Thursday, April 25, 2024

-->

यू–२० महिला साफ च्याम्पियनसिप : उपाधि खडेरी तोड्ने लक्ष्यमा नेपाल

यसअघि यू–१८ र १९ स्वरूपमा भएको साफ महिला च्याम्पियनसिपका तीन संस्करणमा नेपाल उपाधिविहीन रह्यो। यसपटक यू–२० स्वरूपमा हुन लागेको प्रतियोगिताको उपाधिका लागि नेपालको बाधक भारत र बंगलादेश बन्न सक्छन्।

यू–२० महिला साफ च्याम्पियनसिप  उपाधि खडेरी तोड्ने लक्ष्यमा नेपाल
ढाका जान लागेको टोलीको बिदाइ समारोह। तस्वीर: अमित मचामसी/उकालो

काठमाडौँ– सन् २०१८ मा भुटानमा भएको साफ यू–१८ महिला फुटबल प्रतियोगितामा नेपाल फाइलनमा बंगलादेशसँग पराजित भयो। सन् २०२१ मा बंगलादेशमा भएको यू–१९ मा नेपाल सेमिफाइनलमै रोकियो। सन् २०२२ मा भारतमा भएको यू–१८ मा सहभागी तीन देशमा नेपाल तेस्रो भएको थियो।

यसपटक यो प्रतियोगिता यू–२० स्वरूपमा हुँदैछ। माघ २० गतेदेखि बंगलादेशको राजधानी ढाकामा हुने च्याम्पियनसिपमा नेपालले उपाधि जित्ने लक्ष्य लिएको छ। 

चौथो संस्करणको यस प्रतियोगितामा आयोजक बंगलादेशसँगै भुटान, भारत र नेपालले सहभागिता जनाउँदै छन्। नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक यामप्रसाद गुरूङले नेपाली सिनियर टोलीबाट खेलिसकेका प्रिती राई, दीपा शाही र अमिषा कार्कीलाई समेट्दै ढाका उड्ने २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका छन्। उनले नेपालको लक्ष्य उपाधि नै भएको बताएका छन्।

“अपेक्षा त विजेता बन्ने नै हो। छोटो समय भए पनि हाम्रा खेलाडीले राम्रो तयारी गरेका छन्”, मुख्य प्रशिक्षक गुरूङ भन्छन्। सन् २०१८ देखि उमेर समूहको साफ च्याम्पियनसिप शुरू भएयता दक्षिण एसियाली प्रतिस्पर्धामा नेपालको उपाधि यात्रा कहिले बंगलादेश त कहिले भरतबाटै रोकिँदै आएको छ। 

पहिलो संस्करणको यू–१८ प्रतियोगिताको सेमिफाइनलमा नेपालले चिरप्रतिद्वन्दी भारतलाई पेनाल्टी सुटआउटमा ३–१ गोलअन्तरले पराजित गरेको थियो। तर बंगलादेशसँग भएको उपाधि भिडन्तको ४९औँ मिनेटमा मासुरा प्रविनले गरेको निर्णायक गोलले नेपालको उपाधि लक्ष्यमा पूर्णविराम लगाइदियो। 

सन् २०२१ मा बंगलादेशमा आयोजना भएको साफ यू–१९ मा नेपालको प्रदर्शन झनै खस्कियो। उपाधि उचाल्ने लक्ष्यका साथ ढाका पुगेको नेपाली टोली सेमिफाइनलबाट अगाडि बढ्न सकेन। 

आयोजक बंगलादेशसँगै भारत, भुटान र श्रीलंकासम्मिलित सिंगल राउन्ड रोबिनमा खेलिएको प्रतियोगितामा नेपालले दुई खेलमा जित र एउटामा बराबरी गरेको थियो। नेपाल उक्त प्रतियोगितामा तेस्रो स्थानमा खुम्चियो। पहिलो खेलमै साविक विजेता वंगलादेशलाई गोलरहित बराबरीमा रोकेर सनसनी मच्चाएको नेपालले श्रीलंकासँग ६–० र भुटानसँग ४–० गोलअन्तरको जित निकालेको थियो। 

