Friday, March 29, 2024

-->

हिमाली संस्कृतिको अनुपम गन्तव्य ‘ल्हाेमन्थाङ’

ल्होमन्थाङलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्नका लागि सम्भावित सूचीमा राखिसकिएको छ।

हिमाली संस्कृतिको अनुपम गन्तव्य ‘ल्हाेमन्थाङ’
तस्वीर: रासस

गण्डकी– मुस्ताङको उपल्लो भेगमा छ, ल्हाेमन्थाङ। नेपालको मरुभूमि भनेर चिनिने यो ठाउँ हिमाली संस्कृति हेर्न र बुझ्न चाहनेका लागि पुग्नैपर्ने गन्तव्य हो।

मौलिक संस्कृतिले भरिपूर्ण ल्हाेमन्थाङको भू–बनोटले पहिलोपटक यहाँ आउनेलाई सपनाको संसार जस्तै अनुभूति गराउँछ। पछिल्लो समय राजनीतिकसँगै सामाजिक व्यवस्थामा परिवर्तन आए पनि ल्हाेमन्थाङमा अहिले पनि परम्परागत नेतृत्व प्रणालीको अभ्यास भेटिन्छ।  गण्डकी प्रदेशको उत्तरी ढोकाको पहिचान बनाएको यो मुस्ताङको उपल्लो थलो ‘ल्हो’ उपत्यका हो। यहाँ ग्रामीण नेतृत्वका रूपमा मुखियाको नियुक्ति तथा परिचालन गर्ने परम्परा धेरै पहिलेदेखि चल्दै आएको अनुसन्धानकर्ता रामचन्द्र बराल बताउँछन्।

बरालको ‘ल्हो राज्यका घेन्पा राजनीतिले सिकाएका पाठ’ शीर्षकको अनुसन्धानमा नेपालको एकीकरण भन्दाअघि भोट र भारतबीच आर्थिक कारोबारका लागि प्रयोग हुँदै आएका पाँच वटा पैदल मार्गमध्ये सबैभन्दा होचो र छोटो मार्गका रूपमा ल्हाेमन्थाङले आफ्नो परिचय बनाएको उल्लेख छ। तत्कालीन भोट–भारत व्यापारका अन्य मार्गमा  केरुङ, ओलाङचुङगोला, हिल्सा र कालापानी रहेको बरालले बताए। ल्हाेमन्थाङ प्रागऐतिहासिक समाजको अध्ययनको पनि महत्त्वपूर्ण थलो रहेको उनको भनाइ छ।

“यहाँका गुफाको जीवन, भेडा तथा चौँरी पाल्ने प्रचलन आदि प्रागऐतिहासिक समाजका जीवन्त प्रमाण हुन्”, उनले भने। तत्कालीन ल्हो राज्यअन्तर्गत यहाँका विभिन्न सात गाउँहरू समेटिएका थिए। जसमा ल्हाेमन्थाङसहित छुनुप, छोसेर, चराङ, सुर्खाङ, घमी र घिलिङ हुन्। यहाँ आउने पर्यटकले ऐतिहासिकस्थलमा रमाउने मात्र नभई हिमाली संस्कार र संस्कृतिका जीवित इतिहास प्रत्यक्ष अनुभूति गर्न पाउँछन्। यहाँ ऐतिहासिक मुस्ताङी राजाको दरबार छ। लोमान्थाङको दरबार, गुम्बा, छोर्तेन, किल्ला र मानव बस्तीका गुफा उपल्लो मुस्ताङको मात्र नभएर नेपालका महत्त्वपूर्ण सांस्कृतिक सम्पदा हुन्।

उपल्लो मुस्ताङमा ल्हाेमन्थाङ दरबार, चराङ दरबार र घमी दरबारले स्वदेशी एवं विदेशी पर्यटकलाई आकर्षित गर्ने गरेका छन्। ल्हाेमन्थाङ दरबारको पर्खालसँगै यहाँका हरेक भागलाई घेरिएको पर्खाल मौलिक विशिष्टता हो। ल्हाेमन्थाङ प्रवेश गर्ने स्थानमा निर्मित प्रवेशद्वारले यहाँको अवस्थितिको संकेत गर्दछ। बौद्ध धर्मगुरु पद्मसम्भवले तान्त्रिक विधिद्वारा यस स्थललाई शुद्धीकरण गर्दै बस्तीयोग्य बनाएको विश्वास पनि कायमै छ।

यहाँ गुरु पद्मसम्भवलाई अत्यन्त श्रद्धाका साथ पुज्ने गरिएको छ। प्रवेशद्वारबाट छिर्नासाथ मौलिकताको प्रत्यक्ष अनुभूति गर्न पाइन्छ। प्राचीन कला, संस्कृति, मानव बस्तीका गुफा र पर्खालले घेरेको सहर नै यहाँको मौलिकता हो। एकैठाउँमा मिलेर बसेको बस्ती र आतिथ्यताले जो कोही पर्यटकलाई लोभ्याउने गरेको छ। विशेषगरी यहाँ तिब्बती संस्कृतिको प्रत्यक्ष अनुभूति गर्न पाइन्छ। मुस्ताङका हरेक गाउँमा मुखिया प्रथा प्रचलनमा रहनु यहाँको अर्को मौलिकता हो। लोमान्थाङमा अझै पनि गाउँलेको आफ्नै कानुन चल्छ। सकेसम्म प्रहरी र अदालतमा नजाने गरी आफ्ना आन्तरिक समस्या गाउँमा नै समाधान गर्ने यहाँको परिपाटी छ।

