Wednesday, April 24, 2024

-->

‘ए’ डिभिजन क्लबहरू आर्थिक संकटमा, नाम चलेका खेलाडी छाडेर नयाँ खोज्दै

मनाङ, एनआरटी, सातदोबाटो, हिमालयन शेर्पाजस्ता विगतमा ‘ए’ डिभिजन लिगमा प्रभावशाली प्रदर्शन गरेका क्लब यसपटक राष्ट्रिय टिममा नपरेका र नयाँ खेलाडीको खोजीमा छन्।

‘ए’ डिभिजन क्लबहरू आर्थिक संकटमा नाम चलेका खेलाडी छाडेर नयाँ खोज्दै

काठमाडौँ– घरेलु फुटबलमा मनाङ मर्स्याङ्दीले कीर्तिमानी आठपटक शहीद स्मारक ‘ए’ डिभिजन लिग जितेको छ। यो क्लबले सातपटक राष्ट्रिय लिग, तीनपटक आहा रारा गोल्डकप तथा एक–एक पटक बूढासुब्बा, खुकुरी, झापा, सिमरा र खप्तड गोल्डकप जितेको छ।

मनाङलाई कुनै पनि घरेलु फुटबल प्रतियोगिताको सदाबहार दाबेदार मानिन्छ। तर, यससटक मनाङ ‘ए’ डिभिजन लिगमा ‘लो प्रोफाइल’ टिम बन्दैछ। क्लबको स्थापनाकालदेखि नै ठूला खेलाडी भित्र्याउन तँछाडमछाड गर्ने मनाङले यो सिजन राष्ट्रिय टोलीका खेलाडी नभित्र्याउने भएको छ।

मनाङले आफ्नो प्रतिष्ठा अनुरूप खेलाडी नभित्र्याउनुको पछाडि आर्थिक कारण नै भएको कार्यवाहक अध्यक्ष विजय घले बताउँछन्। घलेका अनुसार मनाङले आर्थिक व्यवस्थापनमा जोखिम लिन चाहेको छैन। “सधैँ राष्ट्रिय टोलीका ठूला खेलाडी भित्र्याएर क्लब टिकाएर राखेका हौँ, तर केही नाफा भएन। अहिले पहिलाको जस्तो स्थिति छैन। क्लब टिकाउन हामीले मात्रै होइन, एन्फा र सरकारले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ”, उनी भन्छन्।

नेपाली फुटबलकै उत्कृष्ट मिडफिल्डर मणि शाहसहित विराटजंग शाही, केसाङ लामा, अजर अधिकारी, राजु गुरुङ, अमीर लामा, अमृतदेव पन्त, मुकेश शाही सम्मिलित अञ्जित बस्नेत नेतृत्वको मनाङले २०४२ सालमा पहिलोपटक उपाधि जितेको थियो। त्यसपछि २०४४, ०४६, ०५७, ०६०, ०६२, ०७० र ०७५ सालमा पनि उपाधि जितेको थियो।

मनाङ पछिल्लो दुई सिजन भने तेस्रो र पाँचौँ स्थानमा खुम्चिएको थियो। स्टार खेलाडी भित्र्याउन अन्य क्लबभन्दा बढी रकम तिर्न तयार हुने गरेको मनाङले पछिल्लो समय आफूसँग भएका चर्चित खेलाडी गुमाउँदै गएको छ। 

२०७६ सालको सिजनमा कप्तान विराज महर्जनसहित सुजल श्रेष्ठ, विशाल राई, विशाल श्रेष्ठ, हेमन गुरुङ, दीपक राई, अफ्रिकी मूलका एडेलेजा सोमिडेलगायत चर्चित खेलाडीले मनाङ छाडेका थिए। यसपटक अन्जन विष्ट, विमल राना, पुजन उपरकोटी, दिनेश राई, दिनेश राजवंशी, रुपेश केसीलगायत खेलाडीले क्लब छाडेका छन्। दिनेश र विमल अस्ट्रेलिया पुगेका छन्।