निर्णायक मानिएको चौँथो तथा अन्तिम खेलमा भारतकी प्रियंका देवीले ६७औँ मिनेटमा गरेको गोल निर्णायक हुँदा नेपाल प्रतियोगितामा तेस्रो स्थानम खुम्चियो। त्यसलगत्तै भारतमा आयोजना भएको साफ यू–१९ मा पनि नेपालको प्रदर्शन उल्लेख्य रहन सकेन। 

आयोजक भारतसँगै बंगलादेशले सहभागिता जनाएको र डबल राउन्ड रोबिनमा भएको प्रतियोगितामा नेपाल जितविहीन रह्यो। तीन टोलीसम्मिलत प्रतियोगिताको पहिलो खेलमा भारतसँग ७–१ गोलअन्तरले पराजित भएको नेपाल दोस्रो खेलमा बंगलादेशसँग ४–२ ले पराजित भयो।

तेस्रो खेलमा भारतसँग ५–१ गोलअन्तर र चौथो तथा अन्तिम खेलमा बंगलादेशसँग २–१ ले पराजित भयो। यसपटक आयोजक बंगलादेश, भुटान, भारत र नेपालसहित चार टोलीले सहभागिता जनाउने प्रतियोगिता पुनः सिंगल राउन्ड रोबिनमा हुँदैछ। 

नेपालले माघ २० गते आयोजक बंगलादेशसँग खेल्दै प्रतियोगिताको शुरूआत गर्ने छ। माघ २२ गते भुटानसँग दोस्रो र २४ गते भारतसँग तेस्रो तथा अन्तिम खेल खेल्नेछ।

मुख्य प्रशिक्षक गुरूङले प्राविधिक र मानसिक दुवै पक्षमा केन्द्रित रहेर अभ्यास गरेको बताउँछन्। यस संस्करणमा बलियो भारतसहित बंगलादेश र भुटानविरुद्ध राम्रो खेल्ने उनको अपेक्षा छ।

“१५ दिनजति प्राविधिक विषयमा गृहकार्य गर्‍यौँ। आफ्नो टोलीबीच केही मैत्रीपूर्ण खेल पनि खेल्यौँ”, उनी भन्छन्, “टोलीको प्रदर्शनमा उल्लेख्य सुधार आएको छ, खेल्ने शैलीमा परिवर्तन भएको छ। त्यसैले प्रतिद्वन्दीहरूलाई बलियो चुनौती दिन सक्छौँ।”

भारतले सोमबार घोषणा गरेको २३ सदस्यीय टोलीमा गत वर्ष अक्टोबरमा भएको फिफा यू–१७ महिला विश्वकपमा खेलेका अधिकांश खेलाडीलाई सहभागी गराएको छ। ढाका उड्ने भारतीय टोलीमा विश्वकप खेलिसकेका गोलरक्षकद्वय मोनोलिसा देवी, अञ्जली मुन्डा छन्। यस्तै, डिफेन्डरहरू अस्तम ओराओन, काजल, पूर्णिमा कुमारी, भर्सिका र शिल्की देवीले पनि विश्वकप खेलिसकेका छन्। 

मिडफिल्डर बबिना देवी, नितु लिन्डा, शैलेजा र सुवांगी सिंह तथा फरवार्डहरू अनिता कुमारी, नेहा लेन्डा कोमले पनि विश्वकप खेलेका थिए। आयोजकको हैसियतमा विश्वकप खेलेको भारत समूह चरणमा अमेरिकासँग ८–० ले पराजित भएको थियो। त्यस्तै, मोरक्कोसँग ३–० र ब्राजिलसँग ५–० गोलअन्तरले पराजित भएर पहिलो चरणबाटै बाहिरिएको थियो। 

यद्यपि, उमेर नाघेका कारण विश्वकप खेल्न नपाएका केही खेलाडी पनि ढाका उड्ने भारतीय टोलीमा छन्। तीमध्ये एक हुन्, मिडफिल्डर मार्टिना थोकचोम। उनले गत वर्ष भारतले आफ्नो पहिलो यू–१८ साफ उपाधि जित्दा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्। भारतले एएफसी यू–२० महिला एसियन कप छनोटको समेत तयारी गरिरहेको छ। भरतीय टोलीले करिब सात महिना चेन्नाईमा रहेर प्रशिक्षण गरेको थियो। 

