Thursday, April 25, 2024

-->

ओपनिङमा कुशलको शानदार ‘कमब्याक’

भारतीय प्रशिक्षक प्रभाकर चार महिनामै फर्केपछि पुरानै भूमिकामा मौका पाएका कुशलले कप्तान रोहितसँग १३३ रनको कीर्तिमानी साझेदारी गर्दै नामिबियारुद्धकाे जितमा महत्त्वपूर्ण भूमिका खेले।

ओपनिङमा कुशलको शानदार ‘कमब्याक’
तस्वीर : क्यान

काठमाडौँ– आईसीसी एकदिवसीय विश्वकप लिग–२ का बाँकी खेल जित्नै पर्ने दबाब, त्यसमाथि घरेलु मैदानमा विपक्षीले दिएको २८६ रनको विशाल कीर्तिमानी लक्ष्य पछ्याउनुपर्ने चुनौती। अझ मोन्टी देसाईको नेतृत्वमा पहिलो शृंखला। तमाम उल्झनबीच लिगमा तेस्रो स्थानमा रहेको नामिबियाले दिएको लक्ष्य नेपालले पूरा गर्ला कि नगर्ला? भन्ने कौतुहलता पेभिलियनतिर बसेका खेलाडीलाई मात्रै होइन, मैदानमा उपस्थित समर्थकमा समेत रहनु स्वाभाविक नै हो।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका भरपर्दा ओपनर जोडी आशिफ शेख र कुशल भुर्तेल पुनः क्रिजमा उत्रिनुले उक्त कौतुहलता केही साम्य भयो। त्रिविको चिसो मौसममा आशिफसँग कुशल लामो समयपछि मैदान उत्रिँदै गर्दा माहौल एकाएक गर्मायो। तर, त्यो माहौल केही समय चिसो मौसममा स्वाटै विलीन भयो।

आशिफ ५ बल खेल्दै १.५ ओभरमा बोल्ड भए। त्यसपछि ढल्न लागेको समर्थकको भरोसामा खाँबो हाल्ने काम भने उनै कुशलले गरे। उनले ११३ बलमा १० चौका र ४ छक्कासहित ११५ रन बनाए। उनको ओडीआई करिअरमा पहिलो शतक हो। साथै उनले जित दिलाउँदै कप्तान रोहितकुमार पौडेलले भनेको जस्तै खुशीको दिन बनाए।

“पछिल्लोपटक मलाई ओपनिङमा मौका दिइएको थिएन। यस सिरिजमा ओपनिङमा फर्किँदै छु भन्ने थाहा थियो। म ओपनिङमै कम्फटेबल थिएँ। शतक हानेपछि पनि टोलीले जितेको थिएन। लास्टसम्म लैजानुपर्छ भनेर खेले जितेँ,” कुशल भन्छन्।

प्रभाकरले नपत्याएका कुशल
करिब दुई वर्षअघि कीर्तिपुरमै नेदरल्यान्ड्स, मलेसिया र नेपाल सम्मेलित त्रिदेशीय त्रिकोणात्मक टी–२०आई सिरिज हुँदा तत्कालीन श्रीलंकन मूलका अस्ट्रेलियाली प्रशिक्षक डेभ वाट्मोरले कुशललाई आशिफसँग ओपनिङ जोडी बाँधिदिएका थिए। पहिलोपटक टी–२०आईमा कुशललाई डेब्यू गराउन वाट्मोरले तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ललाई तेस्रो स्थानमा झारे।

ज्ञानेन्द्रलाई ‘एक स्टेप डाउन’ गर्दै कुशललाई ओपनिङमा पठाउने वाट्मोरको निर्णय पहिलो खेलदेखि नै फलदायी साबित भयो। उनले पाँचमध्ये चार खेलमा अर्धशतक प्रहार गर्दै नेपाललाई सिरिज दिलाए। त्यसपछि नेपाली क्रिकेटमा ओपनिङ लाइनमा सुधार हुने सुखद संकेत मिलेको थियो।

वाट्मोरले कुशलको प्रयोग त्यतिमा मात्रै सीमित राखेनन्। घरेलु टोली ओमानसहित नेपाल र पपुवा न्युगिनीबीच भएको लिग–२ कै ओडीआई सिरिजमा पनि कुशल नै वाट्मोरको प्रयोग बने। त्यसयता हरेक खेलमा आशिफको जोडी बन्दै क्रिजमा उत्रिने गरेका कुशललाई अंकुश लगाउने काम भने भारतकै प्रशिक्षक मनोज प्रभाकरले गरे।

करिब दुई महिना नेपाली टोली सम्हालेका प्रभाकरले उनीसहित केही खेलाडीलाई ‘एग्रेसिभ प्लेयर’का रूपमा वर्णन गर्थे। उनी भन्थे, “टी२० एग्रेसिभ प्लेयरले खेल्छ। नेपालका अधिकांश खेलाडीमा टिकेर लामो समय इनिङ्स खेल्ने क्षमता छैन। एकदिवसीय क्रिकेट भनेको बललाई उडाउनु, चौका छक्का प्रहार गर्नु होइन। होल्ड गरेर खेल्नु हो। जुन क्षमता मैले टोलीमा देखेको छैन।”

नामिबिया भ्रमणमा जानुअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईसँग खेलिएको तीन ओडीआई शृंखलामा प्रभाकरले कुशललाई निकाल्दै यु–१९बाट आएका अर्जुन साउदलाई मौका दिए। उनले एक अर्धशतक प्रहार गरे पनि आशिफसँग पहिलो विकेटका लागि गतिलो साझेदारी गर्न नै सकेनन्। यद्यपि, नेपालले शृंखला दुई–एकले जितेको थियो। यो प्रयोग कीर्तिपुरमा मात्र नभएर नामिबियामा पनि असफल भयो।

