Wednesday, April 24, 2024

-->

भरपर्दा ओपनर आसिफ: १ हजार रन कटाएकै दिन डेब्यु शतक

सन् २०२१ सेप्टेम्बरमा राष्ट्रिय टोलीमा डेब्यु गरेर ३२ ओडीआई खेलेका आसिफले एक हजार रन पार गरेकै दिन शतकीय इनिङ्स खेलेका छन्। उनी हजार रनको आँकडा पार गर्ने दोस्रो र शतक प्रहार गर्ने पाँचौँ खेलाडी बने।

भरपर्दा ओपनर आसिफ १ हजार रन कटाएकै दिन डेब्यु शतक
तस्वीर : क्यान

काठमाडौँ– एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडीआई)मा डेब्यू गरेको दोस्रो साता नै आसिफ शेखलाई ठूलो अवसर जुरेको थियो, शतक प्रहार गर्दै इतिहासमा नाम लेखाउने।

आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत घरेलु टोली ओमनविरुद्ध २०२१  सेक्टे‍म्बर  १४ का दिन ओपनिङमा उत्रिएका उनी उक्त कीर्तिमान बनाउनबाट मात्रै १० रनले चुके। उक्त खेलमा १० रन बढी बनाएको भए उनी नै नेपाली जर्सीमा पूर्वकप्तान पारस खड्कापछि शतक प्रहार गर्ने दोस्रो खेलाडी हुने थिए।

तर, क्रिजमा शुरूआती समयबाटै टिकेर खेलिरहेका उनी ३५.३ ओभरमा बिलाल खानले फ्याँकेको बलमा बोल्ड हुँदै ९० रनमा पेभिलियन फर्किन बाध्य भए।

त्यसयता ३२ खेल खेलेका आसिफले लिग-२ अन्तर्गत बिहीबार पपुवा न्युगिनीविरुद्ध शतक पूरा गरेका छन्। यसै वर्ष भारतमा हुने एकदिवसीय विश्वकप छनोटका लागि महत्त्वपूर्ण मानिएको यो खेलमा नेपालले ५२ रनको फराकिलो जित हात पार्‍यो। यो जितमा आसिफले ११० बलमा १२ चौका र २ छक्कासहित ११० रनको शतकीय इनिङ्स खेले। यो नै आसिफको करिअरको पहिलो शतक हो।

पहिलो शतक पूरा गरेको खुशी साट्दै आसिफले आफ्नो सपना पूरा भएको सुनाए। “यसअघि ३१ खेल खेलिसकेको थिएँ, तर शतक प्रहार गर्न सकेको थिइनँ,” उनले भने, “यही दिनको खेलका लागि पर्खिरहेको थिएँ। होम ग्राउन्डमै शतक पूरा गरेँ। यसले राहत महसुस भइरहेको छ।”

आसिफले सन् २०२१ सेप्टेम्बर ७ मा ओमन भ्रमणअन्तर्गत पपुवा न्युगिनीविरुद्धको खेलमार्फत नेपाली टोलीमा डेब्यू गरेका थिए। त्यसयता उनले नेपाली टोलीका लागि ३१ खेलमा ७ अर्धशतक प्रहार गरे पनि शतकको आँकडा भेटाउन सकेका थिएनन्।

शतक पूरा गर्न पाँचौँ खेलाडी
उनी नेपाली टोलीको जर्सीमा शतक प्रहार गर्ने पाँचौँ खेलाडी बनेका छन्। उनीअघि पूर्वकप्तान पारससँगै, कप्तान रोहितकुमार पौडेल, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले शतकीय इनिङ्स खेलिसेका छन्।

विकेट किपिङसँगै ओपनिङ गर्ने आसिफले कीर्तिपुरमै सन् २०२२ मा यूएईविरुद्ध अविजित रहँदै ८८ र यसै महिना नामिबियाविरुद्ध ८१ रनको इनिङ्स खेलिसकेका छन्। अघिल्लो साता यूएईमा सम्पन्न लिग-२ त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत नै पपुवा न्युगिनीविरुद्ध उनले अविजित रहँदै ८७ रनको इनिङ्स खेले।

उक्त खेलमा उनले सन्दीप लामिछानेसँगको ७७ रनको साझेदारी गर्दै नेपाललाई ३ विकेटको महत्त्वपूर्ण जित दिलाए। तर, घरेलु टोली यूएईविरुद्ध सोमबार भएको सिरिजको अन्तिम खेलमा भने उनी क्रिजमा धेरै टिक्न सकेनन्। उनी ६ रनको व्यक्तिगत स्कोरमा आउट भए। तर, त्यसको तीन दिनपछि नै आसिफले कीर्तिपुरमा पहिलो शतक आफ्नो नाममा लेखाए।

आसिफले पपुवा न्युगिनीविरुद्ध शतक बनाउने क्रममा तीन पटक जीवनदान पाए। तर, एलेइ नाओकोले फ्याँकेको ३७औँ ओभरको अन्तिम बलमा एक रन लिएर १०१ बलमा पहिलो शतक प्रहार गरेरै छाडे।

खेलपछि उनले जीवनदान पाउनु खेलको एक ‘पार्ट’ भएको बताउँदै त्यसपछि नयाँ शुरूआत गरेको बताए। "क्याचहरू ड्रप हुनु खेलको एउटा पार्ट हो। तर, ड्रप हुँदा रिलिफ भइहाल्छ। ड्रप भएपछि नयाँ शुरूआत गर्दै अघि बढेँ," उनले भने।