यसपटक मनाङमा दीप कार्की, जियारत शेख, आशिष गुरूङ, चेतनकुमार थारू, सरोज योञ्जन लामा, मानबहादुर तामाङ, रन्दीप पौडेल, सुमित श्रेष्ठ, जय गुरूङ छन्। त्यस्तै, कमल थापा, विजय श्रेष्ठ, विसन गुरूङ, रमेश थापा, प्रशान्त श्रेष्ठ, निराजन मल्ल र रोशन रानामगर पनि क्लबमा छन्। 

“मनाङ ठूलो टिम हो। यसपटकको जिम्मेवारी चुनौतीपूर्ण छ। खेलाडीको संरचना पनि फरक छ। यसअघि राष्ट्रिय टिमका खेलाडी धेरै हुन्थे। अहिले पूरै युवा खेलाडीको टिम छ”, मुख्य प्रशिक्षक किरण श्रेष्ठ भन्छन्।

नेपालको पुराना क्लबमध्येको एक न्यूरोड टिम (एनआरटी)को कथा पनि मनाङको भन्दा भिन्न छैन। एनआरटीले २०१७, ०१९, ०३५ र ०५२ सालमा ‘ए’ डिभिजन लिग उपाधि जितको थियो। २०६७ र ०७८ सालको लिगमा तेस्रो भएको थियो।

यसपटक क्लबले नाम चलेका खेलाडी भित्र्याउने योजना बनाएको छैन। यसअघि क्लबमा आबद्ध पुराना खेलाडीसँगै युवा खेलाडी लिएर लिग खेल्ने एनआरटीको योजना छ। “हामीसँग पहिलाका केही खेलाडी छन्। केही नयाँ युवा खेलाडी पनि भित्र्याउन पेपरवर्क गरिरहेका छौँ। तर सिनियरभन्दा जुनियर खेलाडी ल्याउने योजना छ”, क्लबको व्यवस्थापन हेरिरहेका मुरारी केसी भन्छन्।

पछिल्लो सिजन पनि एनआरटीसँग चर्चित खेलाडी थिएनन्। एनआरटीले दर्शन गुरूङ, विशाल राई, रञ्जन विष्ट, क्रितिशरत्न छुन्जु, लक्ष्मण गुरूङलगायत खेलाडीलाई मैदान उतारेको थियो। क्लबलाई मेसुके ओलुमोउ र स्टेफेन विनोङ समिरले बलियो साथ दिएका थिए। दर्शन गुरुङ अस्ट्रेलिया गएको कारण उनी लिगमा उपलब्ध हुने छैनन्।

पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल)मा आठ गोल गरेका मेसुकेले एनआरटीबाट पनि उत्तिकै उत्कृष्ट खेल प्रदर्शन गरेका थिए। अघिल्लो वर्षको लिगमा एनआरटीलाई तेस्रो बनाउन उनले आठै गोल गरेका थिए। 

एनएसएलमा तीन गोल गरेका समीरले ‘ए’ डिभिजन लिगमा गोल गर्न सकेका थिएनन्। उनले तीन गोलमा ‘असिस्ट’ गरेका थिए।

हालै पोखरामा सम्पन्न आहा रारा पोखरा गोल्डकपमा अर्काे ‘ए’ डिभिजन क्लब संकटालाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका यी दुई खेलाडीले क्लब छाडिसकेका छन्। उनीहरूलाई गत सिजन ‘बी’ डिभिजन लिगमा दोस्रो भएर पहिलोपल्ट शीर्ष डिभिजनमा उक्लिएको एफसी खुमलटारले अनुबन्ध गरेको छ।

