Friday, March 29, 2024

-->

राजुकाजीको फुटबल यात्रा: कप्तान र प्रशिक्षकका रूपमा देशलाई उपाधि, क्लब प्रशिक्षणमा खाली हात

राजुकाजी शाक्यले २५ वर्षअघि पहिलोपटक प्रशिक्षकका रूपमा एनआरटी क्लब सम्हालेका थिए। त्यसपछि ६ वटा क्लबलाई प्रशिक्षण दिएका उनले तीन वटालाई 'ए' डिभिजन लिग खेलाए पनि उपाधि जिताउन सकेका छैनन्।

राजुकाजीको फुटबल यात्रा कप्तान र प्रशिक्षकका रूपमा देशलाई उपाधि क्लब प्रशिक्षणमा खाली हात

काठमाडौँ- २०६१ सालमा भएको शहीद स्मारक ‘ए’ डिभिजन लिगमा एनआरटी, संकटा, ब्वाइज युनियन, महावीर र काठमाडौँजस्तो क्लबलाई दाबेदार मानिएको थियो। यो साल विभागीय टोली त्रिभुवन आर्मीले पहिलोपटक लिगमा सहभगिता जनाएको थियो। प्रभावशाली खेल प्रदर्शन गरेको आर्मी पहिलो सहभागितामा नै चौँथो स्थानमा पुग्न सफल भयो।

त्यसपछिका दुई सिजनमा पनि आर्मीले उस्तै लय कायम गर्‍यो। आर्मी क्रमश: तेस्रो र दोस्रो स्थानमा पुगेको थियो। २०६३ सालमा महेन्द्र पुलिससँग २ अंकले पछि परेर लिग उपाधि जित्नबाट बन्चित भएको थियो। आर्मीले २६ खेलबाट ६५ अंक जोडेको थियो।

त्यसपछिका सिजनमा आर्मीको प्रदर्शन सन्तोषजनक हुन सकेन। लिग जित्ने उद्देश्यसहित आर्मीले २०६६ सालमा राष्ट्रिय टोलीका पूर्वखेलाडी राजुकाजी श्रेष्ठलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो। उनी त्यति बेला भर्खरै जापान फुटबल संघबाट अन्तर्राष्ट्रियस्तरको ‘सी’ ग्रेडको प्रशिक्षक लाइसेन्स प्राप्त गरेर फर्किएका थिए। 

उक्त सिजन आर्मी चौँथो स्थानमा सीमित रह्यो। लिगको उपाधि नेपाल पुलिसले जित्दा थ्रीस्टार दोस्रो र न्यूरोड टिम (एनआरटी) तेस्रो भएका थिए। उक्त नतिजाबाट निराश बनेका शाक्य फेरि आफ्नो पूर्वक्लब एनआरटी नै फर्किएका थिए।

“नगरेको होइन सबै गरेको हो। लिगकै लागि भनेर एक वर्ष पहिलादेखि नै टिम हेरिरहेको थिएँ। अहिलेजस्तो खेलाडी भएको भए लिगै जित्थ्यौँ। तर, के मिलेन दोस्रोसम्म पनि भएनौँ,” उनी भन्छन्।

एनआरटीबाट आर्मी पुग्दा टोलीमा विकास मल्ल, रामकुमार विश्वास, चुनबहादुर थापा, विश्व वैराग, अमृत बस्नेत र शिव चौधरीजस्ता नाम चलेका खेलाडी थिए। तर उपाधि जित्न चुकेका शाक्यको लिग जित्ने चाहना करिब १५ वर्षसम्म उस्तै छ। गत सिजन ‘ए’ डिभिजन लिगमा तेस्रो रहेको टोली एनआरटी सम्हालिरहेका शाक्य भन्छन्, “एकपटक त उपाधि उचाल्ने धोको पूरा गर्न बाँकी नै छ।”

शाक्यले २५ वर्षअघि पहिलोपटक प्रशिक्षकका रूपमा एनआरटी क्लब सम्हालेका थिए। त्यसपछि आर्मी, मछिन्द्र, थ्रीस्टार, संकटा, मनाङ मर्स्याङ्दी र च्यासल युथ क्लब सम्हाले। प्रशिक्षक जीवनको उत्तरार्धमा पुगेका शाक्य फेरि एनआरटीकै प्रशिक्षक बनेर ‘टचलाइन’मा उभिने तरखरमा छन्। 

एनआरटीमा उनको यो तेस्रो सिजन हो। “एनआरटी सम्हालेको १२/१३ वर्ष भइसके छ। बीचमा केही समय अन्य क्लबमा गएँ। तर सोचेको जस्तो सफलता हात पार्न चाहिँ सकिनँ,” उनी भन्छन्।

