Saturday, April 20, 2024

-->

टिममा परे क्रिकेटर, नभए ‘लाहुरे’ बन्न हिँडेका उत्तम

आफन्त र छिमेकका बालबालिका बाबुआमासँग डाक्टर, इन्जिनियर बन्ने सपना सुनाउँथे। कसैको सपना लाहुरे बन्ने हुन्थ्यो। तर उत्तम आमासँग आफू 'धोनी' बन्ने सपना सुनाउँथे, जो अहिले उमेर समूहको राष्ट्रिय टिममा छन्।

टिममा परे क्रिकेटर नभए ‘लाहुरे’ बन्न हिँडेका उत्तम

काठमाडौँ- करिब १५ वर्षअघि सुरेश रंगु थापा गोर्खा रेजिमेन्टमा भर्ती भएर जाँदा दक्षिण अफ्रिकामा भएको पहिलो संस्करणको आईसीसी टी-२० विश्वकप जितेर भारत भर्खरै स्वदेश फर्किएको थियो। भारतीय टोलीको नेतृत्व महेन्द्रसिंह धोनीले गरेका थिए। फाइनलमा भारतले पाकिस्तानलाई ५ विकेटले पराजित गरेको थियो।

भारतीय टोली स्वदेश फर्किँदा ठूला सहरका सडक र साँघुरा गल्लीलाई धोनी तथा भारतीय टोलीको जर्सी, पोस्टर र ब्याटले सिँगारिएको थियो। त्यो उत्साहको साक्षी बने सुरेश।

गोर्खा रेजिमेन्टमा हुँदा सुरेशले बास्केटबल कुस्तीलगायत केही खेल हेरेका थिए। तर क्रिकेटबारे भेउ पाएकै थिएनन्। भारतले विश्वकप जितेपछि क्रिकेटबारे उनको चासो बढ्दै गयो। 

उनका छोरा उत्तम डेढ वर्षका मात्र थिए। उनले छोरालाई आफूजस्तै लाहुरे बनाउने सपना देखेका थिए। तर त्यो क्रिकेट माहोलबाट नेपाल फर्किँदा उनले छोराको लागि खेलौना प्लास्टिकको ब्याट किनिदिए। त्यही ब्याटले क्रिकेट सिकेका उत्तम अहिले नेपालको प्रतिनिधित्व गरेर यूएईमा भइरहेको यू-१९ टी२० विश्वकपको एशियाली छनोट खेलिरहेका छन्।

सोमबार हङकङसँग भएको खेलमार्फत् उनले उमेर समूहको राष्ट्रिय टोलीमा डेब्यू गरे। उक्त खेलमा तेस्रो नम्बरमा ब्याटिङ गर्न उत्रिएका उनले ५० बल खेल्दै अविजित ३९ रन बनाउँदा चार चौका प्रहार गरे। ५.२ ओभरमा ओपनर अर्जुन कुमाल १६ रनको व्यक्तिगत स्कोरमा क्याच आउट भएपछि उनी क्रिजमा गएका थिए।

बाबु सुरेश।

यूएईमा जारी प्रतियोगितामा छोराले उमेर समूहबाट डेब्यू गरेपछि सुरेश दंग छन्। क्रिकेटरको भविष्यमाथि शंका गर्ने उनी यही प्रतियोगितामार्फत छोराको १३ वर्षदेखिको सपना पूरा भएको बताउँछन्। 

“फुटबल खेलाडीहरू खेल्न छाडेर अस्ट्रेलिया उडिरहेका छन्। यस्तो अवस्था देख्दा नेपालमा केही हुन्छ जस्तो लाग्दैन। पछि के हुन्छ थाहा छैन, तर अहिले छोराले देखेको सपना पूरा भएको छ। यसैमा रमाएका छौँ,” उनी भन्छन्।

अर्घाखाँचीबाट क्रिकेट सिक्न काठमाडौँ
अर्घाखाँचीको भूमिकास्थानस्थित खिल्जीमा जन्मिएका उत्तम त्यहीँ हुर्किए। त्यहीँ टेनिस बलले क्रिकेट खेल्न शुरू गरे। पहाडमा क्रिकेट खेल नै नौलो थियो। धेरैले क्रिकेट खेलेर बिग्रिने डर पनि देखाए। तर उत्तमले क्रिकेटर बन्ने सपना त्याग्न सकेनन्। 