अधिकांश साना क्लबको अवस्था उस्तै
अखिल नेपाल फुटबल संघ (एन्फा)ले लिगलाई बलियो बनाउन उपाधि विजेता टोली र क्बलहरूलाई तयारीस्वरूप दिइने खर्चमा वृद्धि गरेको छ। ‘डबल राउन्ड रोबिन’को आधारमा हुने लिगको विजेताले ७५ लाख रुपैयाँ पाउने छन्। दोस्रो हुनेले ५० र तेस्रो हुनेले २५ लाख पाउने एन्फाले जनाएको छ। 

एन्फाले लिग तयारी खर्च साढे ३२ लाख दिएको छ। पहिलो किस्तामा पाइने १५ लाख १४ वटै शीर्ष डिभिजनका क्लबहरूले बुझिसकेका छन्। 

तर संकटा, विभागीय टोलीहरू नेपाल पुलिस, त्रिभुवन आर्मी, शसस्त्र प्रहरी बलको एपीएफ र भर्खरै ‘ए’ डिभिजनमा उक्लिएका खुमलटार तथा चर्च व्बाइजबाहेक अन्य क्लब मनाङ र एनआरटीकै हालतमा छन्। साविकको विजेता मछिन्द्र, तीन पटकको विजेता थ्रीस्टार, हिमालयन शेर्पा, सातदोबाटो युथ क्बल, जावलाखेल युथ क्लब र रेलिगेसनबाट मुस्किलले बचेको फ्रेन्ड्स क्लबले लिग शुरू हुन दुई महिना बाँकी हुँदा कोही पनि नयाँ तथा सिनियर खेलाडी भित्र्याउने तयारी गरेका छैनन्।

जावलाखेल युथ क्बलका अध्यक्ष महेन्द्र क्षेत्री अघिल्लो सिजन युवा खेलाडीहरूले नै राम्रो प्रदर्शन गरेको कारण सिनियर खेलाडी भित्र्याउने योजना नरहेको बताउँछन्। “पछिल्लो सिजन हामीले लक्ष्यअनुसार नै खेल प्रदर्शन गरेका थियौँ। हाम्रो युवा खेलाडीले पनि राम्रै खेले। हामीसँग उक्त सिजन खेलेका केही खेलाडी छन्। त्यसैले खासै नयाँ खेलाडी ल्याउने योजना छैन”, उनी भन्छन्। 

गत सिजन ‘सिंगल’ राउन्ड रोविनको आधारमा भएको लिगमा अंक तालिकामा नवौँ स्थानमा रहेको जावलाखेलले १३ मध्ये तीन जित, पाँच बराबरी र पाँच हार बेहोर्दै १४ अंक जोडेको थियो। यसपटक भने त्यो स्थानभन्दा माथि उक्लिने लक्ष्य राखेको जावलाखेलले ‘ब्याकअप’ खेलाडीको रूपमा केही ‘जुनियर’ खेलाडी भित्र्याउने योजना बनाएको क्षेत्री बताउँछन्।

गत वर्ष ‘ए’ डिभिजन लिगमा प्रवेश गरेको सातदोबाटो पनि जुनियर खेलाडीकै खोजीमा छ। कप्तान मानबहादुर तामाङ तथा केही खेलाडीले क्लब छाडेका र केही विदेश पुगेकाले युवा खेलाडीलाई मौका दिने तयारी रहेको महासचिव सुनिल विष्ट बताउँछन्। 

“फुटबल नामले भन्दा पनि क्षमताले खेल्ने हो। अघिल्लो सिजन खेलेका केहीले क्बल छाडिसकेका छन्। अहिले उनीहरूको स्थानमा यु—१८ र यु—२० का नयाँ खेलाडी भित्र्याउने योजना बनाइरहेका छौँ”, उनी भन्छन्।

गत वर्ष मनाङ र थ्रीस्टारजस्ता क्लबलाई पराजित गरेको सातदोबाटो ‘जायन्ट किलर’को रूपमा उदाएको थियो। सातदोबाटोले १३ खेलमा ६ जित, तीन बराबरी र चार हार बेहोरेको थियो। सातदोबाटो अंक तालिकमा चौँथो स्थानमा थियो।