खेलाडीका रूपमा शाक्यले २०३१ देखि २०४१ सालसम्म एनआरटीको जर्सी पहिरिए। उनी एनआरटी छिरेको चार वर्षपछि नै क्लबले तेस्रोपटक उपाधि उचाल्यो। त्यसअघि उनले अन्नपूर्ण र फ्रेन्ड्स क्लबबाट व्यावसायिक फुटबल खेलिसकेका थिए। 

२०५४ सालबाट भने उनले एनआरटीमा खेलाडीका साथै प्रशिक्षकको भूमिका निर्वाह गर्ने मौका पाए। उनले प्रशिक्षकका रूपमा तीन वटा क्लबलाई 'ए' डिभिजन लिग खेलाइसकेका छन्। तर कुनै क्लबलाई पनि उपाधि जिताउन सकेका छैनन्। उनले प्रशिक्षकका रूपमा भने 'ए' डिभिजनका ६ वटा क्लब सम्हालिसकेका छन्।

उनी भन्छन्, “प्रशिक्षकले टोली बनाउने समय नै पाउँदैनन्। एक खेलाडी आउँछ एक सिजन बिताएर अर्को क्लब जान्छ। अर्को खेलाडीले त्यस्तै गर्छ। टोली बनाउन र लामो समय टिकाउन सके पो बलियो टिम बन्छ र उपाधि हात पर्छ।”

साफमा कप्तान र प्रशिक्षकको भूमिकामा स्वर्ण
२०५० सालमा दक्षिण एसियाली खेलकुद (साफ)मा नेपालले स्वर्ण पदक जित्दा शाक्य नेपाली राष्ट्रिय टोलीका कप्तान थिए। २०७५ सालमा भएको १२औँ संस्करणको साफमा नेपालको यू–२३ टोलीले स्वर्ण जित्दा शाक्य प्रशिक्षक थिए। 

देशलाई दोहोरो सफलता दिलाइसकेका शाक्य क्लबलाई भने सोचेअनुरूपको सफलता दिलाउन नसक्नुमा धेरै कारण रहेको बताउँछन्। उनी भन्छन्, “एक त क्लबको आर्थिक पाटो बलियो छैन, अभ्यास गर्न गुणस्तरीय खेलमैदान छैन। लिग पनि व्यवसायिक छैन। सबै कुरा मिले पो उपाधि जितिन्छ।”

२०६९ सालमा सिंगल राउन्ड रोबिनमा सञ्चालन भएको लिगमा शाक्यले मछिन्द्रलाई तेस्रो स्थानमा पुर्‍याए। त्यसपछिका दुई वर्ष भने उनी नेपाली राष्ट्रिय युथ टोलीसँग जोडिए। २०७० सालको लिग सकिएपछि चारपटकको विजेता थ्रीस्टार क्लबमा आबद्द भए। 

थ्रीस्टारबाट केही प्रतियोगितामा प्रशिक्षण दिएका शाक्य त्यसको एक वर्षपछि सातपटक लिग जितिसकेको मनाङ पुगे। तर, २०७१ सालमा अखिल नेपाल फुटबल संघ (एन्फा) विवादमा अल्झिँदा मनाङबाट पहिलो उपाधि उचाल्ने शाक्यको लक्ष्य पूरा हुन सकेन।

“लिग हुन्छ भनेर धेरै खर्च गरेर अनिल गुरूङदेखि राष्ट्रिय टोलीबाट खेलिसकेका ठूलाठूला खेलाडी भित्र्याएका थियौँ। तयारी पनि राम्रै थियो। तर के गर्नु, मौका पाएको बेला लिग नै हुन सकेन,” उनी भन्छन्।

त्यसपछिका दुई वर्ष भूकम्पका कारण लिग आयोजना हुन सकेन। २०७५ सालमा भने उनी पहिलोपटक ‘बी’ डिभिजनबाट ‘ए’ मा उक्लिएको च्यासलको 'टचलाइन'मा उभिए। तर गतिला खेलाडी भित्र्याउन नसकेको च्यासल लिगमा आठौँ स्थानबाट अगाडि बढ्न सकेन। त्यसयता भने उनी एनआरटीमा छन्।

चार वर्षअघि बिनारेलिगेशनको लिग हुँदा १४औँ स्थानमा रहेको एनआरटीलाई बलियो बनाउन शाक्यले यू–१८ टिमबाट खेलिसकेका मिडफिल्डर एरिक विष्टसँगै स्ट्राइकर राजेश परियार, विक्रम धिमाल र प्रकाश बुढाथोकीलाई भित्र्याए। लिगको पहिलो खेलमा सरस्वतीलाई ४–० गोलअन्तरले हराउँदै सुखद् शुरूआत गरेको थियो। तर लिग सकिँदा आठौँ स्थानमै सीमित भयो। 

