Thursday, April 25, 2024

-->

युद्धमा लाग्दा सर्वसुलभ उपचारको सपना देखेका सरल सुमन, उपचार गर्न आफैँ जग्गा बेच्दैछन्

गरिबी अन्त्य र नागरिकको सर्वसुलभ उपचारका लागि व्यवस्था फेर्न युद्धमा होमिएका सरल सुमन आफैँ रोगले थलिएका छन्। सामाजिक सञ्जालमार्फत सहयोग खोजिरहेका उनी उपचारका लागि जग्गा बेच्नुपर्ने अवस्थामा छन्।

युद्धमा लाग्दा सर्वसुलभ उपचारको सपना देखेका सरल सुमन उपचार गर्न आफैँ जग्गा बेच्दैछन् 

काठमाडौँ– “फेरि अनुरोध गरेँ। जग्गा बिकेन र उपचारको खर्च जुटाउन असमर्थ भएँ। तपाईंहरूलाई लाग्छ र उचित ठान्नुहुन्छ भने जग्गा बिक्री भएपछि फिर्ता गर्ने शर्तमा तपाईंहरूलाई अप्ठ्यारो नपर्नेगरी ऋण दिएर सहयोग गर्नुहोला। एक उपाय बाँकी रह्यो। उपचार असफल भएर म रहिन भने पनि पैसा फिर्ता हुन्छ।”

सरल सुमनले सोमबार ट्विट गरेका छन्। पछिल्लो समय उनले लगातार सहयोगको आह्वान गरिरहेका छन्। तर सापटीको रूपमा मात्र सहयोग लिने उनको अठोट छ।

मंगलबार भने उनले निकै भावुक हुँदै अर्को ट्विट गरे। उनले लेखेका छन्, “श्री पशुपतिनाथ गएँ! थाहा छ, यो अन्तिमपटक पनि हुनसक्छ। निकै बेर शान्तसँग बसेँ। ‘शिव’ आफैँमा विराट दर्शन... सबैले त्यागेका बहिष्कृत... सबैलाई बिनाविभेद अपनाउने विराट चेतना! मानवताको रक्षाको लागि विष पिउन तयार... इतिहासको सर्वश्रेष्ठ चेतना। श्री पशुपतिनाथलाई दर्शन अध्ययनको केन्द्र बनाऔँ।”

‘सरल सुमन’ उनको वास्तविक नाम होइन। ट्वीटरमा उनी यो नाममा सक्रिय छन्। र, उनी आफूलाई यही नामबाट मात्र चिनिदिन आग्रह गर्छन्। कुनैबेला उनले सपना देख्थे– रोगपछि कोही पनि नागरिक उपचार नपाएर मर्नुपर्ने दिनको अन्त्य होस्। देशमा उत्पादनमूलक शिक्षामार्फत बेरोजगारी र गरिबी उन्मूलन होस्। यही सुन्दर सपना बोकेका मोरङको रतुवामाई गाउँपलिका–६ का सुमन २०५५ चैत २७ मा तत्कालीन नेकपा माओवादीको सदस्यता लिएर युद्धमा होमिएका थिए। 

उनी माओवादीको राजनीतिक मोर्चामा थिए। पूर्वी नेपालका झापा, मोरङ र सुनसरीमा रहेर संगठन विस्तार गरे। पार्टीले भूमिगत भएर काम गर्न २०६२/६३ मा काठमाडौँ खटायो, उनी यतै आए।

२०६५ सालसम्म पनि उनलाई राजनीतिमा लाग्दा देखेको सपना माओवादीले पूरा गर्छ भन्ने विश्वास थियो। तर त्यसपछि आशा हराउँदै गएको उनी बताउँछन्। अनि पार्टी राजनीतिबाट निष्क्रिय हुँदै गएर स्वतन्त्र नागरिक हुने निर्णयमा पुगे। पार्टी छाड्दा मोरङ जिल्ला कमिटीमा थिए।

१६ वर्षको उमेरमा, २४ वर्षअघि राजनीतिमा होमिएका सुमनले जुन सपना देखेका थिए, अहिले त्यही समस्यामा परेका छन्। अर्थात्, विगत डेढ वर्षदेखि जटिल प्रकारको रोगसँग संघर्ष गरिरहेका छन्। “थाहा छैन। म कति दिन बाँच्छु । मेरो उपचार भएर निको हुने सम्भावना धेरै कम छ। यो सत्य मलाई थाहा छ,” उनी भन्छन्।

चार वर्षअघि खुट्टा सुनिने समस्या देखियो। उक्त समस्या केही दिन देखिन्थ्यो र आफैँ हराउँथ्यो। यो क्रम दोहोरिइरह्यो। “शुरूमा युरिक एसिडले होला भन्ने भयो र सामान्य हिसाबले लिएँ,” उनी भन्छन्, “समस्या पटक-पटक दोहोरिएपछि धेरै वटा अस्पताल धाएँ। यहाँ पत्ता नलागेपछि भारत गएर जाँच गराउँदा मिर्गौला र नसामा समस्या देखियो,” सुमन भन्छन्। 

