Saturday, April 20, 2024

-->

वन्यजन्तुको चोरीसिकारीमा प्रदेशका दुई सांसदकै संलग्नता पुष्टि, ४९ जना दोषी ठहर

पर्सा राष्ट्रिय निकुञ्ज कार्यालयले दुई सांसद र पूर्वगाउँपालिका अध्यक्षसहित ४९ जनालाई वन्यजन्तुको चोरीसिकारीमा दोषी ठहर गरेको छ। चोरीसिकारीमा एक सांसदको बन्दुक र अर्का सांसदको घर प्रयोग भएको थियो।

वन्यजन्तुको चोरीसिकारीमा प्रदेशका दुई सांसदकै संलग्नता पुष्टि ४९ जना दोषी ठहर

काठमाडौँ- वन्यजन्तुको चोरीसिकारीमा मधेश र बागमती प्रदेशका सांसद्वय प्रमोदकुमार जयसवाल तथा श्यामबहादुर खड्कासहित उच्च पदस्थ नै संलग्न रहेको पुष्टि भएको छ। पर्सा राष्ट्रिय निकुञ्जले दुई सांसद र पर्साको सखुवा प्रसौनी गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीप जयसवालसहित ४९ जनालाई वन्यजन्तु चोरीसिकारीमा दोषी ठहर गरेको छ। 

पर्सा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको सैनिक टोली र निकुञ्ज कर्मचारीले गएको पुस ५ गते मृत जरायो र हातहतियारसहित केही व्यक्ति पक्राउ गरेको थियो। उनीहरूमथि अनुसन्धान गर्ने क्रममा वन्यजन्तुको चोरीसिकारीमा उच्च पदस्थहरूकै संलग्नता पुष्टि भएको निकुञ्ज कार्यालयले जनाएको छ।

पर्सा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत (वार्डेन) अशोक रामका अनुसार पर्सा क्षेत्र नं. ३ (१) बाट निर्वाचित जयसवाल, काठमाडौँ क्षेत्र नं. ५ (२) बाट निर्वाचित खड्का र सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जयसवाल मतियारका रूपमा दोषी ठहर भएका हुन्। उनीहरूलाई पक्राउ भने गरिएको छैन।

झापसदास थारू, नवराज बस्नेत, दामोदर अधिकारी, म्लाङदोङ तामाङ, विसाल सहनी, तथा सुलन मियाँ अन्सारी, भोलाबहादुर पुन भने चोरीसिकारीमा संलग्न देखिएको निकुञ्जले जनाएको छ। उनीहरूलाई राष्ट्रिय निकुञ्ज ऐन २०२९ को दफा २६ (३) बमोजिम सजाय हुने छ। उक्त दफाको उपदाफा ३ मा पाँचलाख देखि १० लाखसम्म जरिवाना वा पाँचवर्ष देखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ।

गत पुस ४ गते राति निकुञ्जको सुरक्षामा खटिएको नेपाली सेना र सिकारी टोलीबीच अकुवनियास्थित जंगलमा जम्काभेट भएको थियो। सेनाको टोलीलाई देखेपछि भागेका सिकारीको गाडीको चक्कामा गोली हानेर सेनाले पाँच जनालाई तत्काल पक्राउ गरेको थियो । केही व्यक्ति भने एक घरतर्फ भागेका थिए । पछ्याउँदै गएको सेनाको टोलीले सांसद जयसवालको घरमा छापा मारेको थियो। 

अन्सारी र पुन अनुसन्धानको क्रममा पक्राउ परेका थिए। उनीहरूको बयानका आधारमा सुरक्षाकर्मीले अकवनियास्थित सखुवा सांसद जयसवालको घरमा छापा मार्दा मृत जरायो र हातहतियार बरामद भएको थियो। दुवै सांसद र गाउँपालिका अध्यक्षलाई राष्ट्रिय निकुञ्ज ऐन २०२९ को दफा २७ अनुसार कारबाही हुनेछ। उक्त दफामा कसुर ठहर हुने व्यक्तिलाई जानीजानी मद्दत दिएमा त्यस्ता मतियारलाई कसुरदारलाई हुने सजायको आधा सजाय हुने उक्त दफामा उल्लेख छ।

यो पनि: वन्यजन्तु तस्करीमा मुछिए दुई ‘माननीय’

सांसद जयसवाल, खड्का गाउँपालिकाका पूर्वअध्यक्ष जयसवालका साथै संजीव शाहीलाई साढे दुई लाखदेखि पाँच लाखसम्म जरिवाना र साढे दुई वर्षदेखि सात वर्ष पाँच महिनासम्म जेल सजाय वा दुवै हुन सक्ने वार्डेन रामले बताए। यस घटनामा संलग्न उपेन्द्र यादव, कुमार लामा र विकास सहनीसहित ३४ जना फरार रहेको निकुञ्ज कार्यालयले जनाएको छ। 

सांसद खड्कालाई हातहतियार खरखजना ऐन २०१९ बमोजिम थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सालाई लेखेर पठाइएको पनि वार्डेन रामले जानकारी दिए। खड्काले आफ्नो नाममा दर्ता भएको हतियार अन्य व्यक्तिलाई प्रयोग गर्न दिएर वन्यजन्तुको सिकार भएको देखिएकाले उनलाई हातहतियार खरखजना ऐनअन्तर्गत पनि कारबाही गर्न प्रहरीलाई पत्राचार गरिएको रामको भनाइ छ।

सांसद जयसवाल यसअघि जनता समाजवादी पार्टी (जसपा)मा थिए। निर्वाचनका बेला पार्टीको टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेका थिए। उनको घरबाट मृत अवस्थाको पोथी जरायो, भाले जरायोको टाउको, रातको समयमा हेर्न मिल्ने दूरबिन, १२ बोर बन्दुक, ड्रोन क्यामरा र २२ एमएमका नौ थान गोली बरामद भएको थियो।

निकुञ्ज कार्यालयका अनुसार जयसवालद्वयको घरलाई सेल्टर बनाएर विगतदेखि वन्यजन्तुको चोरीसिकारी हुने गरेको खुलेको छ। पुस ५ मा पनि उनीहरुले पर्सा राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको सिकार गरी उक्त घरमा लग्दैगर्दा सुरक्षाकर्मीले घर घेरा हालेर पक्राउ गरेको थियो।

त्यसक्रममा बा ५ च ७८०५ नम्बरको टोयोटा ल्यान्डक्रुजर जीप, प्रदेश २–०३–००१ च ३०९७ नम्बरको महिन्द्रा कम्पनीको बोलेरो जीपसमेत बरामद गरिएको थियो। त्यसैगरी २ लाख ९६ हजार ६३० नेरु र १ हजार २०० भारु पनि बरामद गरिएको थियो। बरामद गरिएका सामानहरु निकुञ्ज ऐनको दफा २८ अनुसार जफत हुने निर्णयसमेत निकुञ्ज कार्यालयले गरेको छ।


सम्बन्धित सामग्री