त्यसको दुई वर्षपछि शाक्यले फरवार्ड रन्जन विष्ट, मिडफिल्डर दिपेश घले, नेपाल सुपर लिग (एनएसएल)मा उत्कृष्ट प्रदर्शन गरेका मेसुके ओलोमोउ र स्टेफेन समिरलाई भित्र्याए र टिम बलियो बनाए। उक्त वर्ष एनआरटीले सुधारिएको प्रदर्शन गर्‍यो र तेस्रो भयो। “क्लबले लगानी नगरेको होइन। केटाहरूले पनि मिहिनेत गरेकै हो। तर, तयारीको लागि त्यति समय मिलेन र सोचेजस्तो नतिजा निस्किएन,” उनी भन्छन्। 

यसपटक पनि लक्ष्य शीर्ष ६
अघिल्लो सिजन समान २३ अंक भए पनि गोल संख्याको आधारमा तेस्रो भएको एनआरटी करिब २० दिनदेखि कीर्तिपुरमा प्रशिक्षण गरिरहेको छ। प्रशिक्षणमा सहभागीमध्ये अधिकांश पुरानै खेलाडी छन्। त्यसमा पनि युवा खेलाडीको बाहुल्य अझै बढी छ। 

यसपटक एनआरटीले नाम चलेका खेलाडी भित्र्याएको छैन। यद्यपि, उसका प्रतिस्पर्धी संकटा र फ्रेन्ड्स, यसै सिजन ‘ए’ डिभिजनमा उक्लिएको चर्च ब्वाइज र खुमलटार युथ क्लबले खेलाडी अनुबन्धलाई तीव्रता दिइरहेका छन्। 

एनआरटीले नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेका फरवार्ड दर्शन गुरूङ, मेसुके र डिफेन्डर स्टेफनलाई यस वर्ष गुमाएको छ। गत वर्षको लिगमा चार गोल गरेका दर्शन अस्ट्रेलिया प्रस्थान गरिसकेका छन्। दुई विदेशी खेलाडी भने ‘ए’ डिभिजन लिगमा यसै वर्ष बढुवा भएको खुमलटारमा अनुबन्ध भएका छन्। 

उनीहरूको बहिर्गमनसँगै क्लबले केही राष्ट्रिय टोलीका खेलाडी भित्र्याउनुपर्ने आवश्यक्ता महसुस गरेको प्रशिक्षक शाक्य बताउँछन्। “क्लबले १/२ जना राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडी भित्राउने तयारी गरेको छ। तर, अहिलेसम्म भित्र्याउन सकेका छैनौँ। लिग शुरू हुन थोरै समय छ। एक दुई दिन अझै लाग्ला कि,” उनी भन्छन्।

गत वर्ष नै लिगको उपाधि जिताउन लामो समय खेलाडी अनुबन्धमा राख्नुपर्ने उनले बताएका थिए। उनले यसपटक पनि एनआरटीमा एरिक विष्ट, अजित प्रजापति, राजेश परियार, अशोक थापामगर, शिव गुरुङ, रञ्जन विष्ट, विक्रम धिमाल, दीपेश आलेमगर र नवीन गुरूङलाई निरन्तरता दिएका छन्। यसबाहेक केही युवा खेलाडी  भित्र्याउने लक्ष्यमा रहेको उनी सुनाउँछन्।

“क्लबमा जति पुरानो खेलाडी भयो उत्ति नै युनिटी बिल्डअप हुन्छ। युनिटी भयो भने खेल राम्रो पनि हुन्छ। तर नेपालमा आर्थिक संकटका कारण क्लबले लामो समय खेलाडी टिकाएर राख्न सक्दैनन्। मेरो कोशिश भनेको खेलाडीलाई जतिसक्दो टिकाउने हो”, उनी भन्छन्।

कुनै समय गर्विलो इतिहास बनाएको चारपटकको लिग विजेता टोली पछिल्लो समय चरम आर्थिक संकटमा छ। २०६९ सालमा आर्थिक संकटकै कारण लिग नखेल्ने घोषणा गरेको एनआरटीलाई एन्फाले कारबाही गर्दै ‘बी’ डिभिजनमा घटुवा गरेको थियो। त्यसको चार वर्षपछि ‘कमब्याक’ गरेको एनआरटी २०७३ सालमा पुन ‘बी’ डिभिजनको उपविजेता हुँदै शीर्ष डिभिजनमा बढुवा भयो।

