Friday, April 19, 2024

-->

‘ए’ डिभिजन लिग : पुलिसको लगातार तेस्रो हार, जावलाखेल र एपीएफले अंक बाँडे

‘ए’ डिभिजन लिगमा पुलिसले लगातार तेस्रो हार बेहोरेको छ भने जावलाखेल र एपीएफले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।

‘ए’ डिभिजन लिग  पुलिसको लगातार तेस्रो हार जावलाखेल र एपीएफले अंक बाँडे

काठमाडौँ– राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय टोली नेपाल पुलिस क्लबले लगातार तेस्रो हार बेहोरेको छ भने जावलाखेल युथ क्लब र एपीएफले बराबरी खेल्दै अंक बाँडेका छन्।

ललितपुरस्थित च्यासल मैदानमा सम्पन्न खेलमा पुलिस संकटा क्लबसँग ३–० गोल अन्तरले पराजित हुँदा अर्को खेलमा जावलाखेलले अर्को विभागीय टोली एपीएफ क्लबसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्।

संकटाले पुलिसमाथि सहज जित निकाल्ने क्रममा शुरुआतबाट नै दबाब दिएर खेलेको थियो। अघिल्ला दुई खेलमा पनि नतिजा सुम्पिएको पुलिसले अंक लिनका लागि खेल्ने रणनीति बनाए पनि असफल भयो।

पुलिसविरुद्ध जित निकाल्ने क्रममा १२औँ मिनेटमा गणेश हमालले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए। काउन्टर गर्ने क्रममा दायाँ कर्नरबाट सुनिल श्रेष्ठले मिलाएको पासलाई गणेशले डिबक्स भित्रबाट चिप गोल गरेका हुन्। संकटाले पहिलो प्रयासमै गोल गर्न सफल भएको थियो। त्यसपछि खेल दोस्रो हाफतिर पुगेको थियो।

खेलको ८० औँ मिनेटमा रोशन पहारीले गोल गर्दै संकटाको अग्रता दोब्बर बनाएका थिए। मनिष डाँगीको प्रहार पुलिसका रक्षक अञ्जन राईले फर्काउँदा प्राप्त रिबाउन्ड बललाई रोशनले २५ यार्डबाट गोलमा परिणत गर्न सफल भएका थिए। त्यसको ६ मिनेटपछि संकटाले तेस्रो गोल थप्यो। सुरज जिउ ठकुरीले गोल गर्दै संकटालाई ३–० को सहज जित दिलाए। मनिष डाँगीले मिलाएको पासलाई सुरजले बक्सबाहिरबाट पहिलो प्रयासमा नै गोल गर्न सफल भएका थिए।

यस जितसँगै संकटाले तीन खेलमा चार अंक जोड्दा तीन वटै खेलमा पराजय बेहोरको पुलिस अंकविहीन छ। यसअघि संकटाले विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबसँग गोलरहित बराबरी खेल्दा मनाङ मर्स्याङ्दी क्लबसँग १–० को पराजय बेहोरेको थियो।

उता पुलिस चर्च ब्वाइज युनाइटेसँग पहिलो खेलमा २–१ तथा दोस्रो खेलमा हिमालयन शेर्पा क्लबसँग १–० ले पराजित भएको थियो।

लिगअन्तर्गत शनिबार नै सम्पन्न अर्को खेलमा अर्को विभागीय टोली एपीएफ जावलाखेल युथ क्लबसँग गोलरहित बराबरीमा रोकियो। दुवै टोलीले खेल अवधि भर गोलका लागि निकै प्रयास गरे पनि सफल हुन सकेन। १० खेलाडीमा समेटिएको एपीएफविरुद्ध मौकाको फाइदा उठाउन नसक्दा जावलाखेल युथ क्लबले एक अंकमा चित्त बुझाएको हो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा खेलको ६९औँ मिनेटमा जावलाखेलका स्ट्राइकर हिसुब थपलियालाई लडाएपछि रेफ्री प्रज्वल क्षेत्रीले एडामा डोम्बियालाई दोहोरो पहेँलो कार्ड देखाउँदै मैदान पठाएका थिए। तर उक्त निर्णयमा चर्को आपत्ति देखाएपछि रेफ्री क्षेत्रीले डोम्बियालाई सोझै रातो कार्ड देखाएका हुन्। यसअघि दुवै टोलीले पाएका केही अवसरलाई भने सदुपयोग चुकेका थिए।

२४औँ मिनेटमा जावलाखेलका फोडे फोफानाको प्रहार एपीएफका गोलकिपर एन्जल श्रेष्ठले बचाएका थिए। त्यसको पाँच मिनेटपछि एन्जलले नै एनकोटो मेसोबीको प्रहार बचाउँदा जावलाखेलले अग्रता लिन असफल भएको थियो। ३२औँ मिनेटमा एपीएफका हरि कार्कीले गोलको सुनौलोको अवसर गुमाए। ३९ औँ मिनेटमा प्रदीप लामाको प्रभावशाली प्रहार जावलाखेल गोलकिपर अनीश देउलाले बचाएका थिए। ४७ औँ मिनेटमा एपीएफका सनिश श्रेष्ठको प्रहार अनीशले बचाए। त्यस्तै, ६८औँ मिनेटमा जावलाखेलका अब्दुलाजिज निशेनबेइभको प्रहार बाहिरिएको थियो।

यस बराबरीपछि जावलाखेलको तीन खेलमा सात अंक भएको छ। एपीएफको समान खेलबाट चार अंक भएको छ। जावालखेलले यसअघि साबिक विजेता मछिन्द्र फुटबल क्लबलाई ३–१ तथा न्युरोड टिम (एनआरटी) लाई २–१ पराजित गरेको थियो। यसैगरी थ्री स्टार क्लबलाई २–० ले पराजित गरेको एपीएफले सातदोबाटो युथ क्लबसँग १–० को हार बेहोरेको थियो।

लिगमा आइतबार दुई खेल हुने छन्। एन्फा कम्प्लेक्समा हुने खेलमा मनाङ मर्स्याङ्दी फुटबल क्लब र मच्छिन्द्र फुटबल क्लब तथा च्यासल मैदानमा न्युरोड टिम (एनआरटी) र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ। 


सम्बन्धित सामग्री