Thursday, March 28, 2024

-->

हिउँद जान लाग्दासम्म किन भएन हिउँदे वर्षा र हिमपात?

हिउँदमा पश्चिमी वायुको प्रभावका कारण वर्षा हुन्छ। भूमध्यरेखीय पूर्वी प्रशान्त महासागरमा सरदरभन्दा कम तापक्रम भएपछि यस वर्ष पश्चिमी वायुको प्रभाव कम भयो र हिउँदे वर्षा तथा हिमपात भएन।

हिउँद जान लाग्दासम्म किन भएन हिउँदे वर्षा र हिमपात
तस्वीर: मनीष पौडेल/उकालो

काठमाडौँ– यो वर्ष हिउँदमा जाडो छल्न मुस्ताङको जोमसोम र आसपासका स्थानीय काठमाडौँ तथा पोखरा झर्नु परेन। त्यहाँ हिउँ नै नपरेपछि जाडो पनि उस्तो छैन।

जोमसोम वरिपरिका डाँडाकाँडा पुस र माघमा हिँउले सेताम्य हुन्थे। नेपाल पत्रकार महासंघ मुस्ताङका अध्यक्ष सुन्दरकुमार थकाली भन्छन्, “माघको अन्तिमसम्म हिउँ नै नपरेको त अहिलेसम्म थाहा थिएन। थोरै धेरै हिउँ त पर्थ्यो नै।”

जोमसोम र आसपासमा सामान्यतः मंसिर अन्तिम हप्तादेखि हिउँ पर्न शुरू हुन्थ्यो। हिउँ पर्न थालेपछि स्थानीय पोखरा र काठमाडौँ झर्ने पुरानो चलन हो। यसपटक हिउँ नपरेपछि जाडो छल्नै नपरेको थकाली बताउँछन्।

समुन्द्र सतहदेखि दुई हजार ७४३ मिटरको उचाइमा पर्ने जोमसोममा पुस र माघमा दिउँसोको सरदर तापक्रम ३ डिग्री सेल्सियस हुन्छ। राति भने माइनस  १४ डिग्रीसम्ममा झर्छ। फागुनमा दिउँसोको सरदर तापक्रम ४ डिग्री सेल्सियस हुन्छ। राति माइनस १२ डिग्री सेल्सियससम्म झर्छ। विगत ३० वर्षको आधारमा सरदर तापक्रम निकालिन्छ।

अहिले जोमसोममा रातिको तापक्रम माइनस ४ देखि ७ डिग्री मात्र छ। त्यस्तै दिउँसोको अधिकतम तापक्रम ६ डिग्री सेल्सियस छ। हिउँ नपरेपछि मानिसहरू गाउँमै रहेको जोमसोमका अजित थकाली बताउँछन्। 

उनका अनुसार जोमसोममा पोहोर–परार जस्तो जाडो छैन। “दिउँसो त जाडो नै भएन। साँझ–बिहान मात्र हो,” उनी भन्छन् “अहिले मान्छेहरू गाउँमै छन्। जाडोले बस्न नसकेर झरेका छैनन्।”

मनाङ, मुस्ताङ र डोल्पा लगायत हिमाली क्षेत्रका मानिसहरू जाडो छल्न प्रायः पोखरा, चितवन, काठमाडौँलगायत ठाउँ पुग्छन्। चैत लागेपछि गाउँ फर्किन्छन्। हिमपात भएर गाउँमा बस्न नसक्ने हुँदा ठाउँ छाड्ने गरेको मनाङको मनाङ निस्याङ गाउँपालिका अध्यक्ष कान्छा घले बताउँछन्।

यस वर्ष माघ पहिलो हप्ता पश्चिम नेपालका हुम्ला र जुम्लामा हिमपात भएको थियो। त्यसभन्दा पूर्व हिमपात भएन। जल तथा मौसम विज्ञान विभागका अनुसार यो वर्ष सुदूरपश्चिममा हिउँदे वर्षा र उच्च हिमाली जिल्लामा हिमपात भएको थियो। सुदूरपश्चिम प्रदेशभन्दा पूर्व अहिलेसम्म हिउँदे वर्षा भएको छैन।

हरेक वर्ष हिउँदमा फोटोग्राफीका लागि हिमाली क्षेत्र जाने गोरख विष्ट यसपटक अलमलमा परे। “हिमाली क्षेत्रमा हिउँ नपरेपछि कतै जान पाइएको छैन। कता जाउँ भन्ने दुविधामा छु,” उनी भन्छन्।

किसानलाई चिन्ता 
हिउँदे वर्षा र उच्च हिमाली भागमा हिमपात नभएपछि स्याउ, ओखर, आरू, आरुबखडालगायत फलफूल र जौ तथा उवालगायत अन्नबालीको उत्पादन प्रभावित हुने सम्भावना छ। “पुस माघमा हिउँ परेको भए स्याउ, आरू र ओखरमा राम्रो फल लाग्थ्यो,” जोमसोमका स्थानीय अजित भन्छन्, “अहिले हिउँ नपरेर चैत वैशाखमा पर्ने होला, त्यसो भयो भने उत्पादनमै असर पुग्छ। त्यो बेला फलमा फूल खेल्ने समय हो।”

मनाङको पिसाङका याङडु गुरुङका अनुसार हिमपात नभएपछि स्याउमा किरा लाग्ने सम्भावना बढी हुन्छ। त्यसैले पनि किसानलाई हिउँदमा हिउँ अनिवार्य हुने गुरुङ बताउँछन्। “हिमपात भएको वर्ष स्याउ राम्रो फल्छ। तर यो वर्ष हिमपात नै भएन,” उनी भन्छन्, “हिउँ पर्दा रोग लाग्दैन। किराहरू मर्छन्। स्याउको फल राम्रो लाग्छ। उत्पादन पनि राम्रो हुन्छ।”