उनको रोग पत्ता लागेको डेढ वर्ष भयो। गत वैशाखमा भारतमै पहिलो अप्रेसन भयो। चिकित्सकले उपचारको लामो प्रक्रिया हुने र ठीक नै हुन्छ भनेर ठोकुवा गर्न नसक्ने बताएका छन्। “बाँच्न प्रयत्न गर्नु मानिसको स्वाभाविक प्रक्रिया हो। अप्रेसन सफल भयो र बाँचियो भने राम्रै भयो, मरियो भने पनि एक दिन सबै मर्नु नै पर्छ। कुरा ढिलो चाँडोको मात्र हो,” थकित अवस्थामा काठमाडौँको बबरमहलमा मंगलबार भेटिएका उनले आत्मविश्वास देखाउँदै भने।

आउँदो फागुन २८ मा उनको दोस्रो अप्रेसन छ। 

उपचारमा आर्थिक संकट 
उपचारका क्रममा उनले धेरै खर्च गरिसकेका छन्। अबको उपचारका लागि भने आर्थिक संकटमा छन्। उनले सामाजिक सञ्जाल ट्विटरमा सहयोगका लागि सार्वजनिक अपिल नै गरेका छन्। साथीभाइबाट सानोतिनो रकम पनि पाइरहेका छन्।

अहिले मन्दीका कारण जग्गा बिक्री नभएकाले आफूलाई समस्या भएको उनले सुनाए। “मैले सित्तैमा सहयोगका लागि आह्वान गरेको होइन। तिर्ने शर्तमा गरेको आह्वान हो। जग्गा जहिले बिक्री हुन्छ, त्यो पैसा म इमान्दारिका साथ फिर्ता गर्छु,” उनी भन्छन्, “म रहिन भने पनि मेरो परिवारले जग्गा बिक्री गरेर पैसा फिर्ता गर्नेछन्।”

सुमनलाई आर्थिक संकटतर्फ धकेल्न कोरोना महामारीले पनि ठूलो भूमिका खेल्यो। उनले काठमाडौँको अनामनगरमा होस्टेल चलाएका थिए। होस्टेलबाट खर्च चलेको थियो। तर कोरोना महामारी नियन्त्रणका लागि भएको लकडाउनले होस्टेल बन्दजस्तै भयो। होस्टेल नचले पनि भाडा मात्र २० लाख रुपैयाँ तिरेको उनी बताउँछन्। “करिब ३५  लाखका सामान कवाडका रूपमा थन्काएर राखेका छौँ। तलब र अन्य खर्च गर्दा होस्टेलबाट ६० लाख जति गुम्यो,” उनी भन्छन्।

‘अधिकार लेखिए, कार्यान्वयन भएन’
जुन सपना देखेर राजनीतिमा होमिएका थिए, त्यसप्रति आफ्नो कुनै गुनासो नभएको सुमन बताउँछन्। “म मेरो इच्छाले राजनीतिमा लागेको थिएँ। मलाई कसैले जोर जबर्जस्ती गरेको होइन,” उनी भन्छन्, “मेरो जीवनमा सकारात्मक र नकारात्मक जे जति अवस्था आइपरे, त्यसको कारक म नै हुँ, कसैको दोष छैन।” 

आफूले राजनीतिमा लागेर देखेका सपना नेपालको संविधान २०७२ मा समावेश भए पनि त्यसको कार्यान्वयन नभएकोमा उनी असन्तुष्ट छन्। “संविधानमा लेखिएका छन्। कागजमा लेखिएका कुरा आफैँ कार्यान्वयन हुने होइनन्,” उनी भन्छन्, “त्यसलाई कार्यान्वयन गर्ने मान्छे इमान्दार भइदिएनन्। समस्या त्यहाँ हो।” 

माओवादी युद्धमा लागेबापत आफूले त्यसको कुनै ब्याज नखोजेको उनले बताए। “मैले ब्याज पाउनुपर्छ भन्ने होइन। म भन्दा धेरै योगदान गर्ने साथीहरु थिए। जसले आफ्नो जीउ ज्यान नै दिए। ती साथीहरुको तुलनामा मेरो योगदान त नगन्य हो,” सुमन सुनाउँछन।

माओवादी केन्द्र प्रदेश १ सचिव गणेश उप्रेती सुमनले द्वन्द्वकालका कठिन दिनमा पार्टीमा काम गरेको बताउँछन्। “अहिले उहाँ बिरामी हुनुहुन्छ, उहाँको उपचारमा सहयोग गर्नु हामी सबैको दायित्व हो,” उनले भने। सुमन भने त्यही सहयोगको प्रतीक्षामा छन्।


सम्बन्धित सामग्री