एक हजार रन पूरा गर्ने दोस्रो खेलाडी
योसँगै उनले ओडीआईमा एक हजार रनको कोसेढुंगा पनि पार गरेका छन्। उनीभन्दा अघि कप्तान रोहितले मात्रै एक हजार रन पूरा गरेका थिए। उनले फागुन २ गते कीर्तिपुरमै सम्पन्न लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत नै नामिबियाविरुद्धको खेलमा एक हजार रनको आँकडा पार गरेका थिए।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पपुवा न्युगिनीका कप्तान असद भालले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका थिए। त्यसपछि ब्याटिङ उत्रिएको नेपालले ४९.१ ओभरमा सबै विकेट गुमाउँदै २९७ रन बनायो। यो रन ओडीआईमा नेपालले बनाएको कीर्तिमानी हो।

गत फेब्रुअरी १४ मा नेपालले नामिबियाविरुद्ध ८ विकेट गुमाउँदै २८७ रन बनाएको थियो। उक्त खेल पनि कीर्तिपुरमै भएको थियो। नेपालका आसिफले पहिलो विकेटका लागि कुशल भुर्तेलसँग ११० रनको शतकीय साझेदारी गरे। कुशल ४५ रनमा आउट भए। त्यसपछि नेपालले लगातार २ विकेट गुमायो। कुशल मल्ल २ र ज्ञानेन्द्र मल्ल ११ रनको व्यक्तिगत स्कोरमा आउट भए।

तर, त्यसपछि क्रिजमा आएका कप्तान रोहितले आसिफसँग ६७ रनको साझेदारी गर्दै नेपाललाई बलियो स्थितिमा पुर्‍याए। आसिफ ३७ ओभरको चौथो बलमा आउट भए। त्यसलगत्तै रोहित पनि ३० रनमा क्याच आउट भए। उनले ३९ बलमा २ चौका  १ छक्का प्रहार गरे। भीम सार्कीले ३८ बलमा ४ चौकासहित ४४ रन बनाए।

उनले कीर्तिपुरमा खेल्दा घरेलु दर्शकको साथ पनि पाउने हुँदा यसले फाइदा गरेको बताए। “त्रिवि मैदानमा घरेलु दर्शकको अगाडि खेल्दा हामीलाई विशेष फाइदा हुन्छ। यहाँ खेल्दा हरेक बलमा समर्थन पाइरहेका हुन्छौँ। यसले अझ मज्जा लाग्छ,” उनले भने।

विश्वकप छनोट सिधै खेल्ने सम्भावना
पपुवा न्युगिनीविरुद्धको जितसँगै नेपाल ओडीआई मान्यता जोगाउन मात्र एक कदम पर छ। नेपाले सन् २०१८ मा पहिलोपटक ओडीआई मान्यता पाएको थियो। त्यसयता नेपालले खेलेको ३३ खेलमा १६ जित, दुई बराबरी र १६ हारसहित ३४ अंक जोडेको छ। नेपाल अंक तालिकाको पाँचौँ स्थानमा यथावत् छ।

नेपालले यसअघि घरेलु मैदानमा स्कटल्यान्ड र नामिबियासँगको सिरिज 'क्लिन स्विप' गरेको थियो। यस्तै, यूएईमा घरेलु टोली र पपुवा न्युगिनीसँगको सिरिजका चारमध्ये तीन खेलमा जित हात पार्दै १६ मध्ये महत्त्वपूर्ण १४ अंक जोडेको थियो।

सात राष्ट्र सहभागी लिगको शीर्ष तीनको टोलीले सिधै आगामी जुन-जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट खेल्न पाउने छन्। यस्तै, शीर्ष पाँचमा रहने टोलीले भने ओडीआई मान्यता कायमै राख्ने छन्। लिग-२ का ३६ वटै खेल खेलेको स्कटल्यान्डको ५०, ओमानको ४४, नामिबियाको ३९ र अमेरिकाको ३५ अंक छ। उनीहरू अंक तालिकामा क्रमशः पहिलो, दोस्रो, तेस्रो र चौथो स्थानमा छन्।

चार खेल खेल्न बाँकी यूएई ३१ अंकसाथ तालिकाको छैटौँ स्थानमा छ। पपुवा न्युगिनी ३३ खेलबाट ९ अंक बटुल्दै पुछारमा छ। छैटौँ र अन्तिम स्थानमा रहने दुई टोली भने तल झर्ने छन् र उनीहरूको एकदिवसीय मान्यता पनि धरापमा पर्नेछ।

तर, यूएई र नेपालको शीर्ष तीनमा रहँदै एकदिवसीय खेल्ने गणितीय सम्भावना जीवितै छ। पपुवा न्युगिनी भने विश्वकप छनोटको क्वालिफायर प्ले अफ खेल्न खेल्ने निश्चित भइसकेको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को नियमअनुसार लिग-२ को शीर्ष तीनमा नरहने टोलीले प्ले अफ खेल्नुपर्ने हुन्छ। प्ले अफ लिग-२ का पुछारका पपुवा न्युगिनीसहित अन्य तीन टोली, जर्सी र क्यानडा भिड्ने छन्। आईसीसी च्यालेन्ज लिगको समूह 'ए' बाट क्यानडाले विश्वकप छनोट खेल्ने आफ्नो स्थान पक्का गरेको हो। यस्तै समूह 'सी' बाट जर्सी छनोट भएको हो।

जसबाट शीर्ष दुई टोलीले जिम्बावेमा हुने विश्वकप छनोट खेल्न पाउने छन्। शीर्ष चार टोलीमा रहने दुई टोलीले ओडीआई मान्यता प्राप्त गर्नेछ। नेपालले अब आइतबार यूएईसँग दोस्रो, सोमबार पपुवा न्युगिनीसँग तेस्रो र बिहीबार पुनः यूएईसँग लिग-२ को अन्तिम खेल खेल्ने छ।

तस्वीरहरू : क्यान


सम्बन्धित सामग्री