Saturday, January 28, 2023

-->

गुल्मीकी शारदाको व्यवसाय: गाउँमै डेरी उद्योग, मासिक १ लाख आम्दानी

“दूधको बजार धेरै राम्रो छ। तर, उत्पादन बढ्न सकेको छैन”, गुल्मीकी शारदा भुसाल भन्छिन्, “पालिकाले यसमा ध्यान दिनुपर्छ।”

गुल्मीकी शारदाको व्यवसाय गाउँमै डेरी उद्योग मासिक १ लाख आम्दानी 
तस्वीर: रासस

गुल्मी– महिलाहरू घरायसी काममा मात्र सीमित हुनुपर्छ भन्ने परम्परा समाजमा छ। तर, यो गलत परम्परालाई तोडेकी छन्, गुल्मी रेसुङ्गा नगरपालिका–८ की शारदा भुसालले।

२०६३ सालदेखि न्यूमैत्री डेरी उद्योग सञ्चालन गरेर उनी जिल्लामै उदाहरणीय बनेकी छन्। उनको डेरी उद्योगबाट दूध खरिद, प्रशोधन र बिक्री हुने गर्छ। दैनिक ३०० लिटर दूध बजारमा पुर्‍याउँछिन्। गुल्मीको चौरासी र अर्घाखाँचीको ढिकुरा, काउलेलगायतका स्थानबाट दूध संकलन गर्छिन्। उनको डेरीमा भैँसीको दूध र यसबाट बनेका परिकारमात्र पाइन्छन्। बजार माग अनुसार आफूसँग उपलब्ध नभएको उनले बताइन्। 

किसानसँग बढीमा प्रतिलिटर ९५ रुपैयाँमा डेरी उद्योगले दिन्छ। यसलाई प्रशोधन गरेर प्रतिलिटर ११० मा बिक्री हुन्छ। दूधबाट दही, पनिर, कुराउनी, छुर्पी र अन्य परिकार शारदा आफैँले बनाउँछिन्। 

डेरीबाट मासिक नौदेखि १० लाखसम्म कारोबार गर्ने उनले सुनाइन्। “त्यसमध्ये एक लाख रुपैयाँ बचत हुन्”, उनले भनिन्, “महिलाले आफैँ व्यवसाय गर्नुपर्छ भनेर निरन्तर मेहनत गरेँ। राम्रो भइरहेको छ।” व्यापार र व्यवसायमा पुरुषमात्र अगाडि सर्ने र महिला अरुकै भर पर्ने बाध्यताको अन्त्यका लागि काम गरेको उनको भनाइ छ। 

शारदाले किसानसँग जोडिनका लागि दुग्ध डेरी सञ्चालन गरेकी हुन्। पछिल्लो समय दूध उत्पादनमा कमी आएको छ। उनले सदरमुकाम तम्घासका दुग्ध व्यवसायी मिलेर सञ्चालन गरेको रेसुङ्गा दुग्ध डेरीमा १२ हजार लिटर दूध खपत गर्ने क्षमता छ। तर जिल्लाभर तीन हजार लिटर दूधमात्र उत्पादन हुने गरेको छ।

आफूले दिनमा एक हजार लिटर दूध खपत गर्नसक्ने उनले बताइन्। माग धान्न नसकेर अर्घाखाँची, पाल्पा र कपिलवस्तुबाट आयात गर्नुपर्ने बाध्यता छ। “दूधको बजार धेरै राम्रो छ। तर, उत्पादन बढ्न सकेको छैन। पालिकाले यसमा ध्यान दिनुपर्छ”, उनले भनिन्।

डेरी उद्योगबाट अहिले प्रत्यक्षरूपमा चार जनाले रोजगार पाएका छन्। दूध संकलन, ढुवानी, प्रशोधन र बिक्रीमा चार जना कामदार राखेको उनको भनाइ छ। डेरीबाट भैँसीको शुद्ध दूध बिक्री हुने भएकाले उपभोक्ता पनि सन्तुष्ट छन्। “मैले डेरीमा व्यवस्थित र गुणस्तर कायम गरेकी छु”, उनले भनिन्, “महिला हुने बित्तिकै परनिर्भर हुने मानसिकता हटाउनुपर्छ।” दूधको रकम  मासिकरूपमा दिँदा किसान झनै सन्तुष्ट हुने गरेका छन्।

कृषि र पशुपालनमा अरूको समेत संलग्नता बढाउन आफू डेरी उद्योगमा लागेको शारदाको भनाइ छ।


सम्बन्धित सामग्री