बाबु सुरेशका अनुसार उत्तमले टेलिभिजनको प्रत्यक्ष प्रसारण हेरेरै क्रिकेट खेल्न सिकेका थिए। उनको प्रतिभाको पहिचान भने अर्घखाँची क्रिकेट संघका ऋषि भट्टराईले गरे। २०७४ सालमा पहिलो संस्करणको अर्घखाँची प्रिमियर लिग (एपीएल) हुँदा उत्तम सुपर सुपा च्यालेन्जर्समा आबद्द भए।

प्रतियोगितामा ‘ट्यालेन्ट हन्ट’मार्फत एक खेलाडी राख्नै पर्ने बाध्यात्मक नियम भएको सुनेपछि उत्तमले ऋषिलाई आफू पनि खेल्न चाहेको सुनाएका थिए। तर ट्यालेन्ट हन्टबाट नभइ उनी अक्सनबाटै छानिए। एकपटक मौका दिनका लागि ऋषिले उत्तमको नाम अक्सनमा समावेश गर्दिएका थिए। उनलाई सुपर सुपाले आबद्द गर्‍यो। फाइनलमा टोलीलाई उपाधि दिलाउन उत्तमले ६० रनको महत्त्वपूर्ण साझेदारी गरे। 

“उत्तम पहिलोपटक मसँग भेट्दा १२/१३ वर्षको थियो। म पनि खेल्छु भनेपछि सहयोग नगरिकन मन मानेन," ऋषि भन्छन्, “कलिलै उमेरमा परिपक्व खेल देखाएपछि सहयोगको हात अगाडि बढाउन मन लाग्यो।”

एपीएल सकिएपछि ऋषिले उत्तमलाई नेक्सस क्रिकेट एकेडेमीले बुटवलमा सञ्चालन गरेको ‘एसईई ट्यालेन्ड हन्ट’सम्म पुग्ने व्यवस्था मिलाइदिए। बुटबलमा छनोट भए उत्तमलाई सपना पूरा गर्न काठमाडौँ हुँइकिने अवसर थियो। शुरूमा आमा मुनाले नपठाउने निर्णय गरिन्। तर उत्तमको जिद्दीको अगाडि केही लागेन। एक वर्षको भाका राखेर उनलाई क्रिकेट खेल्न बुटवल पठाउने निर्णय गरिन्। 

“अरूका छोराछोरी लाहुरे बन्ने, डाक्टर, इन्जिनियर बन्ने सपना सुनाउँथे। तर मेरो छोरा धोनी बन्ने सपना सुनाउँथ्यो। कतिले छोराले केही गरेर खाँदैन, पागल हुन्छ बेलैमा सम्झाउनु भनेर भन्थे। मनमा वचन त बिझ्थ्यो, तर मैले अरूको कुरा सुनिनँ,” उनी भन्छिन्। 

एक वर्षमा सोचेअनुसार नभए पढाइलाई निरन्तरता दिनुपर्ने शर्तमा बुटबल पुगेका उत्तमले छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरे। त्यसपछि उनी 'धोनी' बन्ने लक्ष्यका साथ काठमाडौँ हुइँकिए। 

तर, आमाले उत्तमलाई एक्लै छाड्न सकिनन्। एक त अपरिचित शहर, अर्को कसैको लहडमा लागेर छोरा बिग्रिने डर। परिवारलाई काठमाडौँ नै आउन कर लाग्यो। “छोरा बिग्रिएला भन्ने डर थियो। क्रिकेट मोहले पागल नै बनाउलाजस्तो भएपछि उसको सपना पूरा गर्न हामी काठमाडौँ आयौँ,” आमा मुना भन्छिन्।

आमाको बलिङ, छोराको ब्याटिङ अभ्यास
लाहुरे दम्पतिले दैनिकी चलाउन बानेश्वरमा खाजा घर खोले। उत्तम क्रिकेट सिक्न पेप्सीकोलामा रहेको नेक्सस क्रिकेट एकेडेमीमा भर्ना भए।

