Thursday, April 25, 2024

-->

उमेर समूहमा लय फर्किएको क्रिकेट

सन् २००२ मा श्रीलंकामा आयोजित यू-१९ विश्वकपमा पहिलोपटक खेलेको नेपालले त्यसपछि सातपटक छनोट चरण पार गरेको थियो। सन् २०१६ यता बाधक बन्दै आएको यूएईलाई पन्छाउँदै नेपाल आठ वर्षपछि विश्वकपमा भाग लिँदैछ।

उमेर समूहमा लय फर्किएको क्रिकेट
तस्वीर : क्यान

काठमाडौँ-  आईसीसी यू–१९ विश्वकप अन्तर्गत एशियाली छनोट प्रतियोगितामा भाग लिन जानुअघि नेपालको सबैभन्दा ठूलो चुनौती यूएई थियो। तर, यूएईलाई मात्र पराजित गरेर पुग्दैन थियो, सबै खेल जित्नैपर्ने दबाब थियो।

अघिल्लोपटक भएको छनोटमा नेपालले अन्तिम खेलबाहेक अन्य सबै जितेको थियो। अन्तिम खेलमा भने यूएईसँग डकवर्थ लेविस नियमका आधारमा १ रनले पराजित भएपछि नेपाल लगातार दुई वटा यू-१९ विश्वकप खेल्नबाट वञ्चित भएको थियो।

यसपटक यूएईसँग खेल्नुअघि मुख्य प्रशिक्षक जगत टमाटाले नेपाली टोली उच्च लयमा भएको दाबी गरेका थिए। सोचेअनुसार नै प्रदर्शन भइरहेको उनले बताएका थिए।

टमटाले भनेजस्तै, प्रतियोगिताको पहिलो खेलमा नेपालले सिंगापुरलाई ९६ रनले पराजित गरेको थियो। त्यस्तै, कुवेतविरुद्ध २४३ रन, हङकङविरुद्ध ९ विकेट र मलेसियाविरुद्ध १० विकेटको जित हासिल गर्न नेपाललाई समस्या भएन।

नेपालजस्तै घरेलु टोली यूएई पनि प्रतियोगिताका अघिल्ला चार खेलमा विजयी भएको थियो। रनरेट नेपालको भन्दा राम्रो थियो। अर्को वर्ष श्रीलंकामा आयोजना हुने यू-१९ विश्वकपको लागि अन्तिम खेल निर्णायक थियो। र, सो खेलमा नेपालले बाजी मार्‍यो।

बिहीबार सम्पन्न खेलमा यूएईलाई ७ रनले पराजित गर्दै नेपालले आठ वर्षपछि विश्वकपमा भाग लिन भएको छ। सिंगल राउन्ड रोबिनमा भएको प्रतियोगितामा नेपालले शतप्रतिशत जित हासिल गरेर १० अंक जोड्यो।

आठ वर्षपछि फेरि विश्वकपमा
सन् २००२ मा श्रीलंकामा आयोजित विश्वकप पहिलोपटक खेलेको नेपाल दोस्रो चरणमा पुगेको थियो। त्यसपछि नेपालले सन् २००८ सम्म लगातार पाँच वटा विश्वकप खेल्यो। तर, दोस्रो चरण पुग्न सकेन। नेपालले सन् २०१०, २०१४, २०१७ र २०१८ को विश्वकपमा भने एशियाली छनोट नै पार गर्न सकेन।

सन् २०२० विश्वकप छनोटमा वर्षा नेपालको बाधक बन्यो। एशिया छनोट डिभिजन १ को अन्तिम खेलमा नेपालले यूएईसँग डकवर्थ लेविस नियमका आधारमा १ रनले पराजित हुनु पुग्यो। नेपालले दिएको २४७ रनको लक्ष्य पछ्याएको यूएईले ३० ओभरमा ३ विकेट गुमाएर १२२ रन बनाएर ब्याटिङ गरिरहँदा वर्षा शुरू भएको थियो। वर्षा रोकिने छाँटकाँट नदेखिएपछि खेल रद्द भयो र यूएईलाई १ रनले विजयी घोषित गरियो।

