Wednesday, April 24, 2024

-->

ताप्लेजुङ कारागारमा क्षमताभन्दा ६ गुणा बढी कैदीबन्दी

२५ जना क्षमताको ताप्लेजुङ कारागारमा हाल १५५ कैदीबन्दी राखिएको छ।

ताप्लेजुङ कारागारमा क्षमताभन्दा ६ गुणा बढी कैदीबन्दी
फाइल तस्वीर

फुङलिङ– जिल्ला कारागार ताप्लेजुङमा क्षमताभन्दा छ गुणा बढी कैदीबन्दी बस्न बाध्य छन् ।

२५ जना क्षमताको कारागारमा हाल १५५ कैदीबन्दी छन्। ११५ कैदी र ४० थुनुवा कोचाकोच गरेर राखिएको कारागारका प्रमुख कुलेन्द्र खवासले जानकारी दिए।

जबरजस्ती करणी मुद्दाका ३२ कैदी र १० थुनुवा, कर्तव्य ज्यान मुद्दाका २८ कैदी र छ थुनुवा, अपहरण मुद्दाका नौ, डकैती मुद्दाका सात तथा ज्यान मार्ने अभियोगका सात कैदी सजाय भुक्तान गरिरहेका छन्। “क्षमताभन्दा बढी कैदीबन्दी भएपछि कारागार व्यवस्थापनमा समस्या भएको छ,” खवासले भने।

कारागारमा दरबन्दीअनुसारका कर्मचारीसमेत नभएको उनको गुनासो छ। नौ जनाको दरबन्दी रहेकामा हाल  एक जेलर, एक कम्प्युटर अपरेटर र चार कार्यालय सहयोगी मात्र छन्।

यस्तै महिला कैदीबन्दी राख्ने ठाउँ नहुँदा पाँचथरको फिदिम कारागारमा पठाउनुपर्ने अवस्था रहेको प्रमुख खवासले बताए। 


सम्बन्धित सामग्री