यता, बंगलादेशले पनि केही अनुभवी खेलाडी समेटेर टोलीको घोषणा गर्ने तयारी गरेको छ। जाभियर क्याब्रेराको प्रशिक्षणमा रहेको बंगलादेशको महिला टोलीले सन् २०२२ मा इन्डोनेसिया, बहराइन र तुर्केमिस्तानजस्ता बलियो टोलीहरूविरुछ सन्तोषजनक प्रदर्शन गरेको थियो। 

अघिल्लो संस्करण कोरोना महामारीको कारण फुटबल नखेलेको भुटान पनि यो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै कमब्याक गर्ने तयारीमा छ। त्यसैले प्रतियोगिता प्रतिस्पर्धात्मक हुनसक्नेमा आफू शतर्क रहेको मुख्य प्रशिक्षक गुरूङ बताउँछन्।

“भारत र बंगलादेशसँग विश्वकप खेलिसकेका अनुभवी खेलाडी छन्। उनीहरू प्रदर्शन राम्रै हुन्छ। भुटान पनि टेक्निकल पार्टमा उत्कृष्ट छ”, उनी भन्छन्, “प्रतियोगिता खेल्नका लागि खेल शैलीमा परिवर्तन गर्न चाहेका छौँ। तर, छोटो अवधि भएकाले पुरानै शैलीलाई नै निरन्तरता दिनेछौँ।”

नेपाली राष्ट्रिय टोलीकी कप्तान प्रिति राई प्रतियोगिताको तयारी विगतको भन्दा भिन्न र राम्रो रहेकाले अपेक्षाअनुसार नतिजा निकल्नेमा आशावादी रहेको बताउँछिन्। भारत र बंगलादेशसँग अनुभवी र यू–१७ विश्वकप खेलेका खेलाडी भए पनि सुखद् नतिजाको लक्ष्य राखेर तयारी गरेको उनको भनाइ छ।

“मैले जति खेलेर अनुभव बटुलेको छु, त्योभन्दा धेरै अनुभवी खेलाडी बंगलादेशसँग छ। भारतका खेलाडीले पनि विश्वकप खेलिसकेका छन्। त्यसैले स्वाभाविक खेल खेलेर राम्रो नतिजा निकाल्ने हाम्रो लक्ष्य छ”, उनी भन्छिन्। 

गत वर्ष त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा आयोजना भएको महिला साफ च्याम्पियन्सिपमा नेपाली टोलीबाट मैदान उत्रिएकी प्रितीले गोलका केही अवसर सिर्जना गरेकी थिइन्। अमिषाले समूह चरणको अन्तिम खेलमा श्रीलंकाविरूद्ध दुई गोल गरेकी थिइन्। उक्त खेलमा दीपाले पनि एक गोल थपेकी थिइन्। 

उनीहरू टोलीमा रहेको कारण जितको अपेक्षा गर्न सकिने प्रिती बताउँछिन्। “हामीसँग दुई अनुभवी खेलाडी छन्। म पनि सिनियर टोलीबाट खेलिसकेको छु। यसपटक पनि मिडफिल्ड नै सम्हाल्ने भएको कारण मेरोबाट म बेस्ट दिन्छु”, उनी भन्छिन्।

पछिल्ला तीन संस्करणमध्ये दुईमा बंगलादेशले उपाधि जितेको छ। बंगलादेशले सन् २०१८ मा नेपाललाई १–० गोलअन्तर र २०२१ मा भारतलाई समान नतिजाले हराउँदै उपाधि जितेको थियो। सन् २०२२ मा भारतले पहिलोपटक उपाधि जित्दा गोल संख्यामा बंगलादेशलाई पछाडि पारेको थियो। यसपटक पनि नेपालका लागि भारत र बंगलादेश नै ठूला बाधक बन्न सक्छन्।


सम्बन्धित सामग्री