यूएई त्यतिमा मात्रै 'भाग्यमानी' साबित भएन। सन् २०२१ मा यूएईमा हुने तय गरिएको प्रतियोगितामा पनि उसलाई 'चिट्ठा' नै पर्‍यो। कोरोना महामारीका कारण उक्त छनोट प्रतियोगिता रद्द भयो। गत वर्ष वेस्ट इन्डिजमा आयोजना भएको विश्वकपका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले पछिल्लो पाँच छनोट प्रतियोगिताको नतिजाका आधारमा यूएईलाई नै छनोट गर्ने निर्णय गर्‍यो। सो बेला नेपाल रहेको छनोट समूहमा यूएईसँगै ओमान, मलेसिया र सिंगापुर थिए।

यसपटक मुख्य प्रशिक्षक टमाटालाई उक्त दुई हारको बदला लिने मौका थियो। सधैँजसो तयारीमा अपुग रहेको गुनासो गर्ने टोलीले यसपटक दुई महिनाभन्दा बढी अभ्यास गर्ने समय पाएको थियो। नेपाल क्रिकेट संघ (क्यान) नेपाल टी–२० लिग, स्पट फिक्सिङ र भारतीय कम्पनीसँगको विवादमा मुछिए पनि टोलीलाई तयारीको लागि पर्याप्त समय दिएको थियो।

क्यानले टोलीलाई कीर्तिपुर, मूलपानी र पोखरासमेत लगेर उमेर समूहको टोलीलाई अभ्यास गरायो। यही टोलीले सिनियर टोलीसँग चार खेल खेल्दै पर्याप्त अनुभव बटुल्ने अवसर पायो। त्यसैले मुख्य प्रशिक्षक टमाट ढुक्क हुँदै भन्थे, “विश्वकप खेल्न मिहिनेत चाहिन्छ। खेलाडीले कडा मिहिनेत गरेका छन्। छनोट चरणमा राम्रो प्रदर्शन गरेर श्रीलंकामा हुने विश्वकप खेल्छौँ भन्नेमा म पूर्ण विश्वस्त छु।”

नेपाल उमेर समूहमा कमजोर टोली भने होइन। सन् २०१६ को विश्वकपमा नेपालले न्युजिल्यान्ड र आयरल्यान्डजस्ता बलिया टोलीलाई हराउँदै क्वार्टरफाइनलसम्मको ऐतिहासिक यात्रा तय गरेको थियो।

राजु रिजालको कप्तानीमा क्वार्टरफाइनल पुगेको नेपाल घरेलु टोली बंगलादेशसँग ६ विकेटले पराजित भयो। पहिलो ‘प्लेअफ’मा पाकिस्तानसँग १२२ रनले पराजित नेपाल दोस्रो ‘प्लेअफ’मा नामिबियासँग १५ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो।

दीपेशको ह्याट्रिक यूएईलाई भारी
यसपटकको छनोटमा कमजोर प्रदर्शन गर्दै आएका सिंगापुर, कुवेत, हङकङ र मलेसिया प्रतिस्पर्धी थिए। तर बलियो टोली यूएई बाधक बन्न सक्थ्यो। बिहीबार भएको यूएईसँगको अन्तिम खेल प्रतिस्पर्धात्मक पनि भयो।

शुरूमा ब्याटिङ गरेको नेपालले १९१ रन मात्र बनाउन सक्यो। १९२ रनको लक्ष्य पछ्याएको यूएई एक समय बलियो अवस्थामा देखिन्थ्यो। यूएईका ओपनरद्वय आर्यन सक्सेना र आर्यन शर्माले पहिलो विकेटका लागि ६७ रनको साझेदारी गरे। तर, १७.२ ओभरमा शर्मालाई सुवास भण्डारीले बोल्ड गर्दै नेपाललाई खेलमा फर्काए। सक्सेनालाई दीपेश कँडेलले सुवास भण्डारीबाट क्याच आउट गराए।

