Thursday, April 25, 2024

-->

गौतमबुद्ध विमानस्थल: सञ्चालनमा पुगेन निजी क्षेत्रको पहल

जजीराले पुस ३ र हिमालय एयरलाइन्सले मंसिर २९ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान बन्द गरेका छन्।

गौतमबुद्ध विमानस्थल सञ्चालनमा पुगेन निजी क्षेत्रको पहल

भैरहवा– गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अहिले सुनसान छ। अन्तर्राष्ट्रिय उडान ठप्प  छ भने राष्ट्रिय उडान पनि न्यून हुँदा विमानस्थलमा चहलपहल घटेको हो। 

गौतमबुद्धबाट नियमित उडानको स्वीकृति लिएको जजीरा एयरलाइन्सले काठमाडौँबाट नै आफ्नो उडान गर्न थालेको छ। भैरहवाबाट उड्न टिकट काटेका यात्रुलाई जजीराले बसमार्फत काठमाडौँ बोलाएर उडाइरहेको छ। विमानस्थल निर्माणपछि यहाँका निजी क्षेत्र निकै उत्साही देखिएका थिए। फलस्वरूप यहाँ अर्बौँ लगानीमा होटल तथा पर्यटनसँग सम्बन्धित अन्य पूर्वाधार निर्माण गरिएका छन्।

तर, विमानस्थल सञ्चालनमै अन्योल आएको भन्दै निजी क्षेत्र निराश छन्। सञ्चालनका लागि निजी क्षेत्रबाट जुन प्रकारको पहल हुनुपर्ने हो त्यो नभएको पाइएको छ। यहाँ विमानस्थल सञ्चालनसँग जोडिएको सुविधा नहुँदा पनि हवाई कम्पनीले उडानमा चासो दिएका छैनन्। श्रम कार्यालय खुले पनि यसमा सहयोग गर्ने मेनपावर, भिसा सेन्टर, स्वास्थ्य परीक्षणलगायत सुविधा नहुँदा यात्रु काठमाडौँबाट नै उडान भर्न रुचाउने गरेका छन्।

निजी क्षेत्रले पर्याप्त पहल गर्न नसकेको विमानस्थलका प्रवक्ता सुभाष झाले बताए। “यात्रुलाई रातको समयमा विमानस्थलसम्म आउने यातायातको साधन छैन, कहिले ट्रकमा त कहिले पैदल नै आउनु परिरहेको छ”, झाले भने, “विदेश जाने यात्रुले सकेसम्म सस्तोमा सुविधा खोजिरहेको हुन्छ, यसतर्फ पनि निजी क्षेत्रको ध्यान जानुपर्छ।” विमानस्थलसँग निजी क्षेत्रको सहकार्य आवश्यक रहेको उनको भनाइ छ। विमानस्थल सञ्चालनमा सहज हुने खालका पर्यटकीय गतिविधि बढाउन, चार्टर उडानहरूलाई भैरहवाबाट गर्न पहल गर्न उनले निजी क्षेत्रलाई आग्रह गरे। 

सिद्धार्थ उद्योग वाणिज्य संघ भैरहवाका अध्यक्ष भीष्म न्यौपाने विमानस्थल सञ्चालनमा भारतको भूमिका अहम् रहेको र यसमा सरकारबाट नै पहल हुनुपर्ने बताउँछन्। “भारत भ्रमणका क्रममा विमानस्थल सञ्चालनमा सहजता ल्याइदिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग लबिङ गरिरहेका छौँ”, न्यौपानेले भने। नेपाल सरकारले जजीराको मात्र भर नपरी नेपाल एयरलाइन्सलाई पनि यहाँबाट उडाउनुपर्ने न्यौपानेको तर्क छ। अर्बौँको लगानी डुब्ने अवस्थामा रहेको भन्दै यसबाट जोगिन पनि विमानस्थल सञ्चालन गर्न आफूहरूको निरन्तर प्रयास रहने व्यवसायी बताउँछन्।

उद्योग व्यापार संगठन रुपन्देहीका निवर्तमान अध्यक्ष नारायणप्रसाद भण्डारी विमानस्थल सञ्चालनका लागि निजी क्षेत्रका संघसंस्थाले साझा अवधारण बनाएर अगाडि बढ्नुपर्ने बताउँछन्। निजी क्षेत्र, ट्राभल एजेन्सी एवं पर्यटनसँग सरोकार राख्ने निकायको सहकार्यले मात्र विमानस्थल सञ्चालनमा ल्याउन सकिने उनको भनाइ छ। हाल अन्तर्राष्ट्रिय उडान गरिरहेका जजीरा र हिमालय एयरलाइन्सले आफ्नो उडान रोकेका छन्। आन्तरिक उडान नियमित हुन सकिरहेको छैन । जजीराले पुस ३ र हिमालय एयरलाइन्सले मंसिर २९ गतेदेखि उडान बन्द गरेका छन्। जजीराले माघ २७ गतेसम्मको समय थप गरेको विमानस्थलका प्रवक्ता झाले जानकारी दिए। 

८०० बिघामा फैलिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग तीन किलोमिटरको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सरहको उडान र अवतरण हुन सक्ने यहाँ चार वटा न्यारोबडी र एउटा वाइडबडी गरी पाँच वटासम्म अन्तर्राष्ट्रिय जहाज पार्किङ गर्न सकिन्छ। भैरहवा विमानस्थलमा हाल अन्तर्राष्ट्रिय वायु सेवालाई आकर्षित गर्न अवतरण शुल्क, बिसान शुल्क, सञ्चार तथा उड्डयन सेवा शुल्क र सुरक्षा जाँच शुल्कमा पहिलो वर्ष शतप्रतिशत छुट दिइएको विमानस्थलले जनाएको छ।

नेपाल वायु सेवा निगमले लिने ग्राउन्ड ह्याण्डलिङ सेवा शुल्कमा ५० प्रतिशत छुट दिइरहेको छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हालसम्म १५४ अन्तर्राष्ट्रिय उडान भएका छन्। यस अवधिमा १३ हजार ५९३ यात्रु आएका र १८ हजार २५ यात्रु गएको विमानस्थलका प्रवक्ता झाले बताए।


सम्बन्धित सामग्री