Thursday, March 28, 2024

-->

अलराउन्डर गुलशनलाई जुरेको सम्भवतः अन्तिम अवसर

नेपाली क्रिकेटमा प्रायः 'क्राइसिस' परिरहने तीव्र गतिका बलर र तल्लोक्रम ब्याटिङ दुबैमा राम्रो सम्भावना बोकेका गुलशन झाको प्रदर्शन भने त्यस्तो हुन सकेन। राष्ट्रिय टोलीमा उनलाई फेरि त्यो अवसर जुरेको छ।

अलराउन्डर गुलशनलाई जुरेको सम्भवतः अन्तिम अवसर
तस्वीर: गुलशन झाको फेसबुक

काठमाडौँ– नेपाली राष्ट्रिय टोलीबाट डेब्यु गर्ने हरेक खेलाडीको सपना हुन्छ। जसले यस्तो मौका पाउँछन्, त्यसलाई सदुपयोग गर्न उत्कृष्ट प्रदर्शन गर्ने प्रयास गर्छन्। तर, धेरै खेलाडी यसमा सफल हुन सक्दैनन् र बिस्तारै टिमबाट बाहिरिने गर्छन्। युवा अलराउन्डर गुलशन झा पनि यस्तैमा छन्।

घरेलु क्रिकेट प्रतियोगिता आफूलाई उत्कृष्ट खेलाडी साबित गरेका गुलशनले गत वर्ष, २०७८ असोजमा ओमानमा आयोजित आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) सिरिजअन्तर्गत युएईविरुद्धको खेलमार्फत नेपालको सिनियर राष्ट्रिय टोलीबाट डेब्यू गरेका थिए। तर, आशाको किरणस्वरूप हेरिएका उनको पछिल्लोपटक अन्तर्राष्ट्रिय र घरेलु प्रतियोगितामा प्रदर्शन खस्किँदै गएको छ।

तत्कालीन मुख्य प्रशिक्षक डेभ वाट्मोरले युएईविरुद्धको खेलमा अनुभवी तीव्रगतिका बलरद्वय सोमपाल कामी र करण केसीसँगै गुलशनलाई मैदान उतारेका थिए। तर, गुलशनले त्यो मौकालाई सदुपयोग गर्न सकेनन्। पहिलो खेलमा ३१ बल खेल्दै २८ रन बनाएका उनी बलिङतर्फ कमजोर साबित भए। ३ ओभर बलिङ गरेका उनले १०।३३ को इकोनोमीमा ३१ रन खर्चिए। त्यसपछि नेपाली टोलीका तत्कालीन मुख्य प्रशिक्षक वाट्मोर र कप्तान ज्ञानेन्द्र मल्लले गुलशनलाई दोस्रो मौका नै दिएनन्। 

त्यसको करिब ५ महिनापछि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पपुआ न्यू गिनीसँग भएको तीन खेलको एक दिवसीय सिरिजमा पनि उनीमाथि विश्वास गर्ने कोही भएनन्। करणको स्थानमा मैदान उत्रिएका उनले मात्रै १ ओभर बलिङ गर्न पाए भने ब्याटिङमा पालो नै आएन। त्यसयता नेपाली टोलीले २६ एक दिवसीय खेल खेल्दा गुलशनले मात्र ८ खेलमा मौका पाएका छन्। तर, ती खेलमा गुलशनको उपस्थिति तीव्र गतिका सिनियर खेलाडी सोमपाल र करणको जस्तो हुन सकेको छैन।

गुलशन नेपालको टोलीबाट बाहिरिने संघारमा छन्। तर, त्यसभन्दा अगाडि आफूलाई नै प्रमाणित गर्ने मौका उनलाई छ। उनले फागुन १२ देखि १८ गतेसम्म संयुक्त अरब इमिरेट्स (यूएई)मा आयोजना हुने एशियाली छनोट प्रतियोगिता खेल्दै छन्। सन् २०२४ मा श्रीलंकामा आयोजना हुने विश्वकपको खुड्किलोको रूपमा हेरिएको एशियाली छनोटलाई गुलशनले आफूलाई प्रमाणित गर्ने मौकाको रूपमा हेरेका छन्। “पहिला जे–जे भयो म सम्झिन चाहन्न। अब आउने खेलमा केन्द्रित छु”, उनी भन्छन्।