तर त्यसपछि पनि यूएईका खेलाडीले धीरता देखाए। तेस्रो विकेटका लागि इथान कार्ल डिसुजा र ध्रुव पराशरले ४२ रनको साझेदारी गरे। डिसुजाले ६६ बलमा आठ चौकासहित ५० रनको अर्धशतकीय इनिङ्स खेले। ध्रुव पराशर ३४.३ ओभरमा दीपेशको बलमा विशाल विक्रम केसीको हातबाट १५ रनमा क्याच आउट भए।

यूएईलाई अन्तिम २ ओभरमा १० रन चाहिएको बेला दीपेश बलिङमा आएका थिए। उनले पहिलो बलमा १ र तेस्रो बलमा २ रन दिएका थिए। तर त्यसपछि लगातार ३ विकेट लिँदै ह्याट्रिक गरे। उनको ह्याट्रिकले नेपाल आगामी वर्ष श्रीलंकामा हुने उमेर समूहको विश्वकपमा पुग्यो।

अनुभवी खेलाडीबिना उत्कृष्ट प्रदर्शन
उमेर समूहको टोलीबाट खेल्ने लगभग तय भएका अनुभवी अलराउन्डर गुलशन झालाई अन्तिम समयमा हटाइएको थियो। उनलाई यूएईमै जारी आईसीसी लिग–२ का लागि सिनियर टोलीमा राखिएको छ। गत वर्ष यूएईमै एशिया कपमा उत्कृष्ट प्रदर्शन गरेका अलराउन्डर बसिर अहमद र विवेक मगर पनि टोलीमा थिएनन्। उनीहरूले १९ वर्ष नाघिसकेका छन्।

टमाटासँग यू–१९ एशिया कपमा कप्तानी सम्हालिसकेका देव खनालसँगै दुर्गेश गुप्ता, अर्जुन कुमाल, दीपेश कँडेल, विशालविक्रम केसीजस्ता केही अनुभवी खेलाडी थिए। उनीहरूले प्रतियोगिताको पहिलो खेलदेखि नै टमाटालाई निराश पारेनन्। गुलशनको स्थानमा यूएई पुगेका ओपनर आकाश त्रिपाठीले पहिलो खेलमा सिंगापुरविरुद्ध १०० बलमा ७८ रनको इनिङ्स खेले। हङकङविरुद्ध पनि ७२ बलमा ६४ को अविजित इनिङ्स खेले।

कप्तान देव र अर्का ओपनर अर्जुन कुमालको प्रदर्शन पनि उल्लेख्य रह्यो। देवले कुवेतविरुद्ध १२५ रनको शतकीय इनिङ्स खेले भने यूएईविरुद्ध ५१ रन बनाए।

प्रतियोगितामा देवभन्दा १२ रन कम बनाएका अर्जुनले पनि कुवेतविरुद्ध १०८ रनको शतकीय इनिङ्स खेले। मलेसियाविरुद्ध २१ रनमा अविजित रहेका उनले सिंगापुरविरुद्ध ३७ रन बनाए। विशाल र उत्तम थापामगरको प्रदर्शन पनि राम्रो रह्यो।

यूएईविरुद्धको अन्तिम खेलमा ५ विकेट लिएका स्पिनर दीपेश कँडेलले ५ इनिङ्समा १२ विकेट लिए। उनीहरूबाहेक सुवास भण्डारी, हेमन्त धामीले ७७ विकेट लिए। यस्तै मिलन बोहोरा र विशाल पनि खाली हात फर्किनु परेन।


सम्बन्धित सामग्री