Thursday, March 28, 2024

-->

प्रधानमन्त्रीको प्रतिबद्धताविपरीत सार्वजनिक बिदा, खुले संस्थागत विद्यालय, बैंक र वित्तीय संस्था

प्रधानमन्त्री दाहालले एक साताअघि सार्वजनिक बिदा धेरै हुँदा सेवा प्रवाहमा समस्या भएको भन्दै प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र दिवसको बिदा समायोजन गर्ने बताएका थिए। फेरि उस्तै प्रकृतिको बिदा थपिएको छ।

प्रधानमन्त्रीको प्रतिबद्धताविपरीत सार्वजनिक बिदा खुले संस्थागत विद्यालय बैंक र वित्तीय संस्था

काठमाडौँ– “हाम्रा सरकारी बिदा धेरै भए। यसले जनताको काम गर्ने समय कम भएको छ। सेवा प्रवाहमा समस्या देखिएको छ। यसबारे पुनर्विचार आवश्यक छ भनेर मन्त्रिपरिषद्‍मा छलफल गरेका छौँ। गृहकार्य गरेर पुनर्विचार गर्नुपर्छ।”

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गएको माघ २४ गते प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा भनेका थिए। उनले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र दिवस एकै प्रकृतिका भएको र उस्तै कार्यक्रम गरिने भन्दै त्यसलाई एकीकृत गरी बिदा घटाइने पनि बताएका थिए।

तर यस्तो घोषणा गरेको पाँच दिनपछि नै प्रधानमन्त्री दाहालले उस्तै प्रकृतिको अर्को सार्वजनिक बिदा थपेका छन्। प्रधानमन्त्रीकै चाहना र पहलमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले कतिपय मन्त्रीको असहमतिबीच ‘जनयुद्ध दिवस’मा फागुन १ गते बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार आइतबार नै गृह मन्त्रालयले सार्वजनिक बिदाको परिपत्र जारी गरेको थियो। 

आइतबारको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरे पनि परराष्ट्रमन्त्री विमला राई पौड्याल र स्वास्थमन्त्री पदम गिरीले असन्तुष्टि जनाएका थिए। मन्त्री पौड्यालले आफू मन्त्रालय आएर काम गर्ने बताएकी थिइन्।

संघीय सरकारबाट आकस्मिक घोषणा भएको बिदा धेरै संस्थाले मानेका छैनन्। काठमाडौँका धेरैजसो निजी शैक्षिक संस्था खुला छन्। बैंकहरू पनि आधा दिन खुला भएका छन्। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक बिदा भए पनि अत्यावश्यक बैकिङ सेवा भने सुचारू गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ। 

राष्ट्र बैंकले नगद कारोबार, चेक क्लियरिङ, आरटीजीएस (पैसा पठाउने) प्रणालीलगायत अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्न निर्देशन दिएको हो। “बिहान १० बजेदेखि अपराह्न साढे १ बजेसम्म बैंक तथा वित्तीय संस्थाका आवश्यक विभाग तथा कार्यालय खुला राखी सेवा सुचारू गर्ने व्यवस्था मिलाउन सूचना जारी गरिएको छ,” राष्ट्र बैंकको सूचनामा उल्लेख छ।

अन्य सेवामूलक संस्थाहरूले पनि सेवा खुला राखेका छन्। सहकारी, लघुवित्तलगायत वित्तीय संस्था पनि खुला छन्।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले समाजिक संजालमा ‘जनयुद्ध’लाई संविधानले नचिन्ने उल्लेख गरेका छन्। “विस्तृत शान्ति सम्झौतामा ‘जनयुद्ध’ भन्ने शब्द प्रयोग गरिएको थिएन। संविधानको प्रस्तावनालगायत कहीँकतै पनि ‘जनयुद्ध’ शब्द परेको छैन। शान्ति सम्झौता एवं संविधानमा प्रयोग भएको शब्द ‘सशस्त्र द्वन्द’ हो। ‘जनयुद्ध’ शब्दलाई संविधान एवं शान्ति सम्झौताले चिन्दैन,” त्रिपाठीले फेसबुकमा स्टेटस लेखेका छन्, “यस्तो स्थितिमा ‘जनयुद्ध’को नाममा सार्वजनिक बिदा दिनु संविधान एवं विस्तृत शान्ति सम्झौताविपरीत छ। संविधानका धाराहरूका आधारमा गठन भएको सरकारले संविधानको उल्लंघन तथा हिंसाको राजनीतिलाई संस्थागत गर्न मिल्दैन। यो गम्भीर रूपमा अराजक राजनीतिको नमूना हो। यस्तो प्रवृतिको सर्वत्र विरोध गरिनु पर्छ।” 

त्रिपाठीको स्टेटसमा सार्वजनिक बिदाको समर्थन गरेर पनि ‘कमेन्ट’ गरिएको छ। प्रसुन कार्कीले लेखेका छन्, “यति बोल्न र लेख्न पाउने अधिकार प्राप्त भएको छ, यो महान उपलब्धिलाई विगतको कालो इतिहासबाट मुक्त भएको प्रमाणको रूपमा आमूल परिवर्तनको कोसेढुंगा बनाउन जरुरत छ।”

बिदाविरुद्ध विरोध प्रदर्शन
जनयुद्ध दिवसको नाममा दिइएको सार्वजनिक बिदाको ‘द्वन्द्व पीडित समुदाय र नागरिक समाज’ले विरोध गरेको छ। सोमबार काठमाडौँ जिल्ला अदालतअगाडि भेला भएर उनीहरूले जनयुद्ध दिवसको नाममा दिइएको सार्वजनिक बिदा खारेज गर्न माग गर्दै प्रदर्शन गरे।

विरोध प्रदर्शनमा सहभागी मानव अधिकारवादी सुशील प्याकुरेलले जनयुद्ध दिवसका नाममा बिदा दिनु पीडितमाथि ज्यादती भएको बताए। प्रधानमन्त्री दाहालले जनयुद्ध दिवसमा बिदा दिँदा अन्य दलहरू नबोलेर निरिहता देखाएको प्याकरेलले आरोप लगाए। मानवअधिकारवादी चरण प्रसाईंले वर्तमान सरकार पीडितको पक्षमा नभई पीडकको पक्षमा उभिएको आरोप लगाए।

फागुनमा ११ दिन सार्वजनिक बिदा
फागुनमा चार वटा शनिबारसहित ११ दिन सार्वजनिक बिदा हुने भएको छ। महिनाको पहिलो दिन फागुन १ मा सरकारले जनयुद्ध दिवसको बिदा दिएको छ। फागुन ३ गते लुम्बिनी प्रदेशसभाले प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनीभरि बिदा दिने नर्णिय गरेको छ।

फागुन ६, १३, २० र २७ गते शनिबार परेको छ। फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा बिदा छ। फागुन ९ मा विश्व मातृभाषा दिवस र ग्याल्पो ल्होछार परेको छ। फागुन २२ मा पहाडमा फागु पूर्णिमाको बिदा तथा २३ गते तराईमा होली पर्वको बिदा छ। फागुन २४ गते नारी दिवसमा महिलालाई बिदा छ।


सम्बन्धित सामग्री