Wednesday, April 24, 2024

-->

जो बने नेपाल र भारत दुवै देशमा बक्सिङको ‘नेसनल च्याम्पियन’

दोस्रो राष्ट्रिय खेलकुदमा जे भयो, त्यो इतिहासमा लेखियो। लोकबहादुर प्रतियोगिताकै ‘सरप्राइजिङ’ खेलाडी बने। तर उनले भारतीय सेनाको जागिर त्याग्न सकेनन् र भारतका अन्तर्राष्ट्रिय खेलाडी भए।

जो बने नेपाल र भारत दुवै देशमा बक्सिङको ‘नेसनल च्याम्पियन’

काठमाडौँ– “पुष्करध्वज शाही प्रतिस्पर्धी भएपछि आमाले नखेल भन्नुभयो। तर जिद्दी गरेर म रिङमा उत्रिएँ। उक्त भिडन्तमा कुटाइ खाने डरले परिवारका कसैलाई पनि खेल हेर्न नआउन भनेको थिएँ। उहाँहरू त सबै आउनुभएछ। दर्शकदीर्घाबाट चिच्याइरहनुभएको थियो– ठोक माइला, ठोक।”

पूर्वबक्सर तथा प्रशिक्षक लोकबहादुर गुरूङ (६०)ले करिब ४० वर्षअगाडिको त्यो घटना बिर्सिएका छैनन्। २०४० सालमा पोखरामा भएको दोस्रो राष्ट्रिय खेलकुदको ५१ केजी फ्लाइवेटमा उनले त्यस बेलाका चर्चित बक्सर पुष्करध्वजलाई क्वारटरफाइनमै पराजित गरेका थिए। 

तर उक्त भिडन्तअघि लोकबहादुरले पुष्करध्वजको नाम सुनेका थिएनन्। लोकबहादुर भारतीय सेनाका जागिरे थिए। त्यसैले नेपालका खेलाडीबारे उनलाई जानकारी थिएन। 

आमाले नै पुष्करध्वजसँग नखेल्न भनेपछि उनको मनमा डर पैदा भएको थियो। तर उनी हार मान्ने स्वभावका थिएनन्। उनले उत्कृष्ट लयमा रहेका बक्सर पुष्करध्वजलाई पराजित गर्दै ‘सर्प्राइज’ जित निकाले। 

“पुष्कर त नेपालका खत्रा बक्सर हुन्। यो फुच्चेले पक्का नकआउट खाने भयो भनेर धेरैले खेलअगाडि मलाई जिल्लाइरहेका थिए”, उनी भन्छन्। उनी पनि पोखराकै भएको कारण अघिल्ला खेलमा भने उनले दर्शकको समर्थन पाएका थिए। तर क्वार्टरफाइनल खेल हेर्न नआउन साथीहरूलाई भनेका थिए।

उनले नआउन भने पनि साथीहरू र आफन्त खेल हेर्न पुगेका थिए। उनको समर्थनमा ‘हुटिङ’ पनि गरिरहेका थिए। तीन राउन्डको प्रतिस्पर्धा पूरा नहुँदै लोकबहादुरले ‘टेक्निकल नकआउट’को आधारमा पुष्करध्वजलाई पराजित गरे। यो खबर पोखरामा मात्रै सीमित रहेन, देशभरि फैलियो।

खेल हेर्न पोखरा झरेका तत्कालीन अधिराजकुमार धीरेन्द्र शाह र तत्कालीन सदस्य–सचिव शरदचन्द्र शाह पनि लोकबहादुरको प्रदर्शनबाट चकित परेका थिए। त्यति बेला धीरेन्द्र र शरदचन्द्रले एक–अर्काको अनुहार हेराहेर गर्दै भनेका थिए रे, “पुष्करलाई हराउने गण्डकीमा नयाँ बक्सर कहाँबाट जन्मियो?”

