Friday, March 29, 2024

-->

पाथीभरा पदमार्ग : ‘डस्टबिन’ रित्तो, छेउछाउमा फोहोरको थुप्रो

फोहोरकै कारण भूमि, वायु र जल प्रदूषण हुने भएकाले जीवजन्तु तथा बोटबिरुवालाई असर गर्ने वातावरण संरक्षणकर्मी बताउँछन्।

पाथीभरा पदमार्ग  ‘डस्टबिन’ रित्तो छेउछाउमा फोहोरको थुप्रो

ताप्लेजुङ– पाथीभरा मन्दिर जाने पदमार्गको फोहर व्यवस्थापनका लागि बुधबार ‘हाम्रो अभियान नेपाल’ सहितका छ संस्थाले पदमार्गका विभिन्न क्षेत्रमा डस्टबिन राखेका छन्। यसअघि पाथीभरा क्षेत्र विकास समिति, नेपाल टेलिकमलगायत संस्थाले पदमार्गमा दर्जनौँ थान डस्टबिन राखेका थिए। तर फोहोर डस्टबिनभन्दा बाहिर यत्रतत्र छरिएको अवस्थामा देखिन्छन्। विभिन्न खानेकुरा, पेय पदार्थका खोल, बोतल तथा मोजालगायतका वस्तु पदमार्गको आसपासमा फालिएका पाइन्छन्।

पदमार्गमा यसरी फोहोर बढ्नुमा पाथीभरा दर्शन र सो क्षेत्रमा घुमघामका लागि आउने पर्यटकको लापरबाही प्रमुख कारण भएको सामाजिक अभियन्ता रमेश दाहालले बताए। “नजिकै डस्टबिन हुँदाहुँदै बाटोमा खानेकुरा र पेय पदार्थका खोल तथा मोजा फालेर जथाभाबी फोहर गर्ने गरेको पाइएकाले मन्दिरसँग सम्बद्ध संघसंस्था साथै सरोकारवाला निकायले यस्तो कार्यमा रोक लगाउनुपर्छ”, उनले भने। धार्मिक तथा पर्यटकीय क्षेत्रमा यसरी जथाभाबी फोहर फाल्नाले यहाँको वातावरणका साथै प्रकृतिमा समेत प्रतिकूल असर पुग्ने दाहालको भनाइ थियो।

पदमार्गमा जम्मा भएको फोहरको उचित रूपमा व्यवस्थापन नभएको  पाथीभरा दर्शनका लागि आएका विष्णुप्रसाद आचार्यले बताए। “अन्यत्रका धार्मिक तथा पर्यटकीय क्षेत्रमा फोहर फाल्नेलाई नियम बनाएरै नियन्त्रण र नियमन गर्ने परिपाटी छ, तर यहाँ त्यस्तो केही देखिएन, यसमा सबैको ध्यान जान आवश्यक छ”, उनले भने। 

उनका अनुसार बस्ती आसपासमा पनि घरबाट निस्कने फोहोरको संकलन र व्यवस्थापन नभएको देखिएको छ। यात्राका क्रममा विभिन्न ठाउँमा टिनका टुक्रा, रक्सी तथा बियरका बोतल, प्लास्टिक यत्रतत्र देखिएको आचार्यको भनाइ थियो। यस क्षेत्रका व्यापारले समेत जथाभाबी फोहोर फाल्ने गरेको उनले बताए। पाथीभरा क्षेत्रको माथिल्लो भागमा फोहर न्यून भए पनि बस्तीभन्दा तलको भागमा फोहोर अत्यधिक देखिएको पाथीभरा दर्शन गरेर फर्किएका एक दर्शनार्थीले बताए।