हिउँदे वर्षा भएपछि बालीनाली हलक्कै बढ्ने किसानहरूको अनुभव छ। “हिउँदमा हिमपात त हाम्रा लागि मल बराबर हो। हिउँ परेपछि जौ, उवा, तरकारी सबै राम्रो हुन्छ,” जोमसोमका अजित भन्छन्।

शितोष्ण बागबानी विकास केन्द्र मार्फा मुस्ताङका प्रमुख पद्यनाथ आत्रेयका अनुसार हिमाली क्षेत्रमा लगाइने फलफूल तथा अन्नबालीका लागि हिउँदमा हिमपात अनिवार्य हुन्छ। यदि, हिमपात भएन भने ओखर तथा स्याउको उत्पादन प्रभावित हुन्छ। “ओखर, स्याउलगायतका फलफूल बालीले हिउँ परेपछि राम्रो उत्पादन दिन्छन्। यी फलफूललाई न्यूनतम तापक्रम अलि धेरै चाहिन्छ,” उनी भन्छन्।

उच्च हिमाली क्षेत्रमा लगाइने हाइचिलिङ स्याउका जातलाई औषतमा एक हजार घन्टासम्म न्यूनतम तापक्रम माइनसमा हुनुपर्छ। तर यो अवस्था मुस्ताङमा हराउँदै गएको आत्रेय बताउँछन्।

यता, मध्यपहाडका खेतबारी पनि हिउँदे वर्षा नभएपछि सुक्खा छन्। पाल्पाको बगनासकाली गाउँपालिका, चिर्तुङधाराका राजन भण्डारी पानी नपरेपछि जौँ, गहुँ र चना बारीमै सुक्न थालेको बताउँछन्। “यस वर्ष बीउ पनि फर्केलाजस्तो छैन। असोजदेखि पानी नै परेन,” उनी भन्छन्।

कृषि मन्त्रालयका सहसचिव एवम् प्रवक्ता प्रकाशकुमार सञ्जेल हिउँदमा वर्षा नहुँदा उच्च हिमाली क्षेत्र र सिँचाइ सुविधा नभएका तथा अकासे पानीको भरमा खेती हुने मध्यपहाडको उत्पादनमा असर पुग्ने बताउँछन्। “सबै ठाउँमा एकनासको असर हुन्न। हिउँको भरमा खेतीपाती हुने र आकासे पानीमा निर्भर रहेर ठाउँमा खडेरीले असर पुग्न सक्छ,” उनी भन्छन्, “हिमालमा ५० प्रतिशतसम्म उत्पादनमा कमी आउन सक्छ। तर यत्ति नै भनेर अहिले यकिन गर्न गाह्रो छ।” 

तराईमा सिँचाइ सुविधा उपलब्ध भएकाले उत्पादनमा खासै फरक नपर्ने उनको भनाइ छ।

किन भएन हिउँदे वर्षा?
हिउँदमा नेपालमा पश्चिमी वायुको प्रभावका कारण वर्षा हुन्छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष पश्चिमी वायुको प्रभाव कमजोर बन्दा हिउँदे वर्षा नभएको हो। विभागकी सिनियर मेटेरियोलोजिष्ट डा.इन्दिरा कंडेल लालिनाको प्रभावका कारण हिउँदे वर्षामा कमी आएको बताउँछिन्। भूमध्यरेखीय पूर्वी प्रशान्त महासागरमा सरदरभन्दा कम तापक्रम नै लालिना हो।

“लालिनाको अवस्था उत्पन्न हुँदा त्यसले पश्चिमी वायूको प्रभावलाई कमजोर बनाउँछ। फलस्वरुप हिउँदे वर्षा कम हुन्छ,” कंडेल भन्छिन्, “यो अवस्थामा उतारचढाव भइरहन्छ। लगातार तीन वर्ष लालिनाको अवस्था छ।”

विभागका अनुसार मंसिर १५ देखि फागुन १५ सम्म हिउँदको तीन महिनासम्मको कुल सरदर वर्षा ६०.१ मिलिमिटर हो। यसवर्ष माघ २० सम्म ७.९ मिलिमिटर अर्थात्, १३.१ प्रतिशत मात्र वर्षा भएको छ। माघ ४–८ गतेसम्म डडेलधुरा, दिपायल, सुर्खेत, धनगढी, नेपालगञ्ज र जुम्लामा वर्षा भएको थियो। जुम्लामा सबैभन्दा बढी ४० मिलिमिटर वर्षा भएको छ।

गत वर्षको माघ १ सम्म २७.१ मिलिमिटिर र मंसिर १५ देखि फागुन १५ सम्म ७४ मिलिमिटर वर्षा भएको थियो। यो औसतभन्दा करिब १४ मिलिमिटर बढी वर्षा हो।

विभागको तथ्याङक अनुसार २०६२ सालको हिउँदमा सबैभन्दा बढी सुक्खा भएको थियो। सोही वर्ष ७.१ मिलिमिटर मात्र वर्षा भएको थियो भने २०६५ सालमा ९७ मिलिमिटर वर्षा मापन गरिएको थियो। त्यसअघि २०५५ सालमा १४.५, २०७४ सालमा १६.७ र २०७२ सालमा २०.८ मिलिमिटर वर्षा भएको थियो। त्यसैगरी, २०७६ सालमा भने १५.४ मिलिमिटर वर्षा भएको थियो। तर, २०७५ सालमा भने औसतभन्दा दोब्बर बढी अर्थात्, १४२ मिलिमिटर वर्षा मापन गरिएको थियो।


सम्बन्धित सामग्री