Friday, April 19, 2024

-->

एन्फाको 'सर्कुलर' अवज्ञा गर्दै धमाधम गोल्डकप खेलाउँदै क्लबहरू

झापा गोल्डकप र केपी ओली कपको तालिका जुधेसँगै खेलाडीलाई रातारात झापा–काठमाडौँ गर्नुपर्ने आपत् क्लबहरूलाई आइपरेको छ।

एन्फाको सर्कुलर अवज्ञा गर्दै धमाधम गोल्डकप खेलाउँदै क्लबहरू

काठमाडौँ– प्रथम भद्रपुर झापा गोल्डकपको क्वार्टरफाइनलमा बुधबार चर्च ब्वाइज क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै मछिन्द्र फुटबल क्लबले सेमिफाइनलमा स्थान पक्का गर्‍यो। अब फाइनल प्रवेशका लागि मछिन्द्रले आइतबार सशस्त्र प्रहरी बलको एपीएफ क्लब र काउवार्न बजार प्रगति संघ बंगलादेशबीचको विजेतासँग खेल्ने छ।

तर, बुधबार मात्रै झापामा गोल्डकप खेल्न मैदान उत्रिएका मछिन्द्रका खेलाडी दुई दिनको अन्तरालमा पुन: काठमाडौँमा जारी अर्को प्रतियोगिता खेल्न मैदान उत्रिने तयारीमा छन्। मछिन्द्र बिहीबारदेखि काठमाडौँमा शुरू भएको प्रथम केपी ओली कपको दोस्रो खेलमा चर्च ब्वाइजसँग भिड्ने छ।

यता, व्यस्त खेल तालिकामा खेलाडी व्यवस्थापनलाई लिएर मछिन्द्रका सचिव किरण महर्जन दुबिधा देखिन्छन्। “व्यस्त खेल तालिका छ। खेलाडीलाई अब बसमा रातारात ल्याएर बसमै झापा लैजाने कि बसमा ल्याएर प्लेनमा हालेर फिर्ता पठाउने भन्नेमा दुबिधा भइरहेको छ,” सचिव महर्जन भन्छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा)को सामग्री र प्राविधिक सहयोगमा बिहीबारदेखि सातदोबाटोस्थित एन्फा कम्प्लेक्स राष्ट्रिय युवा संघ नेपालको आयोजनामा केपी ओली कप फुटबल प्रतियोगिता शुरू गरेको हो।

फागुन १७ गतेसम्म चल्ने प्रतियोगितामा मछिन्द्र र चर्च ब्वाइज मात्रै होइन, ‘ए’ डिभिजन लिग खेल्ने तयारी गरेका सातदोबाटो युथ, नेपाल पुलिस, नेपाल आर्मी, न्यूरोड टिम (एनआरटी), थ्रीस्टार र जावलाखेल युथसहित ८ क्लबले सहभागिता जनाएका छन्। तीमध्ये थ्रीस्टारले आयोजक केपी एफसीको नाममा सहभागिता जनाउने छ।

प्रतियोगिताको दोस्रो खेलमा बुधबार झापा गोल्डकपको क्वार्टरफाइनलमा भिडेका चर्च ब्वाइज र मछिन्द्र नै भिड्ने छन्। यो खेल शुक्रबार एन्फा कम्प्लेक्समा बेलुका ३ बजेबाट शुरू हुने छ। तर, झापा गोल्डकप र केपी ओली कपको तालिका जुधेसँगै खेलाडीलाई रातारात झापा–काठमाडौँ गर्नुपर्ने आपत् आइपरेको मछिन्द्रका सचिव महर्जन बताउँछन्।