करण र सोमपालको छायामा परेका गुलशन
पूर्वप्रशिक्षक वाट्मोरले नेट प्राक्टिसका लागि बन्द प्रशिक्षणमा बोलाएका गुलशन तीव्र गतिका बलरद्वय सोमपाल र करणको विकल्प मानिन्छन्। उमेरले भर्खरै साढे १७ टेक्न लागेका उनको विशेषता भनेको ‘बाउन्सर’ प्रहार गर्दै विपक्षी खेलाडीलाई ‘पेभिलियन’ पठाउने हो। उनको यही शैलीबाट वाट्मोर प्रभावित भएका थिए। त्यहीकारण उनलाई सिनियर टोलीमा अवसर दिएका हुन्।

तर, वाट्मोर उनलाई यति चाँडो सिनियर टोलीबाट खेलाउन नहुने अडानमा थिए। उनी भन्थे, “गुलशनले सिक्न अझै बाँकी छ। उनलाई सिकाउनकै लागि टोलीमा राखिएको हो।” गुलशन पनि वाट्मोरको कुरालाई अस्वीकार गर्न सक्दैनन्। टोलीमा परिरहेका गुलशन दुई सिनियर खेलाडीहरू सोमपाल र करणबाट सिक्न धेरै बाँकी रहेको बताउँछन्।

“दाइहरू वर्षैदेखि सिनियर टोलीबाट खेलिरहनुभएको छ। उहाँहरूबाट सिक्नुपर्ने कुराहरू धेरै छन्। उहाँहरूको सल्लाह र सहयोगमा लाइन र लेन्थमा सुधार गरेको छु, अरू पनि सुधार गर्नुपर्ने धेरै कुरा छ”, उनी भन्छन्। तल्लोक्रममा क्रिजमा उत्रिएर ब्याटिङ गर्न सक्ने क्षमता राख्ने गुलशनले सिनियर टोलीबाट खेल्दा केही खेलमा उत्कृष्ट फिनिसिङ गर्दै आएका छन्।

तर, सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्धको एक दिवसीय खेलमार्फत राष्ट्रिय टोलीमा डेब्यू गरेका सोमपाल र करणको छायामा भने उनी निरन्तर पर्दै आएका छन्। सोमपालले पछिल्ला २४ इनिङ्समा १३६ रन दिएर ३२ विकेट लिएका छन्। यता, करणले १६ इनिङ्समा ९८ रन बनाएर ३० विकेट लिएका छन्। गुलशनले भने ७ इनिङ्समा १३८ रन बनाएर ८ विकेट लिएका छन्। यसपटक युएई जाने १४ सदस्यीय टोलीमा गुलशनमात्रै तीव्र गतिका बलर हुन्। उनलाई दुई मध्यम गतिका तीव्र बलर दुर्गेश गुप्ता र हेमन्त धामीले साथ दिने छन्। हेमन्त पहिलोपटक यू–१९ टोलीमा परेका हुन्। सुदूरपश्चिमबाट यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता खेलेका हेमन्तले १० खेलमा २१ विकेट लिएका थिए।

एभरेस्ट प्रिमियर लिग (ईपीएल) र नेपाल टी–२० लिग खेलेको अनुभव भएका दुर्गेश पनि लयमा छन्। फारवेस्ट युनाइटेडबाट पहिलो संस्करणको नेपाल टी–२० क्रिकेट प्रतियोगितामा दुर्गेशले तीन खेलमा ६४ रन दिँदै ६ विकेट लिएका थिए। अघिल्लो संस्करणमा विराटनगर ग्लाडियटर्सबाट ईपीएल खेलेका उनको प्रदर्शन हेर्नलायक थियो। उनले ७ खेलमा १० विकेट लिएका थिए। गुलशनले भने २०७८ पुसमा मलेसियामा आयोजित यू–१९ एशिया कप खेलेका छन्। उक्त प्रतियोगितामा गुलशनले तीन खेलमा २६ ओभर बलिङ गर्दै १६० रन दिएर चार विकेट लिएका थिए।

