Thursday, April 25, 2024

-->

खुशियाली मनाउँदै गरेको भारतलाई स्तब्ध बनाउने सावित्राका ती दुई गोल

फिफा विश्व वरीयतामा भारतको महिला टोली ६१ स्थानमा छ भने, नेपाल ४२ स्थान तल १०३ नम्बरमा छ। मैत्रीपूर्ण खेलका लागि भारत जानुअघि प्रशिक्षक अनन्तराज थापाले दुवै खेल जित्ने लक्ष्य लिएका थिए।

खुशियाली मनाउँदै गरेको भारतलाई स्तब्ध बनाउने सावित्राका ती दुई गोल

काठमाडौँ- भारतको घरेलु मैदान। निर्धारित समय सकिँन २३ मिनेट बाँकी रहँदा भारतलाई २ गोलको अग्रता। ८९औँ मिनेटसम्म पनि भारतको अग्रता कायमै।

चेन्नाईस्थित जावहारलाल नेहरू रंगशालामा फागुन ३ गते भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपाल हारतर्फ गइरहेको प्रतीत हुन्थ्यो। सौम्य गुगुलोथले ५६औँ मिनेटमा गोल गर्दै घरेलु टोलीलाई शुरूआती अग्रता दिलाएकी थिइन्। ६८औँ मिनेटमा कप्तान इन्दुमती काथिरेसनले गोल गरेकी थिइन्। नियमित समय सकिनै लाग्दा रंगशालमा उपस्थित भारतीय दर्शक जितको खुशी मनाउन थालिसकेका थिए।

नेपाली बेन्च भने स्तब्ध थियो। तनावमा देखिएका नेपाली टोलीका कार्यवाहक प्रशिक्षक अनन्तराज थापा ‘टचलाइन’बाट खेलाडीलाई निरन्तर निर्देशन दिइरहेका थिए।

खेल ९०औँ मिनेटमा चलिरहँदा भारतीय डिफेन्डरले ‘ह्यान्ड’ गरेपछि नेपालले पेनाल्टीको अवसर पायो। उक्त अवसरलाई सदुपयोग गर्दै सावित्रा भण्डारीले गोल गरिन्। तर उनले खुशी मनाइनन्। बरू पोष्टभित्रको बल बोकेर मैदानको केन्द्र भागतर्फ दौडिइन्। खेल चालु राख्न उनी हतारमा थिइन्।

'साम्बा' उपनामले परिचित सावित्राले त्यसको दुई मिनेटमै अर्को गोल गर्दै खेल बराबरीमा ल्याइन्। प्रशिक्षक थापाका अनुसार नियमित समयमा पाएका केही मौका सदुपयोग नहुँदा नेपाल दबाबमा परेको थियो। “निर्धारित समयपछि ५ मिनेट थपिएको थियो। अन्तिममा भए पनि भारतजस्तो बलियो टोलिविरुद्ध सावित्राले गोल गरिन्। खेल बराबरी गरायौँ,” प्रशिक्षक थापा भन्छन्।

सात वर्षमा महिला फूटबल टोलीको यो छैटौँ मैत्रीपूर्ण खेल थियो। सन् २०१६ को अन्त्यमा नेपालले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समामा मलेसियालाई १–० ले पराजित गरेको थियो। त्यसपछि दुई मैत्रीपूर्ण खेल खेल्न मलेसिया उडेको नेपाली टोलीको प्रदर्शन राम्रो भएन।

२०१७ मार्च २२ मा मलेसियाको कोटा किनाबालुस्थित लिकास स्टेडियममा भएको खेलमा नेपालले घरेलु टोलीसँग १–१ गोलको बराबरी खेलेको थियो। मार्च २४ मा भएको अर्को मैत्रीपूर्ण खेलमा भने नेपाल ४–१ ले पराजित भएको थियो। 

त्यसयता नेपालले चार मात्रै मैत्रीपूर्ण खेल खेलेको छ। त्यसमध्ये एक खेलमा मात्रै जित हात पारेको छ।

२०२१ सेप्टेम्बर ९ मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा बंगलादेशविरुद्ध भएको मैत्रीपूर्ण खेलमा नेपालले २–१ को जित निकालेको थियो। उक्त खेलमा सविता राना र प्रिति राईले गोल गरेका थिए। राना र राई दुवै जनाको राष्ट्रिय टोलीबाट डेब्यू खेल थियो। 

त्यसको तीन दिनपछि सोही मैदानमा भएको अर्को मैत्रीपूर्ण खेलमा भने नेपालले बराबरीमा चित्त बुझाउनु परेको थियो। घुँडामा चोटका कारण त्यस खेलमा मुख्य फरवार्ड सावित्रा भण्डारी मैदानबाहिर थिइन्।

