Friday, April 19, 2024

-->

पृथ्वी जयन्तीमा बिदा : १६ वर्षअघि सिटौलाको पहलमा खारेज, प्रचण्डले फेरि ब्युँताए

तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलाको पहलमा पुस २७ को सार्वजनिक बिदा २०६३ सालदेखि खारेज भएको थियो। २०७४ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले पुनः दिएको बिदा २०७५ बाट केपी ओलीले हटाएका थिए।

पृथ्वी जयन्तीमा बिदा  १६ वर्षअघि सिटौलाको पहलमा खारेज प्रचण्डले फेरि ब्युँताए

काठमाडौँ- ‘राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती’को बिदा बिरानो भइसकेको थियो। बिदाको प्रसंग र बहस भने चलिरहन्थ्यो। यो बिदा दोस्रो जनआन्दोलनको सफल भएकै वर्ष २०६३ सालमा खारेज भएको थियो। त्यसयता सरकारले १६ वर्षमा दोस्रोपटक पुस २७ गते फेरि सार्वजनिक बिदा दिएको छ।

गएको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। मन्त्रिपरिषद्ले ‘नेपालको भौगोलिक एकीकरणको ऐतिहासिकतालाई स्मरण र सम्मान गर्दै’ बिदा दिने निर्णय गरेको हो। राप्रपाको मागअनुसार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले बिदा दिने निर्णय गरेको छ।

राप्रपाले सरकारमा जानका लागि पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माता स्वीकार गरेर सार्वजनिक बिदा दिनुपर्ने सर्त अघि सारेको थियो। राप्रपाको पदाधिकारी तथा सचिवालय बैठकले अन्य सर्तसहित पुस २७ मा बिदा दिइनुपर्ने माग पनि गरेको थियो।

गत वर्षसमेत राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको टोलीले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर पुस २७ गते बिदा दिन माग गरेको थियो। संसद्‍मा जम्मा एक सिट भएको र सरकारमा पनि सहभागी नभएको राप्रपाको मागलाई देउवा सरकारले सम्बोधन गरेको थिएन।

गत वर्ष पुस १८ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै राजेन्द्र लिङदेन।

इतिहासकार रमेश ढुंगेलका अनुसार पृथ्वीनारायण शाहको जन्म तथा देश एकीकरणको इतिहास लामो रहे पनि उनको जन्मदिनलाई राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती मनाउने चलन पुरानो होइन। २००९ सालमा योगी नरहरिनाथले ‘पृथ्वीनारायण शाहको दिव्योपदेश’ पत्ता लगाइ प्रकाशित गरेपछि पृथ्वीनारायणको महत्त्व अझै बढेको थियो। 

काठमाडौँको केला टोलमा रहेको तिलंगा भवन (असनको पल्टनघर)मा दिव्योपदेश फेला परेको ढुंगेल बताउँछन्। उक्त भवन पृथ्वीनारायणका सेनापती शिवरामसिंह बस्नेतको घर हो। उनका सन्तती बखतमानसिंह बस्नेतले दिव्योपदेश राखेका थिए।

दिव्योपदेश भेटिएपछि पृथ्वीनारायण शाहको सम्मान पनि बढेको संस्कृतिविद् जगमान गुरुङ बताउँछन्। पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भने राजा महेन्द्रको पालादेखि मनाउन थालिएको उनको भनाइ छ। यसपटक मनाउन लागिएको ३०१औँ पृथ्वी जयन्ती हो।

नेपालमा १०४ वर्ष राणा शासन व्यवस्था चल्यो। इतिहासकार डा. राजेश गौतमका अनुसार राणाहरूले राजाको इतिहास बेवास्ता गरेर आफ्नो इतिहास बनाउन थालेका कारण पृथ्वी जयन्ती सम्झिइएन। 

महेन्द्रले चलाएर करिब आधा शताब्दीदेखि मनाउँदै आएको पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस २०६३ सालमा ‘ब्रेक’ लाग्यो। त्यति बेला गृहमन्त्रीस्तरीय निर्णयबाट पुस २७ को सार्वजनिक बिदा कटौती भएको थियो।