अहिले सातदोबाटोले प्रशिक्षक मेघराज केसीलाई नै निरन्तरता दिएको छ। उमेर समूहका सबैजसो राष्ट्रिय टोलीलाई उनले प्रशिक्षण दिइसकेका छन्। उनले यही वर्ष एएफसी यू–२० एसियन कप छनोटको लागि राष्ट्रिय टोली सम्हालेका थिए। प्रशिक्षक केसीसँग छलफल गरेर केही विदेशी खेलाडी ल्याउने र नेपाली भने युवा खेलाडी नै प्राथमिकतामा राख्ने उनी बताउँछन्।

“राम्रो टिम बनाउन डेढ करोड रुपैयाँभन्दा बढी लगानी लाग्छ। लगानी गरेको पैसा पुरस्कार राशीबाट उठाउन गाह्रो छ। अघिल्लो वर्ष युवा खेलाडीको बलबुतामा खेल्यौँ। यसपटक पनि त्यसैलाई निरन्तरता दिन्छौँ”, उनी भन्छन्।

लिगमा दर्शक तान्न चुनौती
अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईका अनुसार तीन महिनाको ‘ए’ डिभिजन लिग चलिरहँदा बीचमा ‘ब्रेक’ दिएर मोफसलको फुटबललाई चलायमान गर्ने योजना छ। एन्फाले यसरी लिग रोकेर मोफसलका प्रतियोगिता चलाउन दिए कतिपय राष्ट्रिय टोलीका खेलाडी आफू अनुबन्ध भएका क्लबबाहेक अरूबाट खेल्न पाउने छैनन्।

यता, सबै ‘ए’ डिभिजन क्लबले मोफसलका नकआउट प्रतियोगिता खेल्छन् भन्ने छैन। यसको असर खेलाडीको आयमा पर्नेछ। उनीहरूलाई चित्त बुझाउन पनि ठूलै रकम खर्चिनु पर्ने बाध्यता क्लबलाई छ। यसपालि ठूला क्लबले राष्ट्रिय खेलाडीमुक्त गरेर मध्यमस्तरका युवा खेलाडी भित्र्याउन खोज्नुको कारण यो पनि रहेको हुनसक्ने फुटबल विज्ञहरू बताउँछन्।

चलेका क्लबले सिनियर खेलाडीभन्दा जुनियरलाई बढी प्राथमिकतामा राख्दा लिगको आकर्षण हराउने एकथरीको तर्क छ। २०७२ सालको भूकम्पपछि आकर्षण खस्किएकाले लिगलाई लिएर आशंका गर्नु जायज रहे पनि केही असर नगर्ने ‘ए’ डिभिजन लिगका निर्देशक तथा खेल विश्लेशक सन्जीव मिश्र बताउँछन्।

“नेपालमा पहिला त फुटबल खेलाडीकै नामले चल्थ्यो। अहिले अवस्था फेरिएको छ। कतिपय राष्ट्रिय टोलीमा परेका खेलाडी विदेश छन्। तिनीहरूको स्थानमा पनि नयाँ खेलाडी ल्याउनुपर्ने अवस्था छ। तर विदेशमा जस्तो क्लबले प्रचारप्रसारमा ध्यान दिए राम्रै साथ पाइन्छ”, उनी भन्छन्। 

एन्फाले गतवर्ष काठमाडौँमा मात्रै सिमित रहेको लिगका तीन खेल मनाङको घरेलु मैदान पोखरामा पनि खेलाएको थियो। उक्त खेलमा मनाङलाई साथ दिन आउने पोख्रेली दर्शक धेरै थिए। यसपटक पनि एन्फाले उपत्यकाबाहिर समेत लिग गराउने तयारी गरेको छ। यसरी लिग गराए स्थानीयस्तरबाट खेल्दै आएका नयाँ प्रतिभालाई स्थानीय दर्शकले पनि हेर्न पाउने मिश्र बताउँछन्।


सम्बन्धित सामग्री