नेक्ससमा क्रिकेट सिक्न थालेपछि उनले श्रीलंका, बंगलादेश र भारतको भ्रमण गर्ने अवसर पाए। क्रिकेटमा गति लिँदै गर्दा कोरोना महामारी शुरू भयो। कोरोनाको दोस्रो लहरमा फेरि शहर ठप्पजस्तै भयो।

“रहर जागेपछि रोक्न नसकिने रहेछ। कोरोनामा बाहिर जान नपाएपछि पसलको सटर लगाएर मलाई नै बलिङ गर्न लगाउँथ्यो। २/३ घण्टासम्म बलिङ गरिदिनुपर्थ्यो। मेरो त हातको नाडी नै सुनिन्थ्यो, दुखेर चलाउन नहुने हुन्थ्यो,” मुना भन्छिन्।

उत्तम एकदिवसीय क्रिकेटको लागि फिट हुने उनी बताउँछिन्। गत वर्ष पोखरामा सेन्ट्रल क्रिकेट एकेडेमी र नेक्ससबीच भएको तीन एकदिवसीय खेलको अन्तिम दिन उनले ६२ बलमा ११६ रन बनाएका थिए। त्यसअघि इन्टर नेक्सस सुपर लिगमा ‘ब्याक टु ब्याक’ तीन अर्धशतक प्रहार गर्दै चार खेलमा २१९ रन बनाएका थिए। नेक्सस कप सिजन ५ मा उनी ‘उत्कृष्ट ब्याट्सम्यान’ घोषित भएका थिए।

आमा मुना।

एकपछि अर्को खेलमा उत्कृष्ट प्रदर्शन गर्दै गएपछि उनले यसै वर्ष काठमाडौँमा आयोजना भएको यू १९ राष्ट्रिय क्रिकेट प्रतियोगितासमेत खेल्ने मौका पाए। बागमती प्रदेशबाट सहभागी उनले मधेश र गण्डकी प्रदेशविरुद्ध ७१ र ८७ रनको अर्धशतकीय इनिङ्स खेले। ती दुई खेलकै कारण उनी नेपाल क्रिकेट संघ (क्यान) खेलाडी छनोट समितिका संयोजक दीपेन्द्र चौधरीको नजरमा परेका थिए।

काठमाडौँ र पोखरामा भएको बन्द प्रशिक्षणमा करिब दुई महिना बिताएका उत्तमले उत्कृष्ट खेल देखाउँदै आफूलाई अब्बल साबित गरे। मुख्य प्रशिक्षक जगत टमाटाले उनलाई अर्को वर्ष श्रीलंकामा हुने यू-१९ विश्वकप क्रिकेटको एशियाली छनोट खेल्ने टोलीमा राखे।

टमाटाले अन्तिम १५ सदस्यीय टोली घोषणा गर्दा दिपक बोहरा, दीपक बोहोरा, दीपकप्रसाद डुम्रे, अर्जुन कुमाल, कप्तान देव खनाल र उत्तमसमेत सामेल गरिए। यी सबै खेलाडी ओपनर ब्याटरका रूपमा खेल्न सक्छन्। उत्तम विकेटकिपिङ पनि गर्छन्।

प्रतियोगितामा नेपालले चार खेलमा चारै खेल जितिसकेको छ। तीमध्ये दुई खेलमा उनले मौका पाएका छन्। मंगलबार मलेसियाविरुद्धको खेलमा पनि उनी प्लेइङ-११ मा थिए। तर नेपाल १० विकेटले विजयी हुँदा उनले ब्याटिङ गर्नै परेन। हङकङविरुद्ध भने उनले ३९ रन बनाउने क्रममा दोस्रो विकेटका लागि आकाश त्रिपाठीसँग ९८ रनको साझेदारी गरेका थिए।

उत्तमले आमाबुबालाई पुन: एक वर्षको समय मागेका छन्। उनले जारी प्रतियोगितामा राम्रो खेल प्रदर्शन गर्न नसके जसरी भए पनि 'लाहुरे' बन्ने प्रतीज्ञा गरेर यूएई पुगेका हुन्। आमा मुना भन्छिन्, “ममु यो अन्तिम मौका हो। यसपटक राम्रो खेल्छु। राम्रो खेल्न सकिनँ भने सेकेन्ड लेफ्टिनेन्टमा भए पनि नाम निकाल्छु भनेको छ।”


सम्बन्धित सामग्री