‘एन्टी पृथ्वीनारायण’ लहर 
सशस्त्र संघर्षको समयदेखि नै खासगरी तत्कालीन नेकपा माओवादीबाट पृथ्वीनारायण शाहको ‘खलनायकीकरण’ शुरू भएको थियो। त्यसलाई मलजल भने २०६४ सालमा भएको पहिलो मधेश आन्दोलनले गरेको थियो। खसआर्यको वर्चश्व कायम हुनु र अन्य जातजाति सीमान्तकृत हुनुको दोष पृथ्वीनारायणको राज्य विस्तार अभियानलाई ठहर्‍याइएका कारण जनजाति, मधेशी, दलित समुदायमा पृथ्वीनारायणविरोधी मत तयार भएको इतिहासकारहरू बताउँछन्।

त्यही मेसोमा तत्कालीन गृहमन्त्री सिटौलाको पहलमा पुस २७ लाई राष्ट्रिय एकता दिवसको मान्यता खारेज गरेर बिदा कटौती गरिएको थियो। त्यतिबेला गिरिजाप्रसाद कोइरालाको निर्देशनमा सिटौलाले बिदा कटौती गरेको कांग्रेसका एक नेताले बताए।

एमाले अध्यक्ष केपी ओली पृथ्वीनारायणको तस्वीरमा माल्यार्पण गर्दै। फाइल फोटो

तर, त्यसको केही वर्षपछि नै पृथ्वीनारायणलाई राष्ट्रनिर्माता मान्नुपर्ने र पुस २७ मा बिदा दिनुपर्ने आवाज उठ्न थालेपछि पक्ष र विपक्षमा विवाद हुन थालेको इतिहास र संस्कृतिका अध्येता सुनील उलक बताउँछन्। कांग्रेस र एमालेमा पृथ्वीनारायणलाई नायक मान्नुपर्ने मत बलियो भए पनि तत्कालीन लहरअनुसार बग्न ती पार्टीका कतिपय कार्यकर्ता मौन भए। तर, समय बित्दै जाँदा उनीहरू पृथ्वीनारायणको पक्षमा बोल्न थालेको उनको भनाइ छ।

२०७१ सालमा नेपाली सेना तथा प्रहरीले भने पृथ्वी जयन्तीमा विभिन्न झाँकी प्रस्तुत गरेर मनाउन थालेका थिए। सरकारीस्तरबाट पनि सिंहदरबारअघि सालिकमा सम्मानार्थ माल्यार्पणलगायत कार्यक्रम भए। तर सार्वजनिक बिदा र औपचारिक समारोह भने हुँदैन थिए।

सत्तामा पुग्दा मात्रै सम्मान र बिदा
जब राप्रपा सत्तामा पुगेको छ, सोही समय मात्र पृथ्वीनारायण शाहको सम्मानार्थ पुस २७ मा सार्वजनिक बिदा र उनलाई ‘राष्ट्रपिता’ मान्नुपर्ने आवाज उठ्ने गरेको छ।

दोस्रो जनआन्दोलन भएको ११ र गणतन्त्र आएको १० वर्षपछि २०७४ सालमा पहिलोपटक पृथ्वी जयन्तीमा बिदा दिइएको थियो। त्यतिबेला नेपाली कांग्रेसका शेरबहादुर देउवाको नेतृत्वको सरकारमा राप्रपा पनि सामेल थियो। कमल थापा उपप्रधानमन्त्रीसहित उर्जामन्त्री थिए। उनकै जोडबलमा देउवा नेतृत्वको सरकारले बिदा दिने निर्णय गरेको थियो।

उक्त वर्ष राष्ट्रपति विद्यादेवी भण्डारी भने सिंहदरबारअगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न पुगेकी थिइन्। गणतन्त्रपछि राष्ट्रपतिले पुस २७ गते पृथ्वीनारायणको सालिकमा माल्यार्पण गरेको यो नै पहिलोपटक थियो।

फाइल तस्वीर

देउवा नेतृत्वको सरकार ढलेपछि २०७४ फागुन ३ गते एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भए। उनले २०७५ सालदेखि पृथ्वी जयन्तीको बिदा काटिदिए। पाँच वर्षपछि फेरि सरकारले सार्वजनिक बिदा दिएको छ।

यसपटक पनि राप्रपालाई सरकारमा ल्याउन बिदाको निर्णय गरिएको हो। प्रधानमन्त्री दाहाललाई मंगलबार विश्वासको मत दिनुअघि संसद्मा बोल्दै राप्रपा अध्यक्ष लिङदेनले पृथ्वीनारायण शाहको जन्म जयन्तीमा सार्वजनिक बिदा दिएको भन्दै सरकारलाई धन्यवाद दिए। राष्ट्र निर्माताको रूपमा पृथ्वीनारायण शाहलाई सम्मान गर्न कुनै प्रकारको हीनताबोध गर्न नपर्ने उनले बताएका थिए।

