Saturday, April 20, 2024

-->

कुष्ठरोग दिवस मनाइँदै: मधेशमा सबैभन्दा धेरै कुष्ठरोगी

हाल नेपालमा दुई हजार २८५ जना कुष्ठरोगका नयाँ बिरामी पाइएका छन्। यसमध्ये सबैभन्दा धेरै मधेश प्रदेशका छन्।

कुष्ठरोग दिवस मनाइँदै मधेशमा सबैभन्दा धेरै कुष्ठरोगी
सांकेतिक: तस्वीर

काठमाडौँ– ‘कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौँ’ भन्ने मुख्य नाराका साथ आइतबार ७०औँ विश्व कुष्ठरोग दिवस मनाइँदै छ।

कुष्ठरोग आँखाले देख्न नसकिने ‘माइको ब्याक्टेरियम लेप्रे’ नामको सूक्ष्म कीटाणुबाट लाग्ने रोग हो। धेरै मानिसलाई कुष्ठरोगको पहिलो लक्षणका रूपमा छालामा फिक्का दाग आउनु वा औँलाहरु सुनिने गर्दछ। चिकित्सकका अनुसार कुष्ठरोगले स्नायु र छालालाई असर गर्दछ। समयमा उपचार नगरिएमा, यसले स्नायु क्षति, अनुभूति (सनसनी) गुमाउने, हात, खुट्टा र अनुहारको मांसपेशीको पक्षाघात गराउन सक्छ।

विश्वका सय भन्दा बढी देशमा वार्षिक दुई लाखभन्दा बढी व्यक्तिलाई कुष्ठरोगको लक्षण देखिने गरेको छ। सन् २०१० जनवरीमा कुष्ठरोग निवारण भएको घोषणा गरे पनि अहिलेसम्म नेपालमा पूर्णरूपमा कुष्ठरोग निवारण भने भइसकेको छैन। हाल नेपालमा दुई हजार २८५ जना कुष्ठरोगका नयाँ बिरामी पाइएका छन्। यसमध्ये सबैभन्दा धेरै मधेश प्रदेशका छन्।

सरकारी तथ्यांकअनुसार मधेशमा ९१० जना, लुम्बिनीमा ५८१ जना, प्रदेश १ मा ३४५ जना, सुदूरपश्चिममा २०५ जना र कर्णालीमा ६८ जनामा कुष्ठरोग भेटिएको छ। गण्डकी र बागमती प्रदेशमा भने अन्य प्रदेशको तुलनामा कुष्ठरोगीको सङ्ख्या कम छ। १६ जिल्ला अझै कुष्ठरोग मुक्त हुन बाँकी सरकारको तथ्यांक छ। जसमा झापा, मोरङ, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, परासी, रुपन्देही, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र अछाम छन्।

मधेशको सप्तरीबाहेक सबै जिल्लामा कुष्ठरोगका बिरामी भेटिएका छन्। यतिबेला कुष्ठरोग निवारणमा काम गर्ने सरकारी तथा गैरसरकारी संस्था मधेश केन्द्रित भएका छन्। कुष्ठरोग क्षेत्रमा काम गर्दै आएको एनआरएल नेपालले महोत्तरी र धनुषामा कुष्ठरोगको क्षेत्रमा काम गर्दै आएको छ। एनआरएल नेपालले कुष्ठरोग नियन्त्रण (पेप प्लस प्लस) कार्यक्रमअन्तर्गत त्यहाँका ३३ स्थानीय तहमा सचेतनामूलक कार्यक्रम तथा औषधि वितरण गर्दै आएको छ।

“महोत्तरी र धनुषामा रहेका कुष्ठरोगी र सम्पर्क व्यक्तिको पहिचान गरी उनीहरुलाई कुष्ठरोग लाग्न नदिन औषधि खानका लागि सल्लाह दिँदै औषधीसमेत वितरण गर्दै आएका छौँ”, कुष्ठरोग नियन्त्रण कार्यक्रमका संयोजक डा. रविन्द कुशवाहले भने। कुष्ठरोग मुक्त नेपाल घोषणा गर्ने लक्ष्यका साथ सरकारसँग समन्वय गरेर काम गरिरहेको एनआरएल नेपालका कार्यकारी निर्देशक विकासमान सिंहले बताए। अर्को संस्था द ल्याप्रोसी मिसन नेपालले मधेश बारा, पर्सा र रौतहटमा कुष्ठरोगको क्षेत्रमा काम गर्दै आएको छ।

मिसनका कार्यक्रम निर्देशक यामनाथ योगी तीनै सरकारको सहकार्यमा कुष्ठरोग रोकथाममा काम गर्दै आएको बताए। कुष्ठरोगका बिरामी बढी देखिएपछि यसको उपचार तथा रोकथाममा प्रदेश सरकारले पनि चासो देखाएको छ। कुष्ठरोगका बिरामी उपचार गर्नका लालगढ कुष्ठरोग अस्पताल तथा सेवा केन्द्र स्थापना भएको छ। कुष्ठरोगका बिरामी पत्ता लगाउन तथा उपचार गर्न केन्द्रको सहयोगमा हरेक जिल्लामा महिनाको एक दिन कुष्ठरोगको शिविर सञ्चालन गर्न लागिएको मधेश प्रदेशका स्वास्थ्य शाखा प्रमुख डा. मुक्तिनारायण शाहले बताए।

लालगढ कुष्ठरोग अस्पताल तथा सेवा केन्द्रले दैनिक ४०० जना छालाका रोगी तथा कुष्ठरोगीको उपचार गर्दै आएको छ। कुष्ठरोगको लक्षण देखिएका मानिसले समयमै उपचार गरे भयावहको स्थिति सिर्जना नहुने लालगढ अस्पतालका तालिम अधिकृत अरविन्द शाहले बताए। स्वास्थ्य  निर्देशनालयका कुष्ठरोग, क्षयरोग तथा एचआइभी एड्स शाखाका प्रमुख राजवीर यादव कुष्ठरोग नियन्त्रणका लागि राजनीतिक प्रतिबद्धताको खाँचो औँल्याए।


सम्बन्धित सामग्री