Saturday, April 20, 2024

-->

रामसहायलाई उपराष्ट्रपति बनाएर बारा–२ बाट सांसद बन्ने उपेन्द्रको योजना

सप्तरीबाट पराजित जसपा अध्यक्ष उपेन्द्र यादव कांग्रेस नेतृत्वको नयाँ गठबन्धनमा सामेल भएसँगै फेरि संसद् छिर्ने योजनामा जुटेका छन्। उनको आँखा परेको छ, बारा क्षेत्र नम्बर २ मा।

रामसहायलाई उपराष्ट्रपति बनाएर बारा–२ बाट सांसद बन्ने उपेन्द्रको योजना 

काठमाडौँ– शुक्रबार साँझ जन्मिएको आठ दलीय गठबन्धन जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवका लागि नयाँ आशा बनेको छ। यसपटक सप्तरीबाट प्रतिनिधिसभा सदस्यमा पराजित उपेन्द्र फेरि संसद्मा पुग्ने जोडघटाउ गर्न थालेका छन्। र, उनको यस्तो जोडघटाउको वातावरण पनि बन्दै गएको देखिन्छ।

शुक्रबार साँझ बनेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितको आठदलीय गठबन्धनमा उपराष्ट्रपति जसपालाई दिने सहमति भएको थियो। र, जसपाबाट उपेन्द्रले उपराष्ट्रपतिका लागि बारा–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं संसदीय दलका नेता रामसहाय यादवलाई अगाडि सार्ने तयारी गरेका छन्। गठबन्धनसँग प्रष्ट बहुमत रहेकाले रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित हुने निश्चित जस्तै देखिन्छ।

त्यसो हुँदा बारा–२ मा प्रतिनिधिसभा सदस्यको पद रिक्त हुने छ।

मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उपेन्द्र सप्तरी–२ बाट पराजित भएका थिए। उनलाई जनमत पार्टीका अध्यक्ष सीके राउतले दोब्बरभन्दा बढी मतले पराजित गरेका थिए। यही निर्वाचनबाटै उपेन्द्रको अविजित संसदीय यात्रामा विराम लागेको थियो। रामसहाय यादवलाई उपराष्ट्रपति बनाउन सफल भए भने उपेन्द्र फेरि संसद् प्रवेश गर्न सहज हुनेछ।

२०६३ सालको मधेश आन्दोलनपछि दलीय राजनीतिमा आएका उपेन्द्रको अविराम संसदीय यात्रामा विराम लागेसँगै मधेश राजनीतिमा सीके राउतको उदय भएको थियो। यसबाट मधेशकेन्द्रित राजनीति नै नयाँ ढंगले बढ्ने आकलन गरिएको थियो। तर, तीन महिना नबित्दै उपेन्द्रले फेरि संसदीय राजनीतिमा पुनरागमन गर्ने बाटो भेट्टाएका छन्।

पहिलो संविधानसभा निर्वाचनदेखि निरन्तर निर्वाचन जित्दै आएका उपेन्द्र २०७९ को निर्वाचनअघि मधेश मुद्दा अघि सारेर सत्ता–शक्तिमा सबैभन्दा धेरै अवसर पाउनेमध्येका नेता हुन्।

राष्ट्रपति निर्वाचनको रस्साकस्सी उत्कर्षमा रहेका बेला उपेन्द्रले बिहीबार आफ्नो पार्टीले उपराष्ट्रपतिमा दाबी गर्ने, उपराष्ट्रपति दिन प्रधानमन्त्री पुष्पकमल दाहाल पनि सकारात्मक रहेको बताएका थिए। नभन्दै शुक्रबार आठ दलीय गठबन्धनबाट यो कुरा चरितार्थ भयो। जसपा नेताहरू उपराष्ट्रपतिमा रामसहाय यादवलाई नै अगाडि सारिने बताउँछन्।

“आठदलीय गठबन्धन उपराष्ट्रपति जसपालाई दिन तयार भएको छ, पार्टीले अब उम्मेदवारको औपचारिक निर्णय गर्न बाँकी छ,” जसपाका प्रवक्ता मनिस सुमनले उकालोसँग भने, “अहिलेसम्म हेर्दा रामसहायजीको सम्भावना देखिन्छ, यस विषयमा छलफल र निर्णयमा पुगिहाल्ने चरणमा पुगिएको छैन।”

आठदलीय गठबन्धनसँग राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि कूल मतभारको करिब ६१ प्रतिशत मतभार छ। जसपाले रामसहायलाई नै अगाडि सारेमा र उनी उपराष्ट्रपति निर्वाचित भएमा रिक्त हुने क्षेत्रमा उपनिर्वाचनका लागि उम्मेदवार को बन्छ भन्ने विषय भने अहिले निकै टाढा रहेको दाबी उनले गरे।

जसपाका अर्का एक नेताले भने त्यो क्षेत्रमा अध्यक्ष यादव नै उम्मेदवार बन्ने बताए।

“रामसहायजी उपराष्ट्रपतिको लागि उम्मेदवार बन्ने कुरा निर्णय हुन बाँकी रहे पनि सम्भावना उहाँकै छ,” जसपाका केन्द्रीय सदस्य फिरोज मन्सुरले भने, “रह्यो कुरा त्यसपछि उपचुनावमा बारा–२ बाट उम्मेदवार को बन्ने भन्ने विषय, त्यसमा पार्टी अध्यक्षजी आफै आउनु भएमा त्यो सबभन्दा राम्रो विकल्प हुनेछ। त्यसको सम्भावना नकार्न सकिँदैन।”

उनले यसबारे पार्टीभित्र छलफल भने नभएको बताए।

मंसिर ४ को निर्वाचनमा बारा–२ बाट जसपाका रामसहाय यादवलाई एमालेले सघाएको थियो। उनले कांग्रेस नेतृत्वको गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका शिवचन्द्र कुशवाहालाई पराजित गरेका थिए। यादवले १३ हजार ८२२ मत ल्याउँदा कुशवाहाले १३ हजार ४६८ मत पाएका थिए। स्वतन्त्र उम्मेदवार रामकिशोरप्रसाद यादवले ११ हजार ४३ मत ल्याएका थिए।

बारा–२ मा यादव समुदायको उल्लेख्य मत छ। यहाँ उपनिर्वाचन भएमा कांग्रेस नेतृत्वको नयाँ गठबन्धनकै उम्मेदवारको पल्ला भारी हुने देखिन्छ।


सम्बन्धित सामग्री