Saturday, April 20, 2024

-->

मोन्टी देसाईको ‘सरप्राइज प्याकेज’ कुशल

चौथो नम्बरमा ब्याटिङ गर्न आएका बायाँ हाते कुशल मल्ल नेपालको जितमा महत्त्वपूर्ण साबित भए। उनले ६७ बलमा ९ चौका र ४ छक्कासहित ८१ रनको इनिङ्स खेले।

मोन्टी देसाईको ‘सरप्राइज प्याकेज’ कुशल

काठमाडौँ– कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत स्कट्ल्यान्डविरुद्धको खेलमा नेपालले ३ विकेटले जित हात पारेको छ। जारी प्रतियोगितामा घरेलु टोली नेपालको यो लगातार दोस्रो जित हो। मंगलबार नामिबियाले नेपाललाई २८६ रनको कीर्तिमानी लक्ष्य दिएको थियो। उक्त लक्ष्य नेपालले १४ बलअघि नै ८ विकेट गुमाएर पूरा गर्दै पहिलो जित हात पार्‍यो।

मंगलबारको तुलनामा शुक्रबार कम लक्ष्य पाए पनि नेपाललाई स्कट्ल्यान्डविरुद्ध जित निकाल्न निक्कै संघर्ष गर्नुपर्‍यो। २७५ रनको लक्ष्य पछाएको नेपाल स्कटल्यान्डका दायाँ हाते मध्यम गतिका बलर क्रिश सोलेसामू एक समय निरीह देखियो। पहिलो ओभरमै २३ रन खर्चिएका सोलेले उत्कृष्ट ‘कमब्याक’ गर्दा नेपाल एक समयमा ५ ओभरमा ३ विकेट गुमाउँदै ४५ रनमा सीमित थियो।

तर, चौथो नम्बरमा ब्याटिङ गर्न आएका बायाँ हाते कुशल मल्ल नेपालको जितमा महत्त्वपूर्ण साबित भए। उनले ६७ बलमा ९ चौका र ४ छक्कासहित ८१ रनको इनिङ्स खेले।  “नेपालको लगातार विकेट गरिरहेको थियो। यस्तोबेला कुशलले मलाई राम्रो साथ दियो,” दीपेन्द्रसिंह ऐरी भन्छन्।

स्कट्ल्यान्डविरुद्ध मैदान उत्रिएको नेपाली टोलीमा कुशल मात्रै बायाँ हाते ब्याटर थिए। लगातार दायाँ हाते ब्याटर आउट हुन थालेपछि मुख्य प्रशिक्षक मोन्टी देसाईंले ब्याटिङ अर्डरमा केही परिवर्तन गर्दै कुशललाई ‘सरप्राइज प्याकेज’को रूपमा क्रिजमा उतारे।

उनी नियमित रूपमा चौथो स्थानमा उत्रिँदै आएका दीपेन्द्रको स्थानमा क्रिजमा उत्रिएका थिए। नभन्दै उनी देसाईंले सोचेझैँ क्रिजमा फलदायी साबित भए। उनले नेपाली जर्सीमा करिअरको दोस्रो अर्धशतक पनि पूरा गरे। उनको अर्धशतकमा दीपेन्द्र पनि खुशी देखिए। उनले भने, “मलाई प्रशिक्षकले जे भूमिका दिनुभएको छ, त्यही गरिरहेको छु। आज ब्याटिङका लागि मैदान जाँदा पछाडि खेलेर फिनिस गर्ने भूमिका पाएँ,” दीपेन्द्र भन्छन्।

७७–५ को अवस्थामा पुगेको नेपालको इनिङ्स उकास्न दीपेन्द्रले कुशलसँग छैटौँ विकेटका लागि शतकीय इनिङ्स खेले। यो छैटौँ विकेटका लागि दोस्रो उच्च साझेदारी हो। यसअघि गत जुनमा अमेरिकाविरुद्ध भएको खेलमा छैटौँ विकेटका लागि उच्च साझेदारी १०६ रनको बनाएको थियो। आरिफ शेख र सोमपाल कामीले छैटौँ विकेटका लागि उक्त साझेदारी गरेका थिए।

त्यसअघि तीव्र गतिका बलर ब्रेन्डन म्याकुमेलनले फ्याँकेको बलमा कुशलले व्यक्तिगत ६ रनमा जीवनदान पाए। आठौँ ओभरमाको चौथो बलमा उनी ‘कट एन्ड बोल्ड’ आउट हुनबाट जोगिए। उनीले ४२ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै करिअरको दोस्रो अर्धशतक पूरा गरेका हुन्। उनी आउट भएपछि दीपेन्द्र अन्तिमसम्म क्रिजमा रहँदै नेपाललाई ३ विकेटको जित दिलाए।

कुशलको पुनरागमन सिरिज
सन् २०२० मा कीर्तिपुरमै भएको लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले ओमानविरुद्ध पहिलो खेल खेल्दा कुशल तत्कालीन प्रशिक्षक उमेश पटवालको रोजाई परेका थिएनन्। तर, ओमानविरुद्धको खेलमा पहिलो रोजाइमा क्रिजमा उत्रिएका रोहितकुमार पौडेलले खाता नै खोल्न सकेनन्। उनको कमजोर प्रदर्शनका कारण कुशललाई दोस्रो खेलमा भने अमेरिकाविरुद्ध डेब्यू गर्ने मौका मिल्यो।