लोकबहादुरको खेल देखेपछि सेमीफाइनलमा उनका प्रतिस्पर्धीले भिड्ने आँट नै गरेनन्। उनी ‘बाई’ पाएर फाइनलमा पुगे। फाइनलमा उनले अनुप लामालाई सहजै नकआउट गर्दै स्वर्ण पदक जिते। 

सन् १९८० को दशकमा भारतमा अन्य खेलहरूजस्तै बक्सिङ जनतामाझ लोकप्रिय भइसकेको थियो। भारतीयहरूले सेनाको क्वार्टरहरूमा बल प्रदर्शन गर्न मुख्य हतियार नै बक्सिङलाई बनाएका थिए। त्यहाँ विभिन्न ओहदाका सैनिक अधिकारीहरू एकअर्कासँग भिड्ने गर्थे। त्यसमा भारतीय मात्रै होइन, सेनामा जागिर खाएका गोर्खालीहरू पनि बेलाबखत रिङमा उत्रिएर आफ्नो बहादुरी देखाउने गरेको लोकबहादुर बताउँछन्।

लोकबहादुरले पनि भारतमै बक्सिङ सिकेका थिए। उनका बुवा डम्बरबहादुर भारतीय सेनाका अवकाशप्राप्त सुवेदार हुन्। बुवाले दाजु कर्णबहादुरलाई सानैमा आफूसँगै भारत लगेका थिए। भारतमा सेनाको छत्रछायाँमा रहेर हुर्किएका कर्णलाई पनि बक्सर बन्ने ‘भूत’ सवार भयो। बुवासँगै बेलाबखत बिदामा घर फर्किँदा कर्णले टोलका सबैलाई कुटेर हैरान पार्थे। दाजुको त्यही जुझारुपनलाई नजिकैबाट नियालेका उनलाई पनि बक्सिङले आकर्षित गर्यो।

“दाजु घर आउँदा यसरी हान्नुपर्छ, उसोगरी हान्नुपर्छ भनेर विभिन्न मूभहरू देखाउनु हुन्थ्यो। कहिलेकाहीँ टोलका केटाहरूलाई कुटेर दुःख पनि उत्तिकै दिने। दाजुको त्यही बहादुरीपनलाई देखेर मलाई पनि बक्सर बन्ने इच्छा जाग्यो”, उनी भन्छन्।

तर उनलाई बुवाले भारत लैजान आनाकानी गर्न थाले। सानो उमेर, त्यसमाथि परिवार हेर्न पर्ने भएका कारण उनलाई बुवाले आमासँगै घर हेर्ने जिम्मेवारी दिएर भारत फर्किए। उनका दाजु उतै सेनामा भर्ती भए, तर लोकबहादुरजस्तो खेलाडी भने हुन सकेनन्।

उमेरले २६ वर्ष लागेपछि लोकबहादुरलाई पनि सेनामा भर्ती हुन बुवाले बोलाए। बक्सर बन्ने रहर लिएर सन् १९७८ मा गोरखपुरबाट उनी भर्ती भए। “बक्सिङको भूत त मलाई बच्चैदेखि थियो। त्यो भूतले जागिर खाँदासम्म छाडेन। बक्सिङप्रतिको लगावले मैले उतै धेरै सिक्ने अवसर पाएँ”, उनी भन्छन्।

भारतमा हुँदा उनले ४८ केजी लाइट फ्लाइवेटमा खेल्थे। उनी कमान्ड चाम्पियन पनि भइसकेका थिए। संयोग नै मान्नुपर्छ, २०४० सालमा राष्ट्रिय खेलकुद प्रतियोगिता हुनुभन्दा केही दिनअगाडि मात्रै बिदा लिएर उनी पोखरा फर्किए। खेलकुदकको महाकुम्भ मानिने प्रतियोगितामा बक्सिङका खेलाडीलाई प्रशिक्षण दिन दक्षिण कोरियाका प्रशिक्षक किम आएका थिए। उनलाई पनि एकपटक विदेशी प्रशिक्षकबाट प्रशिक्षण लिने रहर लाग्यो।

तर बल्लतल्ल नेपाल आएका उनलाई आमाले रिङमा नउत्रिन आदेश दिइन्। आमाले आराम गर्न भन्दाभन्दै पनि उनी छनोट खेलका लागि गए। “घर बस्दा तीन केजी जति तौल बढेछ। तौल पनि कम हुने र प्रतियोगिता पनि खेल्न पाइने हुनाले ५१ केजी फ्लाइवेटमा उत्रिएँ। खेल पनि जिती पो हालेँ त”, उनी दंग पर्दै भन्छन्। 

