Friday, April 26, 2024

-->

भोजपुरे खुकुरी: माग बढ्यो, कालिगडको अभाव

भोजपुरका विभिन्न उद्योगमा भोजपुरे, सिरुपाते, बाँसपाते, चित्लाङे, कोचिमुडा, पानवाला, धारखोले, बोखिमेलगायतका खुकुरी बन्ने गरेका छन्।

भोजपुरे खुकुरी माग बढ्यो कालिगडको अभाव
तस्वीर: रासस

भोजपुर– भोजपुरे खुकुरीको माग अन्तर्राष्ट्रिय बजारमा समेत हुने गरेको छ। व्यवसायीले मागअनुसार खुकुरी भने उत्पादन गर्न सकेका छैनन्।

देश, विदेशमा पहिचान बनाएको भोजपुरे खुकुरी दक्ष कालिगड अभावमा मागअनुसार उत्पादन गर्न नसकेको रञ्जिता खुकुरी उद्योगका सञ्चालक गणेश गजमेरले बताए। पुस्तान्तरण नहुँदा खुकुरी बनाउने पेसा लोप हुने अवस्थामा पुगेको उनको भनाइ छ। 

खुकुरी बनाउने पेसा नयाँ पुस्ताको रोजाइमा नपर्दा उत्पादनमा कमी आएको हो। यहाँ भोजपुरे, सिरुपाते, बाँसपाते, चित्लाङे, कोचिमुडा, पानवाला, धारखोले, बोखिमेलगायतका खुकुरी बन्ने गरेका छन्। यस्ता खुकुरी विश्वबजारमा पुग्ने गरेका छन्। खुकुरीको मूल्य आकारअनुसार एक हजारदेखि अधिकतम १० हजारसम्म पर्ने व्यवसायीको भनाइ छ।

अहिले विदेश तथा जिल्ला बाहिरबाट ४०० थानसम्म खुकुरीको माग आइरहेकाे छ। यो मागलाई समेत धान्न समस्या भइरहेको गजमेरले बताए। “भोजपुरे खुकुरीको माग धान्न मुस्किल छ”, उनले भने, “युवा शक्ति विदेश जाने लहरले समस्या भएको हो।” पेसालाई जोगाइराख्न राज्यले विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने खुकुरी उद्योग सञ्चालक हीरा श्रेष्ठले बताए। “पेसालाई जोगाएर अर्को पुस्तामा लैजानुपर्ने चुनौती छ”, उनले भने। बढी मेहनत गर्नुपर्ने र कच्चा पदार्थ अभावले नयाँ पुस्तामा मोह कम भएको कालिगड हर्कबहादुर विश्वकर्माले बताए। भने, “अलिक समयपछि कालिगड पाउन मुस्किल पर्छ।”

मानिसले खुकुरी बनाउने पेसालाई अपहेलन गर्ने भएकाले पनि नयाँ पुस्ताको रोजाइमा नपरेको उनको भनाइ छ। “चार दशक बढी समयबाट यो काम गरिरहेको छु”, उनले भने, “आर्थिक अवस्था कमजोर नै छ। मेहनत बढी गर्नुपर्छ। आम्दानी कम छ।” स्थानीय सरकारबाट पनि प्रोत्साहनमूलक सहयोग नपाएको कालिगड प्रेमकुमार लुवारले बताए। “राज्यबाट सहयोग पाउन सकेका छैनौँ”, उनले भने, “कोइला, बिँड, दापका लागि चाहिने काठ आदिको समस्या हुन्छ। सामुदायिक वनबाट सहजरूपमा ल्याउन पाउने अवस्था छैन।” खुकुरीले पनि मेहनतअनुसारको मूल्य पाउन नसकेको कालिगड बताउँछन्। उनीहरू अहिले बिचौलियाको समेत मारमा पर्ने गरेका छन्।

पुरानो पुस्ताले पुर्खौली पेसालाई संरक्षण गरे पनि राज्यले ध्यान नदिएको टेम्केमैयुङ–५ मझौलेका गोर विश्वकर्माले बताए। भने, “परम्परागत तरिकाबाट फलाम कुटेर परिवार धान्ने अवस्था छैन। राज्यले विद्युत्, फलाम, खुकुरी बनाउन आवश्यक पर्ने मेसिन, उपकरण खरिदमा सहयोग गरे राहत उन्थ्यो। त्यही भएर पनि धेरैले पेसा नै छाडिसके।”

राज्यले यही पेसा गरेर जीवनयापन गर्न सक्ने वातावरण निर्माण गरिदिए पेसाको संरक्षणमा टेवा पुग्ने विश्वकर्माको भनाइ छ। “पेसाको संरक्षण अहिलेको आवश्यकता हो”, विश्वकर्माले भने, “यो पेसालाई सम्मानजनक बनाउन आवश्यक छ।” जिल्लाको पहिचानलाई जोगाउँदै आएको खुकुरी बनाउने पेसा लोप हुँदै जानु दुःखद रहेको उनले बताए।

राज्यले कालिगडको समस्याको पहिचान गरी आवश्यक साथ सहयोगसँगै प्रोत्साहन गर्नुपर्ने उनीहरूको माग छ। गाउँका खुकुरी बनाउने आरन बन्द हुँदा सदरमुकामबाट नै खुकुरी लाने गरेको व्यवसायीको भनाइ छ।


 

 


सम्बन्धित सामग्री