Friday, March 29, 2024

-->

उद्योगीको अस्वाभाविक मागले भारतबाट आएन पर्याप्त गहुँ, मैदाको मूल्य अचाक्ली

आवश्यक परिमाणमा कोटा तोकेर निर्यात गर्न भारतले प्रस्ताव गरे पनि नेपालका उद्योगीहरूले अस्वाभाविक माग गर्दा पर्याप्त गहुँ आयात हुन सकेको छैन। यता, कच्चा पदार्थ अभावले उद्योगहरू बन्द हुन थालेका छन्।

उद्योगीको अस्वाभाविक मागले भारतबाट आएन पर्याप्त गहुँ मैदाको मूल्य अचाक्ली
तस्वीर: रितेश त्रिपाठी/उकालो

काठमाडौँ– भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाउँदा त्यसमा आधारित नेपालका केही उद्योग बन्द भइसकेका छन्। यही स्थिति दुई साता कायम रहे सबै उद्योग ठप्प हुने अवस्थामा पुगेको व्यवसायीहरूले बताएका छन्। गहुँमा आधारित मुलुकभर ४२ उद्योग सञ्चालनमा छन्।

नेपाल मैदा उद्योग संघका वरिष्ठ उपाध्यक्ष एवं चितवनको टाँडीस्थित शिवशक्ति खाद्य उद्योग प्रालिका सञ्चालक दिनेश अग्रवालका अनुसार आधाजसो मैदा उद्योग बन्द छन्। कच्चा पदार्थ अभावले अन्य उद्योग पनि पूर्ण क्षमतामा सञ्चालन भएका छैनन्। आफ्नै उद्योग पनि २४ दिन बन्द गरेर मौज्दात रहेको गहुँ चलाउन पुनः खोलेको उनी बताउँछन्।

उद्योगहरू बन्द हुन थालेकाले गहुँ आयात तत्काल खुलाउन व्यवसायीहरूले माग गरिरहेका छन्। तर तालुकदार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले भने व्यवसायीहरूको अव्यावहारिक मागका कारण कठिनाइ भएको जनाएको छ।

“केही उद्योग बन्द भइसके, सञ्चालनमा रहेका पनि पूर्ण क्षमतामा चल्न सकेका छैनन, यही अवस्था कायम रहे १५–२० दिनमा सबै उद्योग ठप्प हुन्छन्,”  मैदा उद्योग संघका सचिव अजय पराजुलीले भने “नेपाललाई वार्षिक नौ लाख मेट्रिक टन गहुँ आवश्यक पर्छ। आन्तरिक उत्पादनले चार लाख मेट्रिक टन धान्छ। बाँकी भारतबाट आयात गर्नुपर्ने हुन्छ।”

वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव श्रीधर गौतम भने नेपाली व्यवसायीहरूको हचुवा मागका कारण यो अवस्था आएको बताउँछन्। “हाम्रो उद्योग क्षेत्रलाई चाहिने गहुँ वार्षिक ३ लाख मेट्रिक टन हो, व्यवसायीले सित्तैमा दिने जसरी आठ लाखको माग गरे, त्यो अस्वाभाविक भएको कारण आयात असहज देखियो,” उनले भने।

गहुँ प्रतिबन्धपछि त्यसमा आधारित उपभोग्य वस्तुहरू महँगो हुँदा भारतबाट आयात गर्न सरकारले कुटनीतिक तहमा पहल गरेको थियो। नेपालले गहुँ आयात खुलाउन पटक–पटक आग्रह गरेपछि भारतले नेपाललाई आवश्यक गहुँको परिणाम तोकेर पठाउन भनेको थियो। 

त्यसैअनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतबाट गहुँ र चिनी आयात गर्न इच्छुक उद्योगी व्यवसायीसँग गत साउन १९ मा प्रस्ताव मागेको थियो। जसमा कम्पनीको नाम, भारतबाट खरिद गर्ने उद्योगको विवरण, आयात गर्नुको उद्देश्य, कुन नाकाबाट ल्याउने लगायत विवरण उल्लेख गर्नुपर्ने भनिएको थियो। 

मन्त्रालयले प्रस्ताव मागपछि उद्योगी व्यापारीले आठ लाख मेट्रिक टन गहुँ आयातको अनुमति मागे। यो भनेको नेपालमा गहुँको कुल वार्षिक मागको अढाई गुणाभन्दा पनि बढी हो।

उद्योगीहरूबाट संकलित परिमाणसहितको विवरण सरकारले भारत पठायो। तर समयमै गहुँ आएन। जसले गर्दा उद्योगहरू बन्द हुने अवस्थामा पुग्दै छन्।

“नेपालले थप पहल गरे भारतले आयात खुला गर्छ,” उपसचिव गौतमले भने, “हामीले अनुरोध गर्यौं भने दिन्छ, हामीलाई चाहिनेभन्दा बढी माग आएर बिग्रिएको हो।” 

मैदा उद्योग संघका महासचिव राधेश्याम अग्रवालले भने प्रतिबन्धका बेला व्यवसायीले बढी माग गर्नु उचित भएको बताए। “गहुँको अभाव छ, सरकारले जति चाहिन्छ माग गर्नुहोस् भनेपछि व्यवसायीहरूले बढी मागे, जुन स्वाभाविक पनि हो।”

नेपालले पुनः आग्रह गरेपछि भारतले गत पुस ६ गते कोटा निर्धारण गरेर आयातको अनुमति दिएको थियो। भारत सरकारको वैदेशिक व्यापार महानिर्देशनालयले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्राचार गर्दै २०२३ मार्च ३१ सम्म ५० हजार टन गहुँ मात्र आयात गर्न अनुमति दिएको हो। 

जसअन्तर्गत पहिलो चरणमा उद्योग मन्त्रालयले ३० हजार मेट्रिक टन आयातका लागि मैदा उद्योगहरूसँग आवेदन मागेको थियो। मैदा उद्योगको सिफारिसमा आएका २७ वटा उद्योगले उक्त परिमाणको गहुँ आयात गर्न प्रक्रिया अघि बढाइसकेको मन्त्रालयकी प्रवक्ता उर्मिला केसीले बताइन्। 

तर व्यवसायीहरू मैदा उद्योगहरूले मागअनुसार उपलब्ध गराउन नसक्दा चरम अभाव सिर्जना भइरहेको बताउँछन्। भारतले कोटाबाट दिने भनेको ५० हजार मेट्रिक टन गहुँ सबै मिलले पाए २० दिनलाई मात्र पुग्ने मैदा उद्योग संघको भनाइ छ। 

नेपालमा रहेको मैदा/आँटा उद्योगहरूले वर्षभरिमा गर्ने प्रयोगका आधारमा सरकारले आफै विवरण संकलन गरेर पठाउनुपर्ने महासचिव अग्रवाल बताउँछन्। मुलुकभर रहेका ३८ उद्योगले भारतबाट आयातित गहुँ आँटा/मैदा तयार पारी बिस्कुट, चाउचाउ उद्योग ,बेकरी, तन्दुरी/नान, भोजनालय रेष्टुरेण्ट लगायतलाई कच्चा पदार्थको रुपमा बिक्री गर्दै आएका छन्।

रुस–युक्रेन युद्धका कारण खाद्य सुरक्षामा जोखिम बढेपछि र खाद्यान्न महँगी नियन्त्रणका लागि भारतले गत वैशाख ३० गतेदेखि निर्यातमा प्रतिबन्ध लगाएको थियो। तर त्यस्तो प्रतिबन्ध नेपाललाई मात्र लगाएको भने होइन। विशेष सम्झौता भएका बाहेक अन्य सबै मुलुकहरूमा भारतले निर्यातमा प्रतिबन्ध लगाएको छ।

मूल्यवृद्धिको मारमा उपभोक्ता
चोरबाटोबाट भित्रिएको गहुँ व्यवसायीहरूले चर्को मूल्यमा खरिद गरिरहेका छन्। जसका कारण मैदा/आँटाको मूल्य बढीरहेकाले त्यसको प्रत्यक्ष मारमा भने उपभोक्ता परेका छन्। 

६ महिनाको अवधिमा मात्र आँटा/मैदाको मूल्य दोब्बरले वृद्धि भइसकेको संघका सचिव पराजुलीले बताए। “वैशाखतिर प्रतिकिलो ४५/५० रुपैयाँ पर्ने आँटा अहिले ८०/८५ पर्छ, यस्तै मैदा पहिले किलोको ५५ थियो अहिले १०० पुगिसकेको छ” पराजुलीले भने।

बजारमा अवैध तरीकाले भित्रिएको गहुँ व्यापारीहरूले किन्नुपर्दा त्यसको मूल्य बढेको उनले बताए। पूर्णरूपमा आयात खुला भए मूल्य पुनः घट्ने संघको दाबी छ।

माग र आवश्यकता फरक 
वार्षिक करिब चार लाख मेट्रिक टनसम्म गहुँ आयात हुने गरेको भन्सार विभागको तथ्यांक छ। आर्थिक वर्ष २०७७/७८ मा ११ अर्ब ९७ करोड रुपैयाँ बराबरको तीन लाख ८८ हजार मेट्रिक टन गहुँ आयात भएको थियो।

अभाव भएको बेला सरकारले विषेश पहल गरी गहुँको आयात छिमेकी मुलुक भारतबाट खुलाउन खोजेको बेला वार्षिक आवश्कता भन्दा २६६.६६ प्रतिशत बढी गहुँ व्यापारीहरूले माग गरेका छन्। 

गत आर्थिक वर्षमा भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाइसकेको थिएन। उक्त वर्ष ५ अर्ब ६३ करोड रुपैयाँ बराबरको एक लाख ७० हजार ५१७ मेट्रिक टन गहुँ भारतबाट आयात भएको भन्सार विभागको तथ्यांक छ। 

भन्सारको तथ्यांकले संघले दाबी गरे अनुसारको नेपालमा गहुँको वार्षिक मागको परिमाण पुष्टि गर्दैन। गत वर्ष आयात भएको ६९ करोड ५२ लाख ५४ हजार रुपैयाँ बराबरको २१ हजार ६७ मेट्रिक टन गहुँको बीउलाई जोड्दा पनि एक लाख ९१ हजार ५८४ टन आयात भएको देखिन्छ। 

बजारमा साबिकभन्दा गहुँको माग बढेको आंकलन गर्दा पनि दुई लाख टन गहुँबाट वर्षभरि पुग्नेमा उद्योगी व्यापारीले भने आधा आर्थिक वर्ष बितिसकेको अवस्थामा आठ लाख टन गहुँ माग गरेको छ। 

विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा भने बीउको लागि समेत जोड्दा जम्मा २७ करोड ११ लाख ७१ हजार रुपैयाँ बराबरको १ हजार ८९५ मेट्रिक टन गहुँ आयात भएको देखिन्छ।

यस तथ्यांकले भारतको खाद्यान्नसम्बन्धी नीति परिर्वतनले नेपाललाई असर पारेको भने देखिन्छ। नेपालमा घरेलु उत्पादनको गहुँ बजारमा आउन अझै तीन महिना बाँकी छ। त्यति बेलासम्म करिब दुई लाख मेट्रिक टन गहुँ आवश्यक पर्ने व्यवसायीको भनाई छ। उनीहरूले तीन महिनाको लागि आवश्यक भनेको गहुँको परिमाण भन्सारको तथ्यांक भने नेपालको वार्षिक खपत हो। 

भारतबाट नै आयात किन?
विश्वमा प्रमुख गहुँ निर्यातकर्ताको प्रमुख १० मुलुकको सूचीमा भारत नअटाए पनि नेपालमा भने ९९ प्रतिशत गहुँ भारतबाटै आयात हुने गरेको छ। सन् २०२२ मा गहुँ निर्यातकर्ता मुलुकको सूचीको माथिल्लो पंक्तिमा क्रमशः रुस, क्यानडा, अमेरिका, फ्रान्स र युक्रेन, अष्ट्रेलिया, अर्जेन्टिना छन्।

अघिल्लो वर्ष रुसले ४ करोड ३९ लाख ६५ हजार ६२६ मेट्रिक टन गहुँ अन्य मुलुकहरूमा निर्यात गरेको छ। यस्तै क्यानडाले २ करोड २८ लाख, अमेरिकाले दुई करोड २४ लाख गहुँ निर्यात गरेको तथ्यांक छ। 

उत्पादनको हिसाबले चीन विश्वमै पहिलो र भारत दोस्रो स्थानमा पर्दछ। प्रतिबन्ध गर्नुअघि भारतले आफ्नो मुलुकमा भएको खपतपछि वार्षिक करिब ७० लाख टन गहुँ निर्यात गर्दै आएको थियो। 

मैदा उद्योग संघका सचिव पराजुली ढुवानी लागत, भन्सार शुल्क लगायतका कारण भारतबाटै आयात गर्दा सस्तो पर्ने बताउछन्। “मुख्यत लागतकै कुरा हो, भारतसँगको व्यापारमा अनुदानदेखि लिएर छुट छ, सोहीकारण सस्तो पर्ने हुन्छ,” उनले भने।

भारतबाट आयात हुने जुनसुकै कृषिजन्य वस्तुहरूमा ५ प्रतिशत भन्सार शुल्क तिरे पुग्छ, तर अन्य मुलुकबाट मात्र आयात गरे १० प्रतिशत तिर्नुपर्ने हुन्छ। नेपाली मैदा उद्योगहरूले भारतसँगै प्रतिस्पर्धा गर्नुपर्ने भएकाले अन्य मुलकबाट ल्याउँदा मूल्यवृद्धि भई उद्योग नै चल्न नसक्ने अवस्थासम्म आउनसक्ने व्यवसायीहरूको तर्क छ ।

नेपालको उत्पादन कति?
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार, नेपालमा गहुँ उत्पादकत्व प्रति हेक्टर दुई हजार ९९१ किलो छ। वार्षिक सात लाख ११ हजार हेक्टरमा गहुँ खेती हुन्छ। आर्थिक वर्ष २०७४/७५ मा सात लाख ६ हजार ८४३ हेक्टरमा १९ लाख ४९ हजार मेट्रिक टन गहुँ उत्पादन भएको थियो। 

यस्तै, २०७५/७६ मा सात लाख तीन हजार ९९२ हेक्टरमा २० लाख पाँच हजार ६६५ र २०७६/७७ मा सात लाख सात हजार ५०५ हेक्टरमा २१ लाख ८५ हजार २८९ गहुँ उत्पादन भएको मन्त्रालयको तथ्यांक छ। यस्तै, २०७७/७८ मा सात लाख ११ हजार ६७ हेक्टरमा २१ लाख २७ हजार २७६ मेट्रिक टन गहुँ फलेको थियो। यो परिमाण आर्थिक वर्ष २०७६/७७ को तुलनामा भने ५८ हजार १३ मेट्रिक टन कम हो। 

आन्तरिक खपतका लागि आफ्नै उत्पादनले पुग्ने कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताए। आयातीत गहुँ सबै औद्योगिक प्रयोजनका लागि भएको उनको भनाइ छ।


सम्बन्धित सामग्री