Friday, March 29, 2024

-->

पर्वतारोहणमा मनपरी
खुला गरिएका हिमालको अनुमति लिएर अर्कै हिमाल आरोहण, उजुरी पर्दा पनि भएन कारबाही

आरोहणका लागि खुला भएको हिमालको अनुमति लिएर खुलै नभएको मनाङको चुलु फारइस्ट चढ्ने आरोही र चढाउने कम्पनीविरुद्ध उजुरी पर्दासमेत कुनै कार्बाही भएको छैन।

खुला गरिएका हिमालको अनुमति लिएर अर्कै हिमाल आरोहण उजुरी पर्दा पनि भएन कारबाही

काठमाडौँ– एउटा हिमालको अनुमति लिएर खुला नै नभएको अर्कै हिमालमा आरोहण गर्दा पनि सरकारले कुनै कारबाही नगरेको खुलेको छ। शेर्पा गाइड्स ट्रेक्स नामको कम्पनीले नेपाल पर्वतारोहण संघबाट २०२२ जुन ९ मा मनाङको ६ हजार ३३७ मिटर अग्लो चुलु इस्ट हिमाल आरोहण गर्ने अनुमति लिएको थियो। तर त्यस हिमाल नजिक पर्ने र अनुमति खुला नै नगरिएको ६ हजार ३० मिटर अग्लो चुलु फारइस्ट हिमाल आरोहण गराएको खुलेको हो।

माउन्टेन एकेडेमी कलेजको ‘मास्टर अफ एड्भेन्चर टुरिजम’को अन्तिम सेमेस्टरका विद्यार्थीलाई उक्त हिमाल आरोहण गराइएको थियो। एकेडेमी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतकै हिमाल सम्बन्धी अध्ययन हुने कलेज हो। 

नेपाल माउन्टेन एकेडेमीका अध्यक्ष उङ्दी छिरिङ शेर्पाले पनि खुला नगरिएको चुलु फारइस्ट हिमालको आरोहण गरिएको स्वीकार गरे। “हाम्रा विद्यार्थी अध्ययनका क्रममा जाँदा आरोहण गरेका हुन्”, उनी भन्छन्, “रिर्सचका लागि जाँदा अनुमति नै लिनुपर्ने जरुरी के भयो र?” 

नेपालका एक हजार ३१० हिमालमध्ये अहिलेसम्म ४१४ वटा आरोहणका लागि खुला गरिएका छन्। त्यसमध्ये ६ हजार ५०० मिटरभन्दा कमका २७ वटा हिमालको आरोहण अनुमति नेपाल पर्वतारोहण संघले दिने व्यवस्था छ।

चुलु इस्ट हिमाल आरोहणका लागि लिइएको अनुमति।

संघका पूर्वअध्यक्ष एवम् नेपालका पुराना पर्यटन व्यवसायी आङछिरिङ शेर्पाका अनुसार नेपालको हिमाली क्षेत्रको पर्यटन प्रवर्द्धन, हिमालमा जाने बाटो, पुल पुलेसो निर्माण, दक्ष जनशक्ति उत्पादन, पर्वतीय पर्यटनमा अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्नेलगायत शर्त राखेर सरकारले २७ वटा हिमाल आरोहणको अनुमति पर्वतारोहण संघलाई दिएको हो। “हामीले सरकारलाई सुदूरपश्चिमका थप १० हिमाल आरोहण खुला गर्न लिखित रूपमा अनुरोध गरेका थियौँ, तर अहिलेसम्म खुला भएको छैन”, उनी भन्छन्। 

संघका अध्यक्ष निमा नोरू शेर्पा खुला नगरिएको हिमाल आरोहणसम्बन्धी उजुरी आएको बताउँछन्। उनी भन्छन्, “सरकारी निकायकै विद्यार्थी चढेका हुन्। यसबारे विस्तृतमा बुझ्नुपर्छ।”

पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेल एउटा हिमालको आरोहण अनुमति लिएर खुला नगरिएको अर्को हिमाल आरोहण गर्न नमिल्ने बताउँछन्। “जसले आरोहण अनुमति दिएको हो, उसले हेर्नुपर्ने विषय हो”, उनले भने, “विभाग कारबाही गर्ने निकाय होइन।”