पूर्वप्रशिक्षक जगत टमाटको हातबाट डेब्यू क्याप सम्हालेका उनले कीर्तिमान अर्धशतक बनाउँदै आफूलाई प्रमाणित गरे। आक्रामक ब्याटरको परिचय बनाएका कुशलले ४९–५ को अवस्थामा रहेको नेपालको इनिङ्स उकास्न विनोद भण्डारीसँग ८४ रनको महत्त्वपूर्ण साझेदारी गरे। कुशलले ५१ बल खेल्दा ४ चौका र ३ छक्काको मद्दतमा कम उमेरमा अर्धशतकको विश्व कीर्तिमान बनाए।

कुशल र विनोदको अर्धशतक मद्दतमा नेपालले अमेरिकामाथि ३५ रनको जित हात पारेको थियो। बलिङमा समेत उत्कृष्ट प्रदर्शन गरेका कुशलले १० ओभरमा १ मेडन राख्दै ३० रन मात्र खर्चेर १ विकेट लिए। त्यसपछि भएको ओमानविरुद्ध खेलमा उनले २४ बलमा २८ रन बनाएका थिए। तर, सन् २०२१ मा नेपालले ओमानको भ्रमण गर्दा कुशलको प्रदर्शन सम्झनलायक भएन। ५ खेलमा खेलेका उनले जम्माजम्मी ७ रन बटुले। उनको सबैभन्दा उच्च स्कोर थियो– घरेलु टोली ओमानविरुद्ध ४ रन।

तत्कालीन प्रशिक्षक डेभ वाट्मोरले उक्त भ्रमणमा नेपाली क्रिकेटको भविष्य मानिएका कुशलबाट निकै आशा गरेका थिए। वाट्मोरले नियमित खेलिरहेका शरद भेषावकर र आरिफ शेखजस्ता अनुभवी ब्याटरलाई बाहिर राखेर कुशललाई क्रिजमा उतारे। तर, उनी आफ्नो भूमिकामा खरो उत्रिन सकेनन्। बलिङमा समेत आत्मविश्वास गुमाएका उनले ११४ रन खर्चिएर ५ विकेट लिए। त्यसयता राष्ट्रिय टोलीमा पर्न उनी पर्न संघर्षरत थिए।

तर, यस सिरिज अगाडि भएको पहिलो संस्करणको नेपाल टी–२० लिगले भने उनको राष्ट्रिय टोलीमा फर्किने बाटो खुल्ला गर्‍यो। अझ भनौँ उनले खेलेका तीन इनिङ्सले उक्त अवसर जुरायो।

पोखरा एभेन्जर्सबाट खेलका उनले ९ इनिङ्समा १८० रन बनाउनुका साथै ९ विकेट लिए। उनले उपाधि विजेता लुम्बिनी अलस्टारविरुद्ध २ ओभर बलिङ गर्दै ८ रन खर्चिएर २ विकेट लिए भने ६१ रन बनाए। त्यस्तै, विराटनगर सुपर किंग्सविरुद्ध ३७ र फारवेस्टन युनाइटेडविरुद्ध ४० बनाए।

आरिफको संयोग
नेपाल क्रिकेट संघ (क्यान)ले नामिबिया र स्ट्ल्यान्डविरुद्धको सिरिज खेल्ने १४ सदस्यीय टोली घोषणा गर्नुअघि कुशल वैकल्पिक खेलाडीको सूचीमा थिए। तर, संयोगवश अर्को दिन क्यानले टोलीको घोषणा गर्ने तयारी गर्दा मध्यक्रमका ब्याटर आरिफ शेख स्वास्थ्य अवस्थाका कारण खेल्न नसक्ने भए। क्यानले उनलाई वैकल्पिक खेलाडीमा राख्ने भएपछि कुशलले राष्ट्रिय टोलीमा पुनरागमन गर्ने मौका पाए।

स्पिन बलिङ र मध्यक्रममा बलियो ब्याटिङ गर्न सक्ने कुशललाई समेट्दै क्यानले माघ २६ गते १४ सदस्यीय टोलीको घोषणा गरेको थियो। नेपाली क्रिकेट टोलीका प्रमुख छनोटकर्ता दीपेन्द्र चौधरीका अनुसार आरिफलाई ‘इन्फेक्सन ज्वरो’ देखिएको थियो। त्यसैले उसलाई ‘रिकभरी’का लागि समय लाग्ने भएपछि कुशलले स्थान बनाए।

नामिबियाविरुद्धको खेलमा कुशलले १२ बल खेल्दै ४ चौकासहित ६ रन बनाए। यस्तै, बलिङतर्फ भने उनले ७ ओभरमा ३५ रन खर्चिएर १ विकेट लिए। शुक्रबारको खेलमा भने उनी धैर्यसाथ खेले। उनलाई अर्को इन्डबाट दीपेन्द्रले बलियो साथ दिए।

“कुशलले अलि एग्रेसिभ खेलिरहेको थियो। मैले उसलाई आफ्नो रेन्जमा आएको बल बाहिर कटाउन सक्छन् भने कटा नत्र  सिंगल रनका लागि खेल भनेँ,” दीपेन्द्र भन्छन्, “यताबाट मैले स्ट्राइक रोटेट गरिरहेको छु, तलाइँ साथ दिन्छु भने।”


सम्बन्धित सामग्री