त्यसयता राष्ट्रिय टोलीमा स्थान बनाउँदै आएका गुलशनले पर्याप्त खेल खेल्न पाएका छन्। यता, पछिल्लोपटक त्रिवि क्रिकेट मैदानमा आयोजना भएको नेपाल टी–२० लिगमा पनि उनले क्षमताअनुसार खेल प्रदर्शन गर्न सकेनन्। १० इनिङ्समा उनले ९९ रन बनाए भने ६७ रन दिएर मात्रै २ विकेट लिन सके। सिनियर टोलीको अनुभव बटुलिसकेको भएर पनि होला गुलशनले यू–१९ मा कुनै खेलाडीलाई आफ्नो प्रतिस्पर्धीका रूपमा लिएका छैनन्। “टोलीमा मेरो त्यस्तो कुनै कम्पिटेटर छैन। जसले राम्रो गर्छ उसले खेल्ने हो। मैले शतप्रतिशत दिएर अभ्यास गरिरहेको छु”, उनी भन्छन्।

१८ दिनदेखि अभ्यास गरिरहेका उनले बलिङ, ब्याटिङ र फिटनेसमा सुधार गरेको बताउँछन्। आफूले पनि धेरै मिहिनेत गरेको कारण राम्रो नतिजा निस्किने उनको दाबी छ। “ब्याटिङ, बलिङ र फिटनेस सबैमा सुधार भएको छ। टिम सन्तुलित छ। नेपाल विश्वकपसम्म पुग्छ भन्ने लागेको छ”, उनी भन्छन्। मुख्य प्रशिक्षक जगत् टमाटाको पहिलो रोजाइ पनि उनी नै हुन्।

सिनियर टोलीबाट खेलिसकेका भएको कारण पनि गुलशनले राम्रो खेल प्रदर्शन गर्नेमा उनी ढुक्क रहेका छन्। अधिकांश नयाँ अनुहारसहित मैदान उत्रिने तयारी गरेका उनले गुलशनलाई बलिङका साथै तल्लोक्रम धान्नसक्ने खेलाडीको रूपमा लिएका छन्। “बलिङका साथै उनले ब्याटिङमा पनि मिहिनेत गरेका छन्। राष्ट्रिय टोलीबाट विदेशी भूमिमा खेलेको राम्रो अनुभव पनि छ। उनले दुवैमा उत्तिकै योगदान दिन सक्छन्”, प्रशिक्षक टमाटा भन्छन्।

नेपाल रहेको डिभिजन १ मा युएईसँगै सिंगापुर, कुवेत, हङकङ र मलेसिया छन्। नेपालले फागुन १२ गते सिंगापुर, १३ गते कुवेत, १५ गते हङकङ, १६ गते मलेसिया र १८ गते अन्तिम खेल युएईविरुद्ध खेल्ने छ। विजेता टोलीले २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकप खेल्न पाउनेछ।

उमेर समूहमा बलियो मानिने यू–१९ टोलीले अहिलेसम्म ६ पटक विश्वकप खेलिसकेको छ। सन् २००२ मा श्रीलंकामा आयोजित विश्वकप पहिलोपटक खेलेको नेपाल दोस्रो चरण पुगेको थियो। त्यसपछि नेपालले सन् २००८ सम्म लगातार छनोट हुँदै विश्वकप खेलेको थियो। तर, दोस्रो चरण पुग्न सकेन।

यता, सन् २०१२ मा पनि नेपाल  पहिलो चरणबाटै बाहिरिएको थियो। नेपालले सन् २०१०, २०१४, २०१७ र २०१८ को विश्वकपमा एसियाली छनोट पार गर्न नसकेको नेपाल सन् २०१६ मा भने टमाटाकै प्रशिक्षणमा क्वार्टरफाइनलसम्म पुगेको थियो।


सम्बन्धित सामग्री