४२ स्थानमाथिको भारतसँग बराबरी
फिफा विश्व वरीयतामा भारतको महिला टोली ६१ स्थानमा छ। नेपाल ४२ स्थान तल १०३ नम्बरमा छ। तर भारत जानुअघि प्रशिक्षक थापाले दुवै खेल जित्ने लक्ष्य लिएका थिए।

करिब दुई हप्ताको प्रशिक्षणपछि चेन्नाई पुगेको नेपाली टोली पहिलो खेलमै २–० गोलअन्तरले पछि परिसकेको थियो। अन्तिम समयमा गोल गर्दै सावित्राले खेल बराबरीमा ल्याएकी थिइन्। 

गीता राना मगरको स्थानमा मैदान छिरेकी डिफेन्डर विमला विकले ८९औँ मिनेटमा दिएको क्रस बललाई स्विटी देवीले हातले छोएपछि रेफ्रीले नेपाललाई पेनाल्टीको अवसर दिए। सावित्राले प्रहार गरेको बल भारतकी गोलरक्षक पान्थोइ चन्दुले बचाउन सकिनन्। 

त्यसको दुई मिनेटपछि प्रीति राईले दिएको पास सावित्राले मिडफिल्डर सरू लिम्बुलाई ‘ब्याक’ दिएकी थिइन्। सरूले 'वान टच'मा सावित्रालाई नै दिएको लामो पासलाई भारतका तीन डिफेन्डर छल्दै सावित्राले तीव्र गतिमा अगाडि बढाएर उत्कृष्ट गोल गरेकी थिइन्।

अन्तिम गोलका लागि बल निकाल्न सघाउने प्रीति भन्छिन्, “उहाँले (गोल) गर्न सक्नुहुन्छ भन्ने थाहा थियो। मैले दिएको पास सरू दिदीलाई ब्याक दिनुभयो। उहाँले बललाई अगाडि पठाउँदै सावित्रा दिदीलाई दौडिन भन्नुभयो। अनि गोल संभव भयो।”

सन् २०१६ मा राष्ट्रिय टोलीमा डेब्यू गरेकी सरू विभागीय टोली सशस्त्र प्रहरीको एपीएफमा आबद्द छिन्। सावित्रा पनि त्यही क्लबकी मुख्य फरवार्ड हुन्। लामो समयदेखि सँगै खेलेको कारण सावित्राको कौशल थाहा पाएर गोलका लागि लामो पास उपलब्ध गराएको सरू बताउँछिन्।

“सावित्रा दिदीसँग खेल्न थालेको धेरै भयो। उहाँको क्षमताबारे शंका गर्नुपर्ने केही छैन। उहाँले गर्न सक्नुहुन्छ भनेर नै बल पास गरेको हो। अन्तमा गोल भयो र खेल हामीले बराबरीमा ल्याउन सक्यौँ,” उनी भन्छन्।

पहिलो हाफमा विमला चौधरी, सावित्रा भण्डारीलगायतले पाएको अवसर सुदुपयोग गर्न नसकेको प्रशिक्षक थापा बताउँछन्। दोस्रो हाफमा आक्रामक शैली अपनाउँदा गोल भएको उनको भनाइ छ।

“पहिलो हाफमा खेल हाम्रो नियन्त्रणमा थियो। दोस्रो हाफको अन्त्यसम्म हामी पछि परिसकेका थियौँ। तर दोस्रो गोलको भने बयान गर्ने कुनै शब्द नै छैन। सावित्राको अद्वितीय गोल थियो,” थापा भन्छन्।

सन् २०२४ मा आयोजना हुने पेरिस ओलम्पिकको लागि एसियाली छनोटको तयारीमा रहेका नेपाल र भारतले दुई मैत्रीपूर्ण खेल खेलेका हुन्। गत भदौमा नेपालमा आयोजना भएको साफ च्याम्पियनसिपमा नेपालले भारतलाई सेमिफाइनलमा १–० गोलले पराजित गरेको थियो।

आगामी अप्रिलमा हुने ओलम्पिक छनोटमा नेपाल समूह ‘सी’मा छ। यो समूहमा अफगानिस्तान, प्यालेस्टाइन र भियतनाम पनि छन्। यस्तै, भारत रहेको समूह ‘जी’मा तुर्किमिस्तान र कीर्गिस्तान छन्।

सावित्रा भन्छिन्- गीता घाइते भएपछि बदलाको भावना आयो
खेलको ५३औँ मिनेटमा सेन्ट्रल डिफेन्डर गीता राना मगरले खुट्टामा चोट बोक्न पुगिन्। उनले खेल्न नसक्ने भएपछि प्रशिक्षक थापाले विमला विकलाई मैदान प्रवेश गराएका थिए। गीता घाइते भएपछि त्यसको बदला लिनुपर्छ भनेर खेलेकोले गोल गर्न सफल भएको सावित्रा बताउँछिन्।