यसपछि जे भयो, त्यो इतिहासमा लेखियो। लोकबहादुर प्रतियोगिताकै ‘सरप्राइजिङ’ खेलाडी बने। उनको खेलबाट प्रभावित पूर्वखेलाडी र खेल समीक्षकहरूले नेपालमै बसेर बक्सिङ खेल्न आग्रह गरे। तर रोजीरोटीका कारण उनले भारतीय सेनाको जागिर चटक्कै त्याग्न सकेनन्।

पुष्करध्वज पनि उनको राम्रो साथी भए। “पुष्करध्वजसँग मेरो राम्रो दोस्ती जम्यो। उनले जापानबाट ल्याएको टि—सर्ट र ट्रयाकसुट मलाई उपहार दिए”, विगत सम्झिँदै उनी भन्छन्, “मलाई अझै याद छ, त्यो टिसर्टमा ‘नकआउट’ लेखिएको थियो।”

राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण जितेलगत्तै उनी कर्मभूमि भारत फर्किए। सन् १९८४–८५, १९८५–८६ मा लाइट फ्लाइवेटमा लोकबहादुर भारत च्याम्पियन भए। उनले भारतीय बक्सिङको प्रतिनिधित्व गर्दै सन् १९८५ मा इन्डोनेसियाको जाकार्तामा भएको आठौँ प्रेसिडेन्ट कप खेले। तर घरेलु दर्शकसामु पहिलो बाउटमै इन्डोनेसियाली खेलाडीसँग पराजित भए। 

जाकार्ताबाट फर्किएसँगै लोकबहादुरलाई भारतीय सेनामा हेर्ने नजरमा एकाएक परिवर्तन आयो। उनलाई भारतभित्र र बाहिर हुने प्रतियोगिताको लागि बन्द प्रशिक्षणमा बोलाउन छाडियो। त्यसपछि उनी प्रशिक्षणमा मोडिए। भारतको एनएसएनआईएस पटियालाबाट सन् १९८७–८८मा ‘डिप्लोमा इन बक्सिङ’ कोचिङ कोर्स पूरा गरे।

प्रशिक्षक भएपछि आफ्नो बढुवा पनि हुँदै गएको उनी सुनाउँछन्। उनले प्रशिक्षण दिएका बक्सर लक्का सिंह र देवेन्द्र थापाले सन् १९९८ मा अमेरिकाको सिकागोमा भएको ओलम्पिकमा भारतीय टोलीबाट खेल्ने अवसर पाएका थिए। कमनवेल्थ गेम्समा स्वर्ण जितेका सोमबहादुर पुन पनि उनकै चेला हुन्। हाल अमेरिकामा रहेका देवेन्द्र थापा गत असोजतिर स्याङ्जा आउँदा उनलाई भेट्न पुगेका थिए। 

“म त गुरूलाई भेट्न आएको भन्दै उनी घरैमा आएका थिए। उनले ट्रयाकसुट उपहार पनि ल्याइदिएका छन्”, लोकबहादुरले सुनाए।

उनले भारतीय सेनाको सुवेदार मेजर भएर सन् २००४ मा अवकाश पाए। पाँच वर्ष इराकमा सुरक्षागार्डको काम गरिसकेपछि नेपाल फर्किए। २०७० सालदेखि पोखरामा स्वयमसेवक प्रशिक्षकको रूपमा गण्डकीका खेलाडीहरूलाई निखार्ने काममा उनी तल्लीन छन्। तर, भारतका यी पूर्वअन्तर्राष्ट्रिय बक्सर लोकबहादुरको विगत भने धेरैलाई थाहा छैन। 

उनी भन्छन्, “अहिलेकोजस्तो सञ्चारमाध्यमको पहुँच देशभर पुगेको थिएन। त्यसैले मलाई धेरैले चिन्दैनन् होला। तर म एक खेलाडी हुँ, प्रशिक्षक हुँ। कसैले सोधे भने गर्वको साथ यही भन्नसक्छु।”


सम्बन्धित सामग्री