धार्मिक तथा पर्यटकीय क्षेत्र पाथीभरा क्षेत्रमा रेड पान्डासहितका वन्यजन्तु पाइन्छन्। यसलाई लोपोन्मुख हाब्रे (रेड पान्डा) को चरन र उचित वासस्थानका रूपमा लिने गरिएको छ। यसरी यस क्षेत्रमा फोहोर बढ्नुले यहाँका बोटबिरुवा र जनावरलाई नकारात्मक असर पुग्ने देखिएको सरोकारवालाले बताएका छन्। फोहोरकै कारण भूमि, वायु र जल प्रदूषण हुने भएकाले जीवजन्तु तथा बोटबिरुवालाई असर गर्ने वातावरण संरक्षणकर्मी बताउँछन्।

यहाँ मासुजन्य फोहरका साथै खानेकुराहरू जथाभाबी फाल्दा त्यहाँ कुकुर पुग्ने र रेड पान्डा कुकुरको आक्रमणमा पर्ने खतरा बढेको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताए। “जथाभाबी खानेकुरा र मासुजन्य फोहर फाल्दा कुकुर आउने जाने र त्यो समयमा रेड पान्डा आक्रमणमा पर्ने समस्या देखिन्छ, कुकुरकै आक्रमणले पाथीभरा क्षेत्रमा रेड पान्डा मरेका घटना पनि छन्”, उनले भने।

मन्दिरमा बलि दिएर ल्याइएको पाठापाठीको मासुबीच बाटोमै खाने, सफा नगरी छोड्ने गर्नाले भुस्याहा कुकुर आउने र रेड पान्डालाई आक्रमण गर्ने गरेको राईले बताए। यस क्षेत्रका व्यवसायीले जथाभाबी कुकुर पाल्न नहुने तथा फोहर पनि व्यवस्थित तरिकाले संकलन गर्नुपर्ने उनको भनाइ थियो।

कुहिने र प्लास्टिकजन्य वस्तुले माटो प्रदूषण भई हानिकारक रसायन निस्कने, हावामा हानिकारक ग्यास फैलने तथा पानीका स्रोतसमेत फोहर हुने भएकाले व्यवस्थित रूपमा फोहोर संकलन गर्नुपर्नेमा स्थानीयवासीले जोड दिए। फोहोरले वातावरण र प्रकृतिमा नकारात्मक प्रभाव पार्ने भएकाले यसको उचित व्यवस्थापन हुन नसकेको यहाँ आउने पर्यटकले गुनासो गरेका छन्। फोहरको उचित व्यवस्थापन भएमा दैनिक सयौँको संख्यामा पाथीभरा आउने धार्मिक पर्यटकलाई सहज हुने उनीहरूको भनाइ थियो।

यहाँको फोहर व्यवस्थापनका लागि पदमार्गका विभिन्न ठाउँमा डस्टबिन राखिएको पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले बताए। “ठाउँठाउँमा डस्टबिन राख्ने, समय–सयममा कर्मचारी खटाई सरसफाइ गर्ने गरिएको छ। यहाँ आउने जाने तीर्थयात्रीले प्रायः डस्टबिनको प्रयोग नगरेको पाइन्छ, फोहोर गर्नु हुँदैन भन्ने चेतना सबैमा हुनुपर्छ, सीमित व्यक्ति र संस्थाको मात्रै प्रयासले पुग्दैन”, उनले भने। पछिल्लो समय हिउँ परेकाले पनि फोहर उठाउन समस्या भएको अध्यक्ष थेबेको भनाइ थियो।

वातावरणलाई स्वच्छ राख्दै पाथीभरामा आउने जाने धार्मिक पर्यटकलाई सहज बनाउने आफूहरूको प्रयास निरन्तर हुने उनले बताए। अलौकिक शक्तिपीठका रूपमा मानिने पाथीभरामा स्वदेशी र विदेशी गरी वार्षिक लाखौँको संख्यामा तीर्थयात्री आउने गरेका छन्। नेपालसहित भारतका विभिन्न ठाउँबाट भक्तजनको बाक्लो उपस्थिति हुने गरेको छ। विशेषगरी दसैँको समयमा भक्तजनको भीड लाग्ने गर्दछ। माघदेखि वैशाखसम्मको समयलाई पाथीभरा आउने मुख्य यामका रूपमा लिइन्छ।


सम्बन्धित सामग्री