“समग्रमा हेर्ने हो भने शुरूदेखि नै सचेत भएर खेलिरहेका थियौँ। तर, चार वटा मौका पाएर पनि सदुपयोग गर्न सकेका थिएनौँ। त्यसमा रिग्रेट भइरहेको थियो," सावित्रा भन्छिन्, "त्यसमाथि गीता घाइते भइन् र दुई गोल खायौँ। अनि जसरी पनि बदला लिनुपर्छ भनेर खेलेँ।”

गीता मैदानबाहिर हुँदा नेपालको खेल बिग्रिएको उनी बताउँछिन्। गीता बाहिरिएपछि प्रशिक्षक थापाले डिफेन्समा तीन खेलाडी मात्र राखेर मिडफिल्डमा एक जना थपेका थिए। त्यसैको फाइदा उठाउँदै भारतले अग्रता लियो। तर पछि प्रशिक्षकले डिफेन्समा चार खेलाडी खेलाए। त्यति गर्दा पनि भारतले दोस्रो गोल गर्‍यो। त्यसपछि फेरि रणनीति परिवर्तन गर्दा खेलमा सन्तुलन आएको सावित्रा बताउँछिन्।

“दुई गोल खाएपछि मिडफिल्ड बलियो बनायौँ र अवसर निकाल्ने रणनीति लियौँ। मिडफिल्डबाट आएको पासलाई सदुपयोग गर्दै गोल गरेँ र खेल बराबरीमा सकायौँ,” उनी भन्छिन्।

नेपालले भारतविरुद्धको दोस्रो खेल पनि बराबरी खेलेको थियो। तर दोस्रो खेलमा भने दुवै टोलीले गोल गर्न सकेनन्।

नेपाली टोलीको 'गोल मसिन' सावित्रा
सावित्राले सन् २०१४ मा राष्ट्रिय टोलीबाट डेब्यू गरेकी थिइन्। त्यस यता ४० अन्तर्राष्ट्रिय खेल खेलेकी उनले ४२ गोल गरेकी छन्। उनी नेपालबाट सबैभन्दा बढी गोल गर्ने महिला फुटबलर हुन्। यसअघि अनु लामाले राष्ट्रिय जर्सीमा ३५ गोल गरेकी थिइन्।

सावित्राले पाकिस्तानमा आयोजित साफ महिला च्याम्पियनसिप अन्तर्गत भुटानविरुद्ध डेब्यू गरेकी थिइन्। उनले उक्त खेलको ८८औँ मिनेटमा गोल गरेकी थिइन्। प्रतियोगितामा नेपाल दोस्रो भएको थियो।

सन् २०१६ भारतमा भएको साफ महिला च्याम्पियनसिपमा उनी पहिलो रोजाइमै मैदान उत्रिइन्। उनले भुटानविरुद्धको खेलमा डबल ह्याट्रिक गरिन्। यस्तै, माल्दिभ्सविरुद्ध ५ र भारतविरुद्ध सेमिफाइनलमा १ गोल गरेकी थिइन्। उक्त प्रतियोगितामा ४ खेलमा १२ गोल गर्दै उनी सर्वाधिक गोलकर्ता बनेकी थिइन्।

लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएपछि सावित्रालाई सन् २०१७ माल्दिभ्स महिला लिग खेल्न बोलाइएको थियो। उनी माल्दिभ्स एयरपोर्ट कम्पनीबाट खेलेकी थिइन्। त्यस संस्करणमा उनी प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भइन्। उनले चार खेलमा १३ गोल गरेकी थिइन्। 

त्यसपछि सावित्रा माल्दिभ्स पुलिसको टोली फुटसल फिस्टामा आबद्द भइन्। उनको टोली फाइनलमा एमपीएलसँग पराजित भएको थियो। प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेकी सावित्राले १९ गोल गरेकी थिइन्। उनी उक्त प्रतियोगिताको उच्च गोलकर्ता तथा 'क्वीन अफ द टुर्नामेन्ट' घोषित भएकी थिइन्।

सावित्रा सन् २०१९ मा भारतीय महिला लिगको क्लब सेतु एफसीमा अनुबन्धित भएकी थिइन्। सेतु एफसीले उनको अनुबन्धका लागि भारू ७० हजार खर्चिएको थियो। उनले सेतुबाट १५ खेलमा ७ गोल गरेकी थिइन्। उनी हाल भारतकै गोकुलम एफसीमा आबद्द छिन्।


सम्बन्धित सामग्री