नेपाल स्वतन्त्र पर्यटक पथप्रदर्शक संघका अध्यक्ष रामकाजी तिवारी एउटा हिमालको आरोहण अनुमति लिएर खुला नगरिएको अर्को हिमाल आरोहण गर्नु गैरकानुनी भएको बताउँछन्। “हामीले यसको जानकारी पर्यटन विभाग र नेपाल पर्वतारोहण संघमा प्रमाणसहित दिएका हौँ, तर अहिलेसम्म कारबाही भएन”, उनी भन्छन्, “आरोहण अनुमति लिने कम्पनी र आरोहणमा संलग्न दुवैलाई कारबाही हुनुपर्छ।”

पर्यटन ऐन २०३५ को परिच्छेद ४ मा रहेको पर्वतारोहण सम्बन्धी व्यवस्थामा कुनै पनि पर्वतारोही दलले ऐन बमोजिम अनुमति प्राप्त नगरी कुनै हिमालचुली आरोहण गर्न नपाउने उल्लेख छ। पर्वतारोहणको लागि सरकारले खुला गरेको हिमालको आरोहण गर्न चाहने पर्वतारोही दलले तोकिएबमोजिम दरखास्त दिनुपर्ने हुन्छ। दरखास्त प्राप्त भएपछि  सरकारले इजाजत दिने व्यवस्था छ।

चुलु फारइस्ट आरोहण गरेका विद्यार्थी (दायाँ) र त्यसविरुद्ध परेको उजुरी।

उक्त ऐनको दफा ३८ (३) बमोजिम अनुमति खुला नगरिएका हिमाल आरोहण गरे सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न लाग्ने दस्तुरको तीन गुणा बढी जरिवाना लाग्ने व्यवस्था छ। सगरमाथा आरोहण गर्न स्वदेशी नागरिकले वसन्त ऋतुमा पूर्वीधारबाट ७५ हजार र पश्चिमीधारबाट ६० हजार रुपैयाँ दस्तुर तिर्नुपर्छ।

उक्त दफाको उपदफा ४ अनुसार नै कोही विदेशीले अनुमति नलिई कुनै हिमालचुली आरोहण गरे वा सो गर्ने प्रयास गरे वा पर्वतारोहणको लागि खुला नगरिएको कुनै हिमालचुली आरोहण गरे वा प्रयास मात्र गरे पर्वतारोही दल वा त्यसको कुनै सदस्यलाई पाँच वर्षसम्म नेपाल प्रवेश गर्न वा १० वर्षसम्म नेपालमा पर्वतारोहण गर्न नपाउने गरी सरकारले प्रतिबन्ध लगाउन सक्छ।

त्यसैगरी, पर्वतारोहण सम्बन्धी प्रबन्ध मिलाउने कुनै संस्थाले ऐन नियमको उल्लंघन गरेमा त्यस्तो संस्थालाई नेपाल सरकारले एक वर्षदेखि पाँच वर्षसम्म पर्वतारोहण सम्बन्धी कुनै किसिमको प्रबन्ध मिलाउन नपाउने गरी रोक लगाउन वा १० हजार रूपैयाँदेखि ५० हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय गर्न सक्छ।

यसअघि पनि आरोहण खुल्ला नगरिएका हिमालमा आरोहण गरिएका थिए। तर पर्यटन विभागसँग त्यस्तो आरोहणको संस्थागत जानकारी नै छैन। विभागको पर्वतारोहण शाखाका विज्ञान कोइराला यसअघि तथ्यांक राख्ने प्रणाली नभएकाले खुला नगरिएका हिमाल आरोहणबारे जानकारी नभएको बताउँछन्। 

तर २०७३ सालमा अमेरिकी नागरिक सेन ब्रुचले खुला नगरिएको हुम्लाको कांगुँ हिमाल आरोहण गरेका थिए। यो हिमाल ६ हजार मिटरमाथिको हो। त्यसबखत २१ दिनमा नेपालका ३१ हिमाल आरोहण गरेको दाबी गरेका उनले मानव पाइला नपरेका हुम्लाका ६ हजार मिटरमाथिका चण्डी र चांला हिमाल पनि आरोहण गरेको दाबी गरेका थिए।

सरकारले अन्तिमपटक सन् २०१४ मा १०४ वटा हिमाल आरोहणका लागि खुला गरेको थियो। त्यसयता हिमाल आरोहण खुला गरेको छैन। संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सहप्रवक्ता टेकनारायण पौडेल हिमाल आरोहण खुला गर्नुपर्ने भएमा पर्वतारोहण संघलगायतका संस्थाहरूको माग हुनुपर्ने र त्यसका आधारमा सरकारले निर्णय गर्ने बताउँछन्।


सम्बन्धित सामग्री