यो राप्रपाको ‘पपुलिस्ट’ निर्णय नभई लामो समयदेखिको अडान भएको प्रवक्ता मोहन श्रेष्ठ बताउँछन्। “कमल थापाले सत्ताको मोहमा परेर राजा चाहिँदैन भन्ने खालका अभिव्यक्ति पनि दिएका थिए। त्यसले उनैलाई पलायन गरायो। उनी समयसमयमा चिप्लिएको मान्न सकिन्छ। तर राप्रपा आफ्नो अडानबाट विचलित भएको छैन”, उनले भने। सरकारले गरेको निर्णयलाई राप्रपाले सकारात्मक रूपमा लिएको उनले बताए।

‘राष्ट्र निर्माता’को जन्मदिन मनाउने विषय राजनीतिक उद्देश्यबाट प्रेरित हुन नहुने इतिहासकार डा.गौतम बताउँछन्। राजनीतिक दल तथा नेताहरूको लडहीपन देखाएको उनको भनाइ छ। 

“सबैभन्दा पहिलो कुरा पृथ्वनारायण शाहले राष्ट्रको एकीकरण नगरेको भए सम्भवतः यो राष्ट्र निर्माण नहुन पनि सक्थ्यो”, उनी भन्छन्, “बिदा दिने वा नदिने विवाद गरेर राष्ट्र निर्माताप्रति अनावश्यक व्याख्या राख्नु नेताहरूको सस्तो लोकप्रियता ठहरिन जान्छ।” 

पृथ्वीनारायण शाहलाई उनका कामका लागि समर्थन गर्दा सबै राजनीतिक पार्टी राजावादी भएको मान्नु स्वाभाविक नहुने डा.गौतम बताउँछन्। यसबाट राजसंस्था नफर्कने र लोकतन्त्रको मर्म पनि नमर्ने उनको भनाइ छ।

सत्ता गठबन्धनमा रहेको जसपा असन्तुष्ट
साझा न्युनतम कार्यक्रममा नै पुस २७ मा बिदा दिने विषय उल्लेख भएको भन्दै जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले विरोध जनाएका छन्। निरंकुश पञ्चायती व्यवस्थाले स्थापित गरेको पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई एमाले र माओवादी गठबन्धन नेतृत्वको सरकारले पुनस्र्थापना गरेको उनले सामाजिक सञ्जाल फेसबुकमा स्टेटस लेखेका छन्। यो कार्य जनआन्दोलनको मर्म र भावना विपरीत भएको पनि उनले बताएका छन्।

जसपा प्रवक्ता मनीष सुमन उक्त निर्णयले गणतन्त्रका लागि होमिएका शहीदको पनि अपमान भएको बताउँछन्। पृथ्वीनारायण विविधता विरोधी रहेको भन्दै जसपाले उनलाई बिर्सिन चाहेको सुमनले बताए।

पृथ्वीनारायण शाहको नाममा दिइने बिदाले लोकतान्त्रिक गणतन्त्रको सम्मान हुन नसक्ने उनको भनाइ छ। “एकल राजतन्त्र र एकल शासकीय व्यवस्था, एउटै जात, एउटै भेष, एउटै राजा, एउटै देशको हामी सदा विरोधी हौँ। हामी विविधतामा विश्वास गर्छौँ”, सुमन भन्छन्, “सत्तामा आउन बिदाको माग गर्ने र सरकार गठन गर्न र टिकाउन बिदा दिने प्रवृत्ति कस्तो हो हामीले बुझ्न सकिरहेका छैनौँ।” 

एक दिन बिदाले केही फरक नपार्ने तर्क प्रवक्ता सुमनको छ। बिदा हरेक हप्ता हुने र सरकारले राष्ट्रिय पर्व तथा विशेष दिनमा दिने बिदामा एक दिन बढी थपिनु आपत्तिजनक नभएको उनी बताउँछन्। यद्यपि, बिदाको नाममा पृथ्वीनारायण शाहलाई दिने प्राथमिकता लोकतन्त्रविरोधी भएको उनको बुझाइ छ।


सम्बन्धित सामग्री