Saturday, April 20, 2024

-->

यूएईविरुद्ध शानदार जित, नेपालले कायम राख्यो ओडीआई मान्यता

नेपालले यूएईलाई १७७ रनको फराकिलो अन्तरले पराजित गर्दै आगामी चार वर्षका लागि ओडीआई मान्यता कायमै राखेको छ।

यूएईविरुद्ध शानदार जित नेपालले कायम राख्यो ओडीआई मान्यता

काठमाडौँ– क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ३४औँ खेलमा यूएईलाई १७७ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपालले आगामी चार वर्षका लागि एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता कायम राखेको छ।

यूएईविरुद्धको जितसँगै नेपाल अंक तालिकमा चौँथो स्थानमा उक्लिएको छ। नेपालको ३४ खेलबाट ३६ अंक पुगेको छ। पाँचौँ स्थानमा रहेको अमेरिकाले सबै ३५ खेल खेलेर ३५ अंक जोडेको छ। ३४ नै खेल खेलेको यूएईको ३१ अंक मात्र छ।

यूएईले बाँकी सबै खेल जिते पनि नेपाललाई उछिन्न सक्ने छैन। नेपालले २०१८ मार्च १५ (२०७४ चैत १)मा ओडीआई मान्यता पाएको थियो। नेपालको ओडीआई मान्यता अब सन् २०२७ सम्म कायम रहने भएको छ।

नेपालले पछिल्ला १० मध्ये नौ खेलमा जित हासिल गरेको छ। अब बाँकी दुई खेलमा जित हासिल गरे तेस्रो स्थानमा रहँदै नेपालले सिधै विश्वकप छनोट प्रतियोगिता खेल्न पाउने छ। तेस्रो स्थानमा रहेको नामिबियाको ३६ खेलबाट ३९ अंक छ। अंक तालिकामा तेस्रो स्थान हासिल गर्ने टिमले आगामी जुन–जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट खेल्ने छ।

नेपालले यही श्रृंखलामा बाँकी दुई खेल पपुवा न्युगिनी र यूएईविरुद्ध खेल्नेछ। पपुवा न्युगिनीविरुद्ध सोमबार खेल हुनेछ भने अन्तिम खेल यूएईविरुद्ध बिहीबार हुनेछ।

नेपालले यसअघि घरेलु मैदानमा स्कटल्यान्ड र नामिबियासँगको सिरिज ‘क्लिन स्विप’ गरेको थियो। यस्तै, यूएईमा घरेलु टोली र पपुवा न्युगिनीसँगको सिरिजका चारमध्ये तीन खेलमा विजयी भएको थियो। बिहीबार त्रिविमा सम्पन्न खेलमा पपुवा न्युगिनीलाई ५२ रनले पराजित गर्दै नेपालले १६ मध्ये महत्त्वपूर्ण १४ अंक जोड्दै दुई खेलअगावै ओडीआई मान्यता ‘रिटेन’ गर्ने अवसर कायम राखेको थियो।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को नियमअनुसार सात राष्ट्र सहभागी लिगको शीर्ष तीन टोलीले जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट खेल्न पाउने छन्। शीर्ष पाँचमा रहने टोलीले भने ओडीआई मान्यता कायमै राख्ने छन्। अब यूएई र अमेरिकामध्ये एक टोलीले ओडीआई मान्यता जोगाउने छन्।

लिग–२ का ३६ वटै खेल खेलेको स्कटल्यान्डको ५०, ओमानको ४४ र नामिबियाको ३९ अंक छ। उनीहरू अंक तालिकामा क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा छन्।

आईसीसीको नियमअनुसार लिग–२ को शीर्ष तीनमा नरहने पपुवा न्युगिनीसहित यूएई, अमेरिका र अर्को एक टोलीले विश्वकप छनोटको क्वालिफायर प्ले अफ खेल्ने छन्। यसअघि नै आईसीसी च्यालेन्ज लिगको समूह ‘ए’ बाट क्यानडा र समूह ‘सी’बाट जर्सी विश्वकप क्वालिफायर प्लेअफ खेल्ने निश्चित भइसकेका छन्।