फुटबल प्रशिक्षकका गुरू मानिने महेश्वर मुल्मीले सम्हालेको एनआरटीले २०७५ सालको लिगका १३ खेलमध्ये एकमा मात्र जित हात पारेको थियो। लिगको पुछारमा रहेपछि क्लबले स्तरीय खेलाडी भित्र्याउन नसकेको उनले आरोप लगाएका थिए।

तर, प्रशिक्षक शाक्य नाम चलेका खेलाडीभन्दा ग्रासरूटबाट आएका खेलाडीलाई राखे लिग जित्न सकिने विश्वास राख्छन्। “म आबद्द भएदेखि नै एनआरटीले त्यस्तो नाम चलेका खेलाडी लिएको छैन। नाम हुँदैमा राम्रो प्रदर्शन गर्छन् र लिग नै जितिहालिन्छ भन्ने पनि हुँदैन। लिग जित्न मैदानमा रणनीति राम्रो हुनुपर्छ। त्यो भयो भने जितिन्छ,” उनी भन्छन्।

एनआरटीले लिग तयारीका लागि मलेसिया र थाइल्यान्डको भ्रमण गरिसकेको छ। त्यसअघि, दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेलमा भने एनआरटीले संकटालाई ३–२ गोलअन्तरले पराजित गरेको थियो। एनआरटीले लिगको तयारीका लागि पछिल्लो समय चर्च ब्वाइज (१–०) र आर्मी (२–१) सँग एक-एक मैत्रीपूर्ण खेल खेलेको थियो। यसपटक राम्रो तयारी भए पनि आफ्नो लक्ष्य भनेको शीर्ष ६ मा रहने नै भएको प्रशिक्षक शाक्य बताउँछन्।

“तीन दर्जन जति खेलाडी बाहिरिएको (विदेश गएको) भएर पनि होला यसपटक सबै टोलीको स्तर समान छ। त्यसैले प्रतिस्पर्धामा कसले कस्तो नतिजा निकाल्छ भन्न सकिँदैन,” उनी भन्छन्, “एनआरटीले लिग नै जित्छ भनेर दाबी गर्न त सक्दिनँ, तर यसपटक हामी शीर्ष ६ मा रहन्छौँ।”

बलियो तयारी
एन्फा निर्वाचन र त्यसपछि सिर्जित घटनाक्रमले यसवर्ष लिग हुने नहुने कुनै टुङ्गो थिएन। तर, एनआरटीले भने शुरूआतदेखि नै लिगको तयारी गरिरहेको थियो। गत असारमा एनआरटीले प्रि–सिजन टूरअन्तर्गत मलेसियाको पेनाङमा टुवान याङ टेरूतमा (टीवाईटी कप) र थाइल्यान्डमा तीन मैत्रीपूर्ण खेल खेलेको थियो। 

उक्त टूरका लागि एनआरटीले विभिन्न क्लबबाट खेलिरहेका मिडफिल्डहरू रूमेश बर्तौला, विशाल राई, गौरव श्रेष्ठ, सुवास गुरूङ, सन्जोक राई, निकोलस फर्नान्डेजलाई समेटेको थियो। यस्तै, डिफेन्डर रन्जित धिमाल र क्यामरूनका गोलरक्षक टोलो ल्यान्ड्रीलाई समेत अनुबन्ध गरेको थियो। तर गतिलो प्रदर्शन भने गर्न सकेन।

टीवाईटी कपको पहिलो खेलमा एनआरटी इन्डोनेसियाको कारो एफसीसँग ५–१ र दोस्रो खेलमा मलेसियाको सुपर लिग क्लब पेनाङसँग ५–० गोलअन्तरले पराजित भएको थियो। त्यसपछि थाइल्यान्ड गएको एनआरटीले तेस्रो डिभिजनको क्लब थोनबुरी युनाइटेडलाई २–१ गोलअन्तरले पराजित गरेको थियो। तर, शीर्ष डिभिजनको चोनबुरी एफसी र तेस्रो डिभिजनको कासेम बन्डित युनिभर्सिटी एफसीसँग भने पराजित भयो। 

शाक्यलाई 'ए' डिभिजन लिगको उपाधि भोक अहिले पनि छ। त्यसैले अहिले नै प्रशिक्षकबाट सन्यास लिने मुडमा छैनन्। उमेरले साढे ६ दर्शक छुन लागेका शाक्यको लक्ष्य एकपटक एनआरटीलाई उपाधि दिलाउने छ। उनी भन्छन्, “प्रशिक्षक भएपछि सबैको लक्ष्य उपाधि जित्ने नै हुन्छ। सबै मिल्यो  भने उपाधि जित्न नि सक्छौँ।”


सम्बन्धित सामग्री