Thursday, April 25, 2024

-->

सरकारमा सहभागी भएको ६४ दिनपछि एमालेका मन्त्रीले बुझाए राजीनामा

नेकपा एमालेका मन्त्रीहरूले प्रधानमन्त्री दाहाललाई राजनीमा बुझाएका छन्। एमाले ६४ दिनमै सरकारबाट बाहिरिएको छ।

सरकारमा सहभागी भएको ६४ दिनपछि एमालेका मन्त्रीले बुझाए राजीनामा

काठमाडौँ– नेकपा एमालेका मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष राजीनामा बुझाएका छन्। सोमबार सिंहदरबार पुगेर एमालेबाट सरकारमा सहभागी उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलसहितका आठ मन्त्रीहरूले संयुक्त रूपमा राजीनामा बुझाएका हुन्। एमाले सरकारबाट ६४ दिनमै बाहिरिएको हो।

प्रधानमन्त्री दाहालले पुस १० गते बालकोटमा भएको सहमतिअनुसार पुस ११ गते मन्त्रिपरिषद् गठन गर्दा एमालेबाट विष्णुप्रसाद पौडेलको नेतृत्वमा ज्वालाकुमारी साह, राजेन्द्र राई र दामोदर भण्डारीलाई मन्त्री बनाएका थिए। त्यतिबेला एमाले उपाध्यक्षसमेत रहेका पौडेल उपप्रधानमन्त्री तथा अर्थमन्त्री नियुक्त हुँदा अन्य तीन जनालाई मन्त्रालय तोकिएको थिएन।

प्रधानमन्त्री दाहालले माघ ३ गते दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दा एमालेबाट विमला राई पौड्याल परराष्ट्र, पदम गिरी स्वास्थ्य, भगवती चौधरी महिला बालबालिका, हरि उप्रेती रक्षामन्त्री बनेका थिए। यसअघि मन्त्री नियुक्त भएका साललाई कृषि, राईलाई भूमि व्यवस्था र उद्योग मन्त्रालयको जिम्मेवारी दिइएको थियो। उनीहरू सबैले पार्टीको निर्णयअनुसार सोमबार दिउँसो पदबाट राजीनामा दिएर सरकारबाट बाहिरिएका हुन्।

सोमबार ललितपुरको च्यासलस्थित एमाले पार्टी कार्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने निर्णय गरेको थियो। प्रधानमन्त्री दाहालले पुस १० गतेको सहमति कार्यान्वयन नगरेको र सरकारबाट बाहिरिन दबाब दिएको एमालेको आरोप छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा एमाले, माओवादीसहितका सात दलबीचको सहमतिअनुसार दाहाल प्रधानमन्त्री बनेका थिए। साथै, राष्ट्रपतिमा एमालेका उम्मेदवारलाई जिताउने सहमति भएको बताइन्छ। तर शनिबार मनोनयन गर्दा गर्दा माओवादीले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गर्‍यो। यता, एमाले सुवासचन्द्र नेम्वाङलाई उठाएको छ।

आइतबार दिउँसो राजधानीमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालले आफूलाई धोका दिएको बताएका थिए। लगत्तै आइतबार बेलुका एमालेका तर्फबाट परराष्ट्रमन्त्री रहेकी पौड्यालको जेनेभा भ्रमणलाई प्रधानमन्त्री दाहालले रोकिदिएका थिए। प्रधानमन्त्रीको सो निर्णयबाट रुष्ट बनेको एमालेले सोमबार सरकारबाट बाहिरिने निर्णय गरेको हो।

यसअघि शनिबार बसेको सचिवालय बैठकले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने तर सरकारबाट तत्काल नबाहिरिने निर्णय गरेको थियो। राष्ट्रपतिमा नेम्वाङले मनोनयन दर्ता गराएपछि अध्यक्ष ओलीले माओवादी केन्द्रले पनि आफ्नो पार्टीको उम्मेदवारलाई मत हाल्ने विश्वास व्यक्त गर्दै फागुन २५ गतेसम्म प्रतीक्षा गर्ने धारणा सार्वजनिक गरेका थिए।

तर सोमबारको एमाले सचिवालय बैठकपछि उपाध्यक्ष पौडेलले प्रधानमन्त्रीले एमाले सरकारबाट नबाहिरिए तत्काल मन्त्रीहरूलाई बर्खास्त गर्ने वा बिनाविभागीय मन्त्री बनाउने चेतावनी दिएको आरोप लगाए। जेनेभा भ्रमणमा जान लागेकी परराष्ट्रमन्त्री पौड्याललाई अन्तिम समयमा रोकेर प्रधानमन्त्रीले अपरिपक्वता देखाएको र एमालेमाथि प्रतिरोध साँधेको टिप्पणी गरेका थिए।


सम्बन्धित सामग्री