रोहितको ब्याटिङ र ललितको कसिलो बलिङमा नेपालको जित
कप्तान रोहितकुमार पौडेलको अर्शतक र ललितनारायण राजवंशीले कसिलो बलिङ गरेपछि नेपालले आइतबार आईसीसी लिग-२ त्रिकोणात्मक ओडीआई सिरिजमा यूएईलाई पराजित गर्‍यो। नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याएको यूएई २२.५ ओभरमा सबै विकेट गुमाउँदै ७१ रनमा समेटियो। यो ओडीआईमा यूएईको सर्वाधिक कम स्कोर हो।

शुरूआतीदेखि नै लडबडाएको यूएईको ब्याटिङ लाइन तोड्न स्पिनर ललित राजवंशीले सर्वाधिक ५ विकेट लिए। उनले ओपनर वृत्य अरविन्दलाई ५ बल खेलाउँदै 'डकआउट' गरे। ललितले चौथो ओभरको चौथो बलमा कप्तान मोहम्मद वासिमलाई १ रनको व्यक्तिगत स्कोरमा कुशल भुर्तेलबाट क्याच आउट गराए। त्यस्तै, १६औँ ओभरको पहिलो बलमा सम्हालिएर खेलिरहेका आयन खानलाई व्यक्तिगत २९ रनमा कुशल भुर्तेलबाट नै क्याच आउट गराए। उनले ३३ बलमा २ चौका र २ छक्का प्रहार गरे।

उनीले तल्लोक्रमका जुनेद सिद्दिकी र जहूर खानलाई पनि १ र शून्य रनमा आउट गरे। नेपालका सन्दीप लामिछाने २ विकेट लिए। सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र गुलशन झाको नाममा १/१ विकेट रह्यो।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले ४८.५ ओभरमा सबै विकेट गुमाउँदै २४८ रन बनायो। नेपालका रोहितले सर्वाधिक ७७ रनको अर्धशतकीय इनिङ्स खेले। उनले ११२ बलमा ९ चौका प्रहार गरे।

यस्तै, मध्यक्रमका आरिफ शेख ४३, दीपेन्द्रसिंह ऐरीले ३४ र भीम सार्की २९ रन बनाएर आउट भए। ८औँ ओभरसम्म यूएईका खेलाडीले कसिलो बलिङ गरेका थिए। ओपनर आसिफ शेख ५ बल खेल्दै ‘डक आउट’ भए। अर्का ओपनर कुशल भुर्तेललाई पनि चौथो ओभरको तेस्रो बलमा आयन खानले बोल्ड गरे।

तेस्रो नम्बरमा उत्रिएका कुशल मल्ल पनि ७औँ ओभरको पहिलो बलमा कप्तान मोहम्मद वासिमबाट क्याच आउट भएपछि नेपाल संकटमा परेको थियो।  तर, चौथो नम्बरमा क्रिजमा उत्रिएका कप्तान रोहितले नेपालको इनिङ्स उकासे। उनले ८३ बलमा ७ चौका प्रहार गर्दै अर्धशतक प्रहार गरे।

उनले भीम सार्कीसँग पाँचौँ विकेटका लागि ५४ रनको साझेदारी गरे। भीम २१औँ ओभरको अन्तिम बलमा क्याच आउट भए। २२ ओभरमा ४-७६ को स्थितिमा रहेको नेपाललाई पुनः रोहित र आरिफ शेखले उद्धार गरे। उनीहरूबीच ८६ रनको साझेदारी भयो। रोहित ३७औँ ओभरको तेस्रो बलमा क्याच आउट भए।

रोहितको ओडीआईमा सर्वाधिक अर्धशतक प्रहार गर्ने नेपाली खेलाडी बनेका छन्। उनले ओडीआईमा एक शतकसहित ८ अर्धशतक प्रहार गरेका छन्। आशिफ शेखले ओडीआईमा एक शतकसिहत ७ अर्धशतक र ज्ञानेन्द्र मल्लले ७ अर्धशतक प्रहार गरेका छन्।

रोहित आउट भएपछि क्रिजमा आएका गुलशन झा ३७, सन्दीप लामिछाने २, दीपेन्द्रसिंह ऐरी ३४ र सोमपाल कामी २ रन बनाएर आउट भए।

यूएईका आयान खान, जावर फरिद र रोहन मुस्तफाले २/२ विकेट लिए। आर्यन लाक्रा, जुनेद सिद्दिकी र जहूर खानको नाममा १/१ विकेट रह्यो।


सम्बन्धित सामग्री