गुफा, गुम्बालगायतका माटो निर्मित संरचना भएका कारण ल्हाेमन्थाङले माटोको शहरकाे उपमा पाएको छ। पछिल्लो समयमा जलवायु परिवर्तनको असरसँगै हिमाली क्षेत्रको माटो निर्मित संरचना जोगाउने विषय चासो र चिन्तामा परेको छ। हिउँ पर्ने स्थानमा पानी पर्ने क्रम बढ्दै जानुले यहाँका प्राचीन बस्ती एवं मौलिकता जोगाउने चिन्ता बढेको स्थानीयवासी बताउँछन्। दुई वर्षअघि मुस्ताङका लुप्रा, मार्फा, जोमसोम, छैरु, ठिनी, स्याङलगायतका गाउँमा वर्षाले ठुलो असर गरेको थियो। उपल्लो मुस्ताङका अधिकांश स्थानीय दशैँपछि पोखरा झर्छन्। केही पालो गरेर गोठ कुरेर बस्छन्। विद्यार्थी घुम्ती विद्यालयमा पढ्न पोखरा जाने गर्छन्। यहाँका नागरिकको जीविका गहुँ, फापर, उवा, केराउ, साग, आलुलगायतसँग जोडिएको छ। चौँरी, भेँडाच्याङ्ग्रा, गाई, घोडा, हिमाली नागरिकका सुख दुःखका साथी हुन्।

सामान्यतः पानी नै नपर्ने र परिहाले पनि अत्यन्त कम पर्छ। केही समयअघि पानी पर्दा अधिकांश घरमा क्षति पुगेको थियो। घर, गुम्बा एवं बस्तीमा पानी पर्न थालेसँगै आगामी दिनमा यी संरचना कसरी जोगाउने भन्ने चिन्ता थपिएकाे छ। हिउँ नपरे पनि चिन्ता हुन्छ, बढी परे पनि नोक्सानै बनाउँछ। प्रायः चिसो भइरहने कारण माटोले बनाइएका घर वातावरण अनुकूलका मानिन्छन्। जस्तोसुकै हिउँ परे पनि घरभित्र तातो हुनु यहाँको विशिष्टता हो। पछिल्लो समय हिउँ पर्न छोडेर पानी पर्ने क्रम बढ्दा यी ऐतिहासिक स्थलको माटोसँग जोडिएको मौलिकता जोगाउने विषय यतिखेर सर्वत्र चासो बनेको छ। उपल्लो मुस्ताङका ल्हाेमन्थाङ, छोनुप, छोसेर, सुर्खाङ, चराङ, घमीलगायत स्थानमा अत्यन्त कम मात्रामा हिउँ पर्न थालेपछि वर्षेनी खानेपानीको अभाव बढ्दै गएको स्थानीय बताउँछन्।

पानीको चरम अभावसँगै छोसेरको सामजुङ बस्तीलाई आठ वर्षअघि पानीकै खोजीमा नमासुङ गाउँमा स्थानान्तरण गरिएको थियो। ल्होमन्थाङ र आसपासका क्षेत्रमा प्रागऐतिहासिक युगमा मानिसले विभिन्न ढुंगामा खोपेर बनाएका चित्रहरू पाउन सकिन्छ। पुरातत्त्व विभागले उपल्लो मुस्ताङका समर आसपासका स्थानमा ढुंगामा खोपिएका त्यस्ता चित्र संरक्षण पनि गर्दै आएको छ। अहिले यहाँको पुरातात्विक सम्पदाको संरक्षणमा पुरातत्त्व विभागले पनि चासो दिएको छ। ल्होमन्थाङलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि सम्भावित सूचीमा राखिसकिएको छ। पहिले आफैँ विकास निर्माणको काम गर्ने ल्हाेमन्थाङवासी सरकारसँग हात फैलाउन थालेका छन्। ऐतिहासिक स्थल भएर पनि यो क्षेत्र अझै पनि प्रवर्द्धनको पर्खाइमा रहेको ल्होमन्थाङ गाउँपालिकाका पूर्वध्यक्ष सुवर्ण विष्ट बताउँछन्।

सरकारले उपल्लो मुस्ताङलाई चिन्न नसकेको बताउँदै उनले पालिका एवं प्रदेशमार्फत सहयोग गर्न थालिए पनि पर्याप्त हुन नसकेको बताए। “यहाँ पर्यटक लोभ्याउने र भुलाउने धेरै चीज छन”, उनले भने, “यो गाउँका बारेमा प्रचारप्रसार हुनसके पर्यटकको ओइरो लाग्ने निश्चित छ।” स्थानीयवासी पेम्बा विष्टले उपल्लो मुस्ताङमा सरकारले विकासको पूर्वाधारमा ध्यान नदिएको बताए। ल्होमन्थाङमा बाटो, बिजुली, मोबाइल नेटवर्कलगायतमा समस्या रहेको उनले सुनाए।

“राज्यले हामीलाई हेर्ने नजर फरक छ। भौगोलिक विकटता भए पनि सांस्कृतिक सम्पदाले भरिपूर्ण ल्होमन्थाङको गुम्बा, गुफा तथा मन्दिरसँगै पुराना घरलगायतको संरक्षण एवं प्रवर्द्धनका लागि राज्यको आँखा जान आवश्यक छ”, उनले भने।


सम्बन्धित सामग्री