नामिबियामा चार खेलमै ओपनिङमा मौका पाउँदा दोस्रो खेलमा ५४ बलमा २९ रन प्रहार गर्नु नै सबैभन्दा ठूलो उपलब्धि रह्यो। यद्यपि, नेपाली टोलीमा कुशलको भूमिकामाथि प्रश्नचिन्ह्र खडा भइरहेको थियो। संयोगवश दुई वर्ष लामो सम्झौता गरेर नेपाल भित्रिएका प्रभाकर चार महिनामै नेपाली टोलीलाई हात हल्लाउँदै बिदा भए। र, कुशललाई पुरानै भूमिकामा फर्किने मौका मिल्यो।

मंगलबार नामिबियाविरुद्ध उत्रिँदा उनले कप्तान रोहितसँग १३३ रनको कीर्तिमानी साझेदारी गरे। यही साझेदारीले नेपाललाई महत्त्वपूर्ण दुई अंक दिलायो। कुशल भन्छन्, “मैले पहिलाको बारेमा केही सोचेको छैन। मिहिनेत गरिरहेको थिएँ। रोहितसँग राम्रो साझेदारी भयो र मेरो हन्ड्रेडमा भन्दा पनि नेपालले जित्यो म यसैमा खुशी छु।”

कुशलले ओडीआईका २६ खेलका २५ इनिङ्समा एक शतक र ३ अर्धशतकसहित ५५७ रन बनाएका छन्। उनको व्यक्तिगत स्कोर भने यही ११५ रन हो।

प्रशिक्षक कारण मिलेको खुशी
कुशलले गरेको मिहिनेत र प्रतीक्षाको फल मिलेको भन्दै कप्तान रोहित दंग देखिन्छ। “मैले चार पाँच वर्षदेखि उहाँले गरेको मिहिनेत देखिरहेको छु। ५० हानेपछि पनि उहाँ हतारमा देखिनु भएन। हन्ड्रेड हानेपछि पनि माइन्ड सेटअप भएको पाएँ। उहाँको खेलमा खुशी छु,” उनी भन्छन्।

रोहित आफैँले पनि नामिबियाविरुद्धको खेलमार्फत ओडीआईमा एक हजार रन पूरा गरे। उनी ओडीआईमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बनेका छन्। सन् २०१८ मा एकदिवसीय मान्यता पाएसँगै नेदरल्यान्डविरुद्धको खेलमा डेब्यू गरेका उनले करिब ५ वर्षपछि एक हजार रन पूरा गरेका हुन्। उनले एक हजार रन पूरा गर्न ३३ खेल खेल्नुपर्‍यो। यस क्रममा उनले एक शतक र ६ अर्धशतक प्रहार गरे। उनलाई पछ्याइरहेका ज्ञानेन्द्र मल्लले २७ खेलमा ६ अर्धशतकसहित ७३४ रन बनाएका छन्।

उनी सफलताको पछि प्रशिक्षक र कुशलको हात रहेको बताउँछन्। “कीर्तिमानी लक्ष्य पाए पनि प्रशिक्षकले पेनिक नहुनु भन्नुभएको थियो। त्यसैले रिल्याक्स गरेर खेल्यौँ। बीचमा स्पिनर आउँदा मलाई खेल्न सजिलो भयो। कुशलसँग कतिबेला सिंगल रन लिने, कतिबेला रेस्ट गर्ने सबै कुरा गरिरहेको थिएँ। त्यसैले पनि सहज भयो,” रोहित भन्छन्।

नेपालले लिग–२ लाई आगामी अक्टोबर–नोभेम्बरमा छिमेकी राष्ट्र भारतमा हुने एक दिवसीय विश्वकपका लागि ग्लोबल क्वालिफायरमा स्थान बनाउन र चार वर्षअघि पाएको एक दिवसीय मान्यता जोगाउने कडीका रूपमा लिएको छ। यो लक्ष्य पूरा गर्न नेपालले शृंखलाका बाँकी ११ खेलमा उत्कृष्ट नतिजा ल्याउनुपर्ने हुन्छ।

२५ खेल खेलिसकेको नेपाल सात एसोसियट राष्ट्र सम्मेलित शृंखलामा नेपाल २० अंकसहित छैटौँ स्थानमा छ। नेपालले ९ खेलमा जित र १४ खेलमा पराजय भोगेको छ। नेपालले अब शुक्रबार स्कटल्यान्ड्ससँग खेल्ने छ। त्यसको भोलिपल्ट पुनः नामिबियासँग खेल्ने छ। यो लिगको अन्तिम खेल नेपालले स्कटल्यान्डसँग सोमबार खेल्ने छ।

त्यसपछि नेपाल यूएई जानेछ। १५–२२ फागुनसम्म नेपालले घरेलु टोली यूएई र पपुवा न्युगिनीसँगको शृंखला खेल्ने छ। लगत्तै टोली पुनः स्वदेश फिर्ता भएर त्रिवि मैदानमै हुने अर्को शृंखलाका लागि तयारी गर्ने छ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपालले फागुन अन्त्यमा यूएई र पपुवा न्युगिनीलाई नेपालले आतिथ्य गर्ने छ। कप्तान रोहित बाँकी रहेको खेलमा पनि उत्तिकै जित आवश्यक रहेको बताउँछन्। तर, यसका लागि कुशलले झैँ खेलमा सुधार गर्नुपर्ने उनी बताउँछन्।

तस्वीरहरू : क्यान


सम्बन्धित सामग्री