“खेलाडीहरू उसै थकानमा छन्। अब रातारात काठमाडौँ आएर शुक्रबार चर्च ब्वाइजसँग खेल्नुपर्छ। त्यसपछि आइतबारको खेलका लागि लगत्तै फर्किँदा क्लबको खर्च बढ्न जान्छ। खेलाडीलाई धपेडी हुन्छ”, उनी भन्छन्, “प्रतियोगिता आयोजना गर्दा आयोजकले यसलाई ध्यान दिएको भए हुन्थ्यो।”

करिब ६ महिनाअघि नै शुरू हुनुपर्ने ‘ए’ डिभिजन लिग आयोजना गर्न नसकेर आलोचना खेपिरहेको एन्फाले माघ १० गते चैतभित्र विभिन्न जिल्लामा हुने ११ नकआउट प्रतियोगिताको तालिका सार्वजनिक गरेको थियो। त्यसमध्ये मछिन्द्रले भद्रपुर गोल्डकपमा सहभागिता जनाएको थियो। एक हप्तामै मछिन्द्रले सहभागिता जनाउन लागेको केपी ओली कप दोस्रो प्रतियोगिता हो।

एन्फाको सर्कुलर अवज्ञा
गत माघ १० गते एन्फाका महासचिव किरण राईको हस्ताक्षरमा जारी विज्ञप्तिमा गोल्डकप प्रतियोगिता खेलाउँदा आयोजकले विभिन्न ६ नियम पालना गर्नुपर्ने प्रष्ट थियो। जसको पहिलो नम्बर बुँदामा लेखिएको छ- सहभागी ‘ए’ डिभिजन क्लबले एउटै मितिमा एक प्रतियोगितामा मात्र सहभागी हुन पाइने। अर्को बुँदामा प्रतियोगिता शुरू हुनुभन्दा कम्तिमा एक साताअघि नै सहभागी टिमको नाम, खेल तालिका र प्रतियोगिता नियमावली एन्फाबाट स्वीकृत गराएपछि मात्र खेल सञ्चालन गर्न पाइने उल्लेख छ।

राईको भनाइलाई आधार मान्ने हो भने, एउटा क्लबले एक मितिमा एकभन्दा बढी प्रतियोगिता खेल्नु एन्फाको नीतिविपरीत हुन्छ। तर, शुक्रबार एन्फा हाउसकै मैदानमा मछिन्द्रले केपी ओली कप खेल्न लागेको तालिका माइकबाट चर्को स्वरमा सार्वजनिक भइसक्दा पनि आफूलाई कुनै जानकारी नरहेको महासचिव राई बताउँछन्।

“कतिपय टोलीको दुई टिम छन्। त्यसरी नै खेलिरहेका छ। तर, एन्फाले गरेको सर्कुलरअनुसार एक टोलीले एकै समयमा आयोजना भएको दुई प्रतियोगिता खेल्न पाउने छैनन्,” उनले उकालोसँग भने, “कतिपय क्लबले हामीले गरेको सर्कुलर अवज्ञा गर्दै गोल्डकप खेलिरहेको छ भनेर तपाईंबाटै जानकारी पाएका हो। तर, अहिलेसम्म उजुरी परेको छैन।”

मछिन्द्रले मात्रै होइन, विभागीय टोली नेपाल पुलिस क्बलले पनि एकै समयमा दुई प्रतियोगिता खेल्नुपर्ने भएपछि आइतबार केपी ओली कपमा ‘बी’ टिमलाई मैदान उतारेको थियो। झापा गोल्डकपमा चर्च ब्वाइजसँग ३–० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएपछि पुलिसको टिम ‘ए’ बूढासुब्बा गोल्डकप खेल्न धरानमा छ।

महासचिव राईले यसबारे आफूलाई कुनै जानकारी नभएको दाबी गरे पनि ‘ए’ डिभिजन लिग निर्देशक सञ्जीव मिश्रले भने आफूलाई जानकारी रहेको बताए।

