काठमाडौँ- “कयौँले हाम्रा पूर्वअध्यक्ष (रवीन्द्र मिश्र) लाई गाली गरौँ पनि भने। तर हामी गालीमा विश्वास गर्दैनौँ। यो महाधिवेशन नै उहाँका लागि सबैभन्दा ठूलो झापड हो।”
शुक्रबार शुरू भएको विवेकशील साझा पार्टीको महाधिवेशनमा अध्यक्ष समीक्षा बास्कोटाको भनाइ थियो। पार्टीको अस्तित्व धरापमा परेपछि फेरि उदाउने प्रयास स्वरूप विवेकशील साझाले शुक्रबारबाट महाधिवेशन थालेको छ। पार्टी अध्यक्ष बास्कोटा आफूहरू नयाँ उर्जासहित महाधिवेशनमा होमिएको बताउँछिन्। पार्टीलाई नयाँ नेतृत्व दिन र नीतिगत रूपमा स्पष्टता प्रदान गर्न महाधिवेशनमा जुटेको उनको भनाइ छ।
अब महाधिवेशनबाट उठेर विवेकशील साझाले फेरि वैकल्पिक राजनीति स्थापित गर्ने मात्र नभइ २०८४ सालको निर्वाचनमा सदन प्रवेश गर्ने उनले दाबी गरिन्।
ध्वस्त पारिएको पार्टीलाई पुन: सम्हाल्नका लागि आफूहरू फेरि सक्रिय भएको विवेकशीलका अर्का नेता केशव दाहाल बताउँछन्। अब पार्टीलाई नयाँ ढंगबाट अगाडि बढाउने उनको संकल्प छ।
“कति हाम्रो कारणले, कति हामीभित्रकै गलत तत्वले पार्टी समाप्त गर्न खोजे। तर अब फेरि बिस्तारै उठ्दैछौँ,” दाहाल भन्छन्, “हामी सुविचारित ढंगबाट फेरि जनतासमक्ष जान्छौँ। पर्यो भने माफी पनि माग्छौँ, गरेको गल्ती सुधार्छौँ, तर पार्टीलाई अगाडि बढाउँछौँ।”
महाधिवेशन सकिएलगत्तै आफूहरू फेरि अजेन्डासहित जनतामाझ जाने उनको भनाइ छ। दाहाल अहिले चलिरहेको महाधिवेशनमा निर्वाचन समिति संयोजक छन्।
फेरि उदाउने प्रयास
विवेकशील साझाका नेता पछिल्लो समय छिन्नभिन्न थिए। खासगरी, रवीन्द्र मिश्रले 'विचारभन्दा माथि देश' अजेन्डा सार्वजनिक गरेपछि असन्तुष्ट बनेका नेता निस्क्रिय बसेका थिए। मिश्र भने गएको आमनिर्वाचनको मुखैमा राप्रपा प्रवेश गरेका थिए।
असन्तुष्ट बनेका विवेकशील साझाका रञ्जु दर्शना, मिलन पाण्डेलगायत नेता भने प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार भए। केशव दाहाल, सूर्यराज आचार्यलगायत निस्क्रिय बसेका थिए। छिन्नभिन्न बनेका नेता फेरि एक ठाउँ उभिएर महाधिवेशन गरेका हुन्। यो महाधिवेशनले नयाँ नेतृत्व पनि छनोट गर्नेछ।
महाधिवेशनमा देशभरबाट करिब एक हजार प्रतिनिधि सहभागी भएको विवेकशील साझाले जनाएको छ। यिनै प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्नेछन्। अध्यक्ष पदमा तीन नेताको दाबी छ। अध्यक्ष दाबी गर्नेमा वर्तमान अध्यक्ष बास्कोटा, नेताहरू मिलन पाण्डे र प्रकाशचन्द्र परियार छन्।
महासचिवमा रन्जु दर्शना, समुन्द्र केसीलगायतको दाबी छ। नेता पाण्डेले सकेसम्म सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने तयारी रहेको बताए।
गएको वैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा विवेकशील साझाले पराजय भोगेपछि तत्कालीन अध्यक्षा मिश्रले पदबाट राजीनामा दिएका थिए। त्यसपछि बास्कोटा अध्यक्ष भएकी थिइन्। मिश्र हाल राप्रपा प्रवेश गरेर वरिष्ठ उपाध्यक्ष भएका छन्।
पछिल्लो समय विवेकशील साझा अस्तित्व नै गुमाउने अवस्थामा पुगेको छ। कतिपय नेता कार्यकर्ता अन्य पार्टीतिर लागेका छन्। कतिपय भने निस्क्रिय थिए। आन्तरिक कलहमा फसेपछि पार्टी टुटफुटको श्रृंखलाबाट गुज्रेको थियो।
यस्तो छ टुटफुटको श्रृंखला
उज्वल थापाको नेतृत्वमा २०६९ सालमा विवेकशील अभियान शुरू भएको थियो। यो समूह सामाजिक कार्यमा सक्रिय थियो। विभिन्न दल र समूहले गरेको नेपाल बन्दको विरोधमा थापा 'नेपाल खुला छ' लेखेको प्ला कार्ड बोकेर हिँड्थे।
यो अभियानले संविधानसभाको दोस्रो निर्वाचनमा चार जना स्वतन्त्र उम्मेद्वार पनि उठाएको थियो। अबको नेतृत्व उद्यमी नेपालीहरूको हुनुपर्छ भन्ने उनीहरूको नारा थियो। तर चुनावमा विजयी हुन भने सकेनन्।
थापाले त्यही अभियानलाई २०७० सालमा पार्टीमा रुपान्तरण गरेका थिए। उनले 'वैकल्पिक राजनीति'को नारा अघि सारेर विवेकशील नेपाली दल खोलेका थिए। त्यतिबेला उनलाई मिलन पाण्डे, रञ्जु दर्शना, पुकार बम, प्रमेश श्रेष्ठलगायतले साथ दिएका थिए।
बीबीसीको जागिर छाडेर रवीन्द्र मिश्रले २०७४ सालमा साझा पार्टी स्थापना गरेका थिए। त्यति बेला उनलाई किशोर थापा, सूर्यराज आचार्य, केशव दाहाल, मुमाराम खनाललगायतले साथ दिएका थिए। २०७४ सालको स्थानीय निर्वाचनपछि विवेकशील र साझाबीच एकता भएको थियो।
एकता भएको केही समयपछि नै पार्टीमा विवाद शुरू भयो। त्यसबेला थापाले मिश्रलाई पार्टी एकलौटी ढंगले अघि बढाएको आरोप लगाएका थिए।
विवाद बढ्दै गएपछि एकताको १६ महिना नबित्दै पार्टी फुटेको थियो। थापा र मिश्र आ-आफ्नै ढंगबाट अगाडी बढेका थिए। थापाले विवेकशील नेपालीलाई नै ब्युँताएका थिए।
वैकल्पिक शक्तिहरू एक हुनुपर्छ भन्दै २०७७ मंसिरमा पुन: विवेकशील र साझा पार्टी एक भए। पार्टी अध्यक्षमा मिश्र र दलको संयोजकमा मिलन पाण्डे रहने सहमति भयो। २६ सदस्यीय सचिवालय र १३० सदस्यीय केन्द्रीय समिति बनाइएको थियो। यी समितिमा दुवै दलबाट बराबर प्रतिनिधित्व गराइएको थियो।
एकताका बेला ६ महिनाभित्र महाधिवेशन गर्ने सहमति भएको थियो। तर महाधिवेशन नहुँदै मिश्र राप्रपा र विराजभक्त श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका थिए। विराजभक्त काठमाडौँ-८ बाट विजयी हुँदै प्रतिनिधिसभा पुगेका छन्। उनी रास्वपा संसदीय दलको उपनेता छन्।
छिन्नभिन्न भएपछि दलको महाधिवेशन पनि हुन सकेको थिएन। तर स्वतन्त्र उम्मेदवार भएकाहरू पनि दलमा फर्किएपछि विवेकशील साझाले महाधिवेशनबाट फेरि वैकल्पिक राजनीतिलाई अगाडि बढाउने उद्घोष गरेको छ।