Friday, April 19, 2024

-->

पर्यटकको रोजाइमा ‘बेलढुंगा’

बागलुङ र बेनी बजारबाट नजिक रहेको हुँदा बेलढुंगा घुम्न जाने पर्यटकको संख्या बढेको छ। हिउँ खेल्न र गर्मी छल्न पुग्नेहरूले चहलपहल बढाएका छन्।

पर्यटकको रोजाइमा ‘बेलढुंगा’ 

ढोरपाटन– बागलुङको काठेखोला गाउँपालिका–३ ओखले र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लको शिरमा छ, बेलढुंगा। दुई हजार ६०० मिटरको उचाइमा रहेको बेलढुंगा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको छ।

बाह्रै महिना बेलढुंगा चढ्ने पर्यटकको भीड उस्तै हुन थालेको छ। सडक सहज नहुँदा यो ठाउँ ओझेलमा थियो। सडक सञ्जालले जोडिएपछि धेरैको रोजाइमा पर्न थालेको हो।

हिउँदमा हिउँ खेल्न र गर्मीमा जाडो छल्न जानेहरूले चहलपहल बढाएको छ। यस वर्ष हिउँ परेन। तर सूर्योदय र दृश्यावलोकन गर्नेहरूको कमी भने भएन। बागलुङ र बेनी बजारबाट नजिक रहेको हुँदा पर्यटक सहज रूपमा यहाँ पुग्ने गरेका हुन्। पदमार्ग र साइकल लेन बनेपछि हाइकिङ गर्नेको संख्यासमेत बढेको स्थानीय गोपाल श्रीसले बताए। नजिकै ओखले गाउँमा सामुदायिक घरबास (होमस्टे) छ। जसले गर्दा पर्यटकका लागि खाना र बासको समस्या छैन।

यहाँबाट विभिन्न हिमशृंखलासँगै, बागलुङ र म्याग्दीका अधिकांश भू–भाग,  पर्वत, कास्की, गुल्मीलगायतका ठाउँ देख्न सकिन्छ। ढकमक्क गुराँस फुलेर वनै ढाक्ने सिजन शुरू भएकाले पर्यटकको चहलपहल बढेको होमस्टेका सचिवसमेत रहेका श्रीसले बताए। दैनिक सय हाराहारीमा पर्यटक आउने गरेको उनको भनाइ छ। “पाँच/छ वर्ष अगाडिसम्म निकै सुनसान थियो। स्थानीयले यहाँ घाँस, दाउरा गर्ने गर्थे,” उनी भन्छन्, “बेलढुंगामा पर्यटक आउँदा होमस्टे पनि राम्रो चलेको छ। यहाँ खानेपानी, शौचालय व्यवस्थापन हुन सकेको छैन। त्यसको व्यवस्थापन भए अझ राम्रो हुने थियो।”

वनभोज खान आउनेहरू पनि बढेका छन्। म्याग्दीको भकिम्लेमा प्रसिद्ध धार्मिकस्थल स्वर्गाश्रम रहेको छ। यहाँ पूजाआजा गर्न आउने भक्तजन पनि बेलढुंगा चढ्न आउने गरेका छन्। सामाजिक सञ्जालमा यहाँका तस्वीर–भिडियो देखेर घुम्न आएको बागलुङको गलकोटका सुजन खत्रीले बताए। “यो ठाउँ साँच्चिकै स्वर्गजस्तो रहेछ। हिमाल पनि आँखै अगाडि देखिने, डाँडाकाँडा, वनजंगल, पशुपंक्षी सबै देख्न पाइने। सात जनाको टिम आएको रमाइलो भयो।”

काठेखोला गाउँपालिकाले दुई लाख ५९ हजार खर्चेर बेलढुंगालाई व्यवस्थित बनाएको छ। गण्डकी प्रदेश सरकारले दिएको २० लाख रुपैयाँले देउराली डाँडादेखि यहाँसम्म जोड्ने २६० मिटर ढुंगा बिच्छ्याएर पदमार्ग निर्माण गरिएको छ। पञ्चकोटतर्फ २५० मिटर साइकल लेनसमेत बनाइएको छ। बेलढुंगा गाउँपालिकाको मुख्य पर्यटकीय गन्तव्य रहेकाले यसको प्रवद्र्धनका लागि योजना बनाएर लागेको काठेखोलाका प्रवक्ता टीकासंगम विकले बताए।

उनका अनुसार शौचालय, खानेपानी र यहाँ पुग्ने सडकलाई थप व्यवस्थित बनाउने योजना छ। “बेलढुंगा काठेखोलाको शिर हो। गौरव हो। पहिलेको तुलनामा यसको मुहार निकै फेरिएको छ,” उनले भने, “अब संरचना बनाउने, प्रचार–प्रसार गर्ने र धेरैभन्दा धेरै पर्यटक भित्र्याउने गरी काम गर्छौँ।”


सम्बन्धित सामग्री