“प्रतियोगिता जुधे दुईमध्ये एक मात्रै खेल्नु है भनेर हामीले सर्कुलर गरेका थियौँ। तर, क्बलहरूले हाम्रो सर्कुलरको अवज्ञा गर्दै दुईवटै प्रतियोगितामा सहभागिता जनाइरहेका छन्। यसबारे हामी जानकार छौँ,” उनले उकालोसँग भने। उनका अनुसार यसबारे मछिन्द्रले जानकारी गराइसकेको छ। एकै मितिमा भएको प्रतियोगिता खेल्ने क्लबहरूलाई एकपटक स्पष्टीकरण सोधिने उनले बताए।

“क्लबहरूले धमाधम प्रतियोगिता खेलिरहेका छन्। अब प्रतियोगिताकै बीचमा किन खेलिस् भनेर रोक्न त मिल्दैन। प्रतियोगिता सकिएपछि हामी एकपटक बोलाएर यसबारे जवाफ माग्छौँ,” उनले भने।

‘ए’ डिभिजनलाई असर गर्ने चिन्ता
तीन दिनअघि (फागुन ८ गते) झापा गोल्डकपमा विभागीय टोली नेपाल पुलिस क्बललाई ३–० गोलअन्तरले हराउँदै चर्च ब्वाइजले क्वार्टफाइनलमा स्थान बनाएको थियो। त्यसको दुई दिनपछि (फागुन १० गते) नै सेमिफाइनलमा मछिन्द्रसँग २–१ गोलअन्तरले पराजित हुँदै चर्च ब्वाइज प्रतियोगिताबाट बाहिरियो। दुई दिनको अन्तरालमा दुई खेल खेलेको चर्च ब्वाइज पनि पुन: फरक प्रतियोगिताको लागि मैदान उत्रिने तयारीमा छ।

“तयारी कस्तो छ भनुम? भरखरै आधा घण्टाअघि झापा गोल्डकपबाट चर्च ब्वाइज बाहिरिएको छ। अब दुई दिनपछि केपी ओली कपमा उत्रिने तयारीमा छौँ,” बुधबार बेलुका बानेश्वरमा भेटिएका चर्च ब्वाइजका आवेश कार्की भन्छन्।

अन्तर्राष्ट्रिय फुटबल अभ्यासलाई हेर्ने हो भने, एक खेलाडीलाई ७२ घण्टापछि मात्र अर्को खेल खेलाइन्छ। तर, नेपालमा यस्तो अभ्यास गरेको देखिँदैन। एक खेललगत्तै अर्को खेलका लागि मैदान उत्रिँदा खेलाडीमा चोट थपिने खतरा औँल्याउँछन् फिजियो लोकेन्द्र प्रसाईं।

“हाम्रो एक त मैदानहरू गुणस्तरीय छैन। त्यसमाथि खेलमाथि खेल थप्दै जाँदा स्वाभाविक रूपमा चोटको चिन्ता थपिन्छ नै। यसरी रिकभरीको समय नमिल्दै लगालग मैदान उत्रिँदा लिगामेन्ट च्यातिने, मसल फुल्ने लगायतका समस्या हुन्छ”, उनले भने।

यता, एन्फा खेलाडी संघ अध्यक्ष तथा थ्रीस्टार क्लबका कप्तान विक्रम लामाले ‘ए’ डिभिजन लिगलाई समेत लक्षित गरेर गोल्डकप खेलिरहेकोले प्रोटेकलमा बस्नुपर्ने बताए। उनले लगातार खेल खेल्नुपर्ने भएको कारण आफूले फिटनेसमा विशेष ध्यान दिएर प्रशिक्षण गरिरहेको बताए।

“हामी विगत २३/२४ दिनदेखि प्रशिक्षणमा छौँ। लिगका खेलमा कुनै असर नगरोस् भनेर प्रोटोकलमा रहेर विशेष ध्यान दिइरहेका छौँ। अहिले हाम्रो फोकस लिगसँगै फिटनेसमा छ”, उनले भने।


सम्बन्धित सामग्री