Friday, March 29, 2024

-->

युक्रेनी शहरहरूमा क्षेप्यास्त्र प्रहार, जेलेन्स्की भन्छन्– रुसी सेना नफर्किएसम्म पुटिनसँग वार्ता हुँदैन

रुसले युक्रेनका खार्किभ, ओडेसा र जितोमिरलगायतका शहरहरूमा क्षेप्यास्त्र र हवाई आक्रमण गरिरहेको जनाइएको छ।

युक्रेनी शहरहरूमा क्षेप्यास्त्र प्रहार जेलेन्स्की भन्छन्– रुसी सेना नफर्किएसम्म पुटिनसँग वार्ता हुँदैन

रुसले युक्रेनका विभिन्न शहरहरूलाई लक्षित गरेर आक्रामक रूपमा क्षेप्यास्त्र र हवाई आक्रमण गरिरहेको छ। युक्रेनको उत्तरी क्षेत्र खार्किभदेखि दक्षिणी ओडेसा र पश्चिमी जितोमिरलगायत शहरहरूमा आक्रामक रूपमा रुसले क्षेप्यास्त्र प्रहार गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

युक्रेनको पूर्वी शहर बाख्मुतमा दुई पक्षबीच ठूलो भिडन्तपछि रुसले युक्रेनी शहरहरूमा आक्रमणलाई जोडतोडका साथ अघि बढाइरहेको अन्तर्राष्ट्रिय सञ्चार संस्था बीबीसीले उल्लेख गरेको छ। आक्रमणका क्रममा किभमा दुई जनाले ज्यान गुमाएको बताइएको छ।

ओडेसामा ऊर्जा केन्द्रलक्षित क्षेप्यास्त्र आक्रमणबाट विद्युत् आपूर्तिमा समस्या भएको त्यहाँका गभर्नर माक्सिम मार्चेन्कोले जनाएका छन्। आवासीय क्षेत्रहरूमा पनि क्षेप्यास्त्र आक्रमण भएको तर अहिलेसम्म कुनै मानवीय क्षतिका खबर नआएको उनको भनाइ छ।

यस्तै, खार्किभ शहरका संवेदनशील संरचनाहरू र आवासीय भवनहरूमा मात्रै करिब १५ वटा हवाई आक्रमण भएको त्यहाँका क्षेत्रीय प्रशासन प्रमुख ओलेग सिनेगुवोभलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। युक्रेनको मध्य क्षेत्रका पोल्ताभा, पश्चिममा भिनेत्सिया र रिभ्ने क्षेत्रमा पनि आक्रमण जारी रहेको बताइएको छ।

यता, अमेरिकी गुप्तचर प्रमुख एर्भिल हैनिसले बुधबार रुस–युक्रेन युद्ध थप केही वर्ष लम्बिने धारणा सार्वजनिक गरेकी छन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्ध लम्बाउने योजना बनाएको, तर आक्रमणका लागि यस वर्ष रुससँग नयाँ र बलिया उपकरणको अभाव भएको उनले उल्लेख गरिन्। युद्ध जारी नै रहे पनि दुवै पक्षलाई निश्चित सैन्य लाभ नमिल्ने उनको भनाइ थियो।

“रुसी सेनाले यस वर्ष प्रमुख भौगोलिक क्षेत्र नियन्त्रणमा लिन सक्दैन, तर पुटिनले अझै पनि समयलाई आफूअनुकूल बनाउने प्रयासमा लागिरहनेछन्। जारी युद्धमा केही समय रोकिने सम्भावना पनि छ। धेरै वर्ष पनि लागे पनि रुसका लागि रणनीतिक स्वार्थ पूरा गर्ने यो राम्रो अवसर बन्न सक्छ,” उनी थप्छिन्, “तत्काल भने रुसले कब्जा गरेका युक्रेनी भूमिको सुरक्षामा नै रुस सचेत बन्ने छ।”

बुधबार मात्रै रुसले युक्रेनी बाख्मुत शहर कब्जा गरेको रुसले दाबी गरेको थियो। युक्रेनी सेनाले भने भीषण आक्रमण र भिडन्तपछि पनि रुसलाई त्यहाँबाट भगाउन सफल भएको बताएको छ। मस्कोले बाख्मुत कब्जा गर्न धेरै महिनादेखि प्रयास गरिसकेको छ। यस क्रममा दुवै पक्षले ठूलो मूल्य चुकाउनु परेको बीबीसीले लेखेको छ।

गत वर्ष युक्रेनमा रुसी आक्रमण शुरू भएयता हजारौँ सैनिक र सर्वसाधारणले ज्यान गुमाइसकेका छन् भने, लाखौँ मानिस विस्थापित भएका छन्। रुसले युक्रेनी बाख्मुत शहर कब्जा गर्ने प्रयासका क्रममा मात्रै करिब ३० हजार सैनिकहरू मारिएको वा घाइते भएको पश्चिमा अधिकारीहरूको तथ्यांक रहेको बीबीसीले लेखेको छ।

यसैबीच, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनाले युक्रेन नछोड्दासम्म पुटिनसँग वार्ता नगर्ने अडान दोहोर्‍याएका छन्। सीएनएनसँगको विशेष अन्तर्वार्ताका क्रममा जेलेन्स्कीले पुटिनमाथि आफूहरूलाई भरोसा नभएको समेत बताए।

“रुसले हाम्रो भूमि छोड्नुपर्छ। त्यसपछि मात्र हामीले खुशीसाथ कूटनीतिक विधि अपनाउन सक्छौँ। हामी जित चाहन्छौँ। युद्धसँग अभ्यस्त हुन चाहन्नौँ, तर हामी चुनौती सामना गर्न अभ्यस्त नै छौँ। सबैले चाहेको एउटै कुरा भनेकै युद्ध अन्त्य हो,” जेलेन्स्कीको भनाइ छ।


सम्बन्धित सामग्री