर्ष बाँच्दैनन्, धेरैमा ४० वर्ष बाँच्न सक्ने देखिन्छ,” कायस्थले भने, “अन्य देशमा पनि देखिएको यो रोग मलेरिया प्रभावित क्षेत्रमा बस्ने आदिवासीमा बढी देखिने गरेको छ।” 

नेपालमा २०७१ सालदेखि सरकारले प्रत्येक बिरामीलाई एक लाख रुपैयाँ बराबरको निःशुल्क उपचार सेवा प्रदान गरिरहेको छ। समयमै रोगको पहिचान र उपचार हुन सकेमा बिरामीको आयु लम्ब्याउन सकिने र रोग रोकथाममा पनि सहयोग पुग्ने कायस्थको भनाइ छ।

हालै गरिएको परीक्षणमा कैलालीको टीकापुर, लम्कीचुहा, घोडाघोडी र पहलमानपुर क्षेत्रका ग्रामीण बस्तीमा यो रोगबाट प्रभावित थुप्रै व्यक्ति भेटिएका थिए। सिकलसेलका बिरामीले धेरै जाडो र गर्मीमा गाह्रो काम गर्न नमिल्ने कार्यपत्रमा उल्लेख छ। उनीहरूले गाह्रो काम गर्दा शरीरमा अक्सिजनको मात्रा कम हुन गई हातखुट्टाका हड्डी असह्य हुने गरी दुख्ने हुन्छ। 

समस्याबाट बच्न बिरामीले पर्याप्त पानी पिउनुपर्ने, धेरै कडा परिश्रम गर्न नहुने र फोलिक एसिड नामक औषधि सेवन गरिरहनुपर्ने चिकित्सकको सल्लाह छ। वाहकमा रोगको लक्षण देखिँदैन तर उनीहरूले आफ्नो सन्तानमा सार्ने कायस्थले बताए।

सेती प्रादेशिक अस्पताल धनगढीको केही वर्षअघिको तथ्यांकअनुसार सिकलसेलका ५८३ बिरामी दर्ता भएका थिए। यीमध्ये अधिकांश थारू समुदायका